27th May 2019, Monday

E-budhabar

परिवेश खोतल्ने कथाहरू



परिवेश खोतल्ने कथाहरू

हामी बाँचिरहेको समाज ढोंग, आडम्बर र देखासिकीको जगमा उभिएको छ । भित्र खोक्रो भए पनि बाहिर सम्पुष्ट देखिनुपर्ने संस्कृति सामन्ती समाजले हामीलाई उपहारस्वरूप दियो । पुँजीवादले पनि त्यही संस्कृति र पद्धतिलाई मलजल ग¥यो । जोसँग अथाह सम्पत्ति छ, त्यसले सामाजिक, सांस्कृतिक र पारिवारिक मान्यता र हैसियत पाउने र निम्न आर्थिक हैसियत बोकेर बाँचिरहेकाहरूले भने समाजमा अपहेलित हुनुपर्ने, परिवारकै सदस्यसामु खिसिट्युरीका पात्र बन्नुपर्ने विडम्बना जीवितै छ ।
कथा–सर्जक माधव सयपत्रीको एउटा कथा ‘सुट’ले निम्न आयस्रोत भएका एक सहरिया परिवारको पीडालाई मिहिनेतपूर्वक उत्खनन गरेको छ । शिक्षण पेसामा आबद्ध एक व्यक्तिले आफन्तहरूको बिहे कार्यक्रममा सुट नलगाउँदा भोग्नुपरेको अपमानको तहलाई छिचोल्ने प्रयत्न त उक्त कथाले गरेको छ नै, एक निम्न वेतनभोगी शिक्षकले सुट किन्न नसक्दाको पीडालाई पनि उत्तिकै उठाइएको छ । सुटको अभावकै कारण झेल्नुपरेको पारिवारिक अपमान, पत्नीको दबाब र आफूले भोगिरहेको निम्न आर्थिक हैसियतबीच ती शिक्षकको मनोदशा उतार्न कथा सक्षम देखिएको छ । यो कथा सयपत्रीको नवीन कथाकृति ‘बादसाहको अटोग्राफ’ एउटा कथा हो ।
‘बादशाहको अटोग्राफ’ले भने अन्तिम राजा ज्ञानेन्द्र शाह र उनकी पत्नीका साथै भारदारहरूको चरित्रलाई टिप्ने प्रयत्न गरेको छ । राज्यसत्ता आफूले लिएर निरंकुश चरित्र प्रदर्शन गरेका राजा ज्ञानेन्द्र २०६२–६३ को उर्लिंदो जनलहरसामु टिक्न सकेनन् । उनले सत्ता छाडे र अढाइ सय वर्षदेखिको राजतन्त्र पनि इतिहासको विषय बन्न पुग्यो । तर, सत्ताको बागडोर जनप्रतिनिधिलाई सुम्पे पनि अझै राजतन्त्र फर्काउने आकांक्षामा भने राजा डुबेका छन् भन्ने सूचना यो कथाले दिन्छ । मूलतः शासकहरू प्रतिगामी कदम चाल्न सदैव तत्पर हुन्छन् र त्यस्तो समयको प्रतीक्षामा हरेक पल बसिरहेका हुन्छन् भन्नेतिर कथाले सचेत तुल्याउन चाहेको छ ।
अति लोभले विनाश निम्त्याउँछ । ‘हीरालालको सपना’ मा लोभी चरित्रको एकजना पुरेतको अवस्था छर्लङ्ग पारिएको छ । गाउँमा आर्थिक रूपले सम्पन्न एकजना जजमानको मृत्यु भएपछि हीरालालले सपना देख्न थाल्छ– गाईदानदेखि अन्य सरसामानहरूको । दानदातव्यमा बाँच्दै आएका उनी प्रशस्त दानको कल्पना गर्दै ती जजमानको घरतिर जान्छन् । तर, बाटोका हिँड्दाहिँड्दै उनको मृत्यु हुन पुग्छ र तिनै जजमानसँगै उनको अन्त्येष्टि गरिन्छ । जति लोभ गरे पनि मरेर जाँदा केही लगिँदैन भन्ने यथार्थलाई पुष्टि गर्न कथा अघि सरेको छ ।
‘प्रतिविम्ब’मा भने पतिविहीन महिलाप्रति समाजको हेराइ कस्तो हुन्छ भन्ने देखाउन चाहेको छ । राज्यसत्ताको विरोधमा उभिएका एउटा महिलाको पति युद्धमा हिँडेका हुन्छन् । र, भूमिगत अवस्थामै रहेका बेला घर आएका बखत ती महिला र आफ्ना पतिबीच शारीरिक सम्पर्क हुन्छ । त्यसपछिका दिनमा भने उनको पतिको कुनै अत्तोपत्तो हुँदैन र उनको पेटमा हुर्कंदै गएको बच्चा देखेर समाजले अनेकथरि कुरा काट्छन् र समाजले ती महिलाले आफ्नै देवरको गर्भ बोकेको आशंका गर्छ । समाजको बक्र नजर परेपछि विक्षिप्त बनेर घर छाड्ने स्थितिबीच उनी पुग्छिन् । यो कथामा जनयुद्धमा पतिको सहादत भएका महिलाहरूको सामाजिक–पारिवारिक अवस्थालाई नजिकबाट नियाल्ने प्रयत्न गरिएको छ ।
‘हितबहादुर र रातो फूल’ले जातीय भेदभावको डरलाग्दो तस्बिर खिचेको छ । कथित दलित थरका हितबहादुरको मनभित्र लामो समयदेखि मन्दिरमा रातो फूल चढाउने आकांक्षा चुलिएर बसेको हुन्छ । त्यही कारण उनी रातो फूल लिएर मन्दिरमा जान्छन् । तर, कथित उच्च जातका मानिसहरूले उसलाई मन्दिरमा पस्न दिँदैनन् र अपमानित रूपमा लखेट्छन् । तर, अर्को दिन उनी पुनः मन्दिर जान्छन् । आफूले तयार पारेको त्रिशूल कुनै भक्तजनले मन्दिरमा भगवान्लाई चढाइएको हुन्छ तर आफूलाई भने मन्दिरमा छिर्न नदिँदा उनी मन्दिरमा जबर्जस्ती छिर्न खोज्छन् । उनको त्यस्तो विद्रोह देखेर कथित उच्च जातका मानिसहरूले उसलाई त्यही त्रिशूलले ढाड र छातीमा रोपेर घाइते बनाउँछन् । नेपाली समाजमा दलित वर्गमा मानिसले भोग्नुपरेका जातीय भेदभाव, उत्पीडन र नृशंस व्यवहारको फेहरिस्त यो कथाले बकेको छ ।
पछिल्लो समय कथा लेखनमा क्रियाशील सयपत्रीका कथाहरूका विषयवस्तु बहुआयामिक छन् । देश, समाज र परिवारभित्र देखिएका अनेक विसंगत पक्षलाई कथाको संसारमा ढाल्ने खुवी उनमा प्रचुर रूपमा रहेको पाइन्छ । ग्रामीणदेखि सहरिया परिवेशसम्मका कथाहरू उनको लेखन धरातलमा उभिएका छन् । ‘बादशाहको अटोग्राफ’भित्रका उनका प्रायः सबैजसो कथा हामी बाँचिरहेको परिवेशलाई राम्ररी पक्रन सफल छन् ।
कृति ः बादसाहको अटोग्राफ
विधा ः कथा
कथाकार ः माधव सयपत्री
प्रकाशक ः मञ्जरी पब्लिकेसन
पृष्ठ ः २५४
मूल्य ः ३००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा