25th May 2019, Saturday

E-budhabar

ओली र नेपालभन्दा संग्रौला शक्तिशाली ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाल प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ता बनेका डा. युवराज संग्रौला अहिले आफ्नै पार्टीका नेताहरूविरुद्ध गोर्खाहरूलाई उचाल्दै हिँडेका छन् । सोझा लाहुरेहरूलाई पार्टी प्रयोग गरेर पार्टी बनाउने प्रस्ताव अस्वीकृत भएपछि गोर्खा आन्दोलनबाट बाहिरिएका डा. संग्रौला फेरि गोर्खाहरूको एउटा समूहमा आबद्ध भएर प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई सत्तोसराप गरिरहेका छन् ।
कुनै पनि विषयमा राम्रो दखल राखेर आफ्ना कुरा राख्ने डा. संग्रौलाको शैली धेरैले रुचाउँछन् । तर, पछिल्लो समयमा उनको गतिविधि र प्रस्तुतिबाट गोर्खाहरू सशंकित बन्न पुगेका छन् । अहिले उनी गोर्खाहरूको एउटा समूह ‘सत्याग्रह संयुक्त समिति’को प्रमुख हर्ताकर्ता छन् । अहिले ‘सत्याग्रह सयुक्त समिति’ डा. संग्रौलाकै योजनामा चलिरहेका छन् । तर, उनै डा. संग्रौला कुनै बेला गोर्खाहरूको संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बर्खास्त गरेका व्यक्ति हुन् ।
पछिल्लो समयमा सरकार गोर्खाहरूको समस्या समाधानको निम्ति गम्भीरताका साथ पहलमा छ । तर, डा. संग्रौला भने सरकारलाई नामर्द भन्दै गोर्खाहरूलाई थप आन्दोलनका निम्ति हौस्याइरहेका छन् भने बेलायती राजदूतावासमा ‘गोर्खाहरूको चाबी’ आफूसँग रहेको सन्देश पठाइरहेका छन् ।
माधव नेपाल आएपछि कालोनिलो
गत ९ पुस २०७५ मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या विषयमा छलफल आयोजना गरेको थियो । छलफलमा गोर्खाहरूको दुईवटा संस्था गेसो र सयुक्त सत्याग्रह संघर्ष समितिका नेतृत्वलाई बोलाइएको थियो । छलफलमा ‘सत्याग्रह सयुक्त समिति’ले डा. संग्रौला पनि ल्याएका थिए । समितिकी सभापति पवित्रा निरौला (खरेल) ले विज्ञ भन्दै डा. संग्रौला पनि बोल्न दिइन् ।
यसपछि डा. संग्रौला गोर्खा आन्दोलन आफूले हाँकेर ल्याएकोजसरी प्रस्तुत भए । डा. संग्रौलाले नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पनि आफंैले गोर्खाहरूलाई उपलब्ध गराएको दाबी प्रस्तुत गरे । तर, केही समयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइपुगे ।
नेता नेपालले पनि बोल्ने क्रममा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि आफूले परराष्ट्रमन्त्री भएको बेला उपलब्ध गराएर गोर्खाहरूलाई सहयोग गरेको बताए । यसपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरू नै अन्योलमा परे, ‘त्रिपक्षीय सन्धि डा. संग्रौलाले उपलब्ध गराएको हो या वरिष्ठ नेता नेपालले ?’ त्रिपक्षीय सन्धि वरिष्ठ नेता नेपाल परराष्ट्रमन्त्री भएको बेला गेसोलाई उपलब्ध गराएका थिए ।
त्यसअघि त्यो सन्धि नहँुदा गोर्खाहरूलाई बेलायतले ‘त्रिपक्षीय सन्धि’अनुसार तिमीहरूलाई सुविधा दिएको भन्दै आएका थिए । तर, गोर्खाले त्रिपक्षीय सन्धिको नै हेर्न नपाएपछि आन्दोलनमा समस्या भएको थियो । तर, नेता नेपालले यो उपलब्ध गराएपछि गोर्खाहरूलाई बेलायती अदालतमा मुद्दा हाल्न सजिलो भएको थियो । यही सन्धि उपलब्ध गराएका कारण गोर्खाहरूले वरिष्ठ नेता नेपाललाई असाध्यै मान्दै आएका छन् । तर डा. संग्रौलाले संसद्को समितिमै गलत दाबी गरेका थिए ।
पार्टी स्थापनाको प्रस्ताव
डा. संग्रौला गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सँग ५० को दसकदेखि नै जोडिएका हुन् । गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले उनलाई गेसोको कानुनी सल्लाहकार बनाएका थिए । डा. संग्रौलाले २०५७ सालसम्म गेसोको कानुनी सल्लाहकार भएर काम गरे । तर, गेसोमा आबद्ध रहँदाका उनका किस्साहरू भने अनेकांै छन् ।
२०४७ सालमा स्थापना भएको गेसो २०५३ सम्म आइपुग्दा शक्तिशाली संगठनका रूपमा स्थापित भइसकेको थियो । अधिकार प्राप्तिका लागि बेलायतसँग लडिरहेका थिए गेसो । हजारौंका संख्यामा गोर्खाहरू संगठनमा आबद्ध थिए । देशभरका जिल्ला शाखा संगठन बनेको थियो । त्यतिबेला आर्थिकदेखि संगठनको मामिलासम्ममा डा. संग्रौला हाबी थिए । यही क्रममा उनले २०५५ सालमा गेसोको नेतृत्वलाई पार्टी बनाउने प्रस्ताव राखे ।
तत्कालीन गेसो सभापति पदमबहादुर गुरुङ पार्टीको अध्यक्ष र आफू महासचिव रहनेगरी पार्टी बनाउने उनको प्रस्ताव थियो । पार्टीको नाम जुराए, ‘जनभावना पार्टी नेपाल ।’ डा. संग्रौलाको प्रस्तावपछि बेलायती विभेदविरुद्ध लडिरहेका गेसो नेतृत्व तर्सियो । पदमबहादुर गुरुङले डा. संग्रौलाको प्रस्ताव अस्वीकार गरे । गेसोलाई पार्टी बनाउने प्रस्तावपछि डा. संग्रौला भड्किए, तर गेसो छाडेनन् ।
गोर्खा आन्दोलन चलिरहेकै बेला डा. संग्रौलाले २०५७ सालमा फेरि गेसोसँग एउटा प्रस्ताव राखे, ‘बेलायतलाई दबाब दिन विश्वभरिका वकिलहरू ल्याएर नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ।’ उनको यो प्रस्ताव गेसोले मान्यो । देशभरि हल्लखल्ल गरेर अन्तर्राष्ट्रिय सम्मेलनको तयारी भयो । देशभरका गोर्खाहरू काठमाडौं आए । तर, सम्मेलन रहन एक साता बाँकी रहँदा उनी विदेश उडे । संसारभरका वकिलहरू ल्याउने र सम्मेलन गराउने जिम्मा लिएका डा. संग्रौला नै विदेश उडेपछि गोर्खाहरू बेवारिसेजस्तै भए । उनीहरूलाई आपत् आइलाग्यो । गोर्खाहरूलाई यस्तो संकट आयो कि ‘सम्मेलन नगरौं देशभरका गोर्खाहरू काठमाडौंमा आएका थिए । गरौं केही थाहा छैन ।’ यसपछि डा. ओम गुरुङको सहयोगमा केही वकिलहरू भेला गरेर समस्या टारिएको थियो ।
डा. संग्रौलाको यो कदमपछि गोर्खाहरू उनीसँग सशंकित भए । र, पदमबहादुर गुरुङले उनलाई चिठी लेखेर कानुनी सल्लाहकारबाट बर्खास्त गरे । गोर्खा आन्दोलनलाई कमजोर बनाउन बेलायती दूतावासबाट आर्थिक लाभ लिएको आशंकापछि उनलाई हटाइएको थियो । यसपछि डा. संग्रौला ‘काठमाडौं स्कुल अफ ल’ र आइएनजीओको कामतिर लागेका थिए ।
सरकारविरुद्ध गोर्खालाई उचाल्दै
पछिल्लो समयमा विभाजित गोर्खाहरू पनि एक भएका थिए । गेसो र सत्याग्रह समूह सहकार्यमा छन् । तर, उनै डा. संग्रौलाको कारण फेरि विभाजित भएका छन् । गोर्खाहरूलाई धोका दिएको डा. संग्रौला फेरि सक्रिय हुनुमा रहस्य रहेको भन्दै गेसोको नेतृत्वले पनि आशंको दृष्टिले हेरेको छ ।
तर सत्याग्रह समुहले भने उनलाई फेरि अघि सारेर हिडेका छन् । पछिल्लो समयमा गोर्खाहरूको समस्या सम्बोधनको निम्ती प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली गम्भिर भएर लागेका छन् । संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशन भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले गत ११ असोज २०७५ मा ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेसँगको भेटमा गोर्खाको विषयमा चासो राखेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले पनि गोर्खाहरूको समस्याको विषयमा पटकपटक गोर्खाहरूसँग छलफल चलाएका छन् । तर, डा. संग्रौलाले भने सरकार निकम्मा भएको भन्दै गोर्खाहरूलाई आन्दोलनमा उत्रिन उक्साइरहेका छन् ।
अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरूको मुद्दाको विषयमा छलफल गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टर नेपाल भ्रमणमा आज काठमाडौं उत्रिँदै छन् । परराष्ट्रमन्त्री ज्ञवालीले गम्भीरताका साथ छलफल चलाइरहेका छन् । तर, डा. संग्रौलाले भने गोर्खाहरूलाई अनशन, विरोधसभा, श्वेतपत्र जारीलगायत आन्दोलन गर्नुपर्ने भन्दै उक्साइरहेका सत्याग्रहका एक नेताले बताए । डा. संग्रौलाकै योजनमा केही दिनअघि पत्रकार सम्मेलन पनि गरिएको थियो । पत्रकार सम्मेलनमा सरकार गम्भीर नभएको भन्दै आन्दोलनको चेतावनी दिएका थिए । डा. संग्रौलाले आफ्नो ‘स्कुल अफ ल’का विद्यार्थीहरूलाई गोर्खाहरूका लागि लड्न पठाउने भन्दै पटकपटक भाषण गर्ने गरेका छन् ।
दोहोरो भूमिका
डा. संग्रौलाले गत ९ पुस २०७५ मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमै सरकारलाई नामर्द भएको भन्दै गाली गरेका थिए । त्यसलगत्तै उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटेर गोर्खाहरूबारे आफू जानकार रहेको र समस्या सम्बोधनका निम्ति आफ्नो पनि सहयोग लिन अनुरोध गरेका थिए ।
यो भेटपछि डा. संग्रौलाले गोर्खाहरूको बैठक बोलाएर परराष्ट्र ज्ञवालीले आफ्नो सल्लाहअनुसार काम गर्ने भन्दै हौस्याएका थिए । डा. संग्रौलाले बेलायत र नेपाल सरकारबीच हुने वार्ता समितिको सदस्यमा आफू पनि रहने भन्दै गोर्खाहरूका बीचमा प्रचार गराएका छन् । वार्ता समितिमा रहेर आफूले सबै गर्ने भन्दै आर्थिक संकलनसमेत उनले गर्न लगाएका छन् ।
यता अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पूर्वमन्त्री भीम रावलको नेतृत्वमा गोर्खाहरूको विषयमा अध्ययन गर्न समिति बनाएको छ । यो समिति बनेपछि डा. संग्रौलाले गोर्खालाई भनेका छन्, ‘भीम रावलको समितिले मैले भनेअनुसार नै काम गर्छ । मैले नै लेखेर दिने हो ।’ त्यसो त समितिकी सभापति पवित्रा निरौलाको दिमाग भने डा. संग्रौलाले भुटिसकेका छन् । विवादस्पद भूमिकामा रहेका डा. संग्रौलालाई सभापति निरौलाले विज्ञ भन्दै समितिमा बोलाउने गरेकी छन् ।
डा. संग्रौला यता गोर्खाहरूको एउटा समूहसँग छन् भने नेपालस्थित बेलायती राजदूतवासको कर्मचारीहरूको नियमित सम्पर्कमा रहेको दूतावास स्रोतको दाबी छ । स्रोतका अनुसार डा. संग्रौलाले ‘गोर्खाहरूको जिम्मा’ आफूले लिने तर राजदूतसँग यो विषयमा कुराकानी गर्न पाउनुपर्ने प्रस्ताव राखेका छन् । तर, राजदूतले भने उनलाई भेटेका छैनन् । यसअघि गेसोलाई धोका दिएपछि डा. संग्रौलालाई दूतावासले सहयोग गरेको गोर्खाहरूकै दाबी छ । यसपालि पनि यस्तै अपेक्षाले उनी सक्रिय भएको आशंका गोर्खाहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नौ महिनामा १ खर्ब ८२ अर्बको इन्धन खरिद

ShareTweet काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा करिब १० खर्ब रुपैयाँबराबर व्यापार घाटा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म ९ खर्ब ९१ अर्ब ७८ लाख ८८- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा