21st May 2019, Tuesday

E-budhabar

प्रमाणपत्र दिन तीन हेलिकोप्टर लिएर सगरमाथा



प्रमाणपत्र दिन तीन हेलिकोप्टर लिएर सगरमाथा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत २७ मा बिदाइ गरेको सगरमाथाको उचाइ मापनमा जाने टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आधारशिविरबाट पुनः बिदाइ गरेकी छन् । मन्त्री अर्याल जम्बोटोलीका साथ सगरमाथाको उचाइ मापन गर्ने टोलीलाई बिदा गर्न गएकी थिइन् । तामझामका साथ हेलिकोप्टरमा सगरमाथा आधार शिविरमा पुगी उनले टोलीलाई बिदाइ गरिन् । लाखौं भाडा तिरेर हेलिकोप्टरमा सगरमाथाको आधार शिविरमा जम्बो टोली लिएर मन्त्री पुगेकी थिइन् ।
नेपाली सेनाको एक हेलिकोप्टर भाडामा लिइएको थियो भने सिम्रिक एयरका दुई हेलिकोप्टरले मन्त्रीको टोली ओसारपसार गरेको थियो । प्रधानमन्त्रीले बिदाइ गरिसकेको टोलीलाई पुनः बिदाइ गर्ने आवश्यकता नै नभए पनि उनी सेल्फी खिच्न सगरमाथा गएको टिप्पणी भूमिव्यवस्था मन्त्रालयका कर्मचारीबीच नै हुने गरेको छ । रूपन्देहीको दुर्गम मानिने मर्चवारको मजगवामा दुई महिनादेखि मालपोत र नापी कार्यालय बन्द छ । त्यो खुलाएर पिछडिएको क्षेत्रका नागरिकलाई घरनजिकै सेवा दिने वातावरण बनाउनतिर भन्दा मन्त्री अर्याल जम्बोटोली लिएर सेल्फी खिच्न गएकोमा आलोचित भएकी छन् । त्यति मात्र होइन, दोलखा र रामेछापमा सञ्चालन भइसकेका कार्यालय उद्घाटन गरी अर्को रमिता प्रदर्शन गरिएको छ ।
सगरमाथा सेल्फी लिन जानेहरूमा भूमिव्यवस्था मन्त्रालयका सचिव गोपी मैनाली, सहसचिवद्वय चन्द्रकला पौडेल र जनक जोशी, मन्त्री अर्यालका निजी सचिव टेक लुइँटेल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोल, मनोज पाण्डेको जनतासँग प्रधानमन्त्री कार्यक्रमका फोटोग्राफरलगायत थिए । त्यसबाहेक स्याङ्जा नेकपाका नेता विश्वनाथ अर्याल पनि सगरमाथामा मन्त्रीसँगै सेल्फी खिचाउन पुगेका थिए । उनले त फेसबुकमा सगरमाथा गएका तस्बिर छरपस्टै राखेका छन् ।
सगरमाथा मापन गर्न जाने टोलीलाई गएको चैत २७ गते बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले माला र टीका लगाएर बिदाइ गरेका थिए । उक्त टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित नापी विभागका प्राविधिकहरू रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन् । पथप्रदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा, आङपासाङ शेर्पा, आङ्बु शेर्पा र केशव पौडेल सगरमाथाको उचाइ मापन टोलीमा सँगै छन् ।
यसैबीच, नापी विभागका अमिन, सर्वेक्षक सरुवाको विषयमा हस्तक्षेप गरेपछि तत्कालीन नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसँग उनको विवाद भयो । अहिले मालपोतका खरिदार नासु सरुवामा पनि उनले हस्तक्षेप गरेपछि विवाद निस्किएको छ । राजपत्रअनंकित कर्मचारीको सरुवा गर्ने अधिकार विभागीय प्रमुखको हो । तर मन्त्री अर्यालले अमिन र सर्वेक्षक सरुवामा हस्तक्षेप गरेपछि भट्ट र उनीबीच विवाद भएको थियो । अमिन र सर्भेक्षकको सरुवाको विषयमा मन्त्रीले चासो लिनुभएन भन्दा भट्टलाई उनले भूमि प्रशिक्षण केन्द्र धुलिखेलमा सरुवा गरी उनीभन्दा धेरै कनिष्ठ प्रकाश जोशीलाई नापी विभागको महानिर्देशक बनाएकी छन् । वरिष्ठ सहसचिव भट्टलाई अपमानपूर्वक तालिम केन्द्र सरुवा गरी मन्त्रीले अमिन सर्वेक्षक सरुवा नगरेको प्रतिशोध साँधेकी छन् ।
नापी विभागका राजपत्रअनंकित कर्मचारीको सरुवामा हस्तक्षेप गरेकी मन्त्री अर्यालले मालपोतका खरिदार नायबसुब्बाको सरुवामा पनि चर्को हस्तक्षेप गरेकी छन् । उनले मन्त्रालयबाटै खरिदार नासुको सरुवा सूची पठाएपछि भूमिव्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी सकसमा परेका छन् । खरिदार सुब्बाको सरुवा गर्दा सरकारी जग्गा दर्तादेखि कित्ताकाटमा करोडौं करोड घुस खानेहरूलाई काठमाडौं उपत्यकाका वल्लो कार्यालयबाट पल्लो कार्यालयमा सरुवा गर्ने सूची महानिर्देशकलाई थमाइएको छ । वल्लो कार्यालयबाट पल्लो कार्यालयमा सरुवा हुनेहरूबाट दररेटअनुसार नगद कलेक्सन गरिएको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब पनि झुन्ड–संस्कृति ?

ShareTweet पूर्ववर्ती समयमा होस् वा वर्तमान समयमा नै किन नहोस्, हरेक क्षेत्र झुन्डवादले आक्रान्त छ । हरेक क्षेत्रमा झुन्ड–संस्कृति मौलाउँदो छ । अरू क्षेत्र वा तप्कामा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संघर्षशील महिला–गाथा

ShareTweet निःसन्देह जिम्मेवारी र दायित्वबोधको भारी पुरुषले भन्दा महिलाले नै धेरै बोक्नुपर्छ । त्यो सामाजिक भारी पनि हुनसक्छ र पारिवारिक भारी पनि । सामन्ती समाजका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा