18th June 2019, Tuesday

कम्युनिस्टको बर्को ओढेपछि जे गरे पनि हुन्छ ?



कम्युनिस्टको बर्को ओढेपछि जे गरे पनि हुन्छ ?

केपी शर्मा ओली
देशमा विध्वंस, लुटपाट मच्चाउँदै आएको एउटा समूहलाई विध्वंस नगर भनेर हामीले एक वर्ष सम्झायौं तर भएन । त्यसपछि हामीले निषेध ग¥यौं । रामबहादुर थापा ‘बादल’लाई शान्तिसुरक्षा गर्न खोजेको, बम पड्काउन नदिएको, बन्दुक पड्काउन नदिएको, मान्छे मार्न नदिएकोमा गाली गरिएको पनि सुनियो । अनि गृहमन्त्रीले के गर्ने, लुटपाट गर, बम पड्काउ बाबु हो भन्ने ? हामी विकासतर्फ जाने हो भने गृहमन्त्रीले त्यस्ता गतिविधि नियन्त्रण गर्नुपर्दैन ? के अब नेपालमा क्रान्ति आवश्यक छ ? क्रान्ति गरेर ल्याउने के ? कम्युनिस्ट पार्टीको बहुमतको सरकार भन्दा बढ्ता ल्याउने के ? कसैलाई अलिकति अधिनायकवादतर्फ जाने रहर होला । आजको दुनियाँमा अब नेपालमा हिंसा मच्चाएर त्यसलाई क्रान्ति भनेर सत्ता कब्जा गर्छु भन्ने ठानेको छ भने त्यो सपनाको छेउ पनि होइन । त्यस्तोबाट आउने तथाकथित क्रान्तिले ल्याउँछ के ? लुटपाट गर्न पल्केका कार्यकर्ता, लुटपाट गर्ने मात्र बुद्धि र सीप भएका कार्यकर्ताले बनाउँछन् देश ?
तथाकथित लोकतन्त्रवादीहरूले भने, पार्टीमाथि प्रतिबन्ध लाग्यो । कहाँ थियो पार्टी ? कहाँ छ पार्टी ? कुन कार्यालयमा दर्ता भएको पार्टी माथि प्रतिवन्ध लाग्यो ? कुनै सिडिओ कार्यालय दर्ता थियो कि ? गृह मन्त्रालयमा दर्ता थियो कि ? या कसैको घरमा दर्ता थियो कि ? कहाँ दर्ता छ त्यो । कहाँ छ त्यो पार्टी ? हँुदै नभएको लाई प्रतिबन्ध कसले लगाउँछ ? एउटा गिरोहका नाममा उत्पात मच्चाइएको छ । प्रतिबन्ध लगाइएको उत्पाताथि हो । लुटपाटमाथि हो । पार्टी त छँदै छैन केको प्रतिबन्ध लगाउनु ? तर, जेसुकै भए पनि यो कम्युनिस्ट पार्टीको सशक्त सरकार हो, यसले सामाजिक अपराध, अराजकताजस्ता कुरा हुन दिँदैन । कम्युनिस्टको बर्को ओढेपछि जे गरे पनि हुन्छ भन्ने होइन । कम्युनिस्टको बर्को ओडेपछि लुटपाट गरे पनि हुन्छ, मारे पनि हुन्छ भन्ने होइन । एउटा आन्दोलनको सन्दर्भ हुन सक्छ । हिजो एउटा आन्दोलनको सन्दर्भ थियो । त्यो अध्याय समाप्त भएको छ । अबको प्रयास भन्दा कम्युनिस्ट सरकार हटाउने रे ! कांग्रेसले उनीहरूलाई समर्थन गरिराखेको छ । कठैबरा कांग्रेस कहाँ पुग्यो हेर्दाहेर्दै । हेर्दाहेर्दै कांग्रेस सर्पको खेल जस्तो ९९ मा पुगेको एकैचोटि २ मा । वैचारिक स्खलन पनि सकियो । कम्तीमा विचारमा त कांग्रेस लोकतान्त्रिक हुनुपर्ने, त्यो पनि छैन । आजका उनीहरूका मन्तव्यका शृंखलाहरू भोलि हेर्दा के ठहरिन्छन् ? देशमा विखण्डनवाद समाप्त पारियो, त्यसमा कांग्रेसहरू छाती पिटेर रोएका छन् । अचम्मको रुवाबासी छ । अर्कोतिर, शान्ति सुव्यवस्था कायम गर्न विध्वंस, लुटपाटं र वितण्डालाई निषेध ग¥यौं । यसमा पनि किन निषेध गरेको भन्दै छाती पिट्न थाल्नुभएको छ । कांग्रेसका यी पक्षहरू देखेर मलाई टिठ लाग्छ । कांग्रेस एउटा पुरानो पार्टी हो । लोकतन्त्रका निम्ति लडेको पार्टीले यसप्रकारका अत्यन्तै अल्पदृष्टिका सोच विचार प्रकट गर्नु दुःखलाग्दो कुरा हो ।
यतिबेला हाम्रो पार्टी नेकपाका कोही नेता–कार्यकर्ताले कुनै प्रकारको भ्रममा नपर्दा हुन्छ । हाम्रो काँधका असाधारण जिम्मेवारी आएको छ र हामीलाई दुनियाँका प्रगतिशील जनताले हेरिरहेका छन्– शान्तिपूर्ण बाटोबाट जनताले आफ्नो हातमा सार्वभौमसत्ता लिन सक्ने रहेछ, त्यो नेपालबाट सिकौं भनेर । हिंसा भइरहेका ठाउँहरूले, हिंसा कसरी अन्त्य गर्ने भनेर संयुक्त राष्ट्रसंघ र त्यसका निकायहरूले समेत हामीलाई हेरिराखेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति विश्वविद्यालयले मलाई आमन्त्रण गरेर त्यहाँ हामीले पाएको सफलताको सम्मानस्वरूप विद्यावारिधि दियो । त्यो म एक जनालाई दिइएको होइन, शान्तिको क्षेत्रमा हामीले प्राप्त गरेको सफलतालाई सम्मान गरिएको हो । हामीले सानो काम गरेका छैनौं । हामीले नेपालको संक्रमणकालको अन्त्य कसरी ग¥यौं भन्ने त्यहाँ मैले बताएँ । त्यसले विश्वको ध्यान आकृष्ट गरेको छ । यसरी विश्वका जनता हामीतिर हेरिरहेका छन् । त्यसैले हामीले कुनै पनि आवेगमा होइन, भावनामा दौडने होइन । भावनाले क्रान्ति हुँदैन । क्रान्ति र परिवर्तनका लागि सही नीति, सही ग्राउन्ड, सही संगठन चाहिन्छ ।
हाम्रो पार्टीको यत्रो ठूलो संगठनमा कहिलेकाहिँ कुनैकुनै कुरामा साथीहरूलाई चित्त नबुझेको हुन सक्छ । तर त्यो चित्त बुझ्ने समय आउँछ, हामी काम गर्दै गयौं भने । मलाई पछाडी पारियो भन्ने कोहि साथीले ठानेको हुन सक्छ । म भन्न चाहन्छु– ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल । यदि हामी लगातार, दृढताका साथ, बाटो नबिराईकन काम गर्दै गयौं भने ढुंगाको काँप फोरेर पनि पीपल उम्रन्छ । सफलताको गतिलाई कसैले रोक्न सक्दैन । हामीलाई कसैले रोक्न सक्दैन । पार्टीले मूल्यांकन गर्छ नै । कहिलेकाहीँ एकीकरणका यस्ता जंजरहरूमा समुचित मूल्यांकन नपुगेको पनि हुन सक्छ । यस्ता एकीकरणका सन्दर्भमा कहिले कहिले यथार्यमा अलिकति भागबन्डाको कुरा पनि हुन्छ । त्यो भागबन्डको कुराले कहिले योगदान, योग्यताका, इतिहासका कुरा ओझेल परेका पनि हुन सक्छन् । तर त्यो समयक्रममा आफैं स्वस्थ प्रतिस्पर्धामा अगाडि जान्छ । पानीले आफ्नो तह आफैं मिलाउँछ भनेझैं प्रतिस्पर्धा, संगठनले आफ्नो लेभल आफैं मिलाउँछ । एउटा खास जंजरमा भएका केही कमीकमजोरीलाई अर्को समयक्रममा मिलाउँदै जान्छ । त्यसकारण हामी आत्तिनु, हड्बढाउनुपर्नेछैन । हाम्रा उपलब्धिहरूको रक्षा गर्दै दृढताका साथ अगाडि बढ्ने हाम्रो दायित्व हो । त्यो दायित्वमा स्पष्टता आजको हाम्रो खाँचो हो ।
७० वर्षको हाम्रो इतिहास गौरवपूर्ण छ । बीचमा हामी कहिले कहिले टुक्रा–टुक्रा, धुजा–धुजा भयौं । कहिलेकहिले अस्तित्व नै छ कि छैन जस्तो भयो । कहिले कहिले प्रतिक्रियावादीहरूको दिग्विजय चल्यो । कहिलेकहिले दक्षिणपन्थीहरूको एकछत्र रजाइँ भयो । वैचारिक रूपमा हामी कता हरायौं कि जस्तो भयो । तर, हामीले फेरि आन्दोलनलाई उठाएर ल्याएका छौं । आन्दोलन एकछिनको विषय होइन । एउटा जुलुसको, एउटा आमसभाको आयोजना होइन । सामाजिक परिवर्तनको आन्दोलन हो, समय लाग्छ । मेरो आफ्नै जीवनमा ५४ वर्षदेखि म निरन्तर लागेको छु । अहिले मैले भनेका सबै तीता अनुभवहरू मैले अनुभव गरेको छु । पराजित भएर, समातिएर, मुन्ट्याएर, हतकडी, नेल लगाएर गोलघर हालिएका, लात लगाइएका अनुभवहरू पनि हामीले झेल्नुपर्यो । त्यसबाट उठेर आउनुप¥यो । अर्थात, सामाजिक परिवर्तनको आन्दोलन एक क्षण, एक दिन, एक महिनाको आन्दोलन होइन । यसले समय लिन्छ । हामीले ज्यादै सजगता र सचेतनाका साथ अनवरत दृढतापूर्वक आन्दोलनलाई अगाडि बढायौं । प्रतिकूल अवस्थामा पनि हरेस खाएनौं । सही बाटोमा निरन्तर अगाडि बढ्यौं र सफलतामा पुग्यौं ।
अब यस सफलतामा सिँढी थप्दै जानु छ । विकासको पनि हामीले जग, आधार बनाएका छौं । गएको वर्षलाई मैले आधार वर्ष भनेको छु । जहाँ कानुन बनाउनेलगायत सारा काम गर्नु थियो । अहिले काम भएन भन्ने हल्ला छ । तर महाकाली अञ्चलका साथीहरूले भन्दै हुनुहुन्थ्यो, महाकालीमा मात्रै दुई देशका बीचमा कि त मान्छेहरू तुइनमा कि त ट्युबमा तर्थे । आज झोलुंगे पुलले ती चीजहरू विस्थापित गरेको छ । आज बाटाहरू बनेका छन् । नदी नियन्त्रण भएको छ । नयाँ ढंगले विकासको गति अगाडि बढेको छ । प्रदेश ३ मा पनि फास्ट ट्र्याकदेखि लिएर धेरै काम हामीले गरेका छौं । काठमाडौंको सडकमा अलिक भनेजस्तो व्यवस्था गर्न भ्याएका छैनौं । यसका पछाडि केही संवेदनाका कुराले विलम्ब भएको छ । मेलम्ची आएपछि सडक बिगार्छ भन्ने कुराले ढिला भएको छ । हामी मेलम्ची पनि छिट्टै ल्याउँछौं । छिट्टै बाटाहरूलाई स्तरोन्नति पनि गर्छौं । यस वर्ष इतिहासमा कहिल्यै नभएको ८ सय किलोमिटर सडक कालोपत्रे भएको छ देशमा । बन्दरगाह नयाँ लिएका छौं । चीन तर्फका बाटा खोलेका छौं । अनि केही भएको छैन भन्नेहरूलाई म कहाँ पठाइदिए म पावरवाला चस्मा लगाएर पठाइदिने थिए । धेरै रफ्तारमा हामी अघि बढिरहेका छौं । त्यसकारण, हामी हल्लाका पछाडि नलागौं । राष्ट्र निर्माणको संकल्पका साथ हामी अगाडि बढेका छौं । यसमा जति सकिन्छ सबैले आफ्नो भूमिका प्रदर्शन गरौं । (सम्बोधनमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

प्रधानमन्त्रीे युरोप भ्रमणमा

ShareTweet काठमाडौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा छन् । उनी नौ दिनका लागि भ्रमणमा निस्केका हुन् । युरोपका स्विजरल्यान्ड,- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सफलताको सूत्र

ShareTweet एउटा लोक–सुगन्धको गीतले केही दिनयता प्रसिद्धिको शिखर छोएको छ । त्यो गीत हो, ‘गलबन्दी च्यातियो तिम्ले च्यातेर..।’ नेपाली ग्रामीण भेगको निम्न वर्गको ऐना देखिने- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

एउटा समाजसेवीको गाथा

ShareTweet एउटा प्रसिद्ध भनाइ छ, ‘इतिहासका निर्माता भनेका जनता हुन् तर जसको इतिहासमा कुनै नाम हुँदैन ।’ यसै कुरालाई अलि संशोधन गरेर बुझ्दा इतिहास त सबैको हुन्छ तर लेखिदिने- ...
पूरा पढ्नुहोस्

छोटकरीमा