23rd March 2019, Saturday

E-budhabar

देउवा तीन वर्षमै असफल



काठमाडौं । आफूलाई पुरानो लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको नेपाली कांग्रेस लथालिंग अवस्थामा पुगेको छ । सभापति शेरबहादुर देउवाले पार्टीभित्रका नियमित सांगठनिक काम रोकेर आन्तरिक लोकतन्त्रकै धज्जी उडाएपछि अहिल्यैदेखि उनको विकल्प खोज्ने तयारी भइरहेको छ ।
हरेक चार वर्षमा नियमित महाधिवेशन गर्ने कांग्रेसको विधानमा व्यवस्था भए पनि तीनवर्षे कार्यकालसम्म सभापति देउवाले विधानअनुसार कुनै पनि काम गर्न सकेका छैनन् । २०७२ फागुनमा कांग्रेसको महाधिवेशन सम्पन्न भएको थियो । अघिल्लोपटक तत्कालीन सभापति सुशील कोइरालाले विधानअनुसार पार्टी सञ्चालन गर्न नसकेको आरोप लगाएर नेतृत्व हत्याउन सफल भएका देउवा अहिले उनको जति पनि काम गर्न नसकेर आलोचनाको पात्र बन्दै गएका छन् ।
विधानअनुसार अहिलेसम्म देउवाले केन्द्रीय सदस्यहरूको उचित जिम्मेवारी बाँडफाँट गर्न सकेका छैनन् । केन्द्रीय सदस्यहरूले विभागीय जिम्मेवारी नपाउँदा घाम तापेर समय बिताउनुपर्ने अवस्था सिर्जना भएको छ । त्यति मात्र होइन, मुलुक संघीय संरचनामा गएर संविधान कार्यान्वयन भएको तीन वर्ष पुग्न लाग्दासमेत पुरानै ढाँचाको संरचनाबाट पार्टी सञ्चालित छ । कुनै पनि प्रादेशिक संरचनाको कमिटी कांग्रेसमा छैन । विधानअनुसार महाधिवेशन सम्पन्न गर्नुपर्नेमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरू लथालिंग अवस्थामा पुगेका छन् । टिके प्रथाबाट नेतृत्वमा पुगेका अध्यक्ष नैनसिंह महरले त महाधिवेशन गराउन नसकेपछि राजीनामाको घोषणा गरेका छन् ।
दुई तिहाइ कार्यकाल बित्दा आफ्नो कार्यकालमा के–के उल्लेखनीय काम भयो भन्ने प्रश्नमा १, २, ३ बुँदागत रूपमा कुनै पनि सूची सार्वजनिक नगर्ने अत्यन्त निरीह अवस्थामा देउवा पुगेका छन् । उनकै कार्यकालमा इतिहासमै कांग्रेसले सबैभन्दा नराम्रो पराजय भोगेको छ । तर, त्यसको वस्तुगत कारण पहिल्याएर तदनुरूप नीति तय गर्न देउवा पूर्ण रूपमा असफल भएका छन् । बीपीले ऊ बेला अघि सारेको प्रजातान्त्रिक समाजवादको नीति आजको सन्दर्भमा हुबहु लागू हुन सक्छ कि परिमार्जन गर्नुपर्छ ? परिमार्जन गर्नुपर्ने र नगर्नुपर्ने के–के कारण छन् ? वैचारिक रूपमै अन्योलग्रस्त कांग्रेसभित्र भाषण गर्ने मञ्चहरूमा भने गगन थापा मात्र हाबी देखिन्छन् । देउवालाई सहयोग गरिरहेका युवा नेता विश्वप्रकाश शर्माजस्ता प्रखर वैचारिक नेताहरू पनि देउवाको छायामा रुमलिएका छन् । भर्खरै महासमिति बैठक सम्पन्न गरेको कांग्रेसले त्यति ठूलो कार्यकर्ता भेलाबाट पनि कुनै पनि नयाँ नीति पास गर्न सकेन ।
पुरानो पार्टी भए पनि कांग्रेसले सांगठनिक संरचनासम्बन्धी पछिल्लो अभ्यास तत्कालीन एमालेकै नक्कल गर्ने प्रयास गरेको हो । आठौं महाधिवेशनबाट तत्कालीन एमालेले बहुपदीय संरचनासहितको सामूहिक नेतृत्व प्रणालीको सांगठनिक संरचना पारित गरेपछि कांग्रेस पनि त्यस्तै संरचनामा जान बाध्य भएको थियो भने माओवादी पनि बहुपदीय संरचनामा गएको थियो । तर, अहिले कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको अवस्था भद्रगोल अवस्थामा पुगेको छ । देउवाको यस्तो असफल नेतृत्वको कारण कांग्रेसका नेता–कार्यकर्ता निरास मात्र छैनन्, सार्बजनिक रूपमा पार्टीको प्रतिरक्षा नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
यसरी गुज्रिरहेको कांग्रेसले एक वर्षभित्र महाधिवेशन गर्नैपर्ने हुन्छ । देउवाको असफलताबाट तेस्रो पुस्ताको मानिने युवानेता गगन थापा उत्साही देखिन्छन् । नेतृत्वमाथि दबाब, हस्तक्षेपको कुनै भूमिका खेल्न नसके पनि, वैचारिक र सांगठनिक रूपमा कांग्रेसलाई पुनर्जागृत गर्ने सन्दर्भमा कुनै ठोस योजना पेस गर्न नसके पनि थापाले स्वघोषित रूपमा सभापतिमा उम्मेदवारी दिने आकांक्षा भने सार्बजनिक गरेका छन् । पार्टीमा तेस्रो पुस्ताका धेरै जुनियर गगनको यो कदमलाई शीर्ष नेतृत्व मात्र होइन, दोस्रो पुस्ताका अधिकांश नेता तथा तेस्रो पुस्ताका गगनका अग्रज र समकालीन नेता कसैले पनि मन पराएका छैनन् । उनको चरम महŒवाकांक्षाका कारण शेखर कोइराला, शशांक कोइराला, सुजाता कोइरालासहितको समूहले पनि थापाको प्रस्तुतिलाई कसैले मन पराएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा