22nd July 2019, Monday

शक्तिको सिँढीबाट आदेश दिएको भरमा पार्टी चल्दैन



शक्तिको सिँढीबाट आदेश दिएको भरमा पार्टी चल्दैन

२०४६ सालबाट सुरु भएर र विशेष गरि २०६२/६३ को आन्दोलनपछाडि हामी मिसनमा आधारित राजनीतिभन्दा पनि शक्ति आधारित राजनीतितिर केन्द्रित हँुदै गइरहेका छौं । शक्तिमा आधारित राजनीतिमा केन्द्रित हुनासाथ हाम्रो सामाजिक मिसन, हाम्रो वर्ग पक्षधरता सबै कमजोर भएका छन् । शक्तिको चलखेल मुख्य हो, बाँकी सबै तपसिलका कुरा हुन् भन्ने दिशातिर राजनीति मुखरित भएको छ । भलै यो कम्युनिस्ट मूल्य, आर्दशभित्र कति इमानदारी छ, त्यो आफ्नो ठाउँमा छ तर बाहिरी दुनियाँले यसलाई देख्ने भनेको कम्युनिस्ट आन्दोलन नै हो । यसका विरुद्ध एकातिर बाहिरी षड्यन्त्र घनीभूत हुँदै आइरहेको छ । घेराबन्दी बढ्दै आइरहेको छ । अर्कातिर हामै्र व्यवस्थापकीय कमजोरीले भित्रैबाट पनि एक खालको आक्रोश वढिरहेको छ । त्यो आक्रोश षड्यन्त्र गर्ने शक्तिहरूका निम्ति शिखण्डी बनिरहेको छ । चुप लागेर बस्न पनि नसकिने, केही गरौं अर्कैको मोहरा हुने अवस्था छ अहिले ।
यस्तोबेला आन्तरिक एकता बलियो बनाउनुपर्नेमा हामी झन् किचलोमा रुमलिएका छौं । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको यतिका समय भयो अहिलेसम्म एकता प्रक्रियाले पूर्णता पाएको छैन । जहाँजहाँ सर्वसम्मत भएको ती संगठनहरू क्रियाशील गरिदिए त हुन्थ्यो नि । सर्वसम्मत भएका ठाउँमा पनि माथापच्ची गर्नुपर्ने केका लागि ? जहाँ–जहाँ विवाद छन्, तिनलाई बिस्तारै सल्ट्याउँदै लैजान सकिन्थ्यो । तर, धेरैजसो तलका संगठनहरूमा सम्मतिबाट आएको छ, तिनलाई मान्यता दिँदा हुन्थ्यो । तर, समस्या नै माथि छ । भोलिका सम्भावनालाई हेरेर माथि जोर कि बिजोर गरिरहेको जस्तो देखिन्छ । अर्को दुर्भाग्य, अहिलेको एकतापछि हाम्रो मुभमेन्टभित्र एजेन्डा र मिसनलाई बोक्ने संगठित शक्तिको अभाव भयो । आक्रोश व्यक्तिगत भयो, संगठित छैन । प्रतिपक्ष संगठित एजेन्डा र मिसनसहित जसरी आउनुपथ्र्यो, त्यसरी आउन सकेको छैन ।
पहिलो कुरा भित्री एकता मजबुत बनाउनुप¥यो, बनाइएको छ । झन्डै साढे चारसय जनाको केन्द्रीय कमिटी हरेकमा दुई÷अढाइ सयभन्दा माथिका छन् । यी कुनै काम गर्ने कमिटी नै होइनन् । मान्छेलाई अल्झाइराख्न चारो हालिएको मात्र हो । हामी त यो मानेमा कांग्रेसभन्दा गएगुज्रेका भयौं । बरु, कांग्रेसमा प्रस्तावित कमिटी १ सय ६० हाराहारीमा छ । तर, हाम्रो लाजमर्दो ४ सय, ५ सय जनाको जिल्ला कमिटी पनि बनाउनुहुन्छ ? ६० जनाको जिल्ला कमिटी हाम्रो सन्दर्भमा निकै ठूलो हो, यदि त्यसलाई कामकाजी बनाउने हो भने । नचाहिँदो मान्छे थोपरिएको छ । सबै गुटका मान्छे हालिदिनुपरेको छ । कामकाजी कमिटी बनाउनु छैन । सामाजिक आधारमै म कहाँ ? मैले के पाएँ ? भन्ने कुरा उठाइन्छ । सामाजिक मिसनमा म कहाँ ? भन्ने कुरै छैन ।
अहिले हाम्रो आन्दोलनमाथि यति ठूलो घेराबन्दी छ कि त्यो लरतरो छैन । एउटा त कम्युनिस्ट शासनका विरुद्धमा शक्तिहरू छन् । अहिलेको विश्व सन्दर्भमा खासगरी पश्चिमा भर्सेच चिनियाँहरूको प्रतिद्धन्दितालाई मध्यनजर राखेर नेपालको जुन भौगोलिक अवस्थीति छ त्यसलाई आफ्नो पक्षमा तान्नका लागि कम्युनिस्टहरू बाधक हुन्छन् भनेर घेराबन्दी गरिँदै छ । अर्को, नाकाबन्दी पछाडि नेपालको राष्ट्रवादलाई जगेर्ना गर्ने सबैभन्दा संगठित शक्ति भनेको तत्कालीन नेकपा एमालेभित्र थियो । त्यो शक्तिलाई तहसनहस पार्नुपर्छ भन्ने खेल पनि छन् अप्रत्यक्ष ढंगका । कतै नजानिँदो ढंगले यो खेलहरू खेलिँदै त छैनन् ? हुन त एमालेभित्रै पनि मूल्यहीनताको राजनीति बिस्तारै डोलिदै डोलिँदै उच्च बिन्दुमै पुगिसकेको छ । तर, हिजो नेकपा एमालेको हिजोको राष्ट्रियता, जनवाद र जनजीविकाको पक्षधर त्यो शक्ति मरिहालेको छैन । भलै त्यो शक्ति सिमान्त होला, तर त्यो जिउँदो छ । यसैले धानेको हो यो मुभमेन्ट । अब अहिले त्यसलाई हदप्रद बनाएर, निरुत्साहित बनाएर वितरागको प्रवृत्ति बढाइँदै छ । यसो सबैको कारण अहिलेको नेतृत्व हो । त्यो भनेर सत्ताको नेतृत्व मात्र होइन, सत्ताको प्रतिपक्षको इमेज बनाउन खोजिरहेको शक्ति पनि त्यत्तिकै जिम्मेवार छ । प्रतिपक्षले यो बीचमा ग¥यो चाहिँ के त ?
सरकार सञ्चालन एउटा कुरा हो । त्यसका लागि सजिलो आधार तयार पारिदिनु पनि पर्छ । तर, नेतृत्वले पार्टीभित्रका शक्ति संरचनामा सन्तुलन मिलाउन जान्नुपर्छ । पहिलो सर्त भनेकै यही हो । तर, अहिले घटनाक्रम हेर्दा के लाग्छ भने कतै त्यो वाइड बडी र एनसेलजस्ता प्रकरणलाई ओझेलमा पार्न यी सबै घटनाक्रम मिलेभगतमा भएका त होइनन् ? त्यत्ति आलोचित भइसकेपछि, संसदीय समितिले दोषी भनिसकेपछि रवीन्द्र अधिकारीले किन राजीनामा नदिने ? उनी चोखा होलान् रे । अनुसन्धान गरेर दोषी भए कारबाही गर भनेर राजीनामा दिँदा हुँदैनथ्यो । भ्रष्टाचार भएको छैन त्यहाँ भनेर दुनियाँ कोही मान्नेवाला नै छैन । माने मान नमाने मै तेरा मेहमान भनेजस्तो बसिरहेको छ । दुई तिहाइको सरकार छ, कोही डराएकै छैन । परिणाममा देखिएको खोई ? भ्रष्टाचारमा कमी आएको खोइ ? राज्यको निर्देशनलाई अवज्ञा गर्ने प्रवृतिमा कमी आएको खोई ? केही त छैन । यो सबै भएको आन्तरिक किचलोले हो । भित्र किचलो भएपछि बाहिरका शक्तिले पनि हेपेका छन् । पुराना सामन्ती शक्तिहरू आउन कोसिस गरिरहेका छन् । कम्युनिस्टविरोधी शक्तिहरू त्यसै पनि सक्रिय छन् । यस्तो बेला आउरेभाउरे जो पायो त्यसैलाई थुपारेर संगठन चल्छ ? त्यस्तो पार्टी चल्छ ?
यदि यो मुभमेन्टलाई सच्याउने हो भने माथिल्ला मानिसहरू जसले सर्वोच्च शक्तिको मजा लिइसकेका छन्, तिनले मुभमेन्टको वैचारिक टेको दिने होइन सहयोगी मात्र बन्छौं, हामी आफैं नेतृत्वको दाबी गर्दैनौं भनेर आएर तलका मानिसहरूलाई बाटो खुला गरिदिए अलिकति संगठित हुन्थ्यो कि जस्तो लाग्छ । सर्वोच्च शक्ति वा भनौं कार्यकारी अधिकारको स्वाद लिइसकेको शक्ति इतिहासमा बाँच्ने हो भने म यो खेलमा छैन भनेर घोषणा गर्नुपर्छ । प्रधानमन्त्री भइसकेका, दसौंचोटि मन्त्री भएकाहरू किनारा लागिदिनु राम्रो हुन्छ । हामी संगठनात्मक रूपमा मुभमेन्टलाई बल दिन्छौं, तर सत्ता राजनीतिमा हामी प्रवेश गर्दैनौ मात्र भनिदिए पनि काफी हुन्छ । यो उनीहरूका निम्ति पनि हितकारी हुन्छ, मुभमेन्टका लागि पनि हितकारी हुन्छ । तर, उनीहरू त्यति पनि त्याग्न नसक्ने, अनि तलबाट के अपेक्षा गर्नु ?

होइन भने, यो मुभमेन्ट कोल्याप्स हुन्छ । तर, यसो भन्दा भन्नेमाथि नै निर्मम प्रहार हुन्छ । सत्तावरिपरि जो बसिरहेको छ, त्यो राजनीतिक नै हो जस्तो मलाई लाग्दैन । राजनीतिक भएको हुन्थ्यो भने त्यसले पहिले आफ्नो एकता बलियो बनाउँथ्यो । दुई तिहाइ भएको शक्तिलाई सामाजिक रूपान्तरणमा जुन ढंगले लगाउनुपथ्र्याे, त्यो सकिरहेको छैन । ऊ हाम्रैभित्रको किचलोमा अल्झेर बसिरहेको छ । तातो न भुत्लो दुई तिहाइको त के सामान्य बहुमतको अनुभूति पनि जनमानसलाई दिन सकिरहेको छैन ।
यदि यसमा संवेदनशील भएर आजैदेखि हस्तक्षेप नगर्ने हो भने हामी भड्खालोमा पर्छौ । हामी बाटो बिराउँदै गएका छौं । बाटो बिराएपछि पुग्ने भनेको भड्खालोमै हो । यसलाई जोगाउने भनेको आन्तरिक एकताले हो । मुद्दामा आधारित राजनीतिले हो । हामीले फेरि एकपटक हाम्रो वर्गपक्षधरता सम्झनुपर्छ । हाम्रा एजेन्डाहरूलाई फेरि पुनर्परिभाषित गर्नुपर्छ । शक्तिको सिँढीमा बसेर आदेश दिएको भरमा हुँदैन ।
(कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा