23rd March 2019, Saturday

E-budhabar

प्रशंसाको भागीदार बन्ने अवसर



स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले स्थानीय सरकारको बागडोर सम्हाल्न थालेको करिब दुई वर्ष पुग्न लाग्दै छ । करिब–करिब आधा समय व्यतीत गरिसक्नै लाग्दा कुन स्थानीय तहले जनभावनालाई आत्मसात् गरेर अब्बल कार्यहरू गरे भने कुनै स्थानीय तहका प्रतिनिधिहरू आलोचना र विवादको घेरामा तानिए । यी सबै सतहमा देखिइसकेका छन् । प्रादेशिक संरचनामा देश हिँडेको हुँदा सुरुवाती चरणमा केही अन्योल देखापरे पनि पछिल्लो समयमा भने स्थानीय तहहरूले गति समात्न थालेको आभास हुँदै छ । स्थानीय तहले नै पर्याप्त अधिकार पाएको हुँदा कुनै पनि सत्कार्य गर्न विगतजस्तो केन्द्रको मुख ताकिरहनुपर्ने अवस्था छैन ।
स्रष्टा–सर्जकहरू राष्ट्रको गहना मानिँदै आए पहिलादेखि नै । अहिले पनि उच्च ओहोदामा रहेकाहरूले स्रष्टा–सर्जकहरूप्रति प्रशंसाका शब्दहरू खर्च गर्नुप¥यो भने सगौरव भन्दछन्, ‘स्रष्टाहरू राष्ट्रका गहना हुन्, निधि हुन् ।’ स्रष्टा–सर्जकहरू ‘राष्ट्रको गहना’ भए पनि त्यो गहनालाई सजाउन वा भव्य तुल्याउन राष्ट्रले पहल गरेको छ कि छैन ? यो बहसको विषय बन्न सक्छ । तर, अब भने स्रष्टा–सर्जकहरूलाई सिंहदरबारले मात्रै सम्मान गर्नुपर्छ भन्ने मान्यता क्रमशः हट्दै गइरहेको छ । आगामी वैशाखमा सय वर्षमा टेक्न लागेका शताब्दी–पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले भव्य सम्मान गर्न अहिल्यैदेखि जुन तयारी थालेको छ, त्यसले चाह्यो भने कुनै स्थानीय तहले पनि आफ्नो स्थानका स्रष्टा–सर्जकलाई मानमनितो गर्न सक्छ, आफ्नै गहनाका रूपमा सिँगार्न सक्छ भन्ने उदाहरण देखाएको छ ।
त्यसो त जसले गरे पनि, कुनै पनि सत्कार्य प्रशंसाको भागीदार बन्छ नै । त्यस्ता सत्कार्य कुनै राजनीतिक चिन्तन, वाद वा सिद्धान्तको घेरा तोडेर विशिष्ट तहमा आसीन हुन पुग्छन् । एकाध वर्षअघि कलाकार–जोडी धुर्मुस–सुन्तलीले मधेसका केही विपन्न मुसहरहरूको अनुहारमा चमक ल्याउने सत्कार्य गरे, त्यसलाई सबै तह, तप्का र राजनीतिक विचार अँगाल्नेहरूले हार्दिक स्वागत गरे । कसैले पनि प्रश्नचिह्न उठाउने ठाउँ थिएन, त्यस्तो कार्यमा । मानवीय संवेदना एवं भावनासँग प्रत्यक्षतः जोडिएका प्रायः हरेकजसो कार्यलाई हरेकले प्रशंसित नजरले हेर्छन् नै । अझ मानवीय पक्ष कुनै पनि सैद्धान्तिक सूत्रभन्दा उच्च र विशिष्ट हुनेमा द्विविधा नहोला ।
हुन त सत्यमोहन जोशी ललितपुर महानगरपालिकाको मात्र सम्पत्ति होइनन्, उनी राष्ट्रकै सम्पत्ति हुन्, धरोहर हुन् । नेपाली कला–संस्कृतिको खोजबिनमा उनले गरेका योगदान अतुल्य छ । आउँदो वर्षको प्रारम्भमै शतायु टेक्न लागेका जोशीलाई चाहेको भए ‘सिंहदरबार’ले नै सम्मान गर्न सक्थ्यो । तर, नेपालका ‘उच्च धरोहर’ जोशीलाई सांस्कृतिक नगर ललितपुरका जनप्रतिनिधि र बासिन्दाले शतायु–वर्ष मनाउन जुन तत्परता देखाएको छ, त्यो आफैंमा प्रशंसायोग्य विषय हो । आफ्नै स्थानका धरोहरलाई आफैंले उच्च सम्मान गर्न पाउनु स्थानीय बासिन्दाहरूका निम्ति पनि गर्व र उल्लासको विषय हो ।
शतायु टेक्नै लागेका शताब्दी–पुरुष जोशीले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रूपमा जुन खोज–अनुसन्धान गरे र त्यसलाई बाहिर ल्याए, त्यो सिंगो राष्ट्रले पाएको उपहार हो । करिब ६ दशकभन्दा लामो समयदेखि उनले आफूलाई खोज–अनुसन्धानमा नै लगाए । यस्तो समर्पण हरेक व्यक्तिमा पाउनु मुस्किल छ । अहिले पनि जोशीको सक्रियतामा कमी आएको छैन । केही वर्षपूर्व शारीरिक अस्वस्थताका कारण केही समय निष्क्रिय रहे पनि स्वास्थ्योपचारपछि उनको सक्रियता उत्तिकै छ । कुनै पनि समारोहमा पुगेर आफूले जीवनभर आर्जन गरेका ज्ञान बाँडचुँड गरी रमाउने उनको स्वभावमा कमी आएको छैन । वर्तमान पुस्तालाई उनका ज्ञान धेरै अर्थले बर्धक लाग्नु स्वाभाविकै हो । किनभने, कला–संस्कृति, इतिहासजस्ता विषयहरूमा खोज–अनुसन्धान हुने क्रम घटिरहेको र राज्यले पनि यस्ता विषयको खोज–अनुसन्धानमा लगानी गर्न उपयुक्त नठानिरहेको अवस्थामा जोशीजस्ता प्रखर विद्वान्का ज्ञान धेरैका निम्ति लाभदायक हुन सक्नेमा दुईमत देखिँदैन ।
शताब्दी–पुरुष जोशीलाई आज ललितपुर महानगरपालिकाले आफ्नो गौरव ठान्यो र उनको शतायुको अवसरमा सम्मान गर्ने निधो ग¥यो । अरु स्थानीय तहहरूमा पनि आफूले ‘गौरव’ ठान्ने स्रष्टा–सर्जकहरू नरहेका होइनन् । जोशीको सम्मानमा सिंगो ललितपुर नगरबासीहरू जसरी तम्तयार देखिएका छन्, अरु स्थानीय तहले पनि स्रष्टा–सर्जकहरूलाई त्यसरी नै सम्मान गर्न कन्जुस्याइँ नगर्दा आफ्नै तहको सम्मान बढ्ने निश्चित छ । किनभने, भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा लागेका आफ्ना तहमा क्रियाशील स्रष्टा–सर्जकहरूलाई सम्मान गर्नुका साथै त्यस्ता स्रष्टाहरूलाई आफ्नो तहको भाषिक, सांस्कृतिक, साहित्यिक, कलासम्बन्धी खोज–अनुसन्धान कार्यमा लाग्न उत्प्रेरित गर्ने हो भने त्यसले सकारात्मक परिणाम ल्याउनेछ, अवश्य नै । त्यसरी खोज–अनुुसन्धानबाट आएका कृतिहरूको जगेर्ना गर्ने, त्यसको प्रचारप्रसार गर्ने र त्यसलाई आमसमुदायबीच पु¥याउन पहल गर्ने हो भने त्यसले आफ्नै तहको गरिमालाई माथि उठाउन भूमिका खेल्नेमा कुनै सन्देह देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा