25th April 2019, Thursday

E-budhabar

कहिले जुर्ला आकस्मिकता ?



कहिले जुर्ला आकस्मिकता ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता आकस्मिक रूपमा छिट्टै टुंगिने अभिव्यक्ति दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नौलो तरंग उब्जिन थालेको छ । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यो ‘कूटनीतिक अभिव्यक्ति’ले कार्यकर्ता पंक्तिमा सकारात्मक भन्दा पनि नकारात्मक अर्थको सन्देश प्रवाह गरेको बताइन्छ । दुई तिहाइ बहुमतका साथ देशको नेतृत्व गरिरहेको नेकपा पंक्तिले प्रधानमन्त्रीको अभिव्यक्तिलाई उत्साहका रूपमा लिनुपर्नेमा आशंकाको दृष्टिले हेर्न थालिएको बताइन्छ ।
पार्टी सचिवालयमा रहेका शीर्ष नेताहरूले नै आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकोमा ‘नोट अफ डिसेन्ट’ लेखेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी सञ्चालन कार्यशैलीमाथि बारम्बार प्रतिवाद गर्नुका साथै गम्भीर प्रश्नसमेत उठाउँदै आएका छन् । यस्तो पृष्ठभूमिमा अध्यक्ष ओलीले एकता प्रक्रियाका बाँकी काम विधि, प्रक्रिया र मापदण्डका आधारमा टुंग्याउने हो कि ‘जंगे शैली’मा सूची सार्वजनिक गरेर औपचारिकता पूरा गर्न खोजेका हुन् भन्ने स्वाभाविक प्रश्न उठेको छ ।
दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकताका लागि राजनीतिक, वैचारिक कार्यदिशा र नेतृत्व टुंग्याउने विषय जटिल भएकाले एकता घोषणाअघि टुंगो लगाउने जिम्मेवारी सुरुमा दुई अध्यक्ष ओली र प्रचण्डलाई दिइएको थियो । त्यसो नगरिएको भए पार्टी एकतामा भाँजो हाल्नेहरूले वातावरण बन्न नदिने षड्यन्त्रप्रति केन्द्रीय नेतृत्वपंक्ति सजक बन्नुलाई स्वाभाविक रूपमा लिइएको थियो । त्यस्तो हुन्नथ्यो भने चुनावी मोर्चाबन्दीदेखि पार्टी एकता नहुन पनि सक्थ्यो । त्यसअनुसार चामत्कारिक रूपमा दुई पार्टीबीच एकता सम्पन्न भयो र एकीकृत पार्टीको विधान, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनसहितका तमाम काम सम्पन्न भइसकेको छ । यद्यपि, नेतृत्वकै कमजोरीका कारण प्राविधिक त्रुटि सच्याएर प्रतिवेदन र विधान जारी गर्ने काम भने भएको छैन ।
दुई तिहाइको कम्युनिस्ट सरकार बनेको ऐतिहासिक अवसरमा पार्टीलाई पद्धतिसंगत ढंगले सञ्चालन गर्ने र अझ एकताबद्ध बनाएर युगान्तकारी परिवर्तनतर्फ डो¥याउने जिम्मेवारी पनि दुवै अध्यक्षको हो । तर, पार्टी एकता सम्पन्न भएको करिब ११ महिना व्यतीत हुन लाग्दा अहिले देशव्यापी निराशा उत्पन्न हुनेगरी पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ । सरकार निर्माण, एकतासम्बन्धी काम सामूहिक प्रणालीका आधारमा होइन, एकलौटी ढंगले सम्पन्न हुँदै आएका छन् । प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको चयनमा विधि, प्रक्रिया र मापदण्डलाई लत्याइएको छ । एकतासम्बन्धी बाँकी काम, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका कामको गृहकार्य गर्न स्थायी समितिबाट बनाइएको कार्यदललाई जबर्जस्ती भंग गरेर पार्टी सञ्चालन पद्धतिलाई चुनौती दिइएको छ ।
यस्तो पृष्ठभूमिमा जिल्ला नेतृत्व र भ्रातृ संगठनको एकता पनि यसअघिकै आकस्मिक शैलीमा टुंगो लगाउने संकेत गरेर प्रधानमन्त्री ओलीले विधि, पद्धतिभन्दा माथि आपूmलाई राख्न खोजेका हुन् भन्ने गम्भीर प्रश्न उठेको छ । केही दिनयता अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी गर्न आवश्यक नरहेको, नेतृत्वले कसैलाई पनि भेदभाव नगर्ने बताउँदै एकताको निर्णयलाई भने सबैले स्वीकार गर्नुपर्ने सन्देश दिँदै आएका छन् । आफू विधि, प्रक्रिया र पद्धतिभन्दा माथि रहने तर अरू नेता–कार्यकर्तालाई भने गुटबन्दी नगर्न निर्देशन दिँदै निर्णय नमाने ठीक नहुने घुमाउरो चेतावनीले पार्टी एकता नै गम्भीर संकटमा पर्न सक्ने नेता–कार्यकर्ताहरूमा चिन्ता छाएको छ ।
पार्टी एकतापछि आयोजना हुने महाधिवेशन सर्वसम्मतिमा सम्पन्न हुने विधानमा लेखिएको छ तर विधि, प्रक्रिया र मापदण्डबिनै धमाधम कमिटीको नाम घोषणा गर्ने विरोधाभासको शैली नसच्चिएकाले ओलीको अभिव्यक्तिप्रति पार्टी पंक्ति आश्वस्त हुन सकिरहेको छैन । पार्टी प्रमुखसमेत भइसकेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग ओली र प्रचण्डले पार्टी एकता टुंग्याउने विधि र प्रक्रियाबारे सहमति जुटाउन कुनै छलफल गरेका छैनन् । दुई अध्यक्ष बसेर १ देखि ५ नम्बर प्रदेशसम्मका जिल्ला नेतृत्वको सूची तयार गरिएको छ । पूर्वएमाले र माओवादीबीचको भागबन्डामा पनि कुनै मापदण्ड अपनाइएको छैन । गत स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा प्राप्त जनमतलाई आधार मानेर जिल्ला नेतृत्वको बाँडफाँट टुंग्याउनुपर्नेमा दुई अध्यक्षको सहजता र असहजताका आधारमा बाँडफाँट गरिएकोमा असन्तुष्टिले विस्फोटको रूप लिने अवस्था सिर्जना हुन पुगेको छ । अहिलेसम्म तयार भएका जिल्ला नेतृत्वको सूचीमा कुनै मापदण्ड अपनाइएको छैन । जिल्ला नेतृत्वमा रहेका वरिष्ठ पदाधिकारीहरूको सट्टा गुटलाई प्रश्रय दिनेगरी कनिष्ठहरूलाई राखेर धमाधम सूची तयार गरिएकोमा असन्तुष्टि चुलिँदै गएको हो । यस्तो परिप्रेक्ष्यमा लामो समयदेखि योगदान पु¥याउँदै आएका नेता–कार्यकर्ताहरूलाई गुटकै नाममा ‘कत्लेआम’ गर्न खोजिएको सन्देश प्रवाह भएको देखिएको छ । अहिलेको यो पृष्ठभूमिमा अध्यक्ष ओलीले कमजोरीबाट सिकेर आन्तरिक लोकतन्त्रको अभ्यास बलियो बनाउने र एकता सुदृढ हुनेगरी कि गुटबन्दीलाई प्रश्रय दिँदै पार्टीमा संकट निम्त्याउनेगरी एकता आकस्मिक रूपमा टुंगिन्छ भन्न खोजेका हुन् ? गम्भीर प्रश्न कायम छ । यसको उत्तरका लागि भने नेकपा पंक्तिले केही समय धैर्य गर्नुपर्ने स्थिति देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा