21st May 2019, Tuesday

E-budhabar

श्रमप्रति समर्पित



श्रमप्रति समर्पित

कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता केवल शब्दको थुप्रोमा मात्र परिणत हुन जान्छ । तर, नयाँ पुस्ताका कवयित्री भैरवी ‘भूगोल’ ढुंगानाले भने कविता लेखनमा आफूलाई इमानदार तुल्याउने प्रयत्न गरेकी छन् । विविध भावबोधले भरिपूर्ण कविताहरू समेटिएको ‘अस्वीकृत शालीनता’ कृतिमार्फत उनले नेपाली काव्य फाँटमा आफ्नो दह्रो उपस्थिति देखाउन पुगेकी छन् ।
संसारमा सबै चिज परिवर्तनशील छन् । परिवर्तनले स्पर्श नगर्ने वस्तुहरू सायदै होलान् । तर, कतिपय यस्ता सामाजिक व्यवस्थाहरू पनि छन्, जो परिवर्तनपछि पनि फेरिँदैनन्, सदैव जडताको सिकार हुन्छन् । परिवर्तन चाहनेहरूले नयाँ युगको दुन्दुभी बजाउन त खोज्छन् तर पनि त्यो व्यवहारमा खरो रूपले उत्रिँदैनन् । विगतमा भएका राजनीतिक परिवर्तनहरूले सामाजिक जीवनमा परिवर्तनको कुनै रेखा कोर्न नसकेकोमा कवयित्रीको मन खिन्न तुल्याएको छ । यी हरफहरूले त्यही संकेत गर्दछ, ‘सर्पहरू उसैगरी काँचुली फेर्छन्÷उही हो सिंहको आहारा÷हात्तीहरू लस्कने नै गर्छन्÷कुकुरहरू भुकी नै रहेका छन्÷झ्याउँकीरीहरू कराउँदाकराउँदा÷टाउको फुटेर नै सकिन्छन्÷अहिले पनि ।’
‘मन्दिर, भेटी र ईश्वरहरू’मा ढुंगाको मूर्तिप्रति कटाक्ष भाव पोखिएको छ । मूर्तिलाई पुज्नु र भेटी चढाउनुभन्दा भोका मानिसहरूलाई दान–दक्षिणा दिनु श्रेयस्कर हुने ठम्याइ छ, यो कवितामा । मूतिभञ्जकहरूलाई झक्झक्याउन बाध्य तुल्याउने भावबोधले व्याप्त छ । ‘अगुवा र नयाँ भविष्य’मा भने द्वन्द्वकालीन समयमा देशको भविष्य चम्काउन होमिएकी महिला लडाकुको व्यथा कोरिएको छ । समकालीन साथीहरूले आर्थिक हैसियत सपारे पनि आफू भने दुई छाकका निम्ति अझै श्रम गर्नुपर्ने बाध्यताबाट मुक्ति नपाएकी एउटी महिलाको पीडा यो कवितामा चित्रित छ ।
देशका दुई भूभाग हुन्– काठमाडौं र कालिकोट । काठमाडौं सम्पन्नताले भरिपूर्ण छ र कालिकोट अभाव, पीडा र समस्याका त्यान्द्रा बेरेर बाँचिरहेको छ । राजधानी र एउटा दुर्गम इलाकाबीचको अन्तर र विभेदलाई केलाउन उद्यत देखिएको छ– ‘असुराको साम्राज्य’ । राज्यबाट सधैं प्रताडित देशकै एउटा इलाकाको चित्रण गर्न सक्षम ठहरिएको छ उक्त कविता । कवयित्री लेख्छिन्, ‘उखेलेर सिरुका जराहरू÷फाँडेर वनमाराका झ्याङहरू÷काठमाडौं भएर बाँच्दा लाग्ने÷सबै शुल्कहरू जम्मा गरेर÷पाटैभरि हुर्काउनु छ÷असुराका गाँजहरू÷बिस्तारै गर्नु छ÷असुराकै साम्राज्य÷र, जोहो गर्नु छ÷हरेक नागरिकलाई÷भाग पुग्ने सिटामोल ।’
‘सियो’मा विद्रोह चेत व्याप्त छ । राजनीतिक परिदृश्यहरूमा देखिएका विसंगत तस्बिरलाई उदांगो पार्न उद्यत यो कविताले सयौं किलोको फूलको माला पहिरिने नेताहरूप्रति असन्तोष मात्र व्यक्त गरेको छैन, नेपाली–नेपालीबीच फाटेको मनलाई सिउन सियो कारखाना खोल्ने उद्घोष पनि गरेको छ । ‘अस्वीकृत शालीनता’मा समाजमा व्याप्त भेदभावको सटीक बयान गरिएको छ । समाजमा एउटा वर्ग खुसमय जीवन बिताइरहेका छन्, अर्कोले भने दिनरात हाड घोटिरहेका छन् । यही विभेदको शल्यक्रिया गर्न उक्त कविताले औजारको भूमिका निभाएको छ ।
‘माटो भिज्न त पसिना नै चाहिन्छ’ चाहिँ उच्च श्रमबोध झल्किने कविता हो । अहिले संसार जसरी झकिझकाउ छ, यो सबै मानव जातिकै देन हो । मानव जातिले श्रम नपोखेको भए, पसिना नचुहाएको संसार कहाँ यति सुन्दर हुन्थ्यो र ? ‘श्रमको मन्त्र’ले पनि श्रमको महिमा गाएको छ । मानिसहरूले श्रमलाई नपछ्याएको भए न त आधुनिक प्रविधि र उपकरणहरूको विकास हुन्थ्यो, न त मानव जातिको जीवन सहज हुन सक्थ्यो । आधुनिक प्रविधिको विकाससँगै मानव जातिले पाएको सहजता, सुविधाको बयान छ, उक्त कवितामा । ‘आरो लगाएर पेटबाट चिरिरहनेहरूलाई’ पनि श्रमप्रति नै समर्पित कविता हो । उनी लेख्छिन्, ‘गेट, तगारो, लौरो, बन्दुक बनिदिएँ÷कुर्ची, टेबुल, बेन्च सबै बनिदिएँ÷पकाउन लाग्यौ, दाउरा बनिदिएँ÷पर्खाल बनिदिएँ, बार बनिदिएँ ।’
मूलतः कवयित्री ढुंगानाका कविताहरूले मानवीय श्रम, गरिमा र संवेदनाका अनगिन्ति रेसाहरू केलाउन अग्रसर देखिएका छन् । उनका कवितामा श्रम र सिर्जनशील अनुहारहरू प्रस्ट देखिन्छन्, खोक्रो आडम्बर बोकेर बाँच्ने पंक्तिलाई लल्कारिरहेका दृश्यहरू भेटिन्छन् र विसंगतिको खेती गर्नेहरूप्रति असन्तुष्टि पोखिएका पाइन्छन् ।
कृति ः अस्वीकृत शालीनता
विधा ः कविता
कवयित्री ः भैरवी ‘भूगोल’ ढुंगाना
प्रकाशक ः शिखा बुक्स
पृष्ठ ः १०८
मूल्य ः २००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा