25th May 2019, Saturday

E-budhabar

खुम्चिँदो स्रष्टा–सर्जकको भूमिका



खुम्चिँदो स्रष्टा–सर्जकको भूमिका

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको विम्ब मन–मस्तिष्कभरि उमार्नेहरुका सामु एक होइन, अनेक विम्ब आउँछन् । त्यस्ता विम्बहरु हुन सक्छन्– दरबारमार्गमा राजा महेन्द्रको सालिकलाई कालो पोतिरहेका युवा, पाटनमा प्रहरी–बन्धक, रत्नपार्क वरिपरि छरपस्ट छरिएको आन्दोलनकारीका जुत्ता र चप्पलहरु । तर, तीस वर्षे अन्धकारबाट उन्मुक्ति पाउने हेतुले प्रारम्भ भएको त्यो ऐतिहासिक जनआन्दोलनको राप र तापले देशको प्रमुख सहर र बजारहरुलाई गहन स्पर्श गरिरहेको बेला प्रतिबन्धित राजनीतिक दलहरुको आव्हानमा जनता सडकमा उत्रिने क्रम–उपक्रम मात्र प्रारम्भ भएको थिएन, प्रजातन्त्र प्राप्तिको उत्कट अभिलाषामा दसकौंदेखि छट्पटाइरहेका तमाम स्रष्टा–सर्जकहरुसमेत सडकमा उत्रिएका थिए । चैत ३ गतेको त्यो ऐतिहासिक मध्यान्हमा वर्षौदेखि परिवर्तनको पक्षमा कलम चलाउँदै आएका स्रष्टाहरु, परिवर्तनको लहरमा स्वर उराल्दै आएका सर्जकहरु सडकमा ओर्लिएका थिए र ‘चैत ३’ लाई सार्थक तुल्याएका थिए । वयोवृद्ध युद्धप्रसाद मिश्र, पारिजातदेखि युवा पुस्ताका स्रष्टाहरुले घन्टाघरलाई साक्षी राखेर मुखमा कालोपट्टी बाँधी निरंकुशतन्त्रको खुलेआम पर्दाफास गरेका थिए ।
ठीक १७ वर्षपछि । निरंकुशतन्त्रको विरुद्धमा स्रष्टा–सर्जकहरुले सडक नापेका १७ वर्षपछि २०६२ साल चैत ३० गते स्रष्टा–सर्जकहरु त्यसैगरी सडकमा ओर्लिएका थिए, जसरी ओर्लिएका थिए– २०४६, चैत ३ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले परम्परादेखि सञ्चालन गर्दै आएको आफ्नो निरंकुश मनोवृत्तिलाई मलजल गरेर स्वतन्त्र आवाजहरुलाई दबाइरहेको बेला निरंकुशतन्त्रको अन्त्य, संसदीय व्यवस्थाको पुनःस्थापना र अझ त्योभन्दा पनि पर गएर सचेत नागरिकहरुले गणतन्त्रको नारा उरालेका थिए । त्यतिबेला उरालिएको गणतन्त्रको आवाज कसैको लहडी मानसिकताको उपज मात्र थिएन भन्ने यथार्थ समयान्तरमा पुष्टि भइसकेको छ र त्यस्तो आवाजले घनीभूत हुने अवसर पाएको एकाध वर्षपछि नै देशमा गणतन्त्रको सुनौलो किरण झुल्किन पुगेको साक्षी जोकोही छन्, आज ।
२०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनलाई सम्झिँदा पनि अनेक विम्ब–प्रतिविम्बहरु तरोताजा भएर आउँछन् । चक्रपथभरि उर्लिरहेको विशाल मानव समुन्द्र, तिनै मानवहरुले हातमा रुखको हाँगा लिइरहेका दृश्य र सडकभरि छरिइरहेका जुत्ता र चप्पलहरु– यस्तै विम्ब–प्रतिविम्बहरु उत्रिन्छन्, २०६२÷०६२ को जनआन्दोलनलाई सम्झिँदा । तर, यिनै विम्बहरुसँगै अर्को विम्ब पनि उत्रिन्छन्– चैत ३० । त्यो जनआन्दोलन चुलीतिर उन्मुख भइरहेको बेला स्रष्टा–सर्जकहरु तीव्र दमनको बेवास्ता गर्दै सडकमा ओर्लिएका थिए । गीत, कविता, नाट्य प्रस्तुतिमार्फत् निरंकुशतन्त्रको खिल्ली उडाइरहेका थिए र शाही कदमको विरुद्धमा सडकमा सल्बलाइरहेका लाखौं अनुहारमा ऊर्जा थपिरहेका थिए ।
पछिल्लो कालखण्डमा परिवर्तनका पक्षधर स्रष्टा र सर्जकहरुको अभियानलाई सम्झिने ती दुई दिन स्मरणमा आउँछ– सिर्जना ः चैत ३ र स्रष्टा ः चैत ३० । हुन त, निरंकुश पञ्चायती व्यवस्थालाई नरुचाउने स्रष्टाहरुले कहिले सांकेतिक र कहिले मुखर रुपमा उक्त व्यवस्थाको धज्जी उडाउँदै बहुदलीय व्यवस्थाको पक्षमा वकालत नगरेका होइनन् । तीसको दशकको आरम्भदेखि नै सीमित तर प्रतिबद्ध स्रष्टाहरुले निरंकुश शासन सत्ता विरुद्ध स्वर उराल्न थाले । सांकेतिक नै सही, बुटपालिसजस्ता स्रष्टा आन्दोलन त्यही दशकमा भयो भने त्यसअघि नै राल्फा गीति अभियानले पनि नौलो तरंग ल्याएको थियो । अस्वीकृत जमात, अमलेख, योङ राइटर्स र सडक कविता आन्दोलनले निरंकुशतन्त्र विरुद्ध आवाज बुलन्द गर्ने कार्यमा अग्रसरता देखाएको थियो । तत्कालीन समयमा राजनीतिक शक्तिहरुले संगठित रुपमा आन्दोलन नगरिरहेको बेला सानातिना साहित्यिक, सांस्कृतिक आन्दोलनहरु निरंकुश व्यवस्था विरोधी अभियानको धिपधिपे दियोमा सलेदोको भूमिका निर्वाह गर्न सक्षम ठहरिन पुगेको थियो ।
२०४६ साल त परैको कुरा रह्यो । २०६२÷०६३ को जनआन्दोलन सकिएको पनि डेढ दशकको छेउछाउ पुग्दैछ । देशमा गणतन्त्र स्थापना भएको पनि एक दशक नाघिसकेको छ । नयाँ परिवर्तनसँगै स्रष्टा, सर्जकहरु राज्यको जिम्मेवार निकायमा पुगेका छन्, सुविधाजनक ठाउँमा रजगज गर्ने अवसर पाएका छन् । तर, दुई वटा जनआन्दोलनको उपजस्वरुप जन्मिएका दुई प्रभावशाली मञ्च ‘सिर्जना ः चैत ३’ र ‘स्रष्टा ः चैत ३०’ को भूमिका भने क्रमशः खुम्चिँदै गइरहेको छ । सिर्जना ः चैत ३ त गतिविधिसून्य भएको वर्षौं भइसक्यो । त्यसलाई अघि बढाउने स्रष्टा, सर्जकहरु कतिपयको भौतिक अवशान भइसक्यो भने कतिपय स्रष्टाहरु सिर्जनाको संसारबाट टाढा छन् । तर, स्रष्टा ः चैत ३० ले पनि विस्तारै सिर्जना ः चैत ३ कै पद्चिन्ह पछ्याउँदै छ । त्यो संस्था विस्तारै गतिविधिसून्य हुँदै मात्र गइरहेको छैन, स्रष्टा–सर्जकहरुको भूमिका केवल आन्दोलनको समयमा मात्र हुने गर्दछ भन्ने आभास समेत दिलाइरहेको छ । २०६२ चैत ३० को ऐतिहासिक भूमिकालाई जीवन्त, चीरस्थायी र प्रभावकारी तुल्याउनेतिर होइन, विघटनको संघारतिर अघि बढिरहेको प्रतित हुँदै गइरहेको छ । के स्रष्टा–सर्जकहरुको भूमिका यतिमा मात्र सीमित हुने हुने हो ? एउटा गम्भीर र सापेक्षिक प्रश्न उब्जिन पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा