22nd July 2019, Monday

कृषिवनको उपयोगिता



कृषिवनको उपयोगिता

जनसंख्या वृद्धिसँगै परिवार टुक्रिने क्रम बढ्दो छ । परिवार टुक्रिएसँगै जग्गा–जमिनहरू खण्डीकृत हुने क्रम पनि उत्तिकै तन्किँदो छ । एकातिर जमिनको खण्डीकरणसँगै उत्पादनमा कमी आउँदै गएको छ भने अर्कोतिर खेतीयोग्य जग्गा मासेर प्लटिङ गर्ने र त्यसमा घरहरू ठडिने कार्यले पनि तीव्रता पाउँदै गएको छ । खेतीयोग्य जमिनमा खेती गर्ने र खेती नहुने ठाउँमा बस्ती बसाल्ने पुर्खाहरूको कदमलाई लत्याउँदै खेतीयोग्य जमिनमा घर बनाउने कार्य बढ्दो रहेको हुँदा कालान्तरमा त्यो प्रत्युत्पादक देखिने निश्चितप्रायः छ ।
जनसंख्याको वृद्धिसँगै अनेक समस्या निम्तिए पनि नेपालको हिमाली, पहाडी र तराईका भूभागहरूमा रहेका जमिनलाई धेरैभन्दा धेरै सदुपयोग गरेर आयआर्जन र जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ । त्यसका निम्ति कृषिवन उत्तम माध्यम बन्न सक्छ । लामो समयदेखि कृषिवन क्षेत्रमा नै क्रियाशील रामप्रसाद गौतमले लेखेको ‘कृषिवन’ले निम्न आर्थिक हैसियत भएका जनताको जीवन स्तर उकास्न कृषिवन पद्धति उपयुक्त हुने बाटो निकालेका छन् ।
नेपालमा मानव जातिको बसोबास हुन थालेदेखि नै पशुपालनलाई मुख्य पेसाको रूपमा अपनाउँदै आए । काठमाडौंमा उपत्यकामा पहिलोपटक पाइला बिसाउने समुदाय नै पशुपालकहरू थिए भनिन्छ । आदिम समयदेखि पशुपालनमा रमाएका नेपालीहरूले अझै पनि पशुपालनलाई पेसाका रूपमा अपनाउँदै आएका छन् । पशुपालनका निम्ति कृषिवन सबभन्दा उपयुक्त आधार हो । पशुपालनका लागि मात्र होइन, कृषिवनको बहुउपयोगिता रहेको छ । पहिलो त मानिसहरूले आफ्नो खाली रहेको जग्गामा कृषिवन प्रणालीलाई अपनाउने हो भने घाँस, दाउराका लागि जंगलमा भर पर्नुपर्ने अवस्थामा कटौती हुन जान्छ । दोस्रो, कृषिवनबाट पशुपन्छीहरूका निम्ति आहारा पूर्ति पनि हुन जान्छ । कृषिवनमा भुइँघाँस, डाले घाँस रोपेर पशुपालनलाई व्यवसायीकरण गरी आर्थिक समृद्धिको बाटो अपनाउन सकिन्छ । त्यसका निम्ति हामीकहाँ वर्षौंदेखि लगाइँदै आएको रैथाने र पौष्टिक गुणले भरिपूर्ण विदेशी घाँसहरू लगाउन सकिन्छ । पछिल्लो समय विदेशी घाँसहरू रोप्ने क्रम बढेको हुँदा नेपालमा त्यस्ता घाँसहरूको खेती नै गरेर पशुपालन व्यवसायलाई गति दिनसमेत थालिएको छ ।
खेतबारीका डिलहरूमा बहुवर्षीय डाले घाँसहरू रोपेर पनि कृषिवन प्रणालीलाई अग्रगति दिन सकिनेमा लेखकले सुझाव दिएका छन् । खासगरी हिउँदको समयमा घाँस खेती राम्ररी फस्टाउँदैन । हरिया घाँसको अभावमा पशुहरूको दूध उत्पादनमा कमी आउँछ । तर, सुख्खा मौसममा हुने दुदिलो, गिदरी, किम्बु, इपिलजस्ता घाँसहरूको खेती गर्ने हो भने दूध उत्पादनमा कमी आउने क्रमलाई रोक्न सकिन्छ र निरन्तर आम्दानीको आधार बन्न पुग्दछ । कृषिवन प्रणालीको अर्को उपादेयता हो– भूक्षय नियन्त्रण । खेतबारीको डिल, भिराला पाखा वा पहिरो जानसक्ने सम्भावित ठाउँहरूमा बोटबिरुवा रोप्ने हो भने भूक्षय नियन्त्रणमा धेरै ठूलो सघाउ पुग्दछ । बोटबिरुवाले भूक्षय नियन्त्रणमा भूमिका खेल्ने भएको हुँदा कृषिवन प्रणाली अपनाउनु उपयुक्त हुने देखिन्छ ।
कृषिवन प्रणालीका अरू फाइदाहरूमा जैविक मल बनाउन सकिन्छ भने महिलाहरूको कामको बोझमा कमीसमेत आउँछ । खेतबारीको डिलमा रोपिने घाँसजन्य र अरु बोटबिरुवाका पातपतिंगरहरू गाईवस्तुका लागि स्याउलाका रूपमा प्रयोग गर्न सकिन्छ र त्यसलाई नै जैविक मलका रूपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । खेतबारीमा रोपिएका बोटबिरुवाबाटै घाँस र दाउरा प्राप्त हुने भएपछि महिलाहरूले टाढा–टाढा जंगलमा जानुपर्ने अवस्थाको अन्त्य हुन्छ र बचेको समय अरू आयआर्जनका कार्यहरूमा लगाउन सकिने तर्क पनि लेखकले गरेका छन् ।
कृषिवन प्रणाली अपनाउँदा आयआर्जनका अनेक बाटाहरूसमेत फेला पर्दछन् । पशुपालनलाई व्यवसायका रूपमा अपनाउनेहरूले भुइँघाँस र डालेघाँसको व्यावसायिक खेती गर्न सक्दछन् । कृषिवन प्रणालीलाई आम्दानीको स्रोतका रूपमा पनि अपनाउन सकिन्छ । निजी जग्गामा चिउरी, कटुस, लप्सीजस्ता बोटबिरुवा रोपेर आम्दानीको माध्यम बनाउन सकिन्छ । कृषिवनमा काठजन्य बोटबिरुवा रोपेर पनि आम्दानी गर्न सकिन्छ । साल, सिसौं, चाँप, सल्ला, सिमल, सौर आदिको बोट रोपेर काठका रूपमा बिक्री गरी आम्दानी लिन सकिन्छ । यी त भए नै । कृषिवन प्रणाली जडिबुटी खेतीको उत्तम आधार पनि हो । धेरै आम्दानी हुने जडीबुटीका साथै मसलाजन्य बिरुवाहरू पनि रोपेर आम्दानी गर्न सकिन्छ । त्यस्तै, धार्मिक कर्ममा प्रयोग हुने रुद्राक्षजस्ता बोटबिरुवा रोपेर पनि आम्दानीको गतिलो स्रोत फेला पार्न सकिन्छ ।
कृषिवन प्रणाली बहुउपयोगी मात्र छैन, आयआर्जन र जीविकोपार्जनको उत्तम आधारसमेत हो । तर, कृषिवनलाई व्यवस्थित रूपले अगाडि बढाउन त्यति धेरै चासो देखिइरहेको पाइँदैन । यसलाई प्रश्रय दिन राज्यको चासो र तत्परताको पनि उत्तिकै आवश्यकता देखिन्छ ।
कृति ः कृषिवन
विधा ः कृषि
लेखक ः रामप्रसाद गौतम
प्रकाशक ः भुँडीपुराण प्रकाशन
पृष्ठ ः ३५०
मूल्य ः ५००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा