25th April 2019, Thursday

E-budhabar

सृष्टिमाथि अध्येताको दृष्टि



सृष्टिमाथि अध्येताको दृष्टि

दुधौली नगरपालिका–७ सिन्धुलीका घनबहादुर र चन्द्रकुमारीबाट २०२८ सालमा जन्मिएका दिल पौडेल निजामती सेवामा संलग्न नेपाल सरकारका एक अधिकृत हुन् । सरकारी कामकाजबाहेक यिनले नेपाली साहित्यका कविता, आख्यान एवं समालोचना विधामा आफूलाई आकर्षित गराउँदै आएका छन् । यिनका हालसम्म १. अधुरो जिन्दगी (उपन्यास, २०५०), २. केही साहित्यिक कृतिहरूको अध्ययन (२०६१), ३. प्रजातन्त्र (संयुक्त हाइकुसंग्र्रह, २०६२), ४. कात्रोमा मेरो देश (कवितासंग्र्रह, २०६३), ५. अचानो मन (गजल विशेष, कौशिकी मासिक, २०६४), ६. अतीतका अवशेष (संस्मरणसंग्रह, कौशिकी मासिक, २०६५) आदि प्रकाशित कृतिहरू देखिन्छन् । स्वतःस्फूर्त स्वसिर्जनाका अलवा यिनले मेलम्ची संगम, मोदिनी साहित्यिक त्रैमासिक, नागार्जुन साहित्यिक त्रैमासिक आदि साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका छन् । त्यस्तै विभिन्न साहित्यिक संस्थाहरूमा रहेर संस्थागत योगदान पनि दिँदै आएका देखिन्छन् स्रष्टा पौडेल ।

स्रष्टा दिल पौडेल र स्रष्टाका कृतिबारे ‘दिलको सृष्टि अध्येताको दृष्टि’ नामक समीक्षात्मक कृतिको दुधौली साप्ताहिक परिवार, दुधौली–७ ले सम्पादन, प्रकाशन गरिदिएर स्रष्टा एवं नेपाली साहित्यिक जगत्प्रति ठूलो गुन लगाएको छ । ‘दिलको सृष्टि र अध्येताको दृष्टि’मा स्रष्टा पौडेलका काव्य, आख्यान, समालोचनात्मक र जीवन–व्यक्तित्वबारे विश्लेषणात्मक एवं परिचयात्मक टिप्पणी गरिएको छ ।
प्रा. मोहनराज शर्मा, पूर्वसांसद गंगा श्रेष्ठ, देवीप्रसाद पराजुली र भक्तिप्रसाद उप्रेतीद्वारा शुभकामना मन्तव्य दिइएको प्रस्तुत समालोचनात्मक कृतिमा कृतिसृष्टिकर्ता दिल पौडेलको जीवनी–व्यक्तित्वबारे डा. ढुण्डीराज पहाडी, प्रेम बानियाँ, थानेश्वर देवकोटा, शेरबहादुर ढुं्गाना, अविरल डेस्कभित्रबाट, गेहनाथ गौतम, यशोदा अधिकारी र गान्धीराज मगरले सोलोडोलो परिचयात्मक टिप्पणीसहित शब्दशुभांश व्यक्त गरेका छन्् ।

‘दिलको सृष्टि र अध्येताको दृष्टि’का आधारमा कृतिसृष्टिकर्ताका विभिन्न समय र सन्दर्भमा प्रकाशित कृतिगत विश्लेषणात्मक टिप्पणीअन्तरगत काव्य, आख्यान, समालोचनात्मकता सिर्जनाका तीन पाटा देखिन्छन् ।
पहिलो पाटामा कृतिकारका काव्यिक कृतिगत कर्मप्रशंसा एवं कर्मप्रवृत्तिगतका विश्लेषणात्मक टिप्पणी गरिएको छ । जसमा विधाविशेषज्ञ प्रा.डा. कृष्णहरि बरालले ‘कात्रोमा मेरो देश हेर्दा’ शीर्षकमा आफ्नो समालोचकीय दृष्टिकोण प्रस्तुत गरेका छन् । त्यस्तै, डा. दुर्गाप्रसाद दाहाल, डा. हरिप्रसाद सिलवाल, विवश वस्ती, सविना सिन्धु, विरही शिशिर, डा. गीता त्रिपाठी, सोम शर्मा (बजगाईं), कला र राजुराम मुनकर्मीले कृतिसृष्टिकार दिल पौडेलका कृतिगत कर्म, प्रवृत्ति एवम् समालोच्य तथा आलोच्यताका हरप्रकारका दृष्टिकोणबाट आ–आफ्ना विचारलाई प्रकटीकरण गरेका छन् ।

समालोचकहरूका मूल्यांकनमा आधारमा स्रष्टा पौडेल काव्यात्मक क्षेत्रमा सक्षम सर्जकका रूपमा साबिक देखिन्छन् । उदाहरणार्थ दिल पौडेलका राजनीति भावगत अँगालेका एक–दुई मतलाहरू हेरौं ः
खालि झूटो भाषणमा कति आश साट्ने ?
नेपालीले नेपाललाई केका लागि ढाँट्ने ?
(अचानो मन गजल २)

जनसेवी तिम्रो इच्छा ज्यादै कालो देखें
तिम्रो मनमा माकुराको ठूलै जालो देखें
(अचानो मन गजल १०)

त्यस्तै, कृतिसृष्टिकर्ता पौडेलको दोस्रो सिर्जनापाटो भनेको आख्यान विधा हो । यिनको यसविधाअन्तर्गत अधुरो जिन्दगी (उपन्यास, २०५०) र केही फुटकर कथाहरू छापिएका छन् । केही आख्यानविशेषज्ञहरूले आख्यानकार पौडेलका बारे आ–आफ्ना धारणा व्यक्त गरेका छन् । जसमा डा. राजेन्द्रप्रसाद विमल, श्रेष्ठ प्रिया पत्थर, रोशन दाहाल र ऋषिराम खतिवडा छन् ।
स्रष्टा दिलको कृतिसृष्टिको तेस्रो पाटो भनेको समालोचनाविधा हो । यिनले २०६१ सालमा ‘केही साहित्यिक कृतिहरूको अध्ययन’ नामक समालोचनाको पुस्तक छपाएका छन् । जसमा समालोचक पौडेलले आफ्नो समालोचकीय हैसियत र क्षमताको उच्च प्रस्तुति दिएका छन् । ‘दिलको सृष्टि र अध्येताको दृष्टि’भित्र समालोचक विनोद मञ्जनले समालोचनाको समालोचनाअन्तर्गत शास्त्रीय दृष्टिमा ‘दिल’का समालोचना शीर्षकमा सूत्रात्मक टिप्पणी गरेका छन् । समालोचक मञ्जनले ‘केही साहित्यिक कृतिहरूको अध्ययन’भित्र रहेका समालोक स्रष्टाद्वारा समालोचित १९ शीर्षकका समालोचनाहरूको शास्त्रीय सूत्रात्मकताको दृष्टिकोणबाट वर्तमान समालोचनामाथिको विशेष निगरानी राखेका छन् ।

यसबाहेक कृतिसृष्टिकर्ता दिल पौडेल संस्मरणकार पनि हुन् । उनले आफ्नो जीवनको प्रारम्भिक ऊर्जाकाललाई सरकारी कामको सिलसिलामा सिन्धुपाल्चोक जिल्लामा रहेर व्यतित गरे । सिन्धुपाल्चोकमा रहेर उनले साहित्य सिर्जना मात्रै गरेनन् जिल्लाका स्रष्टाहरूसँग हातेमालो गर्दै नेपाली साहित्यको विकास विस्तारमा निकै टेवा पु¥याए । सो अवसर अवस्थाको स्रष्टा पौडेलले संस्मरणको लामै फेहरिस्त बनाएका छन् । जसलाई अतीतका अवशेष संस्मरण शीर्षकमा कौशिकी मासिक–२०६५ ले विशेषांककै रूपमा प्रकाशन गरेको छ । त्यस्तै सरकारी कामकाजका सिलसिलामा नुवाकोट र भक्तपुर जिल्लामा रहँदा तत्तत् जिल्लाका साहित्यिक एवं अन्य क्षेत्रका स्थानीय प्रतिभाहरूको उत्प्रेरणका खातिर सम्मान गरेका थिए । साथै, विभिन्न स्रष्टाहरूको आधा दर्जन पुस्तकको प्रकाशन एवं जुनसुकै कार्यालयमा रहँदा पनि साहित्यिक पुस्तक खरिद गरी सहयोग पु¥याउने आदि काम पनि उनको फेहरिस्तभित्र भेटिन्छ ।

अन्तमा स्रष्टा दिल पौडेल नेपाल सरकारको अधिकृतजस्तो जिम्मेवारी पदमा रहेर कामकाज गरिआएका साथै फुर्सदको समयलाई दीर्घजीवी कर्मप्रति लगाएर भाषा, साहित्यप्रति योगदान दिइरहेकाले उनी एक उदाहरणीय धन्यवादका पात्र बनेका छन् । साथै, दिलको सृष्टि अध्येताको दृष्टि नामक कृति र सो कृतिमा आ–आफ्ना विचार, दृष्टिकोण राख्ने सम्पूर्ण कलमहरू धन्यवादका पात्र बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा