23rd March 2019, Saturday

E-budhabar

रवीन्द्र दाइसँगका कहिल्यै नबिर्सने सम्झनाहरू



रवीन्द्र दाइसँगका कहिल्यै नबिर्सने सम्झनाहरू

सम्झिन्छु, ‘रवीन्द्र दाइसँग कहिले भेट भयो ?’ ठ्याक्कै तिथिमिति सम्झना छैन । तर दाइसँगका सम्झनाहरू अनेक छन् । दाइसँगका ती दिनहरू सम्झिन्छु । समाचारहरू हेर्छु, मनै अमिलो हुन्छ, धमिलो हुन्छ । त्यो गहिरो पीडा, जुन म यहाँ लेखेर व्यक्त गर्न असमर्थ छु । तस्बिरहरू हेर्छु, ‘उठेर राजेश भन्दै धाप मार्नुहोला जस्तो लाग्छ ।’ रवीन्द्र दाइसँग नेता–पत्रकारको सम्बन्ध थिएन । न त नेता–कार्यकर्ताको सम्बन्ध नै । त्यसैले मैले कमरेड कहिल्यै भनिनँ । सधैं भनें, ‘रवीन्द्र दाइ ।’
परिचयपत्रले रोकेको अन्तिम भेट
अस्ति शनिबार (११ फागुन २०७५) साँझ पोखरामा भएको भेट नै रवीन्द्र दाइसँगको अन्तिम भेट भयो । हामी नेपाल पत्रकार महासंघको साधरण सभाका लागि पोखरामा थियौं । उद्घाटनको दिन (९ फागुन २०७५) मा अतिथिका रूपमा रवीन्द्र दाइ पुगेका थिए । तर त्यो दिन भेट भएन । साधरणसभा सम्पन्न भएपछि विष्णु दाइ (नेकपाका केन्द्रीय सदस्य क. विष्णु रिजाल) सँग पोखरा घुम्ने योजना बन्यो ।
रवीन्द्र दाइ साधरण सभाको उद्घाटनपछि काठमाडौं फर्केर फेरि ११ गते पोखरा आएका रहेछन् । विष्णु दाइ, भाउजू, बाबु र मेनुका बाहिर घुम्न निस्किँदै थियौं । होटल बाराहीको आँगनमा उही हँसिलो मुद्रामा भेटिए रवीन्द्र दाइ । केहीबेर कुराकानी भयो । रवीन्द्र दाइले विष्णु दाइसँगका अखिलकालीन पुराना सम्झना कोट्याए । छुट्ने बेला उही पुरानै शैलीमा धाप मार्दै भने, ‘भेट्नुपर्छ है !’
म सोमबार (१३ फागुन) पोखराबाट फर्किएँ । सायद सामाजिक सञ्जालमा पोखरा घुमेका तस्बिरहरू देखेर होला दाइले फोन गरेर सोधे, ‘राजेश, फेवातालतिरै हो ?’ ‘फर्किसकें दाइ,’ मैले भने, ‘दाइको सहरमा दुई दिन बुहारीलाई घुमाएँ ।’ दाइले भने, ‘मंगलबारतिर मन्त्रालय आउनू भेटम् ।’
मंगलबार छेटुजी (पत्रकार छेटु शेर्पा) सँग सिंहदरबार हान्निएर गएँ । तर, सिंहदरबार छिर्न मिल्नेगरी केही कार्ड नै गोजीमा रहेनछ । लिखित परिचयपत्र नभएपछि मौखिक परिचय प्रस्तुत गर्दै प्रहरीलाई भनसुन गरिहेरे । प्रहरीले ‘हामीलाई अप्ठ्यारो पर्छ हुन्न हजुर’ भनेर छिर्न नदिने अन्तिम घोषणा सुनाए । ‘कसैलाई किन अप्ठ्यारो पार्ने ?’ तिनको घोषणाको सम्मान गर्दै बिजुलीबजारतिर हिँडें ।
बेलुकी त धनकुटाका माननीय राजेन्द्र दाइसहित अर्जुन दाइको गाडीमा सिंहदरबार छि¥यौं । तर, त्योबेला मैले पाएको समय घर्किसकेको थियो । सम्झें, ‘अर्को दिन दाइलाई फोन गरेर जानुपर्ला ।’ मलाई के थाहा, ‘दाइसँग भेट्ने समय अब छैन भनेर ?’ अब त्यो अर्को दिन कहिल्यै नआउनेगरी सधैंसधैंका लागि भागेको छ । मनमा प्रश्न दोहोरिरहन्छ, ‘दाइले कुन्नि के भन्न बोलाएका थिए ?’
गोर्खाहरू आन्दोलनको ‘मेन्टर’
मैले मेरो जिन्दगीको उर्वर समय (२५ देखि ३२ सम्म) को अरू आन्दोलनसँगै ब्रिटिस गोर्खाहरूको अभियानमा काम गरेर खर्च गरे । झन्डै सात वर्ष गोर्खा सैनिक आवाजको सम्पादकको भूमिकामा काम गरे । संगठन र पत्रकारिताभन्दा पनि गोर्खाहरूको अभियानले रवीन्द्र दाइसँग बढी नजिक र बाक्लो गरी काम गर्ने अवसर मिल्यो । गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ, हालका सभापति कृष्णकुमार राई, साहित्यकार श्यामल, लेखक तथा साहित्यकार झलक सुवेदी, नेता शिव गुरुङ कुनै समयमा भेटिरहने समूह थियो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा भएको पहिलो चरणको आन्दोलन आफैंमा गौरवमय थियो । गोर्खाहरूमाथि भएको विभेदविरुद्ध २०४७ यता गेसोले संघर्ष चलायो । आन्दोलन नेपालको सडक, सदन र बेलायती सडक, सदन र अदालतसम्म पुग्यो । गोर्खा आन्दोलनले यो उचाइ प्राप्त गर्नुमा रवीन्द्र दाइको पनि ठूलो हात थियो । कुनै बेला गोर्खा आन्दोलनका अगुवाहरूको कुरा सुनिदिने मान्छेसमेत थिएन । त्योबेला विद्यार्थीहरू भेला गर्नेदेखि आन्दोलन र अभियानका योजना बनाइदिने काम गरे । कुनै अभियान वा आन्दोलन गर्नुपर्दा रवीन्द्र दाइको सल्लाह जरुरी हुन्थ्यो । वास्तवमा उनी गोर्खाहरूहरूको एकजना ‘मेन्टर’ थिए ।
गोर्खा सैनिक आवाज सम्पादनको त्यो लामो समयमा मलाई दाइले धेरै गाइड गरे । रवीन्द्र दाइ जति राम्रो बोल्थे, त्यति नै राम्रो कलम पनि चल्थ्यो । कतिपय अंकका कभर स्टोरी गर्दा ‘स्टोरी प्लानिङ’ दाइसँगै बसेर गरें । एक हिसाबले मेरो सल्लाहकार सम्पादकजस्तै थिए, रवीन्द्र दाइ ।
रवीन्द्र दाइ रिसाएको त्यो दिन ः खुसी भएको त्यो दिन
रवीन्द्र दाइसँग हाम्रो सम्बन्ध बढो अनौपचारिक थियो । दाइ पार्टीका नेता, हामी कार्यकर्ता । तर, तत्कालीन एमालेको महाधिवेशनताका रवीन्द्र दाइ र हाम्रो गुट फरक भयो । महाधिवेशन आउन एक महिनाअघि मैल गोर्खा सैनिक आवाजमा एमालेभित्र आशाको अनुहार शीर्षकमा एउटा स्टोरी छापें । तर, त्यसमा रवीन्द्र दाइको योगदान केही थिएन । घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत १० जनाको तस्बिर थियो । बुढाले पत्रिका पढेछन् क्यारे ? दाइले म्यासेज गरेर भने, ‘राजेशले मेरो अनुहारमा आशा देखेकोमा धन्यवाद छ है ।’
पार्टीको महाधिवेशन सकियो । हाम्रो (प्रेस चौतारी नेपाल) को महाधिवेशन आयो । म सचिव थिएँ । महासचिवको प्रत्यासी । एक दिन गोर्खा आन्दोलनकै विषयमा काठमाडौंको लाजिम्पाटमा तत्कालीन गेसोका सभापति पदमबहादुर गुरुङ, रवीन्द्र दाइ र मबीच एउटा बैठक थियो । विषय सकिएपछि मैले प्रेस चौतारीको चुनावको कुरा गरें । यसै जिस्किएर भने, ‘दाइ हाम्रो महाधिवेशन आयो, दाइलाई पनि भोट मागीदिनू भन्न पनि गुट फरक भयो ।’ सधैं हाँसेर बोल्ने रवीन्द्र दाइ एक्कासि रिसाए । र, सोधे, ‘ए अब तिमीलाई मैले सहयोग गर्न पनि गुटले छेक्ने भइसक्यो ?’ मैले ‘हेहे दाजु, एउटो कुरो नि’ भन्दै हाँसेर टारें । दाइले सोधे, ‘तिमीले मलाई आशाको अनुहार भनेर लेख्न मिल्छ भने मैले पनि भोट मागिदिन मिल्छ । ल भन, मैले के सहयोग गर्नुपर्छ ?’ मेरो उत्तर थियो, ‘म दाइलाई भन्छु ।’
चुनावको चटारो चलिरहेको थियो । रवीन्द्र दाइले एक दिन फोन गरेर सोधे, ‘राजेश ! के हुँदै छ ? ल भन मैले के सहयोग गर्नुपर्छ ?’ मैले भने, ‘दाइ भेटम् न, म भेटेरै भन्छु ।’ उही पुरानै ठाउँ अर्थात् लाजिम्पाटमा भेट्ने सल्लाह भयो । तोकिएको समयभन्दा म आधा घन्टा ढिलो पुगें । दाइ रिसाए भन्ने ठानेर सुरुमै भने, ‘सरी दाइ ढिलो भयो ।’ उही काइदामा हाँसेर भने, ‘ठीक छ त, तिमीले आफ्नो विशेषता बचाइराखेका छौ ।’
म देशैभरका प्रतिनिधिहरको सूची बोकेर गएको थिएँ । मैले भने, ‘दाइ ! यो सूचीमा भएका तपाईंले भनेका मान्ने ५० जनालाई टेलिफोन गरेर राजेशलाई सहयोग गर्न भनिदिनुहोस् न ।’ दाइ फिस्स हाँसे । सूची पल्टाउदै आफूसँग नजिक भएकाहरूलाई धमाधम फोन गरिदिए । टेलफोन सकिएपछि भने, ‘तिमीहरूको भाषामा भन्छ नि, ‘फलोअप’ म त्यो पनि गर्छु ।’
त्यतिधेरै प्रतिनिधि साथीहरूलाई फोन गरिदिएपछि म खुसी नहुने कुरै भएन । दाइको अनुहार पढें । मभन्दा बढी खुसी दाइ देखिए । र, छुट्ने बेला भने, ‘अबदेखि अस्तिको जस्तो प्रश्न नगर्नू ।’ मैले मनमनै अनुभूत गरे, ‘बूढाले मलाई माया गर्छन् ।’
त्यो समाचार, त्यो स्टाटस
रवीन्द्र दाइ ३ फागुन ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री भए । पदमा पुगेपछि प्रिय मान्छेहरूसँगको भेट दुर्लभ बन्छ । रवीन्द्र दाइ मन्त्री बनेपछि पनि त्यस्तै रह्यो । म धर्तीको एकजना त्यस्तो सजिलो मान्छे हुँ, आफ्ना प्रिय मान्छेहरू पदमा पुगेपछि समय लिने खासै कष्ट गर्दिनँ । आफ्ना मान्छेहरू पदमा पुगेपछि मैले गर्ने सहयोग हो, पदमा बसुन्जेल समय नलिइदिने र केही माग नगर्ने ।’ रवीन्द्र दाइले बाहिर औपचारिक कार्यक्रममा भेट्दा मन्त्रालय आउनू भनिरहे ।
मन्त्री बनेपछि रवीन्द्र दाइसँग वाइड बडी प्रकरणपछि मात्रै संवाद भयो । अनेक समाचार आएदेखि संदसीय समितिको प्रतिवेदनसम्म आइपुग्यो । के रवीन्द्र दाइ दोषी नै हुन् त ? ‘मेरो मनले मानेन’ मैले पाँच साठी वाला नम्बरमा फोन गरे । तर, उनको फोन कुनै पीएले उठायो । सम्पर्क भएन । फोन नउठेको आक्रोशपत्रसहित मैले ट्विटर र फेसबुकको म्यासेज बक्समा म्यासेज ठेलिपठाएँ ।
उनले बोक्ने नयाँ नम्बर काठमाडौंको पाँच एघार वाला पोस्ट पेड नम्बर रहेछ । तुरुन्तै फोन आयो । वाइड बडी प्रकरणको विषयमा कुरा भयो । दाइ पुरै कन्फिडेन्ट थिए । भने, ‘राजेश ! मलाई ह्यारेस बनाउन एउटा गिरोह ‘प्रपोगान्डा’ छ । जो आफ्नो स्वार्थ पूरा गरेर रमाइरहेका थिए, उनीहरूको स्वार्थ पूरा नहुने देखेर मेरो पछि हात धोएर लागेका छन् । यी सबै प्रश्नहरूको उत्तर समय र कामले दिन्छ । पर्खिनुपर्छ ।’
पछिल्लोपटक नेपाल प्रज्ञा प्रतिष्ठानमा नियुक्ति भयो । मूल पदहरूमा नियुक्ति कसको रुचिमा भयो ? त्यो सबै जानकार थिए । प्रश्नहरूको जरुरी नै रहेन । फेरि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा नियुक्तिको हल्ला चल्यो । समाचार आयो, ‘तत्कालीन शाही नेपाल चलचित्र संस्थानको महाप्रबन्धक, नेपाल परिवार नियोजन संघको कार्यकारी प्रमुख, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष यादव खरेल र तत्कालीन शाही शासनलगायतको नेतृत्वमा सरकारमा रहँदा पटक–पटक चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष, नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धक बनेका संगीतकार शम्भुजित बाँस्कोटा ‘संगीत नाट्य प्रज्ञा प्रतिष्ठान’ कुलपतिको अग्रदौडमा ।’
मनमा प्रश्न थियो, ‘अरूहरू लुकिरहेको बेला रातोघर छेउछाउबाट नारायणहिटीतिर माइक फर्काएर गणतन्त्रको नारा लगाउने रवीन्द्र दाइले यस्तो नियुक्ति कसरी गर्लान् ?’ किराती काइलोलाई झोंक चलेर आयो । फेसबुकमा लेखे, ‘मेरो प्रिय रवीन्द्र दाइ, प्रिय कमरेड ! मलाई हजार प्रतिसत विश्वास छ, यो समाचार झूट हुनेछ । रामेश, श्याम तमोटहरूको गीत सायद तपाईंले पनि सयौंपटक गाउनुभएको छ । यो समाचार सत्य भए गणतन्त्रको त्योभन्दा ठूलो विडम्बना के हुन्छ र ? तर, मलाई यी समाचारहरूभन्दा नारायणहिटी दरबारतिर फर्किएर गणतन्त्रको गगनभेदी नारा लगाउने मेरा रवीन्द्र दाइप्रति ‘लाख प्रतिशत’ विश्वास छ । त्यो झूट हल्लालाई लिएर ‘मन अमिलो’ पारेकोमा माफी चाहन्छु दाइ !
पछि नियुक्ति भयो । ‘गाउँगाउँबाट उठ’ गीतका रचनाकार श्याम तमोट सदस्य सचिव भए । खुसी लाग्यो । पछि कार्यक्रममा भेटे, ‘तिम्रो विश्वास कायमै छ होइन त ?’ मैले सोधें, ‘फेसबुकमा लेख्यो भनेर रिसाउनुभएको कि दाइ ?’ हाँसेर उत्तर दिए, ‘तिम्रो दाइको छाती त्यति सानो छ होला त ? त्यस्तो कुरा त लेख्नुपर्छ नि, अप्ठ्यारो होइन हामीलाई सजिलो पो बनाउँछ त ।’
छोटो जीवन, लामो यात्रा
रवीन्द्र दाइ छोटो जीवनको लामो यात्री थिए । उनी जहाँ–जहाँ हिँडे, सधैंसधैं सम्झिरहने गरी अमिट छाप छाडेर गए । उनले यस्तरी पैताला टेके, जहाँ सधैंका लागि डोब छोडेर गए । ती डोबहरू हाम्रो लागि बाटो र उज्यालो दुवै हो ।
उनी ०३८ मा ७ कक्षा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएर ०४५ मा अनेरास्ववियु कास्कीको अध्यक्ष, ०४७ मा गण्डकी अञ्चल अध्यक्ष, अनेरास्ववियुको केन्द्रीय सदस्य भए । ०४९ मा पृथ्वीनारायण क्याम्पस पोखरा र ०५३ मा त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भए । विद्यार्थीहरूको बीचमा कति लोकप्रिय थिए भन्ने तथ्य देशको सबैभन्दा ठूलो र चर्चित दुबै क्याम्पसको स्ववियु सभापति निर्वाचित हुनुले नै पुष्टि गर्छ ।
अनेरास्ववियुको महासचिव हुँदै तत्कालीन मालेनिकट अनेरास्ववियुमा अधिकारी २०५६ मा केन्द्रीय अध्यक्ष निर्वाचित भए । रवीन्द्र अधिकारी त्यस्तो नेता थिए, जतिबेला रत्नपार्कबाट नारायणहिटीको दुरी धेरै टाढा मात्रै थिएन, भयनाक पनि थियो । रत्नपार्कबाट नारायणहिटीतिर फर्केर हेर्दा शिर झुकाएर हेर्नुपर्ने बाध्यता थियो । तर, रवीन्द्र दाइले त्यही नारायाणहिटीका एकजना वेलगाम शाहाज्यादा पारस शाहलाई चुनौती दिए । शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै उनकै नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाए ।
‘कालापानी मार्च’को नेतृत्व गर्दै अधिकारीले लक्ष्मणपुर बाँधको विरोधमा सीमा सुरक्षा अभियान चलाए । राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सीमाबाट सहरको केन्द्रसम्म ल्याउन भूमिका खेले । यातायातलगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिने आन्दोलनको अगुवाइ गरे । आज कार्ड देखाएर छुट लिने हरेक विद्यार्थीहरूले रवीन्द्र अधिकारी सम्झिनुपर्छ ।
विद्यार्थी मात्रै होइन मूल प्रवाहको राजनीतिमा पनि उत्तिकै प्रिय थिए । ०४६ मा आन्दोलनमा क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीको संयोजककै हैसियतमा नेतृत्व गरे । पोखरामा २०६२÷६३ को जनआन्दोलनका नेतृत्व गरे ।
कास्कीबाट ०६४, ०७० मा संविधानसभा तथा ०७४ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । दुई कार्यकाल संविधानसभा सदस्यमा निर्वाचित भए । विकास समितिको सभापति बनेका । २०७४ को प्रतिनिधिसभाको निर्वाचनपछि ३ फागुन ०७४ मा बनेको केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री भए । त्यही जिम्मेवारी सम्हाल्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटनमा सधैंका लागि बिदा भए ।
पार्टीमा दुईपटक कास्की जिल्ला कमिटी सचिव भए । अञ्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य हुँदै ०७१ मा एमाले केन्द्रीय कमिटी सदस्य निर्वाचित भए । पार्टी एकीकरणपछि उनी नेकपा केन्द्रीय भए । यसबीचमा ‘संविधानसभा ः लोकतन्त्र र पुनर्संरचना’ र ‘समृद्ध नेपाल’ दुई पुस्तक लेख्नसमेत भ्याए ।
रवीन्द्र दाइले दिन नपाएको उत्तर
आफूलाई विकास र समृद्धिको अविश्राम अभियन्ताका रुपमा स्थापित गरेका रवीन्द्र दाइ पर्यटन मन्त्रीको जिम्मेवारीमा आएपछि धेरै सुधारका काम भए । तत्कालीन र दीर्घकालीन काम सुरु भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार परिवर्तन भयो । २१ घन्टा सञ्चालनमा आयो । त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम बढ्यो । राष्ट्रिय गौरवका आयोजना भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणले तीव्रता पायो ।
नेपाल भ्रमण वर्ष २०२० को आधार तयार भयो । मन्त्रीका रूपमा उनी विमान सेवा विस्तार, विमानस्थल सुधारका साथै २० लाख विदेशी पयर्टक नेपाल भिœयाउने महŒवाकांक्षी योजना पूरा गर्न भिजिट नेपाल–२०२० कार्यान्वयन गर्न क्रियाशील थिए । छोटो समयमै धेरै सुधारका काम भयो । धेरै सुधारका योजनाका लागि दौडधुपमा थिए उनी ।
रवीन्द्र दाइले आजसम्म जहाँजहाँ काम गरे, त्यहाँ गहिरो छाप छोडेर गएका थिए । तर पर्यटन मन्त्रालयमा दाइलाई यस्तो आपत् आइलाग्यो, मन्त्री भएको केही दिनमै वाइड बडी जहाजलाई स्वागत गर्न जानुपर्ने भयो । त्यसअघि नै सम्झौता भइसकेको थियो । दुई किस्ता गरेर १० अर्ब रुपैयाँ भुक्तानी भएको थियो । बाँकी रकम तिर्नैपर्ने बाध्यकारी प्रबन्ध थियो । त्यही तिरेबापत रवीन्द्र दाइमाथि अनेक प्रश्नहरू उठाइए । केही मिडिया, केही समूहले आफ्ना स्वार्थ पूरा नभएकै कारण आफूलाई खेदेको दाइको भनाइ थियो । भन्थे, ‘समय आएपछि सबै उत्तर दिनेछु, समयक्रममा यो काण्डको असली खलनायक उदांगिनेछन् ।’
कुनै एक अन्तर्वार्तामा दाइले भनेका रहेछन्, ‘मैले गलत गरेको छैन भन्ने कुरा भगवान् छन् भने उनलाई थाहा छ । नत्र, प्रधानमन्त्री र मेरो जीवनसँगिनी विद्यालाई थाहा छ । जति प्रस्टीकरण दिए पनि एकथरी मान्छेको नियत नै त्यस्तै छ, तर समयक्रममा यो काण्डको असली खलनायक उदांगिनेछन् ।’
रवीन्द्र दाइले केही समय मात्रै पाएको भए ती तमाम प्रश्नहरूको सजिलै दिने थिए । दाइ भन्थे, ‘यो दूधको दूध, पानीको पानी छुट्टिँदै गर्दाखेरि मैले गल्ती गरेको छैन भन्ने छुट्टिन्छ । यो राजनीति हो जबसम्म टुंगिँदैन त्यो बेलासम्म प्रश्नको सामना मैले गर्नुपर्छ ।’ तथ्यहरूलाई विश्वास गर्नेहरूको लागि त रवीन्द्र दाइमाथि प्रश्न नै थिएन । किनभने, सबै तथ्यले भनिरहेकै थियो, ‘वाइडबडी जहाजलाई स्वागत गर्नेबाहेक रवीन्द्र दाइको अरू कुनै भूमिका थिएन ।’ तर, पूर्वाग्रह राख्नेहरूले नियतवश उठाएका प्रश्नहरूको यस्तो उत्तर बाँकी थियो, जसले उनीहरूलाई नै लज्जित बनाउँथ्यो । तर, नियति यस्तो आइलाग्यो, दाइले त्यो उत्तर दिनसमेत पाएनन् । अलबिदा प्रिय दाइ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

चियाका नाममा कार्यकर्ताको ताँती

ShareTweet काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवं विस्तारका लागि आयोजना भएको एक कार्यक्रममा चिया र कफीसँग सरोकार नै नभएका व्यक्तिहरूले चीन भ्रमण गरेर फजुल खर्च- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

नयाँ स्वादको खोजी

ShareTweet वैदेशिक रोजगारीमा एकाध वर्ष रमाएर स्वदेशमै फर्की आफ्नै पेशा–व्यवसायमा भिजेका थुप्रै पात्रहरू छन, हामी बाँचिरहेको समाजभित्र । मूलतः वैदेशिक रोजगारीमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

समाचार समिति पत्रकारिता ः नेपाली दस्तावेज

ShareTweet प्रकाश सिलवाल नेपाली पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील÷जुझारु नाम हो । उहाँको पछिल्लो पत्रकारितासम्बन्धी पुस्तक सञ्चार जगत्का लागि नयाँ कोसेलीका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा