25th April 2019, Thursday

E-budhabar

सुखद रहेन अन्तिम कार्यकाल



सुखद रहेन अन्तिम कार्यकाल

म पाँचपटक मन्त्री भएँ । अन्तिमपटक २०६७ सालमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएँ । तर, ६ महिनाको त्यो सरकारमा मेरा अनुभव त्यति सुखद रहन सकेन । मन्त्री भएको १०–१५ दिन त ठिकै थियो, तर त्यसपछि प्रधानमन्त्रीले प्रायः मलाई बोलाउन छाड्नुभयो । मन्त्रालय बाँडफाँट, शान्ति प्रक्रिया वा अरू जे–जति विषयमा हुने छलफल हुन्, मलाई बोलाउन छाडियो । कहिलेकाहीँ बालुवाटार जाँदा, केही कुरा सुन्थें । म सरकारको उपप्रधानमन्त्री र पार्टीको स्थायी समिति सदस्य तर मलाई केही थाहा हुँदैनथ्यो । एमालेकै नेतृत्वमा सरकार हुँदा पहिलो उपप्रधानमन्त्री एमालेकै हुनुको कारण म नै हुँ । कृष्णबहादुर महरा स्वयंले हामीभन्दा सिनियर भएकाले भरतमोहनजीलाई नै पहिलो उपप्रधानमन्त्री बनाऔं भनेर प्रस्ताव गर्नुभएको हो । जबकि, माओवादीले पहिलो उपप्रधानमन्त्रीमा महराजीको नाम निर्णय गरेको थियो । यस्तो बेला प्रधानमन्त्रीले मलाई पनि उपयोग गर्न जान्नुपथ्र्यो । म त उपप्रधानमन्त्री हुँ, केटाकेटी होइन, तर मसँग सल्लाह नै गर्नुभएन ।
म देखिरहेको छु, पार्टीका बैठक पनि हुन सकिरहेका छैनन् । स्थायी समितिबाट म र विष्णु पौडेल दुईजना सरकारमा छौं । कमसेकम उहाँले पार्टीमा संस्थागत निर्णय पनि गर्नुभएन नै, सिनियर नेतालाई वार्तामा सहभागी पनि गराउनुभएन । सरकारमा भएका स्थायी समीति सदस्यहरूसँग पनि छलफल गर्नुभएन । आखिर उहाँ प्रधानमन्त्री मात्र होइन, पार्टी अध्यक्ष पनि हो । माधव नेपाल, केपी ओली, वामदेव गौतम जसले गरे पनि जस त उहाँलाई नै जान्थ्यो । २०५१ सालको नौ महिने सरकारमा वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था मैले सुरु गरेको हुँ । तर, गाउँका जनताले मनमोहन बुढाले दिए भन्छन् । प्रधानमन्त्रीकै नाम लिन्छन् । प्रधानमन्त्रीले एकपटक पनि एमाले मन्त्रीहरूको बैठक बोलाउनुभएन बरु मैले बोलाएर बजेटबारे सुनाएँ ।
म त धैर्य गरेर सहेर बसें । ममाथि त्यत्रो रामेश्वर प्रकरण उठ्यो, प्रधानमन्त्रीले कुनै डिफेन्स गर्नुभएन । बरु, बालुवाटारमा मेरा विरुद्ध कुरा भइरहको सुनें । श्वेतपत्र जारी गर्नेदेखि ऊर्जा संकट घोषणा कार्यक्रम होस् वा वर्षौंदेखि नियमित रूपमा आउन नसकेको बजेट ल्याउने काम नै किन नहुन्, ती मैले गरें । तर उहाँले अनुभवी र सिनियर पनि हो भनेर मलाई विश्वासमा लिनुभएन । मलाई उपप्रधानमन्त्री बनाइयो । प्रधानमन्त्रीपछिको साख थियो । प्रधानमन्त्रीलाई पनि सदन, पार्टी र जनताको विश्वास छ भने बलियो हुन्छ, नत्र कमजोर हुन्छ । संविधान र कानुनमा अधिकार छ, तर कमजोर हुन्छ । मन्त्रीको त के हुँदो रहेछ भने प्रधानमन्त्रीले मन्त्रीमाथि पूरा विश्वास गरेको छ भने प्रशासनले पुरा टेर्दो रहेछ, प्रधानमन्त्रीको व्यवहार तलमाथि पर्नासाथ प्रशासनको व्यवहार पनि व्यस्तै परिवर्तन हुँदो रहेछ । सुरुमा म उपप्रधानमन्त्री भएँ । मलाई विश्वास गरेर ऊर्जा, सिँचाइ, वाणिज्य मन्त्री र संवैधानिक परिषद्को सदस्य बनाउनुभयो । मेरो साख अलिकति बढ्यो । मुख्य सचिव, सचिवहरू फाइल बोकेर अर्थ मन्त्रालयमै आउने थाले । मैले इमानदारपूर्वक काम गरे पनि तर पछि विभिन्न घटना क्रममा प्रधानमन्त्रीले मलाई डिफेन्स नगर्नुभएको, बालुवाटारबाटै मेरा विरुद्ध कुरा आउन थालेपछि प्रशासनले पनि राम्रो व्यवहार गर्न छाड्यो । हुँदाहँुदा एक दिन त मुख्य सचिवको पत्र आउँछ । तपाईंलाई संवैधानिक परिषद्बाट हटाइएको छ भन्ने पत्रमा उल्लेख छ । मलाई त्यसै दिन सरकारबाट राजीनामा गर्न मन थियो, तर संयम अपनाएँ ।
एउटा मुख्य सचिवले मलाई पत्र लेख्ने ? म त अर्थ मन्त्रालयमा सचिवसँग बसेर कुरा गरिरहेको थिएँ । अचानक आएको त्यो पत्र सचिवहरूले पनि हेरे । अनि के प्रभाव पर्छ ? त्यही कुरा पनि मसँग सल्लाह गरेको भए अरू पार्टीलाई पनि मिलाउनुप¥यो भनेर मैले नै प्रस्ताव गरिदिन्थे । म हट्नै परे पनि त प्रक्रिया थियो या मबाहेक अरू कसैलाई हटाएर पनि मिलाउन सकिन्थ्यो । इन्दिरा गान्धीले मन्त्रिमण्डल हेरफेर गर्दा हामीलाई आलुभन्टा जस्तो पनि ठानिन भनेर मुरारी शाहीले भनेका थिएँ । झलनाथजीले पनि त्यस्तै गर्दिनुभयो । त्योभन्दा महŒवपूर्ण के हो भने त्यो निर्णयले प्रशासनमा मेरो प्रतिष्ठा के भयो ? आफ्नो मन्त्रीले गरेको राम्रा कामको प्रशंसा गर्ने, काम नगरे हटाउन,े गल्ती गरे सम्झाउने, यो त नेताको सामान्य शैली हो । पछि उहाँले बोल्दा पनि मैले बजेट ल्याएँ, बैंकको समस्या समाधान गर्छु भन्दै हुनुहुन्थ्यो । उहाँकै सरकार हो जस त उहाँलाई नै जान्छ । तर गर्न त मैले गरेको हुँ । राम्रो काम गर्नेलाई प्रोत्साहन नगर्दा पनि उत्साह आउँदो रहेनछ । झलनाथजीप्रति मेरो सम्मान छ, तर पीडा र गुनासा नि त्यतिकै छन् । बजेट बनाउने बेला एकचोटि सचिवले भरतमोहनले मारवाडीका कुरा ल्याउँला त्यसो गर्न नदिनुहोला भन्दै बालुवाटारबाट भनेको खबर ल्याएँ । मैले प्रधानमन्त्रीलाई सोधे, ‘हो ?’ एकचोटि कुरा भएको हो भन्नुभयो । आफुले बनाएको अर्थमन्त्री आफ्नो पार्टीको महाधिवेशन दस्तावेजबमोजिम बजेट बनाइरहेको छ, त्यो हेर्नु छैन, हावादारी कुरामा गएको छ । बरु, मैले यति प्रतिकूल परिस्थितिमा पनि बजेट ल्याएँ । जुन सरकार हामीले बनायौं, त्यसमा केही कमजोरी भए होलान्, तर पार्टीमा विश्वास सिर्जना गरेर सरकारको अधिकतम उपयोग गरेर सके शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन सक्थ्यौं, नभए पनि एमाले शान्ति र समावेशी लोकतन्त्र र तीनखम्बे आर्थिक नीति विकासको बाटो हो भन्ने स्थापित गर्न सक्थ्यौं । बजेट राम्रो आयो तर स्वामित्व कसैले लिएन ।
मैले बजेट ल्याउँदा माधव नेपाल विदेशका हुनुहुन्थ्यो, फर्केर आएपछि डा. युवराज खतिवडालाई बजेट कस्तो लाग्यो भनेर सोध्नुभएछ । ‘हामीले मिलेर बनाएको बजेट हो, मैले चाहिँ तपार्इंलाई सोध्नुपर्ने’ भन्नुभएछ खतिवडाले । तैपनि भन्नुस् न भन्नुभएछ । खतिवडाले भन्नुभएछ, ‘अरु कुरा नगरौं, २०५१ सालपछिको राम्रो बजेट हो । २०५१ सालमा पार्टीले स्वामित्व लियो, आज पनि हाइहाइ छ । त्यस्तै प्रभाव यो बजेटले पनि पार्ने थियो तर स्वामित्व भएन ।
सरकार बनेपछि यसको महत्व बुझ्नुपथ्र्यो । यो किन आएको, कुन राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा आयो, योभन्दा बढी समय सरकार कसरी कायम राख्ने र कसरी ठोस परिणाम दिने भन्नेजस्ता कुरामा गम्भीर हुनुपथ्र्यो । मनमोहनजीको सरकार नौ महिना त हो । यो सरकार जम्मा तीन महिना कम त हो, अझै भन्ने हो भने मनमोहनजीको सरकारले ६ महिना मात्र काम गरेको हो, तीन महिना त मुद्दा लड्दै बित्यो । त्यसैले यो सरकारले पनि ६ महिनामा केही परिणाम दिन सक्थ्यो । नभए पनि यसले गर्न खोजेको थियो, गर्न दिइएन भन्ने सन्देश दिन सक्थ्यो । मलाई उपप्रधानमन्त्री, अर्थमन्त्री हुने रहन नै थिएन । एकचोटि भएपछि जहिले पनि भूतपूर्व नै हुने हो, त्यो भइसकेको मान्छेलाई केको रहर ? बरु मौका परे एकचोटि नेतृत्व नै गरौं भन्ने हुन्छ, त्यो मेरो लालसा नै छैन र हुनेवाला पनि छैन । त्यसबेला देशको अर्थतन्त्र ट्र्याकबाहिर थियो, ट्र्याकमा ल्याउँछु भनेर, मैले हुन्छ भनेको थिएँ । त्यसमा केही काम गरेर देखाए पनि । तर, जुन सहयोग हुनुपथ्र्यो, भएन । झलनाथजी माले पृष्ठभूमिबाट आउनुभएको हो, म एमालेबाट आएको हुँ । लामो समय सँगै बसियो । २०४९ सालदेखि हालसम्म एउटै कमिटीमा बसिरहेका छौं । उहाँले मलाई माया पनि गरेकै हो । आठौं महाधिवेशनमा उपाध्यक्षका लागि प्रस्ताव गर्नुभएको थियो । पछि उहाँको समूहले मानेन । स्थायी कमिटीमा पनि उहाँले बल गरेर ल्याएकै हो । मन्त्री पनि उहाँले प्रस्ताव गर्नुभएकै हो । संविधानको विवाद समाधान उपसमितिमा मलाई राखेकै हो । यी सबै कुराका कारण ममा मानवीय विवेक हुँदा उहाँको गनुगान गर्नैपर्छ । झलनाथजी वास्तवमा संयम, बुद्धिजीवी, राम्रो कलम चलेको, आफ्नो कुरा प्रस्ट राख्न सक्ने प्रिजेन्टेबल नेता हो । त्यस अर्थमा एमालेको ठूलो सम्पत्ति हो । तर अर्कातर्फ उहाँमा बौद्धिक र चिन्तनशीलताले होला, माधव नेपालमा जति क्रियाशीलता छैन ।
अर्कोतर्फ उहाँले सानो समूहसँग बसेर सबै कुरा गर्नुहँुदो रहेछ । त्यो सानो समूहबाट धेरै प्रभावित भएकाले उहाँलाई धेरै नोक्सान पनि भयो । यति हुँदा पनि हाम्रो सरकारले अपेक्षित रूपमा राम्रो काम गरेको हो, तर अपेक्षाअनुरूप अझै राम्रो काम हुन सक्थ्यो । ‘म देशको प्रधानमन्त्री भएँ, यो सधैं बसिरहने ठाउँ होइन जति दिन बस्छु राम्रो गर्छु, देशवासीले सुझाएको काम गर्छु’ भन्ने आधारमा प्रतिबद्ध हुनुपथ्र्यो । हामीसँग उदाहरण नै छ नि, मनमोहनजीले ६० वर्ष राजनीति गर्नुभयो, नामचाँहि त्यति नौ महिनाले कमाउनुभयो । मनमोहनजीजस्तै नाम कमाएर जान्छु भन्ने भावना हुनुपथ्र्यो । त्यसका लागि मलाई कसले सहयोग गर्न सक्छ ? भन्ने झलनाथजीले खुट्याउन सक्नुभएन, सानो घेरामा सीमित हुनुभयो । उनीहरूले के–कति फाइदा लिए, तर झलनाथजीको व्यक्तित्वमा चोट प¥यो ।
अर्को एउटा घटना छ, जसले झलनाथजीलाई झन् ठुलो धक्का पु¥यायो । उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर माओवादी मन्त्रीहरूको शपथ गर्ने तयारी गर्नुभएछ । यो २०६८ साउन १६ गतेको कुरा हो । मन्त्रीको शपथग्रहण साँझ ५ बजेका लागि मिलाएको रहेछ, ३ बजे पार्टीको स्थायी कमिटी बैठक डाकिएको छ । स्थायी कमिटीका अधिकांश साथीले मन्त्रिपरिषद् विस्तार गर्ने कुरा चित्त बुझाउनुभएको छैन भन्ने पनि थाहा छ । स्थायी कमिटी बैठक नै नबसी राष्ट्रपतिसँग किन शपथको समय मिलाइयो ? शपथ नै गराउने हो भने बैठक किन डाक्नुपरेको हो ? कसले गराइरहेको हो त्यो प्लानिङ, केही बुझ्न सकिएन । ३ बजे बैठक बस्यो, बैठकमा विवाद आइहाल्यो, विवाद चर्कंदै गयो । मैले भनें, ‘प्रधानमन्त्रीज्यू ! म तपाईंको मन्त्रिमण्डलको सदस्य पनि हुँ, म आफैं शपथग्रहण गर्न जाँदा नगरी फर्केर पनि आएको छु, त्यसकारण तपाईंले शपथग्रहण रोक्नुहोस् । हाम्रो पार्टीमा सहमति भएन भनेर प्रचण्डलाई भन्नुहोस्, केही बिगँ्रदैन ।’ त्यसपछि झलनाथजीले त्यहीँबाट फोन गरेर प्रचण्डलाई भन्नु पनि भयो । फोन राखेपछि, ‘ल मैले शपथ ग्रहण रोके, अब बाँकी कुरा छलफल गरौं’ पनि भन्नुभयो । त्यसपछि अचानक वामदेव र उहाँ बाहिर निस्कनुभयो । बाहिर के–के भयो, क–कसलाई फोन गर्नुभयो कुन्नि, फर्केर आएर त होइनन म शपथ गराउँछु, भन्नुभयो । हामी सबैले नगरौं नगरौं भनिरह्यौं तर उहाँ गराउँछु भन्दै उठेर हिँडिदिनुभयो । शपथ गराईछाड्नुभयो । उता बैठकले शपथ नगराउने भन्ने निर्णय ग¥यो । राति मलाई फोन गरेर तपार्इंले पनि बैठकको माइन्युटमा सही गर्नुभएछ, तपाईंले आत्माघाती काम गर्नुभयो भन्नुभयो । मैले बुझेको छु, तपाईंसँग बसेर कुरा गर्छु भनेर फोन राखें । ठीक छ, गठबन्धन सरकारमा पार्टीमा कसलाई मन्त्री बनाउने भन्ने कुरा त्यही पार्टीले भन्ने हो, शपथ ग्रहण कहिले गराउने भन्ने प्रधानमन्त्रीकै कुरा हो । त्यसो भए उहाँ किन स्थायी कमिटीमा आउनुभयो त ? स्थायी कमिटीमा आएर त्यो एजेन्डा बनिसकेपछि उहाँको त्यो अधिकार हुँदैन । पार्टीको अध्यक्ष, मन्त्री, प्रधानमन्त्री सबैको आ–आफ्नो अधिकार हुन्छन् । तर, जब त्यो विषय कमिटीको एजेन्डा बन्छ, कमिटीले जे निर्णय गर्छ, त्यही गर्नुपर्छ ।
वामदेवले पनि मलाई फोन गरेर हामी सबैले सम्मान गर्ने तपाई यति पुरानो मान्छे, तपाईंले स्थायीको निर्णयमा हस्ताक्षर गर्न नहुने भन्नुभयो । सही गरिसकेपछि अब तपाईलाई अर्थ मन्त्रालयमा बस्ने नैतिक अधिकार छ कि छैन ? पनि भन्नुभयो । मैले भने, त्यो कुरा मैले राम्ररी बुझेको छु कमरेड, म यो कुरा झलनाथजीलाई भन्छु । मेरी श्रीमती सविताले पनि मलाई त्यसै दिन राजीनामा दिनुस् भनेकी थिइन् । त्यो दिन त बेलुका भइसक्यो, भोलिपल्टै राजीनामा गर्ने मनस्थिति बनाइसकेको थिएँ । मैले फेरि सोचे, पाँच÷सात दिनपछि केन्द्रीय कमिटी बस्दैछ, त्यही दिन राजीनामा दिएर स्वीकृत पनि हुने होइन, अर्कोतर्फ भोलि म आफै एजेन्डा बन्छु भनेर पर्खिएँ । एउटा राम्रो सरकार, कुनै पनि विषयमा पार्टी कमिटीमा राम्रो छलफल गरेर चल्ने कुरामा पुग्दा र बाह्य वातावरण अनुकूल बन्दाबन्दै पनि त्यसलाई समातेर हाँक्न सकिने सम्भावना यसपटक चुक्यो । (खनाल सरकारबाट हटेपछि गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा