22nd July 2019, Monday

आफ्नै घरमा आगो सल्काएर उत्सव नमनाऔं



केही लेखक साथीहरू अहिले प्रगतिशील लेखक संघ छोडेर बाहिरिनुभएको छ । केहीले त्यसप्रकारको बहिर्गगमनलाई ‘क्या बात !’ भनेर ताली बजाउँदै हुनुहुन्छ । मानौं, उहाँहरूका लागि एक प्रकारको उत्सवजस्तै भएको छ । लामो समयदेखि आफ्ना मनमा रहेको प्रलेसप्रतिको कुण्ठा आज आएर एक प्रकारले समाधान भएको छ र खुसी मनाउँदै हुनुहुन्छ । के लेखकीय दायित्व यत्तिकैमा सीमित छ त ? एउटाले संगठन चाहिन्छ भन्ने अर्कोले त्यो भयो भने लेखकहरूको स्वत्व मरेर जान्छ भन्ने त्यो कस्तो खालको विचार हो र कस्तो खालको लेखकीय प्रवृत्ति हो । ?
जसरी विगतको समयदेखि प्रलेसको आफ्नो गौरवशाली इतिहास कायम गर्दै आएको छ, यसलाई हामीले मर्न दिनुहुँदैन । हामीले नै यसलाई अझै क्रियाशील, अझै नयाँ नयाँ प्रकारका चुनौतीहरूको सामना गर्न सक्षम र अहिले देखा परेका समस्याहरूलाई समाधान गर्न सक्ने बाटोमा अगाडि बढाउन सक्नुपर्दछ । अहिले हामी लेखकहरूका सामुन्नेमा विगतका भन्दा अझै ठूला र नयाँ नयाँ खालका समस्याहरू देखा परेका छन् । देशमा वामपन्थीहरूको अत्याधिक बहुमतको सरकार छ । तर त्यसले अपेक्षित रूपमा कामहरू अघि बढाउन नसकेको भन्ने पनि गुनासो रहेको देखिन्छ ।
देखिने खालका कामहरू भएनन् भन्ने पनि सुनिन्छ । कतिपय यस्ता घोषणाहरू सरकारले गरेको थियो र त्यसका परिणामहरू तत्काल केही नदेखिएपछि सरकारको आलोचना पनि जनस्तरबाट भई नै रहेको छ । यिनी र यस्तै यस्तै खालका प्रवृत्तिहरूसँग गाँसेर प्रगतिशील लेखक संघ पनि त्यही सत्ताको पुच्छर, भयो यसको मृत्यु भयो, यो सड्यो, यो गन्हायो भनेर यससँग सम्बद्ध लेखक एवं स्रष्टाहरूलाई लाञ्छित गरिंदै छ र यसैमा आफ्नो पुरूषार्थ रहेको ठानिँदै छ ।
हो, प्रलेसमा समस्याहरू अवश्य पनि रहेका छन् । यो कहिल्यै पनि समस्याबाट मुक्त पनि थिएन, अहिले पनि छैन र भविष्यमा पनि रहने छैन । तर समस्याका प्रकृतिहरू भने फरकफरक छन् । हिजोको प्रलेसलाई पंचायती सत्ताले लखेटेको लखेट्दै गथ्र्यो, हामी लेखकहरूले त्यसको प्रतिरोध गथ्यौं । हाम्रो लेखन पनि सत्ता र शक्तिविरुद्ध लक्षित थियो । सबैमाथि निरंकुशतन्त्रले दमन गरेकै थियो । हामीले पनि त्यसको डटेर प्रतिरोध ग¥यौं । त्यसमा हामी सबैलाई प्रलेसले बाटो देखाएकै हो । राजतन्त्रका विरुद्धको संघर्षमा प्रलेसले पनि भारी योगदान पु¥याएकै हो । नयाँ खालको गणतन्त्रात्मक संघीय, समावेशिता र धर्म निरपेक्षता र समाज विकासको दिशा अव कतातिर उन्मुख हुनेजस्ता कुरा एक प्रकारले दस्तावेजीकरण गरेर संविधानमा स्थापित भएको अवस्था छ । अबको प्रलेसले पनि उक्त प्रकारका उपलब्धिहरूलाई यी त केही पनि होइनन् भनेर ती सवालहरूबाट पराङमुख हुन मिल्छ ? के यो ऐतिहासिक उपलब्धिहरूमा हाम्रो कुनै प्रकारको स्वत्व हुँदैन या हुनुपर्दैन ?
अहिले हाम्रा सामुन्ने विगतको जस्तो केवल हिन्दुवादी प्रतिक्रियावादी चिन्तनसँग मात्र जुधेर हुँदैन, इसाई प्रतिक्रियावादी चिन्तनसँग पनि हाम्रो संघर्ष रहेको छ । अहिले सांस्कृतिक साम्राज्यवादले आधुनिक सञ्चार माध्यमहरूलाई आधार बनाएर कति छिटो विकास गरेको छ । यसप्रति सबै प्रकारका प्रगतिशील लेखकहरू एकजुट हुनुपर्ने झन् ठूलो आवश्यकता देखिएको छ । आखिर शोषण र उत्पीडनको माध्यम बनेको पूर्वीय देशको धार्मिक रूढिवाद खराब हुने पश्चिमा देशको धार्मिक रूढीवाद राम्रो हुने त हुँदैन होला नि ! मानव उत्पीडन र शोषणका रूपहरू र जहाँसुकैका पनि एउटै प्रकृतिका हुन्छन् र प्रगतिशील शक्तिले जहिले पनि र जहाँ पनि तिनीहरूसँग जुध्नैपर्छ । यसप्रकारको सांस्कृतिक अधोपतनका विरुद्ध अहिले पनि हाम्रो लडाइँको अन्त्य भएको छैन । मानवतालाई कलंकित पार्ने, उत्पीडन गर्ने तमाम प्रकारका रूढिग्रस्त चिन्तनहरूका विरुद्ध हाम्रा लेखनहरूको आवश्यकता छँदै छ । जुन–जुन प्रकारले हाम्रो राष्ट्रियतामाथि आइपर्ने खतराहरू छन् तिनका विरुद्ध हाम्रो लेखन सहयोग पु¥याउने खालको हुनैपर्दछ । जनताको अभिव्यक्ति स्वतन्त्रता र जनजीविकाका विरुद्ध हुने हरेक अवरोधका विरुद्ध हाम्रो लेखन परिलक्षित हुनैपर्दछ । यदि जनताप्रति उत्तरदायित्वबोध भएका हामी सबै लेखकहरू हौं भने विगतमा हामीले पनि रगत–पसिना बगाएर ल्याएका उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता र समाज विकासको गति र दिशा समाजवाद हुने भन्ने विषयवस्तुहरूप्रति हाम्रो पनि स्वत्व भनेर गर्व गर्छाैं भने यी उपलब्धिहरूलाई कमजोर पार्ने खालका गतिविधिहरूप्रति यदि वर्तमान सरकार रहेको लाग्छ भने त्यसका विरुद्ध अझै सशक्त बनेर संघर्ष गरौं । यदि वर्तमान सरकार पनि विगतका सरकारहरू जस्तै जनविरोधी कामहरू गर्छ र विरोध गर्दा हामी लेखक–कलाकारहरूलाई दमन गर्छ भने त्यसको पनि विरोध गरौं । समाजको प्रगतिशील रूपान्तरणका लागि गर्नुपर्ने दायित्वहरू त कति हो कति छन्, ती सबैलाई पूरा गर्न हामी लेखकहरूले अलगअलग कुरियाहरू निर्माण गर्न खोज्नु कत्ति पनि युक्तिसंगत देखिँदैन । यदि वर्तमान प्रगतिशील लेखक संघ युगीन दायित्वबोधबाट पराङमुख भएर हिँडेको हुन्थ्यो भने कथित अठ्तिस समूहको पलायन उदात्त नै ठहरिन्थ्यो होला ? तर विगत करिब ७० वर्षको इतिहासलाई वहन गरेको यस प्रलेसले कुनै त्यस्तो गल्ती गरेको छैन कि तपार्इंहरू यसबाट अलग हुनुपरोस् । जहाँसम्म यस प्रलेसबाट केही जिम्मेवार पदाधिकारीहरू प्रज्ञा प्रतिष्ठानतिर गएपछि यो प्रलेस बिटुलो भयो, त्यसकारण यसबाट पलायन भएको कुरा जायज हो भनिन्छ भने पनि त्यो त्यति युक्तिसंगत छैन । त्यहाँ जानु प्रमुख कुरा होइन, त्यहाँ गएर यदि जनविरोधी र लोकतन्त्र एवं गणतन्त्र विरोधी काम गरिन्छ भने त्यो अपराध हो । तर प्रज्ञा प्रतिष्ठानमा जानेहरूले पनि वर्तमानको गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षता र समाज विकासको नियमअनुसार समाजवाद उन्मुखताकै पक्षमा काम गरेकै छन् । त्यहाँ सबै खालका विचारहरूको जमघट छ । त्यहाँ प्रगतिशील चेतनालाई सक्दो रूपमा स्थापित गर्नेे कोशिस गर्छन् भने के तिनीहरूले अपराध गरेका छन् ? यो पनि पलायनको युक्तिसंगत तर्क भएन ।
हाम्रो सामाजिक जीवनमा अहिले पनि विगतको सामन्तवादी चिन्तन र रूढिग्रस्तताका आधारमा मानिसको स्वत्व जति सबै नष्ट पार्ने खालको पहिलो पुर्पुरोवादी चिन्तन, जसको तात्पर्य मानिसले गरेर केही हुँदैन, सबै कुरा पुर्पुरोमा लेखिएको हुन्छ भन्ने कुरा दोस्रो परलोकवादी चिन्तन, जसको तात्पर्य मानिसले यस जीवनमा दुःख पाइयो भनेर कुनै प्रकारको गुनासो गर्नुहुँदैन, मरेपछि परलोक स्वर्गमा गइन्छ । त्यसैकारण अहिले सबै प्रकारका अत्याचारहरू सहनुपर्छ भन्ने कुरा तेस्रो पुनर्जन्म, जसको तात्पर्य यस जन्ममा दुःख पाए पनि अर्को जन्म पाएपछि सुख हुन्छ भन्ने कुरा, चौथो परमेश्वर जसको तात्पर्य यो सम्पूर्ण संसार ईश्वरको रचना हो । परमेश्वरको इच्छाबाहेक हामी मनुवाको केही चल्दैन भन्ने कुरा र पाँचांै परम्परा भन्ने कुरा जसको तात्पर्य हो– जस्तासुकै अन्धविश्वास र कुरीतिहरू भए पनि ती सबैलाई जस्ताको तस्तै पालना गर्नुपर्छ भन्ने रूढिग्रस्त कुराले जनमानसलाई अत्यन्त प्रभावित पारेको छ । प्रलेसतर्फ आकर्षित भएका नयाँ जमानाका कवि–लेखकहरूमा पनि गम्भीर चिन्तनमननको अभाव रहेको देखिन्छ । आधुनिक संचार माध्यमहरूले सूचना र सम्पर्कलाई सहज बनाए पनि कुन कुरा प्रगतिशील हो र कुन कुरा अप्रगतिशील हो भन्ने कुरा छुट्याउन सकेको देखिँदैन । के कुनै पनि बजारिया हल्लालाई एक लाख मान्छेले सेयर गरे भने ठूलो कुरा ठान्न सकिन्छ ? तर हाम्रा केही लेखकहरूको छलफलको विषय नै यस्तै यस्ता फोकरिया र बाजारु कुराहरू मात्र छलफलको विषय बनेको देखिन्छ ।
अहिले प्रगतिशील लेखनमा दुई प्रकारका समस्याहरू छन् ः पहिलो समस्या भनेको अत्यन्त पछौटे र पुरातनपन्थी विचारप्रतिको मुढाग्रह हो भने दोस्रो समस्या भनेको अत्यन्त सतही र फेसबुके शैलीका सस्ता प्रचार सामग्रीद्वारा ग्रस्त हुने समस्या । यी दुई प्रकारका समस्याहरू हाम्रो प्रगतिशील लेखनप्रति अत्यन्त घातक छन् । यी दुई समस्याहरू भन्दा बाहेकका हामीसँग तेस्रो समस्या पनि छ त्यो भनेको प्रभाववादी हुनु । एउटा सानोतिनो कुरा पनि कसैले आफ्नो लहडमा आधारित भएर ल्यायो भने त्यसैका पछि दगुर्नु । त्यसको दूरगामी प्रभाव के हुन्छ ? यसको आगत के हो ? आदितर्फ कत्ति पनि ध्यान नजाने प्रवृत्ति । यी सबै कुराहरू प्रगतिशील लेखनका समस्याहरू हुन्, जसलाई अत्यन्त सघन रूपमा अन्तक्र्रिया, गोष्ठी, प्रशिक्षण शिविर आयोजना गरेर समाधान गर्नुपर्दछ । अबको प्रगतिशील लेखनमा देखा परेका पछौटे र प्रभाववादी चिन्तन, विचार, दर्शनका विरुद्ध समाजको अग्रगामी परिवर्तनका लागि चाहिने विचार, दर्शन एवं साहित्य सिर्जनाको कार्यमा अझै पनि संगठित प्रलेस र प्रभावकारी प्रलेसको आवश्यकता छँदै छ ।
अन्त्यमा, साथीहरूलाई म विनम्रतापूर्वक के कुरा आग्रह गर्न चाहन्छु भने यदि वर्तमान प्रलेसमा कुनै प्रकार नरमकरम केही मिलेको छैन भने त्यसलाई सँगै बसेर मिलाऔंं । यदि विचार, दर्शनमा केही कुरा मिलेको छैन भने छलफल गरेर मिलाऔं । यदि यसमा कुनै प्रकारको कार्यशैली मिलेको छैन भने त्यो पनि कसरी मिल्छ, त्यसलाई मिलाऔं । संगठित एकीकृत प्रलेस जति प्रभावकारी हुन्छ, त्यति तपाईहरूले परिकल्पना गरेको अर्को लेखकीय घटक पनि हुन सक्दैन । यसप्रति म त्यतिकै दृढ छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा