24th June 2019, Monday

प्रचण्डलाई ‘ब्याक फायर’



प्रचण्डलाई ‘ब्याक फायर’

काठमाडौं । कम्युनिस्ट सरकारको नेतृत्वको दोस्रो बजेटसँगै मुलुकलाई समृद्ध बनाउन पार्टीमा दरिलो एकताको अपेक्षा गरिएका बेला फेरि ‘अस्थिरताको खेती’ गर्ने प्रयास सतहमा प्रकट भएको छ । दुई तिहाइ बहुमतको सरकार पाँच वर्षसम्म सञ्चालन हुने निश्चित भएकाले कम्युनिस्ट विरोधी राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरू एकता भत्काउने छिद्रको खोजीमा छन् । विगतजस्तो पहिलो र दोस्रो ठूलो पार्टीबीच दरार पैदा गरेर वा साना पार्टीहरूबीच खेलोफड्को गर्दैमा अस्थिरताको योजना सफल हुने स्थिति पछिल्लो जनमतबाट प्रकट भएको राजनीतिक शक्ति सन्तुलनमा देखिँदैन । पछिल्लो चुनावको जनमतले अस्थिरता चाहनेहरूलाई यस्तो सबक सिकाएको पृष्ठभूमिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा टेलिभिजनमार्फत व्यक्त गरेका विचारले नेपाली राजनीतिलाई तरंगित बनाएको छ ।
अध्यक्ष ओलीसँग साढे दुई वर्षपछि सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति भएको र कार्यान्वयन नहुँदा असहज स्थिति उत्पन्न हुने भन्दै दिइएको सन्देशबाट तरंगित राजनीतिक परिवेश अझै साम्य भइसकेको छैन । पार्टी अध्यक्षको हैसियतमा आएको उनका अभिव्यक्ति आसामान्य त हुँदै हो, एकीकरण प्रक्रियाले पूर्णाकार रूप नलिँदै त्यस्तो क्रियाकलापले पार्टीलाई नै विभाजनतिर लैजान सक्ने खतरा देखिएकाले नेता–कार्यकर्ता कोही पनि समर्थनमा देखिएनन् । देशको प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा राष्ट्रिय मुद्दामा प्रतिपक्षको समेत दह्रो साथ रहेको हुन्छ । तर, संसद्मा बजेट घोषणा भएको केही घन्टापछि, प्रधानमन्त्री भारत भ्रमणमा जानुभन्दा केही घन्टापहिले अध्यक्ष प्रचण्डबाटै सरकारको नेतृत्व फेरिने अभिव्यक्ति राष्ट्रिय हित र पार्टी हितविरोधी भएकाले असामान्य मात्र होइन, प्रतिपक्षले समेत गर्न नसक्ने व्यवहारको परिघटना थियो । निर्वाचनबाट भारतमा नरेन्द्र मोदी शक्तिशाली व्यक्तित्वका रूपमा उदय भएकै बेला देशका प्रधानमन्त्रीको ‘पोजिसन’ कमजोर बनाउने आशयले अध्यक्ष प्रचण्डको अभिव्यक्ति आएकाले आमजनतालाई अरुचिकर हुनु स्वाभाविक थियो । तर पनि नेपाली राजनीतिलाई भने उनको अभिव्यक्तिले अझै तरंगित बनाइरहेको छ । गत भदौमा भारत भ्रमणमा जाँदा अध्यक्ष ओलीसँग आफूले साढे दुई वर्षभित्र सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति गरेको खुलासा गरेका प्रचण्ड पछिल्लो विवादास्पद अभिव्यक्तिमा भने २४ घन्टा पनि टिक्न सकेनन् । गत १८ गते विराटनगर पुगेर सामान्यीकरण गर्ने प्रयास गरे । यद्यपि, पार्टी अध्यको हैसियतमा प्रचण्डका त्यस अभिव्यक्तिले अनेकन् प्रश्न खडा गरेको छ । तत्कालीन अवस्थामा दुई पार्टी अध्यक्षको हैसियतमा कतै पनि संस्थागत अनुमोदन नगरी भएको सहमतिप्रति नेकपा पंक्तिले अस्वीकार गरेको छ । पार्टी एकता कुनै अमुक व्यक्तिलाई अध्यक्ष वा प्रधानमन्त्री बनाउन हो कि, ठोस परिस्थितिको ठोस विश्लेषणसहित मुलुकलाई समाजवादको दिशामा डो¥याउने कार्यभारका लागि ? यस्तो गम्भीर प्रश्न उठेपछि प्रचण्डको उक्त अभिव्यक्तिको समर्थनमा स्वयं पूर्वमाओवादी पंक्तिसमेत समर्थनमा देखिएन ।
प्रचण्डको असामयिक र असामान्य अभिव्यक्तिले केवल नेपालमा अस्थिरता मच्चाउन खोज्ने शक्तिहरूका लागि नयाँ स्पेस खडा गरेको छ । अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ओलीका अनगिन्ती कमजोरी हुन सक्छन्, बेलाबखत प्रकट भइरहने त्यस्ता कमजोरीबारे पार्टीका औपचारिक फोरमहरूमा शीर्ष तहबाटै बिभिन्न कोणबाट प्रश्न उठाइएको मात्र छैन, समाधानको प्रयाससमेत गरिएको छ ।
पार्टी एकीकरण भए पनि सबै तहका कमिटीहरूको एकताले पूर्णाकार ग्रहण गरिसकेको छैन । पोलिटब्युरो गठन, नेताहरूको कार्यविभाजन थाँती छ । दुवै पार्टीका सदस्य मिलाएर नयाँ सदस्यता व्यवस्थित गर्नेजस्ता एकता महाधिवेशनअघिका महŒवपूर्ण कार्यसम्पादन हुन बाँकी नै छ । दुई पार्टी एकीकरणपछि सैद्धान्तिक, वैचारिक र संगठनात्मक प्रश्नसँगै एकता महाधिवेशन सम्पन्न नभएसम्म सरकारको नेतृत्वको बहस अहिले प्राथमिक कार्यभार नै होइन । यी सबै काम सम्पन्न भइसकेपछि वर्तमान सरकारले अघि बढाइरहेको कामलाई अझ तीव्रता दिँदै थप प्रभावकारी बनाउने आवश्यकता महसुस हुँदा पार्टीले व्यक्तिको हैसियतमा भएको पाँचबुँदे सहमतिमा होइन, छुट्टै नयाँ एजेन्डा बनाएर छलफल गर्न सक्छ र सरकारको नेतृत्वमा व्यक्ति परिवर्तन गर्ने निर्णय गर्न पनि सक्छ । पार्टी अध्यक्षले यी सबै सामान्य प्रक्रिया नबुझेरै सरकार परिवर्तनको बहस सतहमा ल्याएका होइनन् भन्ने स्थिति देखिँदैन । सार्वजनिक मञ्चहरूमा आफैले आफैंलाई माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने एउटा डाइनामिक लिडरका रूपमा प्रस्तुत गर्दै जोखिम मोल्ने, मुलुक र पार्टीको हितमा छलाङ हान्ने नेताका रूपमा प्रचण्डले प्रस्तुत गर्दै आएका छन् । त्यसैले पनि प्रचण्डको पछिल्लो अभिव्यक्ति चर्चित र विवादस्पद बनेको छ । उनका योजना र चाहनाहरूलाई बेमौसममै सतहमा ल्याएको छ र सँगसँगै ‘ब्याक फायर’ पनि भएको छ । तर, उनले आफ्नो शैलीलाई परिवर्तन गरेनन् भने अस्थिरता मच्चाउन चाहने शक्तिहरूका लागि त वरदान साबित भए पनि मुलुकका लागि भने अर्को दुर्घटना साबित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा प्याकेज छलफल अनिश्चित

ShareTweet काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले एकीकरणको बाँकी काम धकेलिँदै जाँदा नेकपाभित्र गुनासो र असन्तुष्टि चुलिँदै गएको छ । पार्टीभित्रको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

मसिना अक्षर, खँदिलो लेखन

ShareTweet अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वीरेन्द्रको प्रशस्ती

ShareTweet राजदरबारमा शाही पाश्र्ववर्तीका रूपमा १७ वर्ष बिताएका सुन्दरप्रताप रानाले रहस्यमयी दरबार हत्याकाण्ड भएको १८ वर्षपछि दरबारको दुःखान्त नामक पुस्तक बाहिर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा