17th November 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

देखावटीपनले निलेको समाज



देखावटीपनले निलेको समाज

नेपाली कांग्रेसको उपल्लो तहका नेता पूर्णबहादुर खड्काले आफूले भोजन ग्रहण गर्दा उपयोग गरेको थाल आफैंले पखालेको तस्बिर सार्वजनिक भयो, केही दिनअघि । त्यस्तो तस्बिर बाहिर आउनेबित्तिकै कतिपयले पटक–पटक राज्यको माथिल्लो तहमा पुगिसकेका नेताको सादगीपूर्ण जीवनको चर्चा गरे भने कतिपयले त्यो दृश्यलाई नौटंकीको संज्ञा दिए । हुन पनि नेता खड्काले देखावटीस्वरूप आफूले खाना खाएको थाल पखालेका हुन् वा त्यो उनको पारिवारिक संस्कारभित्रकै एउटा पक्ष थियो ? यस्तो प्रश्न उब्जिनु स्वाभाविकै थियो र देखियो पनि ।
कुनै व्यक्तिको चरित्र, स्वभाव र आनीबानीलाई उसले अपनाएको राजनीतिक सिद्धान्त र विचारसँग जोडेर हेर्ने प्रवृत्ति हामीकहाँ पहिल्यैदेखि नै हाबी छ । कुनै पनि कांग्रेसी नेताको प्रतिविम्ब उतार्नेहरूले उनीहरूको उच्च जीवनशैली, सान र तडकभडकपनलाई सम्झिने गर्दछन् । किनभने, कांग्रेसका नेताहरूले समाजमा त्यही खालको छवि निर्माण गरे । वर्गीय रूपले पनि समाजका उच्च, धनाढ्य र पुँजीपति वर्गको पक्षपोषणमा नै कांग्रेसको राजनीति केन्द्रित रहँदै आएको हुँदा उनीहरू ‘धनी वर्गका प्रतिनिधि हुन्’ भन्ने छवि कायम रहँदै आयो । त्यस्तै, कुनै कम्युनिस्ट पार्टीका नेताहरूको प्रतिविम्ब सम्झिनेहरूले भने सदैव दरिद्र, झोले र वैचारिक रुपमा प्रखर नेताको छवि मात्र सम्झिए । किनभने, वर्गीय हिसाबले कम्युनिस्ट पार्टीले गरिब, शोषक र सर्वहारा वर्गको हित–रक्षामा सदैव वकालत गर्दै आयो र छवि पनि त्यस्तै निर्माण भयो । हुन पनि यी दुवै प्रवृत्ति नेपाली समाजको यथार्थका रूपमा स्थापित रहँदै आयो, लामो समयदेखि ।
कांग्रेस–नेता खड्काले आफूले खाना खाएको थाल आफैंले माझेको प्रसंगलाई नेपाली समाजले कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूप्रति वर्षौं पहिलादेखि निर्माण गर्दै आएको छविको प्रतिविम्बका रूपमा हेर्नु धेरै हिसाबले उपयुक्त हुन्छ । समाजले बुझेको कुरा हो, आफूले खाना खाएको थाल त कम्युनिस्ट पार्टीका नेताले मात्र माझ्छन्, कांग्रेसका नेताहरूमा त्यस्तो स्वभाव नै हुँदैन । समाजले बुझेको अर्को कुरा हो– समाजका तल्लो तप्का र जातिका मानिसहरूसँग भिजेर काम गर्ने शैली त कम्युनिस्टहरूको हो– कांग्रेसका नेताले त्यस्तो गर्न सक्दैनन् । अर्को बुझाइ हो– समाजमा व्याप्त गरिबी, कुरीति, कुसंस्कार हटाउने कार्यको नेतृत्व त कम्युनिस्ट पार्टीका नेताहरूले मात्रै गर्दछन्, कांग्रेसका नेताहरूलाई त्यो विषयमा कुनै चासो र सरोकार नै रहँदैन ।
हामीकहाँ कांग्रेस र कम्युनिस्ट पार्टीको नेताहरूलाई हेर्ने दृष्टिकोण र व्यवहार यस्तै नै छ । निश्चय नै, यस्तो दृष्टिकोण एकै क्षणमा निर्माण भएको होइन । ती दुवै पार्टीका नेताहरूले समाजसामु प्रदर्शन गरेका व्यवहार र क्रियाकलापका कसौटीमा घोटिएर निर्माण भएका हुन् । कतिपय राजनीतिक मुद्दाहरूमा कांग्रेस–कम्युनिस्ट पार्टीबीच सहकार्य भए पनि समाजको पिँधसम्म दबिएर बसेका सामाजिक कुरीति, कुसंस्कार, विभेदजन्य पक्षहरूलाई उखेल्ने कार्यमा कम्युनिस्ट पार्टीले जे–जति भूमिका निर्वाह ग¥यो, त्यसको तुलनामा कांग्रेसले खासै पहलकदमी लिएनन् । समाजका रूढीग्रस्त मान्यताहरूलाई बदल्नेतिर कांग्रेसले अग्रसरता लिएका उदाहरणहरू सायदै छन् । तसर्थ, कांग्रेस–नेता पूर्णबहादुर खड्काले कथित उच्च जात र दलितबीचको सहभोजमा आफूले खाएको थाल आफैंले माझ्दा त्यसलाई देखावटी र ढोंगी प्रवृत्तिका रूपमा औंल्याउनुको पछाडि यिनै पक्षहरूले भूमिका खेलेको मान्न सकिन्छ ।
कुनै सन्देह देखिँदैन– हामी बाँचिरहेको समाज देखावटी एवं ढोंगी चरित्र र प्रवृत्तिहरूले ग्रस्त छ । तिनै समाजमा जन्मिएका, हुर्किएका र भिजेका नेताहरूमा देखावटी र ढोंगी प्रवृत्ति हाबी नहोला भनेर अनुमान लगाउनु मुस्किलै छ । कांग्रेस–नेता खड्काको ‘थाल–मझाइ’लाई पनि तिनै देखावटी र ढोंगी समाजको चारित्रिक प्रतिविम्ब मान्न सकिन्छ । प्रश्न उठ्छ– कांग्रेस नेता खड्काले सार्वजनिक थलोमा आफूले खाना खाएको थाल आफैंले माझे तर के उनले आफ्नो घरभित्र पनि आफूले खाना खाएको थाल आफैंले माझ्ने गरेका छन् ? यो नेता खड्का र उनका परिवारका सदस्यजन र उनलाई नजिकबाट चिन्ने मानिसहरूले मात्र थाहा पाउने विषय हो, यो विषयबाट अरू बेखबर नै रहन्छन् । यद्यपि, यदि उनले आफ्नो घरमा पनि आफूले खाना खाएको थाल आफैंले माझ्ने गरेको यथार्थ बाहिर आएको भए उनमा देखावटीपन र ढोंगी चरित्रको लैस मात्र पनि रहेनछ भन्ने पुष्टि हुन्थ्यो । तर, सार्वजनिक थलोमा भने देखाउन थाल माझ्ने र घरमा भने अरूलाई थाल माझ्न लगाउने प्रवृत्ति उनमा छ भने त्यो ढोंगीपन र दोहोरो चरित्रको उत्कृष्ट नमुना हुन सक्छ ।
विगतका निर्वाचनहरूमा कथित उच्च जातका उम्मेदवारहरूले मत माग्ने क्रममा दलित बस्तीमा पुगेर दलितहरूको खुट्टा ढोगेको प्रसंग पनि सार्वजनिक भएको थियो । यस्तो कार्यमा कांग्रेस, कम्युनिस्ट वा अरू पार्टीका उम्मेदवारहरूले बाजी नै मारेका थिए । अरू बेला दलितले छोएको खान घिन मान्ने तर निर्वाचनको बेला भने मत प्राप्तिका लागि खुट्टा नै ढोग्ने तहसम्म आफूलाई ओराल्नेजस्ता प्रवृत्तिले पनि हाम्रो समाज ग्रसित छ, राजनीतिक दलका नेताहरू ग्रसित छन् । हुन पनि यस्तै देखावटीपन, दोहोरो चरित्र र ढोंगीपनले गर्दा नै राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रलाई विसंगतिका बाढी–पहिरोहरूले लछारेको लछारेकै स्थिति छ । साँच्चै यस्तो दरिद्र र ढोंगी मानसिकता र मनस्थितिबाट हामी कहिले मुक्त हुने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा