24th June 2019, Monday

अबको गन्तव्य ः विभाजित कि एकीकृत प्रलेस ?



अबको गन्तव्य ः विभाजित कि एकीकृत प्रलेस ?

१. गएका केही दिनदेखि साथीहरूले एघारौं सम्मेलनपछिको प्रलेसमाथि ज्यादै प्रहार गर्नुभएको छ । वर्तमान सत्ताधारी नेकपाका कार्यकर्ताहरूले भरिएको यो प्रलेस हो र यसको कुनै काम छैन । अब उप्रान्त हामीले सत्ताविरोधी लेखकहरूको छुट्टै संगठन प्रलेस या यस्तै कुनै खुकुलो संस्था बनाउनुपर्छ । तब मात्र प्रगतिशील लेखकहरूको आन्दोलन जोगिन्छ भन्ने उहाँहरूको मुख्य दाबी हो । यस विषयमा केही स्वनामधन्य लेखकहरूले पनि कलम चलाउनुभएको छ । उहाँले सत्ताधारी पार्टीहरूले गरेका दुष्कर्महरूको अंशियार प्रलेसमा आबद्ध तमाम लेखकहरूलाई पनि बनाउने प्रयास गर्नुभएको छ र आफूहरू सर्वथा चोखो र कञ्चन बन्ने प्रयास गरिरहनुभएको छ । यस कुरासँग म असहमत छु ।
तर साथीहरूले यो कुरा बुझ्नु पनि आवश्यक छ कि वर्तमान प्रलेसको संगठनमा आबद्ध सबै लेखक साथीहरूको मनशाय र संकल्प प्रलेसको घाषित नीति सिद्धान्तभन्दा कुनै हालतमा पनि फरक छैन । यसको नीति र सिद्धान्तको निर्माणमा प्रलेसका अग्रजहरू श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, आनन्ददेव भट्ट, घनश्याम ढकाल, रामप्रसाद प्रदीपहरूको योगदानलाई कहिल्यै बिर्सन सकिँदैन, जसले प्रलेसलाई एकीकृत पारेर अगाडि बढाउन ठूलो योगदान गरे । तर उनीहरू पनि विभिन्न प्रकारका आलोचनाहरूबाट मुक्त भएनन् । तर प्रलेसलाई जसरी भए पनि एकताबद्ध पारी यहाँसम्म ल्याए । हामी सबैको चाहना एकताबद्ध प्रलेस नै हो । यसबाहेक हाम्रो कुनै स्वार्थ छँदै छैन । खाली अनुमानका आधारमा वर्तमान प्रलेस सत्तााधारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले भरिएको छ भनेर लाञ्छित गर्ने कुरासँग हाम्रो पूर्ण असहमति छ ।
अहिले हाम्रा सामुन्ने भयानक खालका चिन्तनसम्बन्धी विकृतिहरू फैलिएका छन् । कतिपय अवस्थाहरूमा कम्युनिस्ट पार्टीका नेताहरू नै त्यस खालका कुप्रवृत्तिहरूमा मग्न भएको पनि पाइन्छ । जसलाई देखेर हामी स्वयंलाई लज्जाबोध भएको छ । यसप्रकारका वैचारिक विकृतिहरूविरुद्ध एकीकृत प्रलेसले मात्र प्रगतिशील चिन्तन र प्रगतिवादको रक्षा, संवद्र्धन र निष्ठापूर्वक परिपालन गर्न सक्नेछ । हालै मात्र दुई तिहाइ बहुमत भएको कम्युनिस्ट सरकारले ‘जुन हातमा राज्यसत्ता हुन्छ उसकै हातमा विचारसत्ता पनि रहन्छ’ भन्ने एंगेल्सको सुप्रसिद्ध मान्यताविरुद्ध केही यस्ता प्रतिगामी चिन्तन र चरित्रको भारी बोक्ने काम गरेको छ । जसले गर्दा कम्युनिस्टहरूको सरकार हो कि अत्यन्त पुरातन पन्थी पञ्चायती हिन्दू जमातको सरकार हो, त्यो छुट्ट्याउनै मुस्किल परेको छ । हाम्रा प्रगतिशील र प्रगतिवादी भनिएका लेखकहरूको ध्यान यसतर्फ थोरै पनि गएको देखिएन र उनीहरूले केवल नयाँ निर्वाचित प्रलेसलाई गाली गर्न र त्यसको खोइरो खन्नमा आफ्नो बौद्धिक ऊर्जाको अपव्यय गरिरहेको प्रतीत भएको छ ।
२. केही प्रतिनिधिमूलक घटना
यस प्रसंगमा केही महिनाअगावै भएका केही प्रतिनिधिमूलक वैचारिक प्रवृत्ति र घटनाहरूबारे चर्चा गर्छु, जसप्रति हाम्रो प्रलेसको तीव्र असहमति छ । यसप्रकारका गतिविधि र प्रवृत्तिले सिंगो प्रलेस चिन्तित एवं मर्माहत रहेको छ । ती प्रतिनिधिमूलक घटना प्रवृत्तिहरूमध्ये
(क) नेपालमा अश्वमेद्य यज्ञको आयोजना
(ख) एसिया प्यासिफिक सम्मिट
(ग) ज्योतिरादित्यको महिमा मण्डन र नेतृत्व पंक्तिको व्यक्तित्व विघटन आदिआदि ।
(क) नेपालमा अश्वमेद्य यज्ञको आयोजना ः प्राचीनकालमा राजा र राजतन्त्र भएका मुलुकहरूले आफ्नो राज्यबाट घोडा छाडिदिन्थे । त्यो घोडा जहाँजहाँ पुगेर आफ्नो राज्यमा फर्केर आउँथ्यो र त्यस घोडाले घुमेर आएका भूक्षेत्रजति सम्बन्धित राजा या सामन्तका कब्जामा आउँथ्यो । यसरी विभिन्न भूक्षेत्रमा घुमेर आएका घोडालाई मौलामा बाँधेर काटेपछि त्यसको मुटु र कलेजोलाई यज्ञका नाममा तयार पारेको अग्निकुण्डमा मेद्याको रूपमा हवन गरेपछि र त्यसरी मारिएका घोडाको मासुलाई प्रसादका रूपमा खाने परम्परालाई अश्वमेद्य यज्ञ मानिन्थ्यो । खास गरेर अश्वमेद्य यज्ञ भनेको नै सामन्ती राज्य विस्तार गर्ने एउटा प्रथा हो । त्यस प्रकारको अश्वमेद्य यज्ञको आयोजना नेपालमा पहिलोपल्ट वीरगन्जमा आयोजना गरियो । यहाँ काठमाडौंमा करिब एक महिनादेखि नगरभरि अश्वमेद्य यज्ञको विशाल मात्रामा प्रचारप्रसार गरियो । ठाउँठाउँमा स्वागतद्वारहरूको निर्माण भयो । कैयौं पर्चा पोस्टरको टाँगिए । यसको उद्घाटनमा राष्ट्रपति जाने र समापनमा प्रधानमन्त्री नै जाने कुराको अत्यन्त तीव्रतापूर्वक प्रचारप्रसार गरियो । नेपालमा अश्वमेद्य यज्ञको आयोजना भयो भन्दै हिन्दू अतिवादीहरू खुब रमाए । तर उनीहरूले यो कुरा नै बुझेनन् कि यो अश्वमेद्य यज्ञ भनेको भारतका हिन्दू अतिवादीहरूको उक्साहटमा नेपालका धार्मिक अतिवादीहरूले आयोजना गरेको कार्यक्रम थियो र यसको दूरगामी सोच भनेको नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण गर्नु रहेको छ । त्यसको एकाप्रकारले प्रतिक्षार्थ पनि थियो । पछि कुन्नि किन हो राष्ट्रपति र प्रधानमन्त्रीको सवारी भने भएन र लाज जोगियो । यो अश्वमेद्य यज्ञ र सति प्रथामा कुनै अन्तर छैन ।
२. एसिया प्यासिफिक सम्मिट ः अन्तर्राष्ट्रियस्तरमा अत्यन्त विवादास्पद रहेको इसाई धर्मको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री र कम्युनिस्ट पार्टीका केही नेताको अत्यन्त सक्रिय सहभागिता देख्दा पनि आश्चर्य मान्नुपर्ने स्थिति रह्यो । जीवनभर माक्र्सवाद, लेनिनवाद दर्शनप्रति निष्ठा राख्ने व्यक्तित्वहरूले घोर प्रतिक्रियावादी साम्राज्यवादीहरूको स्वार्थमा केन्द्रित रहेको यस संस्थालाई ठूलो तामझामका साथ सेवा सत्कार गर्न पुगेका नेताहरूले एसिया प्यासिफिकको आयोजनाबारे जस्तोसुकै दलिल दिए पनि चेतनशील समुदायको भने कुनै हालतमा पनि चित्त बुझेको थिएन । कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमतको सरकारले सरकारि स्तरबाट यस्तो कार्यक्रमलाई महŒव दिनु पथ्र्यो कि पर्थेन यो अत्यन्त गम्भिर र विचारणिय प्रश्न हो । यो त केवल नेताहरूको घोर रूपमा वैचारिक स्खलनबाहेक केही पनि थिएन । तिनै इसाईहरूले अन्त्यमा कम्युनिस्टहरूलाई शैतानहरूको जत्था एक दिन विनाश हुनेछ भन्नेसम्मको भाषण गरेर गए । त्यसबेला हाम्रो शिर निहुरिनुबाहेक अरू केही पनि भएन ।
३. ज्योतिरादित्यको महिमा मण्डन ः माक्र्सवादले दैवी चमत्कार र वस्तुगत नियमविपरीतका कुरामा कहिल्यै पनि विश्वास गर्दैन । वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली वर्तमान नेकपाका अध्यक्ष पनि हुन् । उनमा माक्र्सवादी सैद्धान्तिक चेतना भरपुर रूपमा हुनुपर्छ भन्ने कुरामा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरू विश्वस्त रहेका छन् । संसारका कुनै पनि कम्युनिस्ट पार्टीका नेताले आफू त्यस पार्टीको अध्यक्ष रहँदासम्म सिद्धान्तप्रतिको निष्ठालाई अटल रूपमा अवलम्बन गरेको हुन्छन् । यहाँ त कस्तो विडम्बना देखियो भने एउटा सानो बालक कुनै खालको चमत्कार देखायो भन्दैमा वस्तुगत नियम र विज्ञानलाई बेवास्ता गरेर त्यस कथित चमत्कारको महिमा मण्डन गर्दै भाषण गरेको देख्दा हामी कम्युनिस्ट पार्टीका कार्यकर्ताको शिर लज्जाले निहुरिन पुग्यो । के त्यस्तो चमत्कार गर्न सक्ने ज्योतिरादित्य हुँदाहुँदै नेपालका विकासका लागि यत्रो ठूलो लगानी सम्मेलन किन गर्नुपरेको थियो ? सबैसँग नेपालको विकासका लागि लगानी गरिदेऊ भनेर किन पो भन्नुपरेको थियो ? त्यही बालज्ञानीले आफ्नो चमत्कारद्वारा नेपालको समग्र विकास गरिदिए त हुन्थ्यो नि ! यी कुरा उनैलाई थाहा होला । यसप्रकार बालसुलभ क्रियाकलापहरू गरेर कुन किसिमको संस्कृतिको निर्माण र कसका विचारको रक्षा भयो ? हामी भने कार्यकर्ता र जनतालाई चेतनशील बनाउन भनेर रातदिन मरिमेट्ने हाम्रा अध्यक्ष भने कहिले ज्योतिरादित्य नामको बच्चाको चमत्कारपूर्ण कार्य भन्दै त्यसैलाई महिमा मण्डित गरेर हिँड्ने र कहिले साम्राज्यवादी स्वार्थ पूरा गर्ने माध्यम बनेको इसाई मेसिनरीको महिमा मण्डन गर्दै उसैद्वारा कम्युनिस्टहरूलाई गाली गरिएको भाषणलाई चुपचाप सुन्ने । यस्ता घटना क्रमहरूले गर्दा हामी समस्त प्रगतिशील र प्रगतिवादी चिन्तन राख्नेहरूका लागि अत्यन्त चिन्ता लाग्नु स्वाभाविक बन्न पुगेको छ ।
३. हाम्रा आगामी कार्यभारहरू जसले हामीलाई एकताबद्ध पार्न सक्नेछन् ः
अहिले हामी सबैको साझा समस्याको रूपमा केही यस्ता विचार प्रवृत्तिहरू विद्यमान छन््््, जसलाई विभाजित प्रलेसले भन्दा एकीकृत प्रलेसले मात्र हल गर्न सक्छ । ती समस्याहरूलाई मोटामोटी रूपमा गणना गर्नुपर्दा, पहिलो– विगतका उपलब्धिहरूमाथि चौतर्फी हमला, दोस्रो– अत्यन्तै पुरातनपन्थी प्रतिक्रियावादीहरूद्वारा वैचारिक हमला, तेस्रो– अत्याधुनिक मानिएका सञ्चारमाध्यमहरूको कुप्रभाव, चौथो– सैद्धान्तिक ज्ञानको अभावमा अत्यन्त प्रभाववादी बन्नु, पाचौं– अत्यन्त राष्ट्रघाती कुसंस्कारबाट ग्रसित हुनु र छैटौं– नयाँ पुस्तालाई प्रगतिवादी चिन्तनहरूबाट प्रशिक्षित गर्नुपर्ने सवाल । यी कुराहरू हाम्रो प्रगतिवादी भनौं या प्रगतिशील शिविरमा देखापरेका समस्या, यी सवालहरू नै अहिलेका हाम्रा मुख्य दुस्मनहरू हुन् । यी सबै कुराको सामना गर्न एउटा साझा मोर्चाको आवश्यकता र औचित्यमा कुनै कमी आएको छैन । यिनै समस्यालाई खुलस्त रूपमा भन्नुपर्दा यसप्रकार देखिन्छ ः पहिलो, विगतको महान् जनआन्दोलन र १० वर्षे जनयुद्धको बलमा प्राप्त भएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संघीयता र समाज विकास नियमका आधारमा समाजवादी ध्येय बोकेको संविधानप्रति विगतका पराजित तŒवहरूद्वारा निरन्तर रूपमा भइरहेका हमला हाम्रा साझा सवाल हुन् । वर्तमानका यी उपलब्धिमा हाम्रो पनि गौरवशाली हिस्सेदारी छ । यी उपलब्धिहरूप्रति गौरव गरौं ।
दोस्रो, अन्य पछौटे किसीमका पुर्पुरो, परमेश्वर, परलोक, पुनर्जन्म र परम्परा जस्ता विचार र प्रवृत्तिहरूले हामीलाई जरैदेखि गाँज्दै आएको छ । यी नै विचार प्रवृत्तिहरूको आडमा प्रतिक्रियावादीहरूले हामीमाथि ठूलो हामला गरिरहेका हुन्छन् । यी सबै वैज्ञानिक चिन्तनका विरोधी हुन् । यी सबै हाम्रा वैचारिक दुस्मन हुन् । यिनको सामना गर्न र तिनलाई क्रमशः परास्त गर्न वैचारिक साझा मोर्चा नभई हुँदैन । तेस्रो, आधुनिक सञ्चारमाध्यमहरूको उपयोग । भनिन्छ, औषधि पनि ठिक्क खायो भने त्यसले काम गर्छ तर त्यही औषधि बढी मात्रामा खायो भने त्यसले जिवनलाई नै परास्त पारिदिन सक्छ । ठीक त्यसैगरी यसलाई सिर्जना विचार निर्माणमा उपयोग गर्न सकियो भने त्यसले हामीलाई फाइदा पु¥याउँछ, अन्यथा त्यसैमा रमाउँदै जाने प्रवृत्तिको हामीलाई सतही, विचारविहीन फेसबुके साहित्यमा आधारित जमात्मा परिणत गरिदिनेछ । चौथो समस्या भनेको सैद्धान्तिक ज्ञान र वैज्ञानिक चिन्तनका अभावमा प्रभाववादी बन्नु । प्रभाववाद भनेको जुन कुराको अलि तामझाम देखेको खण्डमा त्यसैबाट प्रभावित रहनु, कहिले साईबाबाका चमत्कार, कहिले ओशोका कुराहरू, कहिले ज्योतिरादित्यको प्रभाव र केही नयाँ खालकी देवीमाताको आशीर्वाद र केही अन्तर्राष्ट्रिय सञ्जालका चमत्कारपूर्ण कुराहरूको प्रभावमा गएर प्रभावित रहने कामहरू पनि प्रगतिशील शिविरका ठूला समस्याहरू हुन् । तिनीहरूबाट जोगिनु पनि ठूलो समस्याका रूपमा रहेको देखिन्छ । पाँचौं समस्या भनेको कम्युनिस्ट पार्टीका नेताहरूभित्र मौलाएका सामन्तवाद र गैरकम्युनिस्ट चरित्र पनि हाम्रा लागि अत्यन्त घातक समस्याका रूपमा उपस्थित छन् । विगतमा एकदमै शालीन एवं जनसहभागितामा आधारित आचरण एवं व्यवहार अहिले सत्ता उन्मादले गर्दा सबै धोइपखाली गरेको देखिन्छ । कतिपय अवस्थामा हामीजस्ता लेखक एवं साधकहरूलाई तिनैसँग गाँसेर हेर्न सवाल उत्पन्न भएको छ । यसरी पनि प्रगतिशील लेखक संघभित्र चिरा पर्ने सवाल बढेर गएको हो भन्न सकिन्छ । छैटौं, हाम्रो समाजमा प्रचलित रहेको प्रगतिविरोधी यस्ता कुसंस्कृतिहरू छन् । तिनीहरूसँग जुध्न उन्नत चेतना र सामूहिक प्रयत्नको आवश्यकता छ । युगौंदेखि सामन्तवादी संस्कृतिले यति बलिया छन् कि तिनीहरूलाई वैज्ञानिक शिक्षा र प्रगतिशील चेतनाले मात्र परास्त गर्न सकिन्छ । प्रगतिशील लेखनप्रति युवाहरूको ठूलो पंक्ति खडा भएको छ । यसको उदाहरणका रूपमा ११औं सम्मेलनमा ५८ जिल्लाको प्रतिनिधित्व हुन पुग्यो । यो प्रलेसको जीवनमा चानेचुने उपलब्धि होइन । यति ठूलो युवापंक्तिलाई दीक्षित तुल्याएर अगाडि बढाउनु हाम्रो पुस्ताको दायित्व हो । त्यसैकारण साथीहरू आहूतिजी, खेम थपलियाजी, ईश्वरचन्द्रजी, जगदीश भण्डारीजी र कृष्णहरि भट्टजीसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि, हाम्रा काँधमाथि इतिहासले युगीन दायित्व थपिदिएको छ । त्यो दायित्व पूरा गर्न चानेचुने तरिका र एक्लैएक्लै खिचडी पकाएर सम्भव छैन । हाम्रा लागि संगठित र एकीकृत प्रलेसको अर्कौ विकल्प हुन सक्दैन । विभाजित प्रलेस हेपिनेछ भने एकीकृत प्रलेसलाई कसैले कम आँक्न सक्नेछैनन् । साथीहरू हो, आउनुहोस्, त्यसैका निम्ति प्रयत्न गरौं ।
(वरिष्ठ उपाध्यक्ष, प्रगतिशील लेखक संघ, नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा