18th September 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

पुनः प्रकाशनको लहर



करिब ६ दशकअघि आख्यान–शिल्पी रमेश विकलको कथाकृति ‘नयाँ सडकको गीत’ले पाण्डुलिपिमै मदन पुरस्कार पाएको थियो । मदन पुरस्कार स्थापनाको केही वर्षपछि नै नेपाली कथा–साहित्यका बहुचर्चित त्यो कृतिले पुरस्कार पाउनु गौरवको विषय थियो । त्यसयता कथा–शिल्पी विकलका अनेक आख्यान÷गैरआख्यान कृति जन्मिए । तत्कालीन समयमा विषम–विकट सामाजिक स्थितिलाई सिर्जनाको धरातलमा उतार्न खप्पिस विकलको रचना–संसारसँग पछिल्लो पुस्ता सायदै परिचित होलान् । पाठ्यपुस्तकमा समाविष्ट उनको सिर्जनाबाहेक अरू कालजयी रचनाहरू पछिल्लो पुस्ताको पहुँचमा छँदा पनि छैन ।
नेपाली आख्यान विधामा चम्किएका ध.च. गोतामेको सिर्जनालाई अध्ययन गर्न चाहनेहरू धेरै छन् । संख्यात्मक रूपले थोरै सिर्जना गरे पनि उत्तम सिर्जनाकारका रूपमा परिचित उनको लेखनमा बेग्लै मिठास र मिजास पाइन्छन् नै, साथै, नेपाली राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पलाएको ¥हास, दिशाहीनता र विरोधाभासका छिद्रछिद्र केलाउने कलामा उनलाई पारंगतसमेत मानिन्छ । उनका कृतिहरू अप्राप्य रहँदै आए पनि अब भने प्राप्त हुन थालेका छन् ।
ध.च. गोतामेका कृतिहरू पुनः प्रकाशनका क्रममा छन् । उनका केही संस्मरण र यात्रा–विवरणमूलक कृतिहरू प्रकाशन भइसकेका छन् भने चर्चित उपन्यासहरू ‘घामका पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’ पनि सम्भवतः प्रकाशित हुने लहरमा होला । रमेश विकलका सम्पूर्ण कृतिहरू पनि अब पढ्न पाइने सम्भावना बढेको छ । काठमाडौंको कुनै एक प्रकाशन गृहले विकलका सम्पूर्ण कृतिको प्रकाशन–स्वामित्व लिइसकेको हुँदा अब ‘सात सूर्य एक फन्को’, ‘अविरल बग्दछ इन्द्रावती’ जस्ता कालजयी कृतिहरू सहज उपलब्ध हुने आशा पलाएको छ ।
पछिल्लो समय अघिल्लो पुस्ताका स्रष्टाहरूका कृतिको पुनः प्रकाशन हुने लहर चलेको छ । केही वर्षपूर्व कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरू पुनः प्रकाशित भएको थियो । अझ, दशकअघि नै पारिजातका सबै कृतिको प्रकाशनको अभिभारा सिक्किमको निर्माण प्रकाशनले लिएको थियो । बीपी कोइरालाका उपन्यास र कथाकृतिहरू पनि पुनः प्रकाशन भइरहेका छन् । एकपछि अर्को गर्दै अघिल्लो पुस्ताका स्रष्टाहरूका कृतिले पुनः प्रकाशनको अवसर पाउनु सुखद पक्ष हो ।
प्रायः प्रकाशन गृहहरू नयाँ र ताजा पुस्तकहरू नै छाप्न रुचाउँछन् । नयाँ पुस्तकको मार्केटिङ गर्न जति सहज हुन्छ, एक पटक प्रकाशित भइसकेका पुस्तकको मार्केटिङ गर्न त्यति सजिलो छैन । अझ, बिक्रीको हिसाबले नयाँमा जुन जोडबल रहन्छ र पाठकहरूमा पनि नयाँ पुस्तकप्रति जुन जिज्ञासा र रुचि पलाउँछ, पुराना पुस्तकमा त्यस्तो सुविधा रहँदैन । तर, पुराना आख्यान÷गैरआख्यानमूलक कृतिहरूको खोजी पछिल्लो समय बढ्दै गएको हुँदा प्रकाशनगृहहरूले नयाँ पुस्तकजसरी बिक्री नहुने भए पनि पुराना शास्त्रीय पुस्तकहरू पुनः प्रकाशन गर्ने जिम्मेवारी लिन थालेका छन् ।
अघिल्लो पुस्ताका स्रष्टाका पुस्तकहरू पुनः प्रकाशनमा ल्याइनु ती पुस्ताप्रतिको सम्मानभाव पनि हो । किनभने अघिल्लो पुस्ताका अधिकांश स्रष्टाहरू जीवित छैनन् । त्यो पुस्ताका स्रष्टाका सन्ततिहरूको नयाँ प्रकाशन गृहहरूसँग पहुँच नहुन पनि सक्छ र त्यही कारण त्यो पुस्ताका स्रष्टाका कालजयी पुस्तकहरू त्यत्तिकै थन्किएर रहेको अवस्थामा छन् । अघिल्लो पुस्ताका स्रष्टाका कृतिहरूलाई पुनः प्रकाशनका लागि जुन प्रकाशन गृहले दायित्व निभाउने चेष्टा गरेका छन्, त्यसमा त्यस्ता प्रकाशनगृहहरूमा मुनाफारूपी सोचभन्दा पनि दायित्वबोध धेरै गाँसिएको अनुभूत गर्न सकिन्छ ।
नयाँ पुस्ताका पाठकहरूले अघिल्लो पुस्ताका स्रष्टाका सिर्जनाहरू सायदै अध्ययन गरेका होलान् । पाठ्यपुस्तकमा समेटिएका सिर्जनाहरू त अध्ययन गरेका होलान् नै तर पाठ्यपुस्तकभन्दा बाहिरका सिर्जनासँग नयाँ पुस्ताको पहुँच सायदै होला । अघिल्लो पुस्ताका स्रष्टाहरूका सिर्जनाले पुनः प्रकाशनको मुख देख्न पाउँदा उनीहरू नयाँ पुस्ताका निम्ति विस्मृति बन्ने सम्भावना पनि कम रहन्छ । अझ, नयाँ पुस्ताले अघिल्लो पुस्ताको स्रष्टालाई, उनीहरूका लेखन सीप र कौशललाई यथेष्ट रूपमा बुझ्नसमेत सघाउँछ । पछिल्लो र अघिल्लो पुस्ताबीचको लेखनशैलीलाई नियाल्ने अवसर पनि पाउनेछ ।
अर्को पक्ष, अघिल्लो पुस्ताका स्रष्टाका कृतिहरूको पुनः प्रकाशनले तत्कालीन समयको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिकलगायत पक्षहरूलाई बुझ्न झन् धेरै सहयोग पु¥याउँछ । ती स्रष्टाहरूका कृति तत्कालीन समाजको अध्ययनको आधारसमेत बन्न पुग्दछ । ध.च. गोतामेको ‘घामका पाइलाहरू’ पढ्दा वीरगन्ज र त्यसवरिपरिको दशकौं अघिको परिवेश बुझ्न सकिन्छ भने रमेश विकलको ‘लाहुरी भैंसी’ जस्ता कथा पढ्दा तत्कालीन समाजमा सामन्ती सत्ताको आडमा व्याप्त शोषणको चरम रूपलाई केलाउन सकिन्छ । सामाजिक दायित्वबोधलाई पछ्याएर सिर्जना गर्नेहरूले तत्कालीन समाज, समाज–व्यवस्थाका संगत–विसंगत पक्षहरूको शल्यक्रिया गर्ने भएका कारण दशकअघिको समाजलाई बुझ्न निश्चय नै सघाउ पु¥याउँछ ।
आख्यान–गैरआख्यान दुवै विधाका कृतिहरू पुनः प्रकाशन हुने लहर चल्नुलाई सकारात्मक पक्ष मान्न सकिन्छ । यस्तो कार्यले वाङ्मयको विकासमा टेवा पुग्ने, अघिल्लो पुस्ताका स्रष्टालाई नयाँ पुस्ताबीच पुनः परिचित तुल्याउने र स्वयं प्रकाशनगृहहरूले पनि गर्व गर्ने आधार रहन्छ । अतः मुनाफालाई टाढै राखेर नयाँ पुस्ताका पाठकको पहुँचभन्दा बाहिर रहेका कालजयी पुराना कृतिहरूको पुनः प्रकाशनमा प्रकाशनगृहहरूले जोडबल गर्नु आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

तिमी कहाँ सुरक्षित छौ ?

ShareTweet कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

प्रेममा तरंगित सिर्जना

ShareTweet युवा–सर्जक हरिराम पौडेलको गीति–सिर्जना प्रेमका कोमल अनुभूतिहरूका खानी हुन्, सायद । किनभने, प्रेमका अनगिन्ति आवाजहरू उनका गीति–लेखनमा सहजै र सर्वस्वीकृत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा