21st May 2019, Tuesday

E-budhabar

पर्यटन बोर्डमा ‘फोटो सिन्धुली’



काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा गर्दै आएको ‘फोटो नेपाल’को शृंखलाअन्तर्गत वैशाख २० गतेदेखि ‘तस्बिरमा सिन्धुली’ फोटो प्रदर्शनी हुने भएको छ । सिन्धुली जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डमा ‘तस्बिरमा सिन्धुली’ एक हप्ते फोटो प्रदर्शनी आयोजना गरेको हो ।
पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिनेछन् । सिन्धुलीका दुई ऐतिहासिकस्थल सिन्धुलीगढी र हरिहरपुरगढीलाई तस्बिरमा देख्न सकिनेछ । यस्तै, सिन्धुलीको मौलिक उत्पादनका रूपमा जुनार र पर्यटकीय मार्गका रूपमा रहेको बीपी मार्गका सुन्दर तस्बिर प्रदर्शनीमा राखिनेछ । विविध जातिको बसोबास रहेको सिन्धुलीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई तस्बिरमा देख्न सकिनेछ । जिल्लाबाट तस्बिर संकलनका लागि अभियानले आफ्नो पेजमार्फत सामाजिक सञ्जालमा आह्वान गरेको थियो । प्रदर्शनीमा सिन्धुलीका स्थानीय नौ युनिटको प्रतिनिधित्व होस् भन्ने उद्देश्यसमेत अभियानको छ ।
नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोसीमा जलपर्यटन र महाभारत पर्वत शृंखलामा पदमार्ग विशेष रहेको छ । यी तीनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । अभियानको यो तस्बिर प्रदर्शनी गन्तव्यको प्रवद्र्धनमा टेवा पु¥याउनु पनि हो । अभियन्ता सौरभ ढकालले भने, ‘सिन्धुलीको समृद्धिका सम्भावनाको खोजी गरिरहेका छौं ।’ सिन्धुलीमा पर्यटकीय स्थलहरू पर्याप्त रहेकाले त्यसलाई जिल्लाबाहिर चिनाउन फोटो प्रदर्शनी गर्न लागिएको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीमा पर्यटन विकासका लागि कला, संस्कृति, सम्पदाको संरक्षणसँगै प्रवद्र्धनका काम अगाडि बढाउनुपर्ने बताए ।
पर्यटन बोर्डमा प्रदर्शनीपछि ती तस्बिरहरु सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा समेत घुम्ती प्रदर्शनी गर्न लगिनेछ । यसले स्थानीयस्तरमा रहेका पर्यटकीय महŒवको स्थलबारे जनमानसमा सचेतना ल्याउन सहयोग पुग्ने अभियानको विश्वास छ । तस्बिर प्रदर्शनीका क्रममा पर्यटन बोर्डमा सिन्धुलीको पर्यटनसम्बन्धी छलफलसमेत गर्ने अभियानले योजना बनाएको छ । छलफलमा प्रत्येक गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासबारे आफ्नो प्रस्तुति दिनेछन् । त्यस्तै प्रदर्शनीकै अवसरमा दिनैपिच्छे सिन्धुलीका स्रष्टाहरुद्वारा प्रकाशित पुस्तक, सिन्धुलीमा पदयात्राको सम्भावना र साइकल यात्राबारे छलफलसमेत आयोजना गरिनेछ । ‘तस्बिरमा सिन्धुली’ प्रदर्शनी एक सातासम्म हुनेछ ।
सिन्धुलीको सम्भावना
सिन्धुलीमा ऐतिहासिक गढीहरु हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोसी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, वैष्णवी मन्दिर, सहस्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल रहेका छन् । महाभारत पर्वत शृंखलाकै उच्च टाकुरा फिक्कल, महाभारतमा पाइने सुनाखरी, लालीगुराँस र जडीबुटीले पर्यटकलाई पक्कै आकर्षित गर्नेछ । फिक्कलबाट सगरमाथाको दक्षिणी मोहडा स्पष्ट देख्न सकिन्छ । हिमशृंखला मात्र होइन महाभारतका घ्याङडाँडा, मरिणचुली, फापरचुली, मतानबास, ल्यान्द्र्याङ, जिर्घाशिरलगायत स्थानबाट तराईका सुन्दर फाँट नियाल्न सकिन्छ । सिन्धुलीमा बसोबास गर्ने अल्पसंख्यक हायु, थामी, पहरी, दनुवारलगायत विविध जातजातिको कला, संस्कृति, भाषा, रितिरिवाज, लोक साहित्य, लोक गीतसंगीतको संरक्षण र विकासले पर्यटन विकासमा टेवा पुग्न सक्छ । सिन्धुलीमा हजारौं बिघा उब्जाउ भूमि छ । सुनकोसी गढतिर, महाभारत पर्वत शृंखला, मरिन, चदाहा र कमलाको पानी स्रोत भएको हजारौं बिघा उर्वर भूमि र जंगलैजंगलको चुरे पहाड सिन्धुलीमा छ । बीपी राजमार्ग, पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम मध्यपहाडी राजमार्गले सिन्धुलीलाई नेपालको सडक सञ्जालसँग जोडेको छ ।
समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी (साइकल यात्रा), इन्भेस्ट इन सिन्धुली (लगानी छलफल), ग्रेट महाभारत ट्रेल (नमोबुद्धदेखि सिन्धुलीगढी हुँदै फिक्कल पदयात्रा), जी टु जी (हरिहपुरगढीदेखि सिन्धुलीगढी पदयात्रा), घरबास तालिम, म्यापिङ, कलायात्रालगायत गतिविधि नागरिक तहकै सहभागितामा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा