23rd March 2019, Saturday

E-budhabar

एउटा समृद्ध गीतको इतिवृत्त



एउटा समृद्ध गीतको इतिवृत्त

२०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनजागृत तुल्याउन त्यही गीतलाई रोजियो । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउने हेतुले जनतालाई सडकमा ओराल्न–जगाउन पनि त्यही गीतको सहायता लिइयो । एउटा यस्तो गीत, जसले समृद्ध इतिहास रचेको छ । हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको त्यो गीत हो– ‘गाउँगाउँबाट उठ…।’
पञ्चायतकालीन समय वा बहुदलीय व्यवस्था स्थापना भएको केही वर्षसम्म त्यो साझा गीत थिएन । भन्नेहरूले भन्थे, ‘कम्युनिस्टहरूको गीत ।’ कम्युनिस्ट कार्यकर्ताहरूले गाउँगाउँ पुगेर जनतालाई उद्वेलित तुल्याउन अरू प्रगतिशील गीतभन्दा धेरै भूमिका खेलेको थियो पनि । तर, जनतालाई निरंकुश र स्वेच्छाचारी सत्ताविरुद्ध जाग्न सिधै आह्वान गरिएको त्यो गीत पछिल्लो समय भने वामपन्थीहरू मात्र होइनन्, वामइतर विचार बोक्नेहरूले पनि रुचाउन थाले । गीतल सबैको प्रिय बन्यो ।
त्यो गीत लेखेका थिए, श्याम तमोटले । तमोट अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव छन् । जिम्मेवारी पाए पनि आफ्नो क्षमता प्रदर्शन गर्नबाट भने उनी वञ्चित छन् अहिले । प्रज्ञा–प्रतिष्ठान गठन भएर जिम्मेवारी पाए पनि ‘पहिलो गाँसमै ढुंगा परेजस्तो’ उनी र अरू पदाधिकारीहरूले अनुभव गरेका छन् । अदालती चक्करमा फसेको छ, संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान । प्रज्ञा–प्रतिष्ठान गठन समावेशी नभएको भन्दै मुद्दा परेपछि केही समयका लागि काम–कारबाही रोकिएको छ ।
हुन पनि नवगठित संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ‘गाउँ गाउँबाट उठ’लाई राष्ट्र र अन्तर्राष्ट्रव्यापी तुल्याउने सर्जकहरू नै परेका छन् । रायन, मञ्जुल र श्याम । त्यही गीतलाई सुगन्धित तुल्याउने रामेश पनि प्रज्ञा–प्रतिष्ठानमा परेका भए सुनमा सुगन्ध नै हुने थियो । तर, रामेशले भने प्रज्ञा–प्रतिष्ठानमा जिम्मेवारी लिएर जाँदा राल्फाकालीन गीतहरूलाई आमजनसमक्ष ल्याउने कार्यमा बाधा पुग्ने ठानेर त्यति रुचि देखाएनन् । अहिले रामेश राल्फाकालीन गीतहरूलाई सिंगारपटार गर्न लागेका छन् ।
‘गाउँगाउँबाट उठ’ लेखिएकै साढे चार दशक भयो । भोजपुरको एउटा विद्यालयमा अध्यापन गर्न थाल्नुअघि नै तमोटले लेखेका थिए, त्यो गीत । भोजपुर, दावाका सिद्धेश्वर माध्यमिक विद्यालयका ‘चेलाहरू’लाई गणितका सूत्रहरू धोकाउँदै थिए, उनी । त्यो २०३२ सालको कुरा थियो । तर, त्यसको वर्ष दिनअघि नै विद्यालयले एउटा सांस्कृतिक कार्यक्रम गर्ने सुरसार गर्दा विद्यार्थीहरूले उनलाई आग्रह गर्दै भने, ‘एउटा गीत लेखिदिनुस् न ।’ तमोट भन्छन्, ‘विद्यालयमा सांस्कृतिक कार्यक्रम हुने भएपछि मलाई विद्यार्थीहरूले गीत लेखिदिन आग्रह गरे र मैले त्यो गीत लेखें । तर, त्यो गीत प्रशासनलाई पचेन । २०३६ सालको आन्दोलनमा म सामेल भएँ र त्यसपछि त त्यही गीतलाई आधार बनाएर मलाई प्रशासनले दुःख दिन थाल्यो ।’
भोजपुरका विद्यार्थीहरूको आग्रहमा ‘गाउँगाउँबाट उठ’ जन्मिए पनि त्यसको गर्भाधान भने तमोटले धरानमा अध्ययन गर्दाखेरि नै भएको थियो । धरानमा पढ्न बस्दा उनको संगत बढ्यो, साहित्य–संगीतप्रति झुकाव राख्ने युवाहरूसँग । त्यसमा पनि ‘गाउँबाट सहर घेर्ने’ चिनियाँ नेता माओत्से तुङको विचारसँग सहमत राख्ने युवाहरूसँग । तमोट भन्छन्, ‘मैले बिस्तारै गाउँको गरिबी, विभेदबारे बुझ्न थालें र गाउँ नै प्रमुख चिज रहेछ भन्ने महसुस भयो । आन्दोलन उठाउन गाउँ नै मुख्य थलो रहेछ भन्ने लाग्यो र त्यो गीतको पृष्ठभूमि त्यही समय तय भयो ।’
केही वर्ष भोजपुरकै संगीतप्रेमीहरूबीच सीमित रह्यो, त्यो गीत । तर, उनले एउटा कापीमा उतारेको त्यो गीत समीर नेपालको हातमा प¥यो । गाउँबाट काठमाडौं आएका समीरले सिधै रामेश–मञ्जुलको हातमा थम्याइदिए । भाका उनैले हाले पनि राल्फाका जोदाहाहरूका हातमा परेपछि कुरै सकियो । त्यो गीतले भोजपुरको ग्रामीण परिवेश छिचोलेर काठमाडौंको परिवेशलाई चुम्न थाल्यो । बहुदल आएपछि निर्मित चलचित्र ‘बलिदान’मा त्यो गीतले स्थान पाएपछि त सबैको मुख–मुखमा झुन्डिन थाल्यो । नेपथ्य–गायक अमृत गुरुङले पनि त्यो गीत गाएर उचाइँ दिलाए । तमोट भन्छन्, ‘मुलुकको परिवर्तनको पक्षमा उभिएको गीत हो यो । २०६२–६३ को जनआन्दोलनमा सामेल हुने सबैले यही गीत गाए । यो सबै नेपालीको गीत हो ।’
श्याममा गीत लेख्ने हुटहुटीमा भने राल्फाकै देन छ । राल्फाका दुई भाइ रामेश र मञ्जुल सांगीतिक यात्रा लिएर २०२७ सालतिर भोजपुरमा पुग्दा उनीहरूको सांगीतिक प्रस्तुतिलाई देखेका थिए, श्यामले । उनी भन्छन्, ‘उनीहरूले गाउने गीत रेडियो नेपालबाट प्रशारण हुँदैनथ्यो । ताजा गीत सुन्न पाउँदा हामी खुसी हुन्थ्यौं र जहाँजहाँ कार्यक्रम हुन्थे, त्यहीँत्यहीँ पुग्थ्यौं । गीत लेखनप्रतिको मोह ममा त्यही समयदेखि पलाउन थालेको हो ।’
अहिलेसम्म सयौं जीवनवादी गीत लेखिसकेका श्यामको ‘गाउँगाउँबाट उठ’ दोस्रो सिर्जना हो । त्यसअघि लेखेका थिए, ‘साहुको रिन तिर्न भनी गा’को मेरो छोरो…।’ उनले साहुको रिन तिर्न विदेश गएर नफिरेका लाहुरेहरूको समाजको तीतो यथार्थलाई यो गीतमा समेटेका थिए । पहिलो सिर्जना त्यति चम्किएन तर दोस्रो सिर्जनाले भने उनलाई नेपाली प्रगतिशील गीत सिर्जनाको फाँटमा बेग्लै चिनारी बोकेर उभिएको टाँकीको सुन्दर रूख र त्यसको फूलजस्तो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा