16th July 2019, Tuesday

युद्ध पत्रकारिताको अभिलेख



युद्ध पत्रकारिताको अभिलेख

नेकपा (माओवादी) ले २०५२ देखि २०६२ सम्म सञ्चालन गरेको सशस्त्र ‘जनयुद्ध’ सही थियो या गलत ? यो एउटा अन्तहीन बहस हो । आ–आफ्ना सुविधाअनुसार यसको उत्तर दिन इतिहासले सबैलाई छुट दिएको छ । किनभने, यो सशस्त्र युद्ध जित या हारमा होइन, सम्झौतामा अन्त्य भयो । यसका नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेजस्तै माओवादी ‘जनयुद्ध’ नेपालको इतिहासमा पृथ्वीनारायण शाहको नेतृत्वमा भएका युद्धपछिको उथलपुथलकारी घटना थियो । समाजका सबै एकाइहरूलाई हल्लाएको युद्ध थियो यो ।
सही थियो वा गलत ? इतिहासमा सर्बाधिक उठाइने यो प्रश्नको उत्तरमा मान्छेहरू विभाजित छन् । तर, यो युद्धमा भुइँ तहका मान्छेहरू जुन सपना, समपर्ण र विश्वासका साथ होमिए । त्यसमा भने सायदै प्रश्न नहोला । त्यहीमध्ये एक थिइन्, ‘संगीता खड्का ।’
संगीता खड्का जो काठमाडौंमै जन्मिइन्, हुर्किइन् । उनले बाल्यकालमा कुनै ठूलो दुखको पहाड पार गर्नुपरेन । तर, उनी जब जनयुद्धमा लागिन् । उनले भूगोलका ठूल्ठूला पहाड मात्रै होइन, पटक–पटक संघर्षका सगरमाथा चढ्न परिरह्यो । उनी बन्दुक बोकेका कुनै छापामार भने थिइनन् । माओवादी ‘जनयुद्ध’को पक्षमा कलम लिएर उभिएकी पत्रकार थिइन् । तर, नियतिले उनलाई यस्तो परिबन्दमा पारिदियो कि उनले कुनै छापामारले भन्दा बढी युद्धको पीडा सहनुप¥यो ।
बन्दुक बोकेका छापामारहरू गोली लागेर एकपटक मरे । तर, कलम बोकेर हिँडेकी संगीता पटकपटक मर्दै बाँचिन् । त्यही पटक–पटक मर्दै बाँचेको सम्झनाहरूको संग्रह हो, ‘युद्धका ती दिन ः एक पत्रकारको भोगाइ ।’ माओवादी ‘जनयुद्ध’को पक्षमा उभिने पत्रकारहरू कसरी र कस्तो यातनाको भागीदार भए ? माओवादी ‘जनयुद्ध’मा सहर र ग्रामीण इलाकामा सञ्चार क्षेत्रको प्रयोग कसरी भयो ? माओवादी ‘जनयुद्ध’सँग जोडिएका परिवार कसरी अलगथलग भयो ? यी सबैको उत्तर भेटिन्छ यो पुस्तकमा ।
००० ०००
संगीता माओवादीनिकट पत्रिका ‘जनादेश’मा कार्यरत पत्रकार । पुस्तकमा संगीताको सम्झना २०५८ मंसिर ११ बाट सुरु हुन्छ । जतिबेला मुलुकमा संकटकाल लागेको थियो । माओवादी ‘जनयुद्ध’ एक हिसाबले उत्कर्षमा चलिरहेको थियो । त्यसको केही दिनअघि अर्थात् मंसिर ८ गते माओवादी छापामारहरूले दाङको घोराही, स्याङ्जाको पुतलीबजार र सोलुको सल्लेरीमा आक्रमण गरेका थिए । त्यो समयमा राजधानी काठमाडौंमा बसेर माओवादी ‘जनयुद्ध’को पक्षमा कलम चलाइरहेकी थिइन्, संगीता । मध्य सहरमा बसेर व्रिदोहीको पक्षमा भूमिगत पत्रिकाको प्रकाशन गर्न कति अप्ठ्यारो छ ? त्योबेला माओवादी ‘जनयुद्ध’को पक्षमा कलम चलाउने पत्रकाहरूलाई कस्ता चुनौती थिए । ‘संकटकाल’ शीर्षकको पहिलो खण्डमा यसको सजीव चित्र उतारेकी छन्, संगीताले । संकटकालको समयमा राज्यले अपनाएको प्रचारशैलीको पनि उनले व्याख्या गरेकी छन् ।
त्यो समय माओवादी ‘जनयुद्ध’ उत्कर्ष भएजस्तै संगीताको पुस्तकको उत्कर्ष खण्ड हो, ‘जेलजीवन ।’ देशको मुटु काठमाडौंमा उनले खेपेका पीडा नै उनको पुस्तकको मुटु हो । जनदिशा दैनिकमा कार्यरत उनकै सहयोद्धा अतिन्द्र न्यौपानेको कारण २०५९ जेठ ६ गते प्रहरीको फन्दामा पर्छिन्, संगीता । ‘एउटै सपना र संकल्प’ बोकेर लडिरहेका साथी सम्झेर पूर्वनिर्धारित समयअनुसार भूमिगत रूपमा काठमाडौं टेकु भेट्न पुगेकी संगीतालाई प्रहरी ल्याएर पक्राउ गरिन्छ । र लगिन्छ, त्यतिबेलाको यातना शिविर मध्येको एक महेन्द्र पुलिस क्लब । जहाँ यातनाकै कारण पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’ले जीवन गुमाएका थिए ।
प्रहरी अफिसर विक्रम थापाबाट सुरु भएको शारीरिक तथा मानसिक यातनाबाट उनको हिरासत यात्रा सुरु हुन्छ । महेन्द्र पुलिस क्लबको यातनापछि तीनकुने प्रहरी चौकी हुँदै थानकोट सैनिक ब्यारेक, बौद्ध प्रहरी चौकीसम्मको उनको हिरासत यात्रा निकै दारुण छ । थानकोट सैनिक ब्यारेकमा संगीताले पाएको यातनाको सम्झना पढिरहँदा जोकसैको आँखा रसाउँछ । पक्राउपछिको उनको सय दिने हिरासत यात्रा असाध्यै पीडादायी छ । कृष्ण सेन ‘इच्छुक’सँगका जोडिएका संस्मरणहरूले पनि पुस्तकलाई थप बलियो बनाएको छ ।
सय दिनको हिरासतपछि उनको जेलजीवन सुरु हुन्छ । उनको लागि जेलजीवन खुसीको विषय बनेको छ । किनभने हिरासत यात्राको अन्त्यसँगै यातनाको शृंखलाको पनि अन्त्य हुन्छ । जेल जीवनमा विविध भोगाइलाई पनि उनले सजीव तरिकालाई उतारेकी छन् ।
युद्ध विरामसँगै संगीताको फेरि खुला आकाशको यात्रा सुरु हुन्छ । २०५९ चैत ७ गते उनका लागि सर्बाधिक खुसीको दिन थियो । किनभने हिरासत र जेल जीवनपछि उनी खुला आकाशमा आइन् ।
युद्धको समय न हो, विश्राम हुने कुरै भएन । २०६० साउन २० बाट फेरि उनको अर्को नयाँ यात्रा सुरु भयो, ‘भूमीगत रेडियो ।’ काठमाडौंमा जन्मे, हुर्केकी संगीताका लागि उपत्यकाबाहिरको यात्रा उस्तै कठिन थियो । उनकै भाषामा त्यहाँ देखिने पहाडहरू सगरमाथाजस्तै थिए । माओवादीले युद्धको समयमा एउटा ठूलो हतियारका रूपमा रेडियोको प्रयोग गरेका थिए । रेडियो जनगणतन्त्रको नाम दिएर देशभरि आफ्नै रेडियो सञ्चालन गरेका थिए । जनताका बीचमा आफ्नो विचार र सूचना लैजान यो निकै प्रभावी बनेको थियो । युद्धको एउटा मोर्चाजस्तै थियो, रेडियो जनगणतन्त्र । त्यही मोर्चाका एक कमान्डर बनेर हिँड्दा कस्ता अप्ठ्यारा आए ? यसका सम्झना डायरीका रूपमा उनले उतारेकी छन् । यही मोर्चाको यात्रामा उनको प्रेमजीवन पनि सुरु हुन्छ । रेडियो यात्रामा थपिएको साथी, कमरेड राजन (शैलेन्द्र घिमिरे) सँगको प्रेम पनि यही मोर्चामा सुरु भएको छ ।
पुस्तकको अन्तिम खण्ड हो, ‘गण्डक यात्रा ।’ उनको गण्डक यात्रा पनि बडो रोमाञ्चक छ । यो यात्रामा उनले फौजी जीवनलाई नजिकबाट देख्ने अवसर मात्रै होइन, एउटा फौजी जीवन बिताउने अवसर पाएकी छन् ।
२०५८ मंसिर ११ बाट सुरु भएको उनको सम्झना २०६३ असार २ गते तात्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराई बालुवाटारमा सार्वजनिक भएसँगै संगीताको संस्मरण यात्रा पनि समाप्त हुन्छ ।
००० ०००
यो संस्मरणहरूको संग्रह हो । पुस्तक एक बसाइमा सरर पढ्न सकिन्छ । कुनै टेलिसिरियल हेरेजस्तो लाग्छ । पुस्तकमा सबैभन्दा बढी दुःख छन् । संगीतले पाएको यातनाका सम्झनाहरू पढिरहँदा आङ नै सिरिङ्ङ हुन्छ । मनमा प्रश्न उठ्छ, ‘त्यसबेलाका सैनिक र प्रहरी अधिकारीहरूले कुन मनले यतिधेरै यातना दिन सकेका होलान् ?’ पत्रकार संगीता खड्कालाई जसले जसरी चिनेका छन् । यो पुरै पुस्तक पढिसकेपछि उनीप्रतिको सम्मान जाग्छ । संगीताको संकल्प र प्रतिबद्धताप्रति जोकोहीले सम्मान गर्छन् । माओवादी ‘जनयुद्ध’लाई फगत हिंसा मात्रै मान्नेहरूले पनि युद्धको यो आयाम पढिसकेपछि धारणा परिवर्ततन गर्न सक्छन् ।
माओवादी ‘जनयुद्ध’का कारण कति मान्छेहरू ज्यान गुमाए, कति भौतिक संरचना भत्किए । त्यो इतिहासको समीक्षाको एउटा पाटो हो । तर, चेतना निर्माण र जागरणको हिसाबले यो समय सर्वाधिक महŒवको समय थियो । खासगरी किनारामा पारिएका अथवा फालिएका वर्ग, समुदाय मान्छेले मूलधारतिर फर्केर प्रश्न गर्ने सक्ने सचेतना र शक्तिचाहिँ माओवादी ‘जनयुद्ध’ले दिएकै हो । यसकारण पनि यो अवधिमा घटित घटनाहरू असाध्यै पढिने विषय हुन् । जसरी जुन रूपमा त्यो समयको अभिलेख राख्नुपर्ने थियो । त्यो हुन सकिरहेको छैन । माओवादी ‘जनयुद्ध’सँग जोडिएका अनेक आयामहरू वास्तवमा लेखिएकै छैनन् । यो अवस्थामा संगीतले सुुखद सुरुवात गरेकी छन् ।
पुस्तक संस्मरणहरूको संग्रह हो । एक हिसाबले यो २०५८ मंसिर ११ देखि २०६३ असार २ गतेसम्मको इतिहासको अभिलेख पनि हो । पुस्तकमा तथ्य र तिथिमितिलाई पनि क्रमबद्ध राख्न पाएको भए अझ बढी बलियो हुने थियो । त्यो क्रमबद्ध शृंखला नभेटिँदा तिथिमितिबिनाको डायरीजस्तो लाग्छ । भाषालाई छरितो र अझ पठनीय बनाउन सकिने प्रशस्त ठाउँहरू भेटिन्छन् । हुन त संगीता माओवादी ‘जनयुद्ध’ सामेल हुन आफंैमा उनको विचारको निचोड हो । पुस्तकमा आफ्ना भोगाइ र अनुभवहरूलाई सरसर्ती सम्झना मात्रै गरेकी छन् । समीक्षा भने कम गरेकी छन् ।

पुस्तक ः युद्धका ती दिन ः एक पत्रकारको भोगाइ
प्रकाशक ः सांग्रिला पुस्तक प्रालि
पृष्ठ ः २४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा