18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

अब टाउको कमै दुख्ला



अब टाउको कमै दुख्ला

केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध रहेछन् । उनको खुसी यसरी पोखियो, ‘पब्जीमाथि प्रतिबन्ध लगाउँदा म असाध्यै खुसी भएको छु । मेरो छोराले दिनमा ७–८ घन्टा नै पब्जी खेलेर बिताउँथ्यो । हैरान तुल्याएको थियो । प्रतिबन्ध लागेछ, खुसी लाग्यो ।’
हरेक अभिभावकको पीडा समान थियो । हुन पनि एउटा ऊर्जावान् मस्तिष्क दिनहँु ७–८ घन्टा ‘पब्जी’मा रुमलिनु भनेको सोचनीय विषय हो । तर, त्यही निरर्थक मनोरञ्जन खेलले लाखौं किशोर र युवा जमातलाई कब्जामा लिइसकेको थियो । पब्जीजस्ता खेल खेल्न छाडेर किशोर वा युवा मस्तिष्कले दिनमा ७–८ घन्टा अरू सिर्जनशील कार्यमा लगाउँदा त्यसबाट अतुलनीय उपलब्धि प्राप्त हुनेमा सन्देह देखिँदैन । विशुद्ध मनोरञ्जन दिने यस्ता खेलहरूमाथि प्रतिबन्ध लगाउँदा किशोर–युवा पंक्ति बरालिने र अभिभावकहरूको टाउको दुख्न पनि कम हुनेमा विश्वस्त हुन सकिन्छ अब । यद्यपि, पछिल्लो समय भने अदालतले ‘पब्जी’माथिको प्रतिबन्धलाई लिएर अन्तरिम आदेश दिएपछि पब्जी–पीडित अभिभावकहरूमा निराशा बढेको हुन सक्छ ।
युवा पुस्तालाई बिगार्ने अर्को माध्यम बनेको थियो– पोर्नोग्राफी । अश्लीलतालाई प्रश्रय दिने पोर्न साइटहरूले पनि इन्टरनेटको पहुँचमा रहेका लाखौं युवाहरूलाई पथभ्रष्ट तुल्याउँदै आइरहेको थियो । बलात्कार, यौन हिंसाका घटनाहरू वृद्धि हुनुमा केही हदसम्म पोर्न साइटमा राखिएका अश्लील दृश्यहरूले सहायता पु¥याएकोमा कुनै शंका छैन । युवा पुस्तामा यौन विकृति फैलाउने माध्यम बनेका पोर्न साइटहरूमाथि प्रतिबन्ध लगाइएको छ, केही समय पहिले नै । हुन पनि युवा मस्तिष्कलाई यौन विकारको संसारतिर धकेल्न उद्यत पोर्न साइटहरूमाथि प्रतिबन्ध लगाउनु ढिला भइसकेको थियो ।
पब्जी र पोर्न साइटहरूजस्ता किशोर र युवाहरूलाई गलत दिशातिर उन्मुख हुन सघाउने माध्यमहरूको निष्फिक्री प्रयोग अनेकन् विकृतिहरूको जन्मदाता नै हुन् । समयमै यी दुई माध्यममाथि लगाइएको प्रतिबन्धले किशोर र युवा पुस्तालाई पनि के सोच्न बाध्य तुल्याएको हुनुपर्छ भने– यस्ता चिजहरूलाई पछ्याउनु उपयुक्त होइन रहेछ । एकातिर समयको नोक्सानी र अर्कोतिर विकृतिको आहालमा डुब्ने आधार बनेका थिए, यस्ता माध्यमहरू । अभिभावकको हैरानी त आफ्नो ठाउँमा छँदै थियो । खुला रूपमा पब्जी र गोप्य तरिकाले पोर्नको व्यसनमा डुबेका युवाहरू अभिभावकका निम्ति टाउको दुखाइको विषय बन्नु स्वाभाविकै थियो । तर, अब भने अभिभावकहरूमा टाउकोदुखाइ निश्चय नै धेरै हदसम्म कम हुने अपेक्षा राख्न सकिन्छ ।
पछिल्लो समय, हामीकहाँ मात्र होइन, सर्वत्र नै पोर्नोग्राफीको विकृत लहर छाउन पुग्यो । यौन कुण्ठा सँगालेर बाँचेका युवा, अधबैंसे वा बुढ्यौलीका जीवन बाँचिरहेका मानिसहरूका निम्ति पोर्नोग्राफी यौन विकृतिको साझेदार बन्न पुग्यो । महानगर, सहर–बजारका अविवाहित, विवाहपछि पनि यौन असन्तुष्टि बोकेर बाँचेकाहरू, एक्लो जीवन बिताइरहेकाहरूका निम्ति पोर्नोग्राफी ‘साथी’जस्तै बन्यो । त्यसले अकल्पनीय रूपमा भयावह दुष्परिणाम पनि निम्त्याइरहेको थियो, जुन यौन विकृति, हिंसा र बलात्कारको निम्ति सहायक बनिरहेको थियो ।
पोर्नोग्राफीको बढ्दो असरबारे रोबिन मोर्गनले भनेका थिए, ‘पोर्नोग्राफी सिद्धान्त हो र बलात्कार चाहिँ त्यसको अभ्यास ।’ मोर्गनको ठम्याइ थियो, पोर्नोग्राफीले बलात्कारका घटनाहरूमा वृद्धि ल्याइरहेको छ । पछिल्ला दशकहरूमा हामीकहाँ बलात्कारका घटना वृद्धि हुनुमा पोर्नोग्राफीको सहज पहुँचले भूमिका खेलेको थिएन भन्ने आधार देखिँदैन । कलिलो उमेरका बालिकादेखि वृद्धासम्म बलात्कारको चपेटामा परेका घिनलाग्दा खबरहरू सुन्दा त्यसमा पोर्नोग्राफीजस्ता अश्लील साइटहरूकै करामत मान्न सकिन्छ । पोर्नोग्राफीबाहेक अरू अश्लील सामग्रीहरूले पनि बलात्कार, यौन हिंसा र उत्पीडनमा भूमिका नखेलेका होला भन्न सकिँदैन । तर, पोर्नोग्राफीको सहज पहुँचमा रहेका मानिसहरूले त्यसको सिको गर्दै आफूलाई बलात्कारजस्ता कृकर्ममा डो¥याउन उद्यत रहेकोमा कुनै सन्देह देखिँदैन ।
कामुकतालाई प्रश्रय दिने पोर्न साइटहरूमाथि प्रतिबन्ध लगाउन उचित देखिए पनि समाजमा कामुकताको प्रदर्शन गर्ने अरू माध्यम वा सामग्रीहरूमाथि पनि प्रतिबन्धको तलवार झुन्डयाइनु आवश्यक देखिन्छ । पछिल्लो समय कुनै पनि मदिराको विज्ञापन गर्दा आकर्षक युवतीलाई प्रदर्शन गरिने क्रम बढेको छ । कुनै बियरको विज्ञापन गर्दा होस् वा कुनै ह्विस्कीको विज्ञापन गर्दा नै किन नहोस्, युवतीहरूलाई उन्मत्त भावभंगिमामा देखाइने गरिएको छ । के यस्ता विज्ञापनले चाहिँ कामुकतालाई प्रश्रय दिँदैन ? यस्ता कामुक र अश्लील विज्ञापनहरूमाथि पनि प्रतिबन्ध लगाइनु आवश्यक छ ।
पब्जी र पोर्नोग्राफीमाथिको प्रतिबन्धले युवा मन–मस्तिष्कलाई विकृतिको दलदलमा फसाउने कार्यमा केही हदसम्म सुधार त आउला । तर, किशोर र युवाहरूको मूल्यवान् समय र ऊर्जावान् मस्तिष्कलाई विकृति र विसंगतिको दिशातिर उद्यत गराउने अरू पनि माध्यमहरूमाथि प्रतिबन्ध लगाउन ढिलाइ गर्नुहुँदैन । जति ढिला हुँदै जान्छ, त्यसको दीर्घकालीन र बहुआयामिक असर विस्तार हुँदै जानेमा शंका देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा