16th July 2019, Tuesday

सांस्कृतिक आन्दोलनमा साझा मोर्चाको आवश्यकता झनै बढेको छ



सांस्कृतिक आन्दोलनमा साझा मोर्चाको आवश्यकता झनै बढेको छ

–मातृका पोखरेल, अध्यक्ष, प्रगतिशील लेखक संघ

करिब सात दशक लामो इतिहास बोकेको प्रगतिशील लेखक संघ, नेपालको दसौं राष्ट्रिय सम्मेलन चैत २२–२३ मा काठमाडौंमा हुँदै छ । तर, सम्मेलनको मुखमै भने विगतदेखि प्रलेसमा आबद्ध केही स्रष्टाहरूले भने प्रलेससँगको सम्बन्ध टुटाएको घोषणा गरेका छन् । यसपटक प्रस्तुत गरेका छौं, आसन्न सम्मेलन र स्रष्टाहरूको बहिर्गमनका विषयमा अध्यक्ष मातृका पोखरेलसँग गरिएको कुराकानी ः
० प्रगतिशील लेखक संघ दसौं राष्ट्रिय सम्मेलनको सन्मुखमा छ । यो सम्मेलन मूलतः कुन–कुन एजेन्डामा केन्द्रित हुँदैछ ?
यो सम्मेलनबाट प्रगतिशील लेखक संघलाई वैचारिक र सिर्जनात्मक रूपले अझ जुझारू संगठन बनाउने हाम्रो प्रयत्न हुनेछ । सामन्तवादी संस्कृति हाम्रो समाजमा अझ पनि व्याप्त छ । साम्राज्यवादी संस्कृति नयाँ–नयाँ आवरण बोकेर हामीकहाँ प्रवेश गरिरहेको छ । यी मूल समस्याहरूलाई केन्द्रमा राखेर हामी कार्यक्रम बनाउँछौं । हाम्रा संगठनहरूमा वैचारिक स्खलन आइरहेको छ भनेर जुन व्यापक आवाज उठिरहेको छ, त्यसलाई केन्द्रमा राखेर केही ठोस कार्यक्रम अघि सार्छौं । यो संस्थामा अलेखकहरू पनि अटाएका छन् भन्ने बाहिरी गुनासो यो सम्मेलनपछि अब पक्कै आउनेछैन । प्रगतिशील लेखक संघको इतिहासमा यो सम्मेलनलाई हामी वैचारिक र सिर्जनात्मक दुवै दृष्टिले महŒवपूर्ण बनाउनेछौं ।
० बदलिँदो राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिकलगायत परिप्रेक्ष्यमा प्रलेसजस्तो सबै प्रगतिशील स्रष्टाको साझा संस्थाको औचित्यलाई कसरी पुष्टि गर्नुहुन्छ ?
– हाम्रो कार्यकालमा यी विषयहरूमाथि धेरै छलफल भए । बदलिँदो राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षलाई मूल्यांकन गरेर झनै यसको साझा चरित्रको आवश्यकता बढेको महसुस झनै बढेको छ । कम्युनिस्ट आन्दोलनसँग नजिक रहेका सांस्कृतिक संगठनहरूका बीचमा बदलिँदो अवस्थामा पनि कैयौं राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक पक्षलाई हेर्ने दृष्टिकोणमा समानता छ । संसद्लाई उपयोग गर्ने र नगर्ने कुरा मात्र फरक पर्ला तर संसदीय व्यवस्थालाई हेर्ने दृष्टिकोणमा खासै अन्तर छैन । सामन्तवाद र साम्राज्यवादलाई हेर्ने दृष्टिकोणमा पनि अन्तर छैन । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका विरूद्धमा संघर्ष गर्ने बारेमा म सबैको एकमत देख्छु । यतिबेलाका चुनौतीसँग लड्न सांस्कृतिक आन्दोलनमा साझा मोर्चाको आवश्यकता झनै बढेको छ । त्यो आवश्यकतालाई प्रगतिशील लेखक संघले वैचारिक र सिर्जनात्मक दुवै क्षेत्रबाट संघर्षरत रहेर पूरा गर्न सक्छ ।
० तीन वर्ष नेतृत्वमा रहँदा आफ्नो कार्यकाललाई स्मरणीय बनाउने कुन–कुन महŒवपूर्ण कार्य गर्न भ्याउनुभयो ?
– मैले नै भन्नुभन्दा यो तपाईंहरूले बाहिरबाट मूल्यांकन गरिदिनु भए राम्रो हुन्छ । मलगायत मेरा साथीहरूको टिमले इतिहासले दिएको जिम्मेवारी राम्रैसँग पूरा ग¥यौं भन्ने लाग्छ । प्रलेसले नै नियमित वैचारिक कार्यक्रम सुरु गर्नुपर्छ भनेर ‘प्रलेस परिसंवाद कार्यक्रम’ सुरु ग¥यौं । प्रगतिशील इतिहास लेखनको कार्य करिबकरिब आधाउधीजस्तो सम्पन्न ग¥यौं । थोरै भए पनि ’प्रलेस’ पत्रिकालाई नियमित बनाउने प्रयत्न ग¥यौं । संगठनात्मक दृष्टिले कहिल्यै नपुगेका नेपालका दुर्गम स्थानमा प्रगतिशील लेखक संघलाई पु¥यायौं ।
० तपाईंको नेतृत्वकालमा वैचारिकभन्दा पनि प्राविधिक कार्यहरूमा जोड दिइयो भन्ने गरिन्छ । के अब प्रलेस वैचारिक विमर्श गर्ने थलो नभएर एउटा सामान्य जनवर्गीय संगठनमा रूपान्तरित हुन पुगेको हो ?
मैले पनि कहीँकहीँ यो प्रसंग सुन्ने गरेको छु । केही साथीहरू हुनुहुन्छ, उहाँहरूलाई यो हल्लालाई स्थापित गर्न पाए आफूलाई फाइदा हुन्थ्यो भन्ने लागेको छ । यो कार्यकालमा हामीले प्राविधिक काममा मात्र नभएर वैचारिक र सिर्जनात्मक कार्यलाई नै सबैभन्दा बढी जोड दिएका छौं । हाम्रा कार्यक्रम र प्रकाशनलाई हेर्ने साथीहरूले यो प्रश्न गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । जनवर्गीय संगठनमा रूपान्तरित भएको भन्ने आरोप लगाउने साथीहरूले भन्न सक्नुप¥यो कि कुन पार्टीको जनवर्गीय संगठन भयो ? हामी सरकारका गतिविधिप्रति झन् बढी आलोचक भएर प्रस्तुत भएका छौँ ।
० पछिल्लो समय वैकल्पिक प्रलेसको कुरा केही स्रष्टाहरूले उठाए । किन उठ्न पुग्यो यस्तो कुरा ?
– वैकल्पिक प्रलेसको कुरा उठेको मैले पनि सुनेको छु । त्यति मात्र होइन, केही साथीले प्रलेसको औचित्यबारे कुरा नै पनि उठाउनुभएको थियो । केका लागि वैकल्पिक प्रलेस भन्ने उत्तर हुनुप¥यो नि ! त्यसको उत्तर उहाँहरूसँग पनि छैन । वैकल्पिक प्रलेसको प्रश्न भित्री तहबाट कसरी उठ्यो भन्ने कुरा बिस्तारै खुल्दै जाला । हामी सबैले खोजी गर्न जरुरी छ ।
० सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई तपाईंहरूले समेट्न नसक्दाको परिणामस्वरूप नै वैकल्पिक प्रलेसको कुरा उठेको त होइन, कतै ?
उद्देश्य प्रस्ट भएका स्रष्टाहरू समेटिनुभएको छ भन्ने लाग्छ । केही स्रष्टाहरू नसमेटिनुमा प्रलेसको कारण होइन, उहाँहरूकै आन्दोलनप्रतिको प्रतिबद्धताको कारण हो । प्रलेसको विधान हेर्नुभयो भने यो कुरो राम्ररी बोध गर्न सकिन्छ ।
० प्रलेसको नेतृत्व तहमा ठूला वामपन्थी शक्ति नजिकका स्रष्टाहरू नै हाबी हुने स्थिति रह्यो, पहिलादेखि नै । यो सिन्डिकेट हटाएर साना–ठूला सबै वामपन्थी शक्ति निकटकका स्रष्टाहरू अटाउने थलो बनाउन सकिँदैन ?
त्यस्तो अवस्था भएजस्तो त मलाई अझै पनि लाग्दैन । सच्याउनु पर्नेछ भने छलफल गरौं । एउटा कुराचाहिँ के बुझ्न जरुरी होला भने ठूलो शक्तिसँग धेरै स्रष्टा हुन सक्छन् । यसलाई हावी भन्नु कति जायज हुन्छ ? यसलाई सिन्डिकेट पनि नभनौं । जसले गलत अर्थ प्रवाहित गर्ने सम्भावना हुन्छ । प्रलेसमा सहभागिताको प्रतिशत हेर्ने हो भने ठूला संगठनभन्दा साना संगठनको हामीले बढी राख्ने कोसिस गरेका छौँ ।
० नेतृत्व छान्दा भागबन्डा गर्नेतिर नभई प्रतिस्पर्धाको आधारबाट गर्ने अवस्था सिर्जना गर्न सकिँदैन ?
साझा मोर्चामा सबै कुरालाई प्रतिस्पर्धामा लग्यो भने साना संगठनको अवस्थालाई एकपटक हेरौं त ! यो कति व्यावहारिक हुन्छ ? सबै ठूलाहरूले मात्र चुनाव जित्ने सम्भावना होला कि नहोला ? मलाई त यहाँ सहभागी हुने स्रष्टाहरूलाई ठूला र साना संगठन भनेर पनि नहेरौं जस्तो लाग्छ । प्रगतिशील लेखक संघमा साथीहरूलाई ठूलो र सानो संगठन भनेर कित्ताकाट गर्नुभन्दा उनीहरूले संस्थाको उद्देश्यप्रति प्रतिबद्धता र सिर्जनात्मक क्षमतालाई मूल्यांकनको आधार बनाउनुपर्छ ।
० प्रलेसमा नअटेका तर प्रगतिशील लेखनमा सक्रिय स्रष्टाहरूलाई यो अधिवेशनमा समेट्नेतिर कस्तो पहल गरिरहनुभएको छ ?
हामीले सबैलाई आग्रह गरेका छौँ । मूलतः यो संगठन प्रगतिशील लेखनमा सक्रिय स्रष्टाहरूकै हो र हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा