22nd July 2019, Monday

सात दशकको सान



२०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गर्नुभन्दा केही दिनपूर्व संयुक्त राष्ट्रसंघको महासभाको बैठक चलेको थियो । सो बैठकलाई सम्बोधन गर्ने क्रममा तत्कालीन सोभियत संघका प्रधानमन्त्री निकिता खु्रस्चेभले भने, ‘नेपालमा संसद् भन्ने पनि छ ? यो कुरा मलाई थाहा छैन । म अब आफ्नो भूगोलको किताबमा हेर्नेछु र नेपालको संसद्ले के–कस्तो गतिविधि गरिरहेको छ भन्ने जानकारी लिनेछु ।’
सोभियत संघका प्रधानमन्त्री ख्रुस्चेभको अभिव्यक्ति आएपछि सो महासभामा नेपाली प्रतिनिधिमण्डलका सदस्य विश्वबन्धु थापाले प्रतिवाद गर्दै भने, ‘नेपालमा बालिग मताधिकारका आधारमा निर्वाचित संसद् छ, जसमा एकभन्दा बढी राजनीतिक पार्टीहरूको प्रतिनिधित्व रहेको छ । म स्वयं संसद्को निर्वाचित सांसद हुँ । प्रतिनिधिसभाको १ सय ९ जना सदस्यमध्ये चारजना कम्युनिस्ट पनि छन् ।’
तत्कालीन समयमा थापाले गर्वका साथ नेपालको संसद्मा चारजना कम्युनिस्ट रहेको बताउनुको तात्पर्य सोभियत संघमा कम्युनिस्ट पार्टीको सत्ता हुनु र प्रधानमन्त्री खु्रस्चेभ नेपालको संसद्प्रति अनभिज्ञ रहेकोमा त्यसको जवाफ दिने हेतु रहेको थियो । यो करिब ६ दशकअघिको परिदृश्य हो । २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा कम्युनिस्ट पार्टी चार सिटमा खुम्चिन पुगेको थियो । नेपाली कांग्रेसले प्रचण्ड बहुमत ल्याएर सत्ता सञ्चालन गरेको त्यस समयमा कम्युनिस्ट पार्टी संसद्मा चौथो स्थानमा थियो । ६ दशकपछिको अवस्था भिन्न छ । अहिले देशमा कम्युनिस्ट पार्टीले प्रचण्ड बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । देशलाई आर्थिक समृद्धिको मार्गमा डो¥याउने संकल्पबोध गरेर क्रियाशील रहँदै आएको छ ।
आज सत्ताको बागडोर कम्युनिस्ट पार्टीको हातमा रहनुमा विगतदेखि नै नेपालमा कम्युनिस्ट पार्टीले खेलेको अहं र महŒवपूर्ण भूमिकालाई श्रेय दिनु उचित हुन्छ । वैशाख ९ अर्थात् नेपालमा कम्युनिस्ट पार्टीको जग बसालिएको दिन । हरेक वर्ष कम्युनिस्ट पार्टीले यो दिनलाई श्रद्धापूर्वक सम्झिँदै आएका छन् । सात दशकअघि पाँच नेताहरूले रोपेको कम्युनिस्ट पार्टीको बिरुवाले आज व्यापक रूपमा जरा र हाँगाहरू हालिसकेको छ । त्यो बिरुवाका जराहरू अझ फैलिने क्रममा छन् । आज कम्युनिस्ट पार्टीका कुनै पनि संस्थापकहरू हामीबीच हुनुहुन्न । तर उहाँहरूले फैलाएको विचारधाराले भने हिमालदेखि तराईका बस्तीसम्म चुमेका छन् र कम्युनिस्ट पार्टीको लोभलाग्दो व्यापकता बढ्न पुगेको छ ।
कुनै पनि राजनीतिक शक्तिको जीवन–यात्रामा उतारचढाव आउनु स्वाभाविकै हो । एउटा जीवन्त र क्रियाशील पार्टीले उतारचढाव भोग्ने गर्छ नै । सात दशक अवधि पार गर्दा नेपालको कम्युनिस्ट आन्दोलनले पनि अनेक उतारचढावको सामना गर्नुपरेको विदितै छ । २०१७ सालको राजनीतिक ‘कु’पछि कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुन पुग्यो । कम्युनिस्ट पार्टीको नेतृत्व तहमा रहेकाहरू नै राजा महेन्द्रको निरंकुश कदमलाई स्विकार्दै समर्थन गर्न उत्रिए । हुन त यो रोगले तत्कालीन समयमा नेपाली कांग्रेसका नेताहरूलाई पनि नगाँजेको होइन । किनभने, कांग्रेसको दोस्रो पुस्ताका अधिकांश नेताहरूले राजा महेन्द्रको कदमलाई स्विकारेका थिए ।
निश्चय नै २०१७ सालको राजनीतिक घटनापछि कम्युनिस्ट आन्दोलनले गति पक्रिन सकेन । बरु, कम्युनिस्ट नेताहरू बेग्लाबेग्लै समूह बनाएर रमाउन थाले । गतिसून्य अवस्थाबाट गुज्रिरहेकै बेला २०२८ सालको झापा विद्रोहपछि भने कम्युनिस्ट आन्दोलनमा केही तरंग आयो । बिस्तारै विभिन्न समूहमा बाँडिएका कम्युनिस्ट नेताहरूले एकताको महŒव बुझ्दै गए र २०३५ सालमा नेकपा (माले) गठन भयो । मालेको गठनपछि सो पार्टीलाई नेपालका कम्युनिस्टहरूलाई एकताको सूत्रमा बाँध्ने कार्यमा मात्र सफलता मिलेन, निरंकुश पञ्चायती व्यवस्थाको जरोछेदन गर्न प्रजातान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा आबद्ध तुल्याउने कार्यमा समेत सफलता मिल्यो । तत्कालीन मालेको राजनीतिक परिपक्वता, सचेतता र क्रियाशीलताले देशमा नयाँ राजनीतिक वातावरण पैदा भयो । बहुदलीय व्यवस्था स्थापना भएपछि तत्कालीन माले र माक्र्सवादीको एकता भएयता त्यो पार्टी देशको ठूलो वामपन्थी शक्तिका रूपमा उदाउन पुग्यो र २०४८ सालको आमनिर्वाचनमा दोस्रो शक्तिका रूपमा उदायो । तत्कालीन संसद्मा विपक्षी दलको भूमिकाका आफूलाई दह्रो रूपले उभ्याउन पुग्यो ।
‘संसदीय व्यवस्था ध्वस्त पार्ने’ उद्घोष बोकेर २०५२ सालदेखि जनयुद्धमा होमिएको माओवादी शक्ति पछिल्लो समय संसदीय व्यवस्थाको अपरिहार्यतालाई स्विकार्दै शान्ति प्रक्रियामा आयो । कम्युनिस्ट पार्टीहरूको निरन्तरको संघर्ष, प्रयत्न र क्रियाशीलताले देशबाट राजतन्त्र सदाका निम्ति अन्त्य भएको छ र देशले गणतन्त्रको दिशातिर प्रारम्भिक पाइलाहरू चालिरहेका छन् । पछिल्लो समय देशका दुई ठूला वामपन्थी शक्ति एमाले र माओवादी केन्द्रबीचको एकताले कम्युनिस्ट पार्टीहरू एक भएर देशलाई समृद्धिको मार्गमा क्रियारत तुल्याउने अवसर पैदा भएको छ । केही साना कम्युनिस्ट पार्टीहरू बेग्लै चुल्हा लगाएर बसे पनि दुई ठूला शक्तिबीचको एकताले अब गुट, फुट र विभाजनमा रमाउने होइन, एउटै शक्ति भएर देशको समृद्धिमा लाग्नुपर्छ भन्ने गहकिलो सन्देश दिएको छ । तसर्थ, नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो यात्राको सात दशकको अवधिमा पछिल्लो चरणमा जुन उत्साह, आशा र भरोसा बटुल्न पुगेको छ, त्यसलाई सात दशकको यात्राको सानको रूपमा लिनु उचित हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा