22nd July 2019, Monday

खिचडीमय स्वाद



कलाकर्मी हुन् भरत महर्जन । उनले लामो समयदेखि कला–कर्मलाई पछ्याउँदै आएका छन् । नाटक, सिनेमालगायत विधाको दखल छ, उनलाई । कलाकर्मका साथै जीवन बाँच्न उनले चिकित्सा क्षेत्रसँग सम्बद्ध पेसालाई पनि अपनाएका छन् । काठमाडौं उपत्यकाको मध्यभाग इच्छुमती किनारमा जन्मिएका उनले सानैदेखि संघर्षका रूपरेखाहरू कोर्न भ्याए । महर्जनकृत ‘यात्रा’मा उनको जीवन भोगाइका अनेक बान्कीहरू देखिन्छन् ।
जीवनको साढे चार दशक यात्रा छिचोलिसकेका उनले ‘यात्रा’ मा आफ्नो संघर्षका गाथाहरूलाई मिहीन रूपले कोट्याएका छन् । तत्कालीन समाज अन्धविश्वास र रुढिवादी सोच र चिन्तनले ग्रस्त थियो । समाजको प्रभाव परिवारभित्र नपर्ने प्रश्नै रहेन । उनले पनि सामाजिक अन्धविश्वासको सिकार हुनुप¥यो, जन्मिएको क्षणदेखि नै । औंसीको दिन जन्मिएको हुँदा उनीप्रति परिवारले हेर्ने दृष्टिकोण नै अलग रह्यो । अर्थात्, औंसीको दिन जन्मिएका मानिस अभागी हुन्छन् भन्ने मान्यताले जरा गाडिरहेको समाजमा उनले कथित ‘भाग्यमानी’को ट्याग झुन्ड्याउन पाएनन् ।
‘आमासँगको यात्रा’मा आमासँगको सामीप्यका अनेक झलकहरू पस्किएका छन् । एकपछि अर्को बिमारीको सिकार भएका आमाको उपचारमा आफूले देखाएको तन्मयतालाई उनले एक–एक गरी केलाएका छन् । आमाको उपचारका निम्ति ६ महिनासम्म अस्पतालमा बस्दाका अनुभव होस् वा आमाको मृत्युपछि इच्छुमतीमा पिण्ड सेलाउँदा पाएको हन्डर होस्, सबै क्षणलाई उनले मसिनो गरी उनेका छन् । आमाको काजकिरियामा बसेको बेला इच्छुमतीमा पिण्ड सेलाउँदा नदीलाई फोहोर तुल्याएको अभियोगमा, छिमेकीहरूको लहलहैमा लागेर कथित सफाइ–अभियन्ताहरूले दिएको मानसिक यातनाबारे पनि उनले सपाट रूपले बयान गरेका छन् ।
‘जलबिन्दुको भण्डार’मा भने उनले आफूले वंशाणुगत रूपमै जलबिन्दुको समस्या झेलिरहेको पक्षलाई उजागर गर्न चाहेका छन् । ‘सहयात्रा’ भने उनको नभई उनका जीवनसाथीको कथा हो । इच्छुमतीकै आसपासमा हुर्किएकी उनकी पत्नीको कथा–व्यथा यो अध्यायमा समेटिएको छ । ‘कथा काँचो माटोको’ चाहिँ उपत्यकाको प्राचीन दैलो उघार्ने कथा हो । उनले यो अध्यायमा आफ्नो संस्मरणभन्दा पनि उपत्यकाका जमिनलाई उर्वर तुल्याउन किसानहरूले भूतलबाट कसरी मलिलो ठानिने काँचो माटो निकालिन्थ्यो भन्नेबारे उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘पहेंलो माटोपछि पृथ्वीभित्र पुरिएर बनेका पुराना वनस्पति तथा पातपतिंगरसहितको काँचो माटो (कँचा) भेटिन्थ्यो । यो माटोलाई संकलन गरी खेतबारीमा हालिन्थ्यो । जैविक खेतीका लागि यो काँचो माटो निकै उपयोगी मानिन्थ्यो । यही काँचो माटोको भरमा रोपनीका रोपनी खेती गरिन्थ्यो ।’
‘भैमालवासीको कथा’ भने वर्तमानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्नुअघि र त्यसपछि त्यो ठाउँबाट विस्थापित भएकाहरूको विवरणमा आधारित छ । उक्त विमानस्थल बन्ने क्रममा मानिसहरू कसरी विस्थापित भए भन्नेबारे विवरण त समेटिएको छ नै, त्यसले विस्थापित परिवार र समुदायले कालान्तरसम्म भोगेका वर्णन पनि समेटिएको छ । महर्जनको यो पुस्तक उनले उल्लेख गरेजस्तै ‘अनुभवहरूको सँगालो’ बनेको त छ नै, त्योभन्दा पनि धेरै उनले जीवनयात्रामा भोगेका, सुनेका कथाव्यथाहरूलाई इमानदारीपूर्वक समेट्ने प्रयत्नमा तल्लीन भएको देखिन्छ । साँच्चै अनेक स्वादले युक्त खिचडीजस्तै बन्न पुगेको छ– ‘यात्रा’ ।
मूलतः लेखक महर्जनले ‘यात्रा’मा आफ्नो जीवनले पहिल्याएका सुखद–दुःखद यात्राहरू मात्र समेटेका छैनन्, उपत्यकाको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायत परिदृश्यहरूलाई समेत मिहीन रूपमा जिल्याउने कार्य गरेका छन् । उनको यो जिल्याइमा झारहरू पन्छिएका छन् र बालीहरूले सप्रिने अवसर पाएका छन् । यद्यपि, भाषिक सम्पादनमा ध्यान नपु¥याउँदा भने बासमती चामलको भात खाँदा दाँतमा ढुंगा लागेजस्तो महसुस हुन्छ । भाषागत त्रुटिलाई निमिट्यान्न पार्नेतिर ध्यान दिए झनै राम्रो हुने देखिन्थ्यो ।
कृति ः यात्रा
विधा ः संस्मरण
लेखक ः भरत महर्जन
प्रकाशक ः सर्वनिदान क्लिनिक, काठमाडौं
पृष्ठ ः १०६
मूल्य ः २००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा