17th November 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

मसिना अक्षर, खँदिलो लेखन



मसिना अक्षर, खँदिलो लेखन

अक्षर र लेखन मनोविज्ञानबारे मलाई खासै जानकारी छैन । राम्रा अक्षर हुनेहरूलाई परीक्षामा राम्रो अंक प्राप्त हुने कुराचाहिँ सर्वसिद्ध छ । अक्षर सिकाइका क्रममा अलि बढी धैर्यशील व्यक्तिले अक्षरका राम्रा बान्की निकाल्छन् भन्ने मलाई लाग्छ । अक्षर राम्रा हुने शिक्षकले पढाएका अधिकांश विद्यार्थीले राम्रो अक्षर लेख्न सक्छन् । साहित्य लेखन र अक्षरको गुणात्मकताका बारेमा चाहिँ यसै भन्न सकिने अवस्था छैन । राम्रा अक्षर हुने साहित्यकार धेरै छन् । म आफू भने कम राम्रो हस्तलेखन भएकामध्ये पर्छु ।
कुरा गोविन्द भट्टज्यूको । उहाँको हस्तलेखन स्पष्ट छ, राम्रो काँटको अक्षर छ उहाँको । अक्षर राम्रा मात्र छैनन्, सामान्यतया सानो टाँकाका पनि छन् । पारखीहरू सामान्यतया अक्षर हेर्नासाथ यो लेख्ने मानिस जाँगरिलो छ कि छैन भनी जान्न सकिन्छ भन्छन् । त्यस हिसाबले उहाँ जाँगरिलो लेखकमा पर्नुहुन्छ । एउटा लेख लेख्न बस्दा त्यसलाई छिनोफानो नगरी अर्को लेख लेख्ने हतारो उहाँमा देखिँदैन । विषय पक्रिएपछि त्यसलाई सर्वाङ्ग छाम्ने, पर्गेल्ने र पूर्ण रूपमा लेख्ने काम गर्नुहुन्छ उहाँ । यो विषयगत गहिराइ पेस गर्नका लागि लेखनगत धैर्यता सर्वाधिक आवश्यक कुरा हो । अक्षर कोर्नै अल्छी गर्ने व्यक्तिले लामा, गहिरा र मनग्य विषय पस्किनै सक्तैन । अतिशय छिटो लेख्ने व्यक्तिले पनि विषय पकाउन भ्याउँदैन । चीज त धेरै आएको देखिन्छ तर ती काँचै हुन सक्छन् । धेरैभन्दा पूर्ण लेख्न रुचाउने भट्टज्यूको यस बानीको प्रभाव अक्षर कुँदाइमा देखिन्छ । उहाँको अक्षरले उहाँको धैर्यशील व्यक्तित्वलाई अभिव्यक्त गरिरहेको प्रतीत हुन्छ ।
सानामा जे–जस्तो सिकाइ संस्कार भए पनि धेरै लेख्ने व्यक्तिहरूलाई आफ्नो अक्षरको गुणात्मकता कायम गर्न कठिन छ भनिन्छ । त्यसो त लेख्ने अभ्यास कम हुनेहरूलाई पनि अक्षर लेख्नै मन लाग्दैन, तिनलाई अक्षरले माया गर्दैन भन्ने भनाइ पनि छ । भट्टज्यूको सवालमा हेर्दा उहाँ लेखिरहन मन पराउने, अक्षर खँदिलो गर्ने, कागजको अत्यधिक माया गर्ने र साना अक्षर चुहाउने लेखक हुनुहुन्छ । तर उहाँको लेखन भने अनियमित प्रकृतिको देखिन्छ । लेखनका लागि नियमित पठन उहाँको खास विशेषता हो । पठनमा नोट तथा टिपोट गर्ने बानी उहाँको अतिरिक्त विशेषता हो । अरूका किताब पढ्दा उहाँ ससाना अक्षरमा, खास गरी परीक्षामा चिट बनाएजस्तो खालको नोट गर्ने गर्नुहुन्छ । किताबमा गरिएको नोटलाई ससाना टुक्रे कापीमा उतार्ने र त्यसलाई च्याँपेर राख्ने उहाँको बानी जीवनपर्यन्त कायम रह्यो । मधेसको हुर्काइ, देवकोटीय प्रभाव, भारतको पढाइ, चीनजस्तो तुलनात्मक रूपमा चिसो ठाउँको बसाइको प्रभावले गर्दा हुनुपर्छ– उहाँ निकै धेरै चुरोट पिउनुहुन्थ्यो । चुरोटको बट्टा रित्तिनासाथ उहाँ त्यसलाई कागजका रूपमा उपयोग गरिहाल्नुहुन्थ्यो । चुरोट पनि प्रिय, चुरोट बेरेको कागज पनि प्रिय लाग्थ्यो उहाँलाई । यस हिसाबले उहाँको प्रत्येक लेख पूर्ण बन्नका लागि चुरोटका बट्टालगायतका ससाना कागजका टुक्राहरू निकै नै प्रयोग गरिन्थे । साना कागजका टुक्रामा ठूल्ठूला अक्षर लेख्ने पनि कुरा भएन । त्यस्ता कागजमा उहाँ घिउकमिलातुल्य अक्षर लेख्नुहुन्थ्यो । कागजमा मार्जिन राख्न उहाँले कहिल्यै जान्नुभएन, त्यसो गर्नु पनि भएन । लेखनमा कागजको पूर्ण उपयोग उहाँको अनौठो खालको विशेषता थियो । यस विशेषतालाई कागजमा कञ्जुस्याइँ गरेको भनेर पनि बुझ्न सकिन्छ ।
भट्टज्यूको अक्षर तथा लेखन विशेषताका बारेमा इन्दिरा भाउजू र लुना÷शिरीषलाई अलि बढी थाहा छ । म ‘लहर’ सम्पादनका क्रममा, केही सामाजिक सांस्कृतिक संस्थाहरूमा कार्यपत्रलगायतका विचार माग्ने क्रममा, आफ्नै किताब ‘आफन्तलाई सम्बोधन’को भूमिका, पछिल्लो दशक ‘शब्द संयोजन’का लागि लेख तथा विचार माग्ने क्रममा, निधनपछि उहाँले विशेषज्ञका रूपमा अध्ययन गर्नुभएको एउटा शोधपत्र पल्टाउने क्रममा उहाँका उल्लिखित लेखन ढाँचासँग परिचित भएको थिएँ । पठन, टिपोट, पुनः विचार, फेरि पठन, पुनः बुँदा टिपोट, फेरि विचार अनि मात्रै अन्तिम साफी उहाँको आमविशेषता थियो । त्यही विशेषताका कारण नै उहाँको लेखन अलि ढिलोजस्तो देखिएको हो । धेरैभन्दा पनि राम्रो लेख्न प्रवृत्त उहाँमा ठूलो लेखक हुनका लागि खासै आशक्ति नभएको कारण पनि मन्द लेखनमा उहाँ रमाउनुभएको हुन सक्छ । अपेक्षाकृत ढिला, विचार गरी गरी र ठम्याइ ठम्याइ लेख्ने बानीका कारण सामान्यतया उहाँलाई विषयवस्तु निखार्न सुगम भयो भने कहिले काहीँ लेखिएको चिट हराउने र खोज्दा खोज्दै हैरान हुने अवस्था पनि उहाँले भोग्नुभयो । कैयौं किताबको समालोचनाको सन्दर्भमा उक्त कुरा मैले उहाँकै मुखबाट सुनेको थिएँ ।
उहाँको निधनको पौने वर्षपछि भाउजू इन्दिराको अनुमतिमा पहिलोपटक बालिका गिरी र मैले धूलोमा छोपिएको ढुकुटीभित्र प्रवेश ग¥यौं । त्यहाँ उहाँका धेरै सामग्री भेटिए । भेटिएका सामग्री खासै व्यवस्थित नभए पनि मनग्य नै थिए । सरसर्ती हेर्दा उहाँका सामग्री धेरैजसो सुरक्षित नै रहेको महसुस भयो । एकाध डिब्बा कागजका बाकस, एकाध अरू बाकसमा पुराना सामग्री फेला परे । चीनमा रहँदाको डायरी, कविताहरूको पाण्डुलिपि, लुनको डायरी तथा लेखन, आफ्ना तथा अरूबाट प्राप्त पत्रहरूको पोका तथा टुक्राटाक्री, निमन्त्रणाहरू, एसियाली अनुसन्धान केन्द्र (सिनास) मा गरिएका कामको टिपोट तथा रिपोर्ट, अनुवाद अनि रबरले बाँधेका पनि र नबाँधेका पनि कागजका ससाना टुक्रा कागज । हेर्दै हामी जिल्ल प¥यौं । समयाभाव र धूलोको बौछारले गर्दा म अलि छिटो निस्किएँ पनि । ती कागजहरूको अध्ययनबाट मैले गोविन्द भट्टका चिन्तन तथा लेखनको विशिष्ट शैली चाल पाएँ । म आफू पनि कागजको लोभी भएको सन्दर्भमा भट्टज्यूलाई मैले झन् लोभी पाएँ । माथि मैले घिउ–कमिलाजस्ता अक्षर भनें तर उमेरमा उहाँले लेखेका अक्षर घिउ–कमिलाभन्दा धेरै गुना साना, मसिना तर प्रस्ट पनि पाइयो । पुराना सामग्रीको पोको फुकाउँदै जाँदा फेला परेका काटिएका चुरोटका खोल तथा त्यस्तै खालका साना कागजमा कोरिएका अनगिन्ती टिपोटहरू के–कसरी उपयोग गर्ने, हाम्रा लागि चुनौतीको विषय बनिरहेको छ ।
भट्टज्यूको कुरा चलाउँदै र रचना संकलनका क्रममा मैले सिनासमा लामो समयसम्म कार्यरत मेरो गाउँका दाजु नारायणप्रसाद रेग्मीलाई पनि भेटें । भट्टज्यूबारे उहाँ र मेरो लामै कुराकानी भयो । ससाना अक्षर, चुरोटको खोलमा नोट बनाउने उहाँको बानी र सिनासमा हुँदा पनि नोटहरूको चिट बनाई रबरले बाँधेर राख्ने कुरालाई उहाँले पनि पुष्टि गर्नुभयो । साथै, रेग्मीजीले उहाँको ‘फोर मोर्डनाइजेसन अफ चाइना’ नामक शोध पनि मलाई उपलब्ध गराइदिनुभयो । कुरै कुरामा भट्टज्यूको विशिष्ट खालको बानी तथा लेखनबारे उहाँले केही बताउनु भयो । नारायण रेग्मीज्यूले ‘ज्यूज्यू’ भनेर बोल्ने, नियमित रूपमा सिगार वा अन्य चुरोट पिइरहने, कार्यालय समय कहीँकतै हलचल नगर्ने उहाँको बानी, खास गरी डोरबहादुर विष्टको पालामा पहिलो प्रवेश तथा कुमार खड्गविक्रमको पालामा दोस्रोपटक प्रवेश गरी उहाँले सिनासमा काम गर्नुभएको र नेपाल–भारत सम्बन्धका बारेमा २०४४ सालताका उहाँले हैदरावाद सम्मेलनमा भाग लिएको विषय थप प्रस्ट पार्नुभयो । उक्त सम्मेलनमा उहाँसँगै गोविन्द अग्रवालसमेत सम्मिलित हुनुभएको र भारतका एस.डी. मुनि, सुब्रमुनिम, एम. रसगोत्रा आदिको सहभागिता रहेको कुरा पनि स्मरण गर्नुभयो । उहाँका अनुसार सो सम्मेलनमा उहाँहरूले नेपालको शान्ति क्षेत्र प्रस्तावका सम्बन्धमा भारतको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले त्यहाँका लाइब्रेरीको क्युमुलेटिभ एन्डेक्समा उहाँको अन्य लघुशोध पनि हुन सक्ने विषय पनि उप्काउनुभयो । सिनासमा उहाँ, चैतन्य मिश्रलगायतले पञ्चायतको विकेन्द्रीकरणका बारेमा गरेको अध्ययन मैले घरमा रचना डंगुर केलाउँदा फेला पारेको हुँ । उहाँलाई नेपाल–चीन अध्ययन केन्द्रमा काम गर्ने बेलामा अनुवादको काम दिई अत्यन्त थोरै मात्र पारिश्रमिक दिने र शोषण गर्ने गरिएको बेहोरा भने त्यतिखेर नेपाल–चीन मैत्री संघमा आवतजावत गर्ने साहित्यकारले दिएका थिए । घरको रचनाको चाङमा उहाँको अंग्रेजी भाषामा गरिएका लेखनको लेखोट पनि सुन्दर हस्ताक्षरमै भएको देखेको हुँ । उहाँको अङ्गे्रजी भाषा स्तरीय र सशक्त खालकै थियो ।
प्रत्येक लेखककोे लेखाइ र सोचाइको आफ्नै ढाँचा र ढर्रा हुने प्रचलनका बीच गोविन्द भट्टको लेखन, अक्षरको ढाँचा, त्यसको खँदिलोपन, धेरै विचार गरेर थोरै लेख्ने तथा लेख्न हात हालेको विषयमा काण्ड पु¥याएर लेख्न तम्सिने बानी विशिष्ट कुरा हो भन्ने मलाई लाग्छ । लामो अवधिसम्म साना अक्षर लेख्ने बानीले आँखाको रोग निम्त्याएको र त्यसको कारण उहाँले कैयौं अत्यावश्यक सवालमा लेखपढ गर्न नपाएको विषय पनि उल्लेखनीय विषय हो भन्ने लाग्छ । हामीले देख्दा अधिकांश बेला उहाँका आँखा राता देखिन्थे । इन्दिरा भाउजूबाट प्राप्त जानकारी अनुसार उहाँका आँखा साना अक्षर लेखपढकै क्रममा चीनदेखि नै राता हुने, सुक्खा हुने र चिलाउने भएका हुन् । चीनमा उहाँले केही महŒवपूर्ण विषयमा निकै मिहिनेतपूर्वक काम गर्नुपरेको थियो ।
मसिना अक्षरको खेती गरी त्यसको जरामा बलियो विचार प्रत्यारोपण गर्न सक्ने भट्टज्यूको सिर्जनशीलता आफैंमा एउटा इतिहास हो । गहिरो कोदाली चलाएयुक्त छन् उहाँका लेखन–पठन । धेरै मेलो सिध्याउने हतारो–चटारो नभएकै कारण उहाँले गम्भीरतम साहित्य लेख्न सक्नुभयो । त्यसको परखबाट नेपाली समालोचना तथा भौतिकवादी चिन्तन वृत्त खास गरी प्रगतिवादी वाङ्मय निकै लाभान्वित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा