25th April 2019, Thursday

E-budhabar

हुनुपर्यो अब सार्थक हस्तक्षेप



हुनुपर्यो अब सार्थक हस्तक्षेप

एकाध दशकपूर्व हिन्दी सिनेमाका, त्यो समयमा सिद्धहस्त निर्देशक र अचेल भने कवि÷गीतकारका रूपमा चिरपरिचित गुलजारले एउटा बेजोड सिनेमा निर्देशन गरेका थिए– ‘हुतुतु ।’ राजनीतिक विषयवस्तु पक्रिएको सिनेमा थियो, त्यो । दक्षिण भारतीय प्रान्त महाराष्ट्रको प्रान्तीय खेल हो, हुतुतु अर्थात् कबड्डी । एउटा प्रान्तको खेल–विशेषलाई सिनेमाको नाम ताके पनि त्यो सिनेमा कुनै खेलमा आधारित वा कुनै खेलाडीको बायोपिक भने होइन । भारतीय राजनीति र समाजमा मौलाउँदै गइरहेको भ्रष्ट प्रवृत्ति, आचरण र क्रिया–कर्मलाई सतहमा उतार्ने कार्यमा त्यो सिनेमा केन्द्रित थियो ।
हामीकहाँ पनि भ्रष्टाचार व्याप्त छ, हरेक क्षेत्रमा । भ्रष्टाचाररूपी ‘अक्टोपस’ले आफ्ना लामा–लामा हातखुट्टा नफैलाइरहेको क्षेत्र भेट्टाउन मुस्किलै पर्छ । शासनसत्ताको केन्द्रीय तहदेखि तल्लो निकायसम्मै भ्रष्टाचारले आफ्नो जरा फैलाएको छ । राजनीतिको आडभरोसामा हुने भ्रष्टाचारले समाजका अरू अंगहरूलाई समेत प्रभावित तुल्याउँदै लगिरहेको छ । समाजका तह–तहमा भ्रष्टाचार व्याप्त छ । नैतिकता, आदर्श, असल आचरण, मूल्य–मान्यताजस्ता प्रश्नहरू क्रमशः पजनीमा पर्दै गइरहेका छन् र भ्रष्ट आचरण र मनोवृत्तिले थमौती पाउने क्रम–उपक्रम चलिरहेको छ, निरन्तर ।
भयावह परिस्थितिको जन्म र विकास हुँदै गए पनि भ्रष्ट मनोवृत्ति र भ्रष्टाचारको जगमा उभिएको राजनीति, समाजप्रति कुनै पनि सिर्जनाको माध्यमद्वारा औंला उठाउने कार्य भने अपेक्षाकृत रूपमा भइरहेको छैन । सिर्जनाका प्रभावशाली वा अरू माध्यमद्वारा देश र समाजभित्र दिनदिनै झाँगिदै गइरहेको भ्रष्टाचारप्रति आवाज बुलन्द गर्ने कार्य भइरहेको छैन । भ्रष्टाचारविरुद्ध विदेशी सहयोग लिएर सञ्चालित गैरसरकारी संस्थाहरू पनि अचेल ‘विदेशी एड’को अभावका कारण हुनुपर्छ, पूर्णतया सुस्ताउन पुगेका छन् । भ्रष्टाचारविरुद्ध कहिले सडक नाटक गर्ने र कहिले सडकमा ब्यानर बोक्ने कार्य पनि ठप्पप्रायः छन् ।
सिनेमा, मनोरञ्जन र अभिव्यक्ति प्रसारणको सबभन्दा उत्तम र प्रभावशाली माध्यम हो । सिनेमाको उदय र विकास भएसँगै योजति सशक्त अभिव्यक्ति माध्यम अरू बन्न सकेको छैन । एउटै सशक्त सिनेमाले लाखौं, करोडौं मानिसलाई एकै झमटमा अपिल गर्न सक्छ, आन्दोलित तुल्याउन सक्छ । तर, हामीकहाँ जे–जति सिनेमाहरू निर्माण भइरहेका छन्, त्यस्ता सिनेमा निर्माण गर्ने सिनेकर्मीहरूले अरू विषयलाई जोडदार र प्रभावकारी रूपमा उठाए पनि देश र समाजलाई दिनानुदिन आक्रान्त तुल्याउँदै लगिरहेको भ्रष्टाचारजस्तो गहन विषयलाई अझसम्म छुन सकेको देखिँदैन । राजनीतिक विषयका सिनेमाहरू हामीकहाँ प्रशस्तै निर्माण भएका छन्, त्यस्ता सिनेमाहरूले नेतृत्वमा रहेर प्रभावकारी काम गर्न नसक्ने जुम्साहरूलाई राम्ररी नै झाटेका छन् । तर, राजनीतिको आडमा सप्रिएको भ्रष्टाचार, भ्रष्ट आचरणका नेता, कर्मचारी जगत्मा देखिएको भ्रष्टपन, जनप्रतिनिधि र ठेकेदारहरूलगायतका भ्रष्ट प्रवृत्तिलाई सिनेमाको विषय बनाउने कार्य भने हुन सकिरहेको छैन । यो विडम्बनाको विषय हो ।
सिनेमाको प्रसंगलाई एकछिन पर राखेर हेर्दा, सिर्जना र अभिव्यक्तिका अरू माध्यमले पनि भ्रष्टाचारलाई विषय बनाउन खासै रुचि देखाइरहेको पाइँदैन । सिनेमाको भूमिका जति छ, साहित्यको भूमिका पनि त्योभन्दा कम छैन । सिनेमापछि साहित्य लेखनमा भ्रष्टाचारविरुद्ध आवाज उराल्न सकिन्छ । राजनीतिलगायत हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचारविरुद्ध लेखक–स्रष्टाहरूले सशक्त आवाज उठाउन सक्छन्, शाब्दिक प्रहार÷प्रतिकार गर्न सक्छन् । तर, समाजमा व्याप्त भ्रष्टाचारलाई विषय बनाएर, त्यसले देश र समाजलाई पु¥याइरहेको अपूरणीय क्षतिप्रति शब्द प्रहार र हस्तक्षेप भने गर्न सकिरहेको छैन ।
एउटा प्रसंग । पछिल्लो पुस्ताका लोक गायक पशुपति शर्माको एउटा गीत मूलतः भ्रष्टाचारविरुद्ध उभिएको थियो । नेपाली समाजमा पछिल्लोपटक हरेकजसो क्षेत्रमा पन्पिँदै गइरहेको भ्रष्टाचारप्रति लक्षित थियो– ‘लुट कान्छा लुट… ।’ देश र समाजका विभिन्न अंगमा अर्बुद रोगझैं फैलिइरहेको प्राणघातक भ्रष्टाचार, भ्रष्ट प्रवृत्ति र आचरणप्रति तिखो व्यंग्य थियो, त्यो गीत । तर, उक्त गीतमा प्रयुक्त केही शब्दले सीमा र मर्यादा नाघेको हुँदा र राजनीतिक दल र त्यसका कार्यकर्ताहरूलाई आक्षेप लगाइएको हुँदा उक्त गीत आलोचनाको घेरामा प¥यो । उक्त गीतको केही शब्दले मर्यादा कायम राख्न सकेको भए र नेता–कार्यकर्ताहरूप्रति अतिशयोक्ति रूपमा घृणा फैलाउने शब्द चयन नगरेको भए त्यो गीत भ्रष्टाचार विरुद्धको अब्बल गीत ठहरिन्थ्यो । शब्द चयनमा देखिएको कमजोरीले गीतको भावार्थ राम्रो भए पनि आलोच्य बन्न पुग्यो ।
तर, सिर्जना र अभिव्यक्तिका माध्यमद्वारा देश र समाजमा व्याप्त भ्रष्टाचारविरुद्ध आवाज उठाउन सर्वथा ढिलाइ भइरहेकोमा कुनै सन्देह देखिँदैन । हरेक क्षेत्रमा व्याप्त भ्रष्टाचार प्रवृत्ति विरुद्ध सार्थक र सशक्त हस्तक्षेप हुन जरुरी छ– चाहे त्यो कलाको माध्यमद्वारा होस् वा शब्दहरूका माध्यमद्वारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा