23rd March 2019, Saturday

E-budhabar

शाही ठाँटबाँटको पुनरावृत्ति



– केही दिनपूर्व नेपाली कांग्रेसका कोइराला–परिवारका शीर्ष तहका नेताहरूलाई वीरगञ्जमा आयोजित एउटा कार्यक्रममा १२१ किलोको माला पहिराइ दिए । कांग्रेस महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई गिरिजाप्रसाद कोइराला फाउन्डेनले आयोजना गरेको उक्त कार्यक्रममा सामूहिक रूपमा त्यस्तो माला पहिराइदिएका हुन् ।
–कोइराला परिवारका नेतात्रयलाई बडेमानको फूलमाला पहिराइदिएको चार दिनपछि वीरगन्जसँगै जोडिएको बारा जिल्लाको एक कार्यक्रममा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झन् ठूलो माला पहिराइ दिए । १५१ किलोको माला । तीन जना कोइरालाले पहिरेका भन्दा ३० किलो बढीको माला देउवाले पहिरिए । केही दिनको अन्तरालमा वीरगञ्जमा भेगमा कांग्रेसका शीर्षस्थ नेताहरूबीच कसले बढी किलोको फूलमाला पहिरिने भन्ने प्रतिस्पर्धा नै चल्यो ।
– वीरगन्जआसपास कांग्रेसका नेताहरूले बडेमानको माला पहिरिएको प्रभावले हो वा अरू कुनै कारणले हो, सुदूरपश्चिमको डोटीमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीयवासीले ५१ किलोको माला पहिराइदिए । वीरगन्जमा कांग्रेसका नेताहरूबीच कसले धेरै किलोको फूलमाला पहिरिने भन्नेमा प्रतिस्पर्धा चलेभन्दा प्रधानमन्त्रीको माला केही सानो नै देखियो । अर्थात् प्रतिस्पर्धामा उत्रिन सकेन, प्रधानमन्त्रीलाई पहिराइदिएको माला ।
बेग्लाबेग्लै थलोमा भएका यी माला–प्रकरणले हामी कुन संस्कृतिको पद्चिन्ह पछ्याउँदैछौं ? हामी कुन दिशातिर यात्रान्मुख हुँदैछांै ? हाम्रा राजनीतिक दलका नेताहरूले कस्तो संस्कृतिको विकासमा जोड दिइरहेका छन् ? यस्ता प्रश्नहरूको उत्तर छर्लङ्ग रूपमा दिन्छ ।
हिन्दू धर्म, संस्कृति र संस्कारले फूलको माला पहिरिने पहिरिने कार्यलाई पहिलादेखि नै प्रश्रय दिँदै आएको छ । हिन्दू देवीदेउताका मन्दिर र मूर्तिहरूमा फूलको थुँगा, गुच्छा र फूलको माला चढाइने गरिन्छ । फूललाई पवित्र वस्तु मानिने भएको हुँदा सबैजसो मन्दिरमा स्वीकार्य हुन्छ । धर्मबाहेक हिन्दू संस्कार र संस्कृतिमा पनि फूलले स्थान पाउँदै आएको छ, वर्षौंदेखि । जन्मदेखि मृत्युसम्म नै फूलले मान्यता पाएको छ । हरेक संस्कारमा फूल स्वीकार्य हुने भएको हुँदा नेपालमा उत्पादित फूलले मात्र नपुरेर बर्सेनि विदेशबाट करोडौंको फूल आयात हुने गर्छ ।
तर, पछिल्ला तीन घटनाले भने फूलको नै उपहास भएको प्रस्टै देखिन्छ । राजनीतिक संस्कारको अभावले हो वा देखावटीपनलाई प्रश्रय दिने नियतले हो, आफ्नो क्षेत्रमा केन्द्रीय तहका कुनै नेता, उच्च ओहदामा आसिन व्यक्ति आउँदा सयौं किलोको माला लगाइदिएर सम्मान भाव प्रकट गर्ने होडबाजी नै सुरु भएको छ । यो अहिले मात्र देखिएको होडबाजी होइन, केही वर्षयता यस्तो अस्वस्थ होडबाजी चल्दै आएको छ । केही अवधि किलोका किलो फूलको माला पहिरिइदिने आडम्बरी कार्य स्थगन भए पनि फेरि त्यसको पुनरावृत्ति हुन थालेको आभास भएको छ ।
राजसंस्थाले बिदाइ पाएको एक दशक अवधि नाघिसक्यो । तर, कुनै पनि राजाको राज्यारोहणको बेला लगाइने पोसाकको निर्माण र त्यसलाई पहिरिने बेलाका अनेक प्रक्रिया हुन्थ्यो । राजारानीलाई भुइँमा फिँजारिएको पोसाक लगाइदिने बेला त्यो पोसाकलाई १६ जना मानिसहरूले बोकेर ल्याइने गरिन्थ्यो । विशेष रूपमा तयार पारिएको त्यो पोसाक राजा–रानीले पहिरिँदा शाही ठाँटबाँटको झल्को त दिन्थ्यो नै, त्यसको अन्तर्यमा आफ्नो सामन्ती शासन व्यवस्थालाई अरुभन्दा पृथक् देखाउने शाही रवाफ पनि जोडिएको हुन्थ्यो, उत्तिकै मात्रामा । विशेष रूपमा तयार पारिएको, विभिन्न रत्नहरू जडित त्यस्तो पोसाक राजा–रानीले लगाए पनि उनीहरू आलोचनाको वृत्तबाट टाढै हुन्थे । किनभने, त्यो शाही ठाँटबाँटको गहन प्रतिक थियो । तर, राजा–रानीलाई जनताले चुनेर दरबारमा नपठाएका हुँदा र उनीहरूमा जनताप्रति कुनै उत्तरदायी नरहेको हुँदा सदैव जनआलोचनाबाट टाढै रहन्थे ।
जननिर्वाचित र जनताप्रति उत्तरदायी नेताहरूले भने सयौं किलोको माला पहिरिनुले तत्कालीन राजा–रानीहरूको शाही ठाँटबाँटको झल्को अवश्य नै दिएको छ । सयौं किलोको माला पहिरिनु र कार्यकर्ताहरूले त्यस्तो ‘भव्य चाकडी’ गर्नुले नेताहरूमा आफूहरू पनि राजा–महाराजाभन्दा कुनै पनि अर्थ र हिसाबले कम नरहेको अहं भावको प्रदर्शन गराउँछ । कांग्रेस सभापति देउवा, कोइरालात्रय र प्रधानमन्त्री ओलीले भिन्नाभिन्नै स्थानमा पहिरिएका मालाले शाही ठाँटबाँट र रवाफको नमीठो गन्ध आउनु स्वाभाविकै हो ।
त्यसो त, नेताको गलामा सयौं किलोको माला पहिराइदिनु उत्ताउलोपनको पराकाष्ठा पनि हो । एउटा सामान्य माला पहिराइदिँदा हुने कार्यमा सयौं किलोको माला किन पहिराउने ? सयौं किलोको माला पहिराइदिँदा नेताको कद बढ्ने पनि होइन होला, पक्कै । यस्तो भद्दा कार्यमा कार्यकर्ताहरूले अग्रसरता देखाउनुले गलत संस्कृतिको विकास मात्र भएको छैन, पार्टीका कार्यकर्ताहरू हनुमानको स्तरभन्दा माथि उठेका रहेनछन् भन्ने प्रस्टै बुझाउँछ ।
नेताहरूले पनि अतिरञ्जनालाई नकार्न सक्नुपर्छ । किनभने, गुँद पनि धेरै खायो भने तीतो हुन्छ भन्ने गरिन्छ । सम्मान पनि ठिक्कको भयो भने त्यो सम्मानको तहमा विराजमान हुन्छ । तर, अतिसम्मान गरियो भने त्यो लोकलाई हँसाउने र आलोचनाको विषय मात्र बन्ने गर्दछ । आफूलाई ५१, १२१ वा १५१ किलोको माला पहिराइदिँदा त्यसले आफ्नो सम्मान गर्दछ कि आलोचनाको पात्र बन्न पुगिन्छ भन्ने पक्षमा नेताहरू स्वयं सजग हुनु आवश्यक छ । शाही ठाँटबाँट र रवाफिलोपनबाट आफूलाई मुक्त राख्न सकेकै राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा