14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

स्वास्थ्यका दर्जनौं उपकरण प्रयोगविहीन, करोडौं रकम स्वाहा

स्वास्थ्यका दर्जनौं उपकरण प्रयोगविहीन, करोडौं रकम स्वाहा

काठमाडौं । स्वास्थ्य सेवा प्रवाहका लागि खरिद भएका दर्जनौं मेसिनरी उपकरणहरू सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपयोग हुन नसकेकाले सेवा सञ्चालनमा असर परेको छ । जसका कारण उपकरण खरिदमा भएको करोडौं खर्च उपलब्धिविहीन भएको छ ।
महालेखापरीक्षक कार्यालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसका लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गत वर्ष प्राप्त २ मेसिन सञ्चालन हुन नसकी भण्डारमा राखेको छ । बाँकी १० मेसिनबाट दैनिक ३० जनालाई डाइलोसिस सेवा उपलब्ध गराए तापनि पर्याप्त मेसिन अभावका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त मेसिन सुरुवातदेखि नै सञ्चालन हुन नसकेकाले यसप्रकारको मेसिन खरिद स्वीकार गरी हस्तान्तरण गर्ने पदाधिकारी जिम्मेवारी हुनुपर्ने देखिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन अप्रेसन थिएटर रहेकोमा शल्यचिकित्सा सेवाको लागि आवश्यक सी आर्म दुई मात्र रहेको, ओटी टेबल अत्यन्तै पुरानो भएकाले सेवा प्रदान गर्न समस्या रहेको, बच्चाको विशेषज्ञ चिकित्सक भए तापनि शल्यक्रियाका लागि आवश्यक सामग्री अभावमा सेवा उपलब्ध नभएको, अप्रेसन थिएटरमा आरआर ट्रली, फ्ल्यास अटोक्लेभको अभाव रहेको महालेखाले जनाएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त अटोक्लेभ मेसिन गुणस्तरहीन भएकाले काम नलाग्ने भई प्रयोगविहीन अवस्थामा रहेकाले सेवा प्रवाहमा असर परेको छ ।
महालेखाको छपन्नौं प्रतिवेदनमा उल्लेख भएअनुसार, धौलागिरि अञ्चल अस्पतालमा चार हेमोडाइलोसिस मेसिन रहेकोमा दुई मात्र सञ्चालन गरी हप्तामा ६ जनालाई सेवा उपलब्ध गराएको छ । मेसिनको अभावले २० जना प्रतीक्षा सूचीमा रहेका छन् । स्वास्थ्य सेवा विभागले २०७४ साउन २६ मा.३६ लाख ७ हजार रुपैयाँ मूल्यका दुई हेमोडाइलोसिस मेसिन उपलब्ध गराएकोमा सुरुवातदेखि नै मेसिन सञ्चालनमा नरहेकाले खरिद स्वीकार गरी हस्तान्तरण गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्दछ । त्यसैगरी नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा आवश्यक मेसिनको अभाव र बिरामीको चापका कारण आवश्यक सेवा उपलब्ध हुन नसक्दा सेवा प्रवाहमा असर परेको छ । एक आपूर्तकबाट विभागले अमेरिकी डलर ५६ हजार ३७८ मा खरिद गरी केन्द्रीय मेडिकल स्टोर, पथलैया पठाएको ७ हजार ५ सय २७ वटा आइस प्याक भ्याक्सिन क्यारियर प्रयोगविहीन अवस्थामा छ । आवश्यकता विश्लेषण नगरी सामान खरिद गर्ने जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउनुपर्दछ ।
रगतसम्बन्धी विभिन्न परीक्षण गर्ने अमेरिकी डलर १ लाख ८२ हजार मूल्यको पीसीआर मेसिन २०७४ मंसिर २ मा सेभ द चिल्ड्रेनबाट सहयोगमा प्राप्त भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला भवनमा उपयोगविहीन अवस्थामा रहेको छ । सो मेसिन विधिवत् हस्तान्तरण भई नआएकाले सञ्चालन नभएको बताइएको छ । स्वास्थ्य सेवा विभागले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका उपकरण मर्मतसम्बन्धी सम्झौता गरेको र तोकिएको समयमा मर्मत कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । हेटौंडा अस्पतालमा रहेको ३०० एमए एक्सरे हाई भोल्टेज जेनेरेटर २०७४ फागुनदेखि बिग्रेको र बेबी वार्मर दुई महिनादेखि बिग्रेकोमा हालसम्म मर्मत भएको छैन । उपर्युक्त स्थितिले सम्झौताका सर्तबमोजिम कार्य भएको देखिँदैन । मेची अञ्चल अस्पतालको लागि स्वास्थ्य सेवा विभागबाट २०७४ चैत २ मा रु. ३३ लाख ३६ हजार रुपैयाँ मूल्यको नवजात शिशु सघन उपचार कक्ष सञ्चालन गर्न उपकरण प्राप्त भएको भए तापनि जनशक्ति र स्थानको अभावले उपकरण जडान गरी प्रयोगमा ल्याएको छैन ।
हेटौंडा अस्पतालको स्तरवृद्धि गर्न ३ सय शैया थप गर्ने क्रममा खरिद वा प्राप्त गरेका १० प्रकारका २४ लाख ८३ हजार मूल्यबराबरको उपचारका उपकरणहरू नियोनेटल भेन्टिलेटरलगायत अस्पतालमा प्रयोगविहीन रूपमा भण्डारमा रहेका छन् । सो सामग्रीहरूमध्ये विभागबाट प्राप्त इन्प्यान्टोमिटरको मूल्य खुलेको देखिएन । विगतमा खरिद गरेका उपकरणको वारेन्टी ग्यारेन्टीको अवधि समाप्त हुने तर खरिद भएका सामान उपयोग नहुने स्थिति रहनु उचित देखिँदैन । कान्ति बाल अस्पतालमा रहेको ४ करोड ५४ लाख रुपैयाँ मूल्यको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटकपटक बिग्रने कारणले मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउनुपरेको अवस्था छ । राप्ती अञ्चल अस्पतालमा विगतदेखि अर्थोपेडिक तथा आईसीयू उपकरण र एनआईसीयू, सीटी स्क्यान, इन्डोस्कोपी मेसिन रहेकोमा व्यवस्थापकीय कमजोरी र दक्ष जनशक्तिको अभाव देखाई विगत वर्षदेखि सञ्चालनमा नै ल्याएको छैन । सोसम्बन्धी सेवा उपलब्ध नगराई बिरामीलाई अन्यत्र सिफारिस गरेको पाइन्छ ।
यसैगरी रामपुर अस्पताल, पाल्पामा शल्यचिकित्सा सेवाका लागि उपकरणसहितको कक्ष रहे पनि चिकित्सकको अभावमा सञ्चालन भएको छैन । महाकाली अञ्चल अस्पतालका लागि अटोमेटेड हेमाटोलोजी एनालाइजर, इसीजी मेसिन, पेसेन्ट मोनिटर, ओटी टेबुल, पोर्टेबल एक्सरे मेसिनसमेत ३१ प्रकारका उपकरण खरिद गर्न २ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्था भएको देखिँदैन । अस्पतालमा प्रशासनिक तथा प्राविधिक कर्मचारी नभएको व्यहोरा उल्लेख गरी मन्त्रालयबाट खरिद व्यवस्था हुन २०७४ जेठ २७ मा पत्राचार गरेकोमा मन्त्रालयले खरिद प्रक्रियासँग सम्बन्धित फाइल थप कारबाहीका लागि स्वास्थ्य सेवा विभागमा पठाएको पाइन्छ । उक्त उपकरण स्वास्थ्य सेवा विभागले समेत खरिद नगरेको कारण यो वर्षको बजेट फ्रिज भएको छ । खरिदको व्यवस्थापन नगर्ने निकायहरू जिम्मेवार हुनुपर्दछ ।
यो वर्ष कोसी अञ्चल अस्पतालले सय थान मेमोग्राफी खरिद गरी ४७ लाख ५८ हजार खर्च लेखेको छ । उक्त मेसिन सञ्चालनका लागि सीआर सिस्टम नभएको कारणले सञ्चालन हुन सकेको छैन । त्यसैगरी पीसीआर मेसिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त भएकोमा जनशक्तिको अभावका कारण देखाई सञ्चालनमा ल्याएको छैन । खरिद भएका मेसिन उपकरणको वारेन्टी ग्यारेन्टी अवधि समाप्त हुने तर सो सञ्चालनसम्बन्धी व्यवस्थापन नगर्दा सेवा प्रवाहमा असर परेको छ ।
दरबन्दी पदपूर्ति
मन्त्रालयअन्तर्गत प्रशासनिक र स्वास्थ्य सेवाको २०७४÷७५ को पदपूर्ति विवरण माग गर्दा प्राप्त नभए महालेखाले जनाएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन २०७३÷७४ अनुसार ७७ जिल्लाका स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयअन्तर्गत ४ सय ५८ चिकित्सक, १३ हजार ७ सय ८५ पारामेडिक्स र ८ हजार ८ सय १६ नर्सिङ स्टाफसमेत कुल २३ हजार ५७ दरबन्दी रहेकोमा क्रमशः चिकित्सक १ सय ९४, पारामेडिक्स ४ हजार १ सय ४६ र नर्सिङ स्टाफ २ हजार ५ सय ९७ समेत ६ हजार ९ सय ३७ पद रिक्त रहेकाले नियमानुसार पदपूर्ति हुनुपर्दछ । त्यसैगरी जिल्लागत रूपमा अध्ययन गर्दा चिकित्सकको स्वीकृत दरबन्दी जाजरकोटमा १७ मध्ये ९, अछाममा ४ मध्ये २, दार्चुलामा ५ मध्ये २, डोटीमा ५ मध्ये ३, अर्घाखाँचीमा ६ मध्ये २, सप्तरीमा ३२ मध्ये २७ र महोत्तरीमा १२ मध्ये ४ रिक्त रहेको छ । प्यारामेडिक्सतर्फ ताप्लेजुङमा १ सय ६७, भोजपुरमा १ सय ९४, कालीकोटमा ९२, डोल्पामा ७४, बैतडीमा २ सय ६ रहेकोमा क्रमशः ८० सय १ सय, १९, ३० र १ सय १० समेत ३ सय ३९ पदपूर्ति भएको छैन । नर्सिङतर्फ संखुवासभामा ८५, खोटाङमा १६२, गोरखामा १ सय ४८, डोल्पामा ५१, हुम्लामा ५७ दरबन्दी रहेकोमा क्रमशः ४१, ७३, ५७, ३४ र २० समेत २ सय २५ पदपूर्ति भएको छैन ।
प्यारामेडिक्सतर्फ काठमाडौंमा २ सय ६७, रूपन्देहीमा २ सय ७६, ललितपुरमा १ सय ६६, चितवनमा १ सय ५८ र कास्कीमा १ सय ४५ दरबन्दी रहेकामा क्रमशः २०, ४४, १५, २१ र ३ समेत १ सय ३१ पद रिक्त रहेको देखिन्छ । चिकित्सक तथा पारामेडिक्स पदहरू रिक्त रहेको अवस्थामा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न गएको छ । रिक्त पदहरू समयमा नै पूर्ति गरी स्वास्थ्य सेवा प्रवाहलाई चुस्तदुरुस्त तुल्याउन सम्बन्धित निकायको ध्यान जानुपर्दछ ।
लेखापरीक्षणका क्रममा अस्पतालहरूमा चिकित्सकको दरबन्दीअनुसार पदपूर्ति नभएका केही उदाहरण
रिक्तमध्ये प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, बालरोग विशेषज्ञ, वरिष्ठ कन्सल्टेन्ट सर्जन, अर्थोपेडिक सर्जन, रेडियोलोजिस्ट, साइकियाट्रिसियन, एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, फिजिसियन, मेडिकल ल्याब टेक्नोलोजिस्टजस्ता विशेषज्ञ पदहरूको दरबन्दी रिक्त रहेको देखिन्छ । महाकाली अञ्चल अस्पताल, कञ्चनपुरमा १७ चिकित्सकको स्वीकृत दरबन्दीमध्ये १४ रिक्त रहेका कारण ज्वरो, निमोनियाजस्ता बिरामीसमेत ८ सय ५८ जना अन्य अस्पतालमा सिफारिस गर्नुपरेको थियोे ।
त्यसैगरी चिकित्सक तथा उपकरणको अभावमा गोरखा अस्पतालले यो वर्ष ९ सय ५४ जना र बेनी अस्पताल म्याग्दीले १ हजार ३ सय ३१ जना अन्यत्र सिफारिस गर्नुपरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंमा चिकित्सकतर्पm १२ जनाको पदपूर्ति भए तापनि ४ जना विगतवर्षदेखि अध्ययन बिदामा रहेको देखिन्छ । त्यसैगरी गुल्मी जिल्ला अस्पतालमा स्वीकृत दरबन्दीअनुसारको पदपूर्ति नभई तथा दरबन्दीमा नियुक्त दुई चिकित्सक अन्यत्र काजमा गएको, टीकापुर अस्पताल, कैलालीमा दक्षिण कोरियाको सहयोगमा तीन बेड क्षमताको भेन्टिलेटरसहितको आईसीयू.र एनआईसीयू कक्ष तयार भए पनि विशेषज्ञ चिकित्सक नौमध्ये आठ दरबन्दी रिक्त रहेकाले सञ्चालन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ । रंगेली अस्पतालमा जनशक्तिको अभावमा ५ लाख रुपैयाँ खर्च गरिए पनि फार्मेसी सञ्चालन हुन नसकी २ लाख मूल्यको औषधिको म्याद समाप्त भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख चिकित्सक २०७४ वैशाखदेखि २०७४ चैतसम्म २ सय ८३ दिन काजमा रही कार्यालयमा ८२ दिन मात्र हाजिर रहेकाले स्वास्थ्य सेवा प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...