21st May 2019, Tuesday

E-budhabar

यस्तो फौज तयार गरेर समाजवाद र समृद्धि हुन्छ ?



यस्तो फौज तयार गरेर समाजवाद र समृद्धि हुन्छ ?

आज मुलुकमा हामी समृद्धि र समाजवादको कुरा गर्दैछौं । हामी कहाँ छौं ? कसैलाई हेक्का छ कि छैन ? यदि समृद्धि र समाजवादको यात्रामा कहाँ छौं भन्ने कुराको हेक्का नराखी हिँडेका छौं भने यो समृद्धि र समाजवादको डुंगा हिमपहाडमा ठोक्किएर चकनाचुर हुन सक्छ । आज कम्युनिस्ट पार्टीका नाममा जुन जनमत यो मुलुकमा प्राप्त भएको छ, त्यो चानचुने छैन । उपलब्धिका हिसाबले भन्ने हो भने यो जनमतले हामीलाई कुनै पनि हिसाबले उत्ताउलो हुन अनुमति दिँदैन । कुनै पनि हिसाबले हामीलाई न आत्तिन दिन्छ, न मात्तिन दिन्छ । त्यो जिम्मेवारीका साथ हामीले यसलाई हेर्नुपर्नेछ । कम्युनिस्ट पार्टीका नाममा दुनियाँमा वितेको सय वर्षमा संसदीय लोकतान्त्रिक पद्धतिको हिसाबले यत्तिको उपलब्धि कसैले हासिल गरेका थिएनन् । यस्तो जनमत कसैले पाएका थिएनन् । यस अर्थमा हामीसँग यो इतिहासको, यसको उथुलपुथुल, यसमा बगेको रगत र पसिना, यसको मूल्य हाम्रो काधमा छ ।
नेपालकै सन्दर्भमा भन्ने हो भने वितेको ७० वर्ष सम्मको अस्थीरतासँग गुज्रेर आज हामी यहाँ आइपुगेका छौं । यस हिसावले इतिहासको, राजनीतिको र क्रान्तिकारी आखाँबाट हेर्ने हो भने, यो असाध्यै महत्वपुर्ण छ । अर्को पनि आँखा छ । त्यो के हो भने यो हिजो राजाले खाएका थिए, त्यसपछि कांग्रेसले खाए । अब पालो हाम्रै हो भन्ने आँखा । यस हिसाबले पनि महŒवपूर्ण छ । आज प्रश्न भनेको कहाँबाट हेर्ने भन्ने होे ? यो पार्टीका नेता, कार्यकर्ता, सदस्य, शुभचिन्तकले कहाँबाट हेर्छन् भन्ने कुराले धेरै कुरा निर्धारण गर्नेछ । यस अर्थमा हामीले जे नारा लगायौं, इतिहासमा जे लडाइँ लड्यौं, ती सारा कुरालाई सम्झने मान्छेहरू, ती देशभित्रका श्रमजीवि मान्छेहरू, श्रमजीवी भएर पनि खान नपाएकाहरू, लखेटिएकाहरू, विदेश पुगेकाहरू, अरबको ५२ डिग्रीको धूपमा अर्काको देशमा ऊँट चराउँदै गरेकाहरू, अफ्रिकाको वेश्यालयमा नांगै डान्स गरेका हाम्रा छोरीहरू सबैले यो उपलब्धिलाई आजको नजरले हेरेका छन् । अपेक्षाको नजरले हेरेका छन् । स्वयं हामीले कत्तिको जिम्मेवार भएर यी कुराको उत्तर दिन्छौं भन्ने उनीहरू सुन्न चाहन्छन् । हाम्रो बोलीमा, हाम्रा शब्दहरूमा, हाम्रा कार्यक्रमहरूमा उनीहरू यो कुरा चाहन्छन् । एउटा क्रान्तिकारीको हिसाबले भन्ने हो भने आज हामीले दुनियाँलाई यो भन्नुपर्नेछ । यो नेपालीको कुरा मात्र होइन । दुनियाँभरि लडेका मान्छेहरू, दुनियाँभरिका क्रान्तिकारी आन्दोलनहरू त्यो आशाका साथ हेरिरहेका छन् । इतिहासमा, नेपालमा पहिलोपटक संसदीय प्रजातान्त्रिक पद्धतिबाट सबैभन्दा पहिलो शक्ति आर्जन गरेको नेकपा छ भनेर उनीहरूले पनि हामीतर्फ आशाका नजरले हेरेका छन् । हामीले ती कुराको उत्तर दिनुपर्नेछ । हामीले ती सारा कुरालाई इन्कार गरेर, ती कुराबाट बेखबर भएर केही गर्न सक्दैनौं । केही गर्न खोज्यौं भने पनि त्यो दुई दिनको कुरा हुन्छ, हामीले ठक्कर खान्छौं ।
समृद्धिको कुरा समाजवादको कुरा दोस्रो विश्व युद्धपछि ल्याटिन अमेरिकाका सबैजसो मुलुकहरूको अफ्रिकाका सबैजसो मुलुकहरूको, एसियाका धेरैजसो मुलुकहरूको नारा भयो । सबैले समृद्धि र समाजवादको कुरा गरे । तर आएका नयाँ सत्ताहरूभित्र, नयाँ प्रजातन्त्रभित्र क्रमशः नयाँ वर्ग आयो । त्यो वर्ग रूपान्तरण भयो । नेतृत्वको कित्ता क्रमशः प्रतिक्रान्तिसँग मिल्दै गयो । दोस्रो विश्वयुद्धपछि आएको नयाँ प्रजातन्त्र सकियो । समाजवादको आफ्नै इतिहासमा पनि धेरै कुरा भयो । सोभियत संघ ढल्यो, क्युबा ढलेन । आज पनि टिक्दै छ । प्रतिव्यक्ति आयको हिसाबले भन्ने हो भने अमेरिकासँग ३० किलोमिटरको दूरीमा रहेको त्यति सानो मुलुकमा कुनै तुलना हुँदैन तर आज क्युबा टिकिरहेको छ । यी सारा अनुभव हेर्दा के देखिन्छ भने ती नयाँ प्रजातन्त्रहरू, जसले समाजवाद र समृद्धिको सपना देखेका थिए, त्यहाँभित्रै नयाँ वर्ग जन्मियो र त्यसले क्रान्ति खाइदियो । क्रान्तिले जन्माएको नयाँ वर्गले नै क्रान्ति खाइदियो । समाजवादको इतिहासमा जहाँबाट पार्टीले आफूलाई जनताभन्दा माथि ठान्यो र जुन दिनदेखि नेताले आफूलाई पार्टीभन्दा माथि ठान्यो, त्यहि दिनबाट क्रान्ति ओरालो लाग्यो । घुँडा टेक्यो । जब नेताले पार्टी छाड्छ, पार्टीले जनता छाड्छ, त्यहाँबाट क्रान्तिको ओरालो यात्रा सुरु हुन्छ । यो सारा इतिहास हामीले हेरेका छौं ।
यसर्थ आजको प्रश्न हामीकहाँ छ । समृद्धि र समाजवाद हामी पनि भनिरहेका छौं । जसलाई हामीले जनवादी क्रान्ति भन्यौं, त्यो क्रान्तिपछि जानुपर्ने समाजवाद तर्फ छ । तर हामी कहाँ छौं ? यदि यो इतिहास र सिद्धान्तको जगमा यस प्रश्नको उत्तर निकाल्न सकिएन भने हामीमाथि खतरा छ । क्रान्तिपछि नयाँ वर्ग जन्मने, जसले क्रान्ति खान्छ, त्यो धुमधामका साथ आउँछ । यल्सिन कसरी आयो । कम लोकप्रिय थियो । सोभियत संघ ढल्नेढल्ने बेला त्यहाँ यल्सिनबारे देवदूतको जस्तो वर्ण गरिन्थ्यो । तर त्यो समाजवाद मात्र ढलेन, सोभियत संघ गल्र्यामगुर्लुम्म ढल्यो । यो कुरामा अर्थात्, नयाँ वर्गका बारेमा हामीले ख्याल गर्न सकेनौं भने खतरा हुन्छ । अझ अप्ठेरो के छ भने अरू सबै कम्युनिस्ट पार्टीभन्दा बाहिर छौं । हाम्रो जस्तो राजनीतिमा हामी संसदीय निर्वाचनमा छौं । हामीले चुनाव जित्नुपर्ने छ । चुनाव जित्नैपर्ने छ भनेर यसमा एकोहोरिँदै जाँदा क्रान्ति, समाजवाद बिस्तारै पाखा लाग्दै जान्छ । र, सबैभन्दा पहिलो प्रभाव के हुन्छ भने त्यो संसदीय निर्वाचनमा जित्नुपर्नेले होइन, जित्न सक्नेले टिकट पाउने एउटा परिस्थिति बन्दै जान्छ । सबै कमिटी त्यहि चाँजोपाँजोमा लाग्छन् । यो प्रक्रिया नै यस्तो छ कि दिनमा सयवटाजति दलला, पुँजीपतिसँग भेट हुन्छ । बिहान भन्सारको तस्कर, त्यसपछि कर छल्ने मान्छे आयो । दिउँसो आफ्नै पार्टीको नपढाउने प्राध्यापक आयो । साँझ भूमाफिया आयो । यो राजनीतिमा यस्ता मान्छेसँग साँझबिहानै यति धेरै यस्ता मान्छेसँग ठक्कर हुन्छ । अर्कोतिर आफ्नै जिन्दगी के हुन्छ भन्ने ठेगान छैन । यो संसदीय राजनीतिमा ठूलो हुन, नेता हुनका लागि मेरो घर अलिक सानो छ अलिक ठूलो घर भइदिए भन्ने बिचरा त्यो क्रान्तिकारीले सोच्छ । छोराछोरी सार्वजनिक स्कुलमा पढ्दै छन्, यिनलाई अलिक अंग्रेजी बोल्ने स्कुलमा पढाउन पाए भन्ने सोच्छ । श्रीमतीलाई एउटा रोजगारी मिलाउन पाए हुन्थ्यो भन्ने हुन्छ । सानो सोच्छ सुरुमा । त्यसपछि अघिपछि १०÷२० जना मान्छे लगाउन पाए, एयरपोर्ट जादा आउँदा स्वागत र बिदाइ गर्ने को ताँती भइदिए म केहि गर्न सक्थे होला अर्थात क्रान्तिका लागि केहि बढी गर्न सक्थे भन्ने सोच्न थाल्छ । एकातिर दैन्दिनका आफैले भोगेका समस्या छन्, अर्कातिर ती मानिससँग भेट हुन्छ, जो मान्छेसँग यति धेरै समाधान छन् कि तपाइ आँखा मात्र झिम्क्याउनुस् सबै समस्याको समाधान हुन्छ । यो क्रममा जो मान्छे एकचोटी झिमिक्क गर्यो, सकियो । एक चोटी त्यो क्रान्तिकारीले होस गुमाएपछि फेरी त्यो फर्केर आउदैन । कहिल्यै उसले खुट्टा टेक्दैन । वढी ठूलो नेता हुनका लागि माथिबाट संरक्षण, तलबाट सहयोग चाहिन्छ । अनि आफ्ना एजेण्डा बदलिदै जान्छन् । र, नयाँ एजेण्डामा माथि र तलका मान्छे सँग संवाद शुरु हुन्छ । पार्टीभित्रको विवाद यस्ता गुटबन्दीले हुन्छ । कुन तस्कर र व्यापारीको पक्षमा तपाई हुनुहुन्छ भनेर पार्टीभित्र सैद्धान्तिक विवाद हुन्छ । पार्टीमा यो अवस्था छ । आँखा चिम्लिन साथ उ ठूलो हुन्छ । उसको धेरै कुरा जम्मा भइसक्यो । जति जम्मा हुन्छ, त्यो डराउन थाल्छ । अनि, आफू कानुनी हिसावले बच्नका लागि अदालत फिट गर्नुपर्छ, त्यहाँ आफ्ना खल्तीका न्याधिस पठाउनु पर्छ । त्यसपछि अदालत सकिदै जान थाल्यो । कर हाकिम, भन्सार हाकिम आफ्नो चाहियो । आफूले भने जसरी टिप्पणी उठाउने कर्मचारी चाहियो । यी सबै जम्मा हुदै जान्छन् । अख्तियारमा लोकमान वा अर्को यस्तै कोहि चाहियो । यसरी पार्टी, अदालत, अख्तियारलाई खास बेलामा काध थाप्ने संचार माध्यम चाहिन्छ । यसरी एउटा दलाल, पुजीवादी गठवन्धन बन्छ । तर, तल क्रान्तिकारीहरूले हाम्रो पार्टी ठूलो छ हाम्रा नेता विशाल भनेर नारा लगाउदै रहन्छन् । यसरी पार्टीभित्र एउटा वर्ग जन्मन्छ, पार्टी त्यसले खान्छ । हामीले भन्ने गरेको दलाल पुजिवाद यहि हो ।
हामी समृद्धिको कुरा गर्छौं, त्यो राम्रो हो । माओवादीके हेटौडा सम्मेलन र एमालेको नवौं महाधिवेशन पछि हामीले केहि नयाँ राजनैतिक प्रस्तावनाहरू तयार गर्यौ । अबको बाटो के हुन्छ भन्ेने सन्दर्भमा हामीले दलाल पुजिवादसँग लडेर, त्यसलाई परास्त गरेर मान्छेको आकांक्षलाई प्रतिनिधित्व गर्ने एउटा नारा वनायौं, समृद्ध नेपाल, सुशी नेपाली । अहिले हामी यो नारा खुब लगाउछौं तर दलाल पुजिवादको बारेमा कहि बोलिदैन, कहि उच्चारण गरिदैन । के अब समाजवाद यसै आउँछ ? चुनौती बिहिन छ ? सबै ल्याटिनोहरू, सबै अफ्रिकीहरू, एसियाका त्यत्रा मुलुकहरूमा समाव.जावद यसै ढलेको हो ? तीनको कसैको बुद्धि थिएन , हाम्रो मात्र बुद्धि छ ? उनीहरू जुन बाटो हिडेका थिए, त्यहि बाटो हामी हिडेपछि हामीले ठक्कर खाऊँला कि नखाउँला ? यो मूलत वैचारिक प्रश्न हो । कम्युनिष्ट पार्टीका मान्छे हौं, केहि नेतासँग नजिक छौं भन्ने मान्छेले पनि यो माक्सैवादले के हुन्छ ? भनेर सामाजिक संजालमा लेखेका छन् । यस्तो फौज तयार गरेर क्रान्ति, समाजवाद र समृद्धि होला ? (सम्बोधनमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा