14th December 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

अस्थिरताको खेतीपाती



अस्थिरतालाई गोडमेल गर्ने शक्तिहरू पुनः सल्बलाउन थालेका छन् । अस्थिरताको खेतीपाती गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने शक्ति–पंक्तिहरू नेपाली राजनीतिमा पहिलादेखि नै सक्रिय थिए । अहिले तिनै शक्ति–पंक्तिहरू पुनः देशलाई राजनीतिक अस्थिरताको गोरेटातिर धकेल्ने मनशाय राखेर अनेक मुद्दा–विषयहरूलाई उछाल्न थालेका छन् । राजनीतिक स्थिरता कायम भए आफ्नो स्वार्थ र इच्छा पूरा नहुने भयबाट त्रसित भएर त्यस्ता शक्तिहरूले अहिले बजारमा अनेक हल्ला, अफवाह मात्र फैलाइरहेका छैनन्, वर्तमान सरकारलाई असफल सिद्ध भएको प्रमाणित तुल्याउन अनेक हर्कतहरू पेस गर्न अग्रसर देखिन थालेका छन् । पछिल्लो समय राजनीतिक मैदानमा देखिएका केही दृश्य–परिदृश्यहरूले राजनीतिक अस्थिरता निम्त्याउने पंक्तिहरू सक्रियतापूर्वक सल्बलाउन थालेको गहन प्रतीत हुन्छ ।
यतिखेर एउटा पंक्तिले वर्तमान सरकार मध्यावधि निर्वाचन गर्ने सोचमा पुगेको हल्ला पिटाइरहेको छ । कवि भूपि शेरचनले दशकपूर्व लेखेका थिए, ‘यो हल्लैहल्लाको देश हो ।’ हल्लैहल्लाको देशमा ‘मध्यावधि निर्वाचन’को हल्ला चल्नु अनौठो पक्ष कदापि होइन । तर, जुन पंक्तिले मध्यावधि निर्वाचनको हल्ला पिटाइरहेका छन्, तिनीहरूको मनशाय जसरी भए पनि देशमा राजनीतिक अस्थिरता निम्त्याउने नै रहेको प्रस्टै देखिन्छ । मध्यावधि निर्वाचन गर्ने सोचमा वर्तमान सरकार उभिएको छ वा छैन, त्यो बेग्लै पक्ष हो । तर, राजनीतिलाई अस्थिरताको आहालमा डुबाएर रमिता हेर्न चाहनेहरूले भने पछिल्लो राजनीतिक परिघटनालाई गलत विश्लेषण गर्दै ‘मध्यावधि निर्वाचन’को हल्ला घनीभूत तुल्याउँदै गइरहेका छन् । त्यस्ता शक्ति वा पंक्तिसँग सतर्क रहेर अनावश्यक हल्ला र अफवाहलाई चिर्नेतिर लाग्नु नै अहिलेको मुख्य दायित्व हो ।
अहिले देशमा वामपन्थी शक्तिको नेतृत्वमा दुई तिहाइको सरकार छ । वर्तमान सरकारले पूरै कार्यकाल छिचोल्ने अपेक्षा सबैले राखेका छन् । बेला–बेलामा ‘आलोपालो’को प्रसंग उठ्ने गरे पनि अन्ततः वामपन्थी शक्तिकै नेतृत्वमा पूरा कार्यकाल बित्ने अनुमान लगाउन मुस्किल पर्दैन । सरकार गठन भएको १६ महिनाको अवधिमा देशमा राजनीतिक स्थिरता कायम हुँदै मात्र गएको छैन, समृद्धिका आधारहरू पनि निर्माण हुँदै गइरहेका छन् । निर्वाचनको बेलामा पनि नेपाली जनताले वामपन्थी शक्तिलाई चयन गर्नुको पछाडि वामपन्थी सरकारको नेतृत्वमा देशको आर्थिक समृद्धि हासिल हुने र राजनीतिक स्थिरता कायम हुने अपेक्षा र चाहनाले भूमिका खेलेको थियो । जनचाहनाले बिस्तारै आकार लिँदै गइरहेको पनि छ ।
तर, राजनीतिक स्थिरता कायम भए आफ्नो स्वार्थ डुब्ने भयले आक्रान्त पंक्ति भने अस्थिरताको खेती गर्न उद्यत देखिन थालेका छन् । यो नेपाली राजनीतिको विडम्बना नै हो । राजनीतिक अस्थिरता मच्चाएर आफ्नो कुत्सित इच्छा पूरा गर्दै आएका शक्ति–पंक्ति वामपन्थी शक्तिको नेतृत्वमा गठन भएको सरकारले स्थायित्व पाउन थालेपछि भित्रभित्रै छटपटिएका मात्र छैनन्, अस्थिरताका बीउहरू रोप्ने र त्यसलाई गोडमेल गर्ने ध्याउन्नमा पनि जुटेका छन् । २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार गठन गरेपछि जसरी दरबारिया शक्तिले राजनीतिक अस्थिरता निम्त्याउन भित्रभित्रै भूमिका खेलेको थियो र दरबारिया शक्तिको षड्यन्त्र र कांग्रेसभित्रकै किचलोले देशलाई मध्यावधि निर्वाचनतिर धकेल्न बाध्य पारिएको थियो, अहिले पनि त्यस्तै गलत सोच र चिन्तन भएका शक्ति–पंक्तिहरू वामपन्थी शक्तिको नेतृत्वमा गठित सरकारलाई असफल तुल्याउन मध्यावधिको डंका पिट्न थालेका छन् । विगतमा दरबारले संसदीय व्यवस्थालाई असफल तुल्याउन जसरी अनेक हतकण्डाहरू अपनाउँथ्यो, अहिले वामपन्थी शक्तिको नेतृत्वमा गठित सरकारलाई असफल तुल्याउन दक्षिणपन्थी–प्रतिक्रियावादी शक्तिहरू गोप्य रूपमा क्रियाशील रहेकोमा कुनै शंका छैन । पछिल्लो समय उत्पन्न केही राजनीतिक, सामाजिक, सांस्कृतिक विवादहरूलाई उछालेर धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको पछाडि तिनै तŒव र शक्तिहरूको भूमिका रहेकोमा कुनै सन्देह देखिँदैन ।
राजनीतिक स्थिरता अहिलेको चुनौती हो । धमिलो पानीमा माछा मार्ने पंक्तिहरू जहिल्यै क्रियाशील रहन्छन् र मौका हेरेर बसिरहेका हुन्छन्, त्यस्ता शक्ति–पंक्तिहरू । वामपन्थी नेतृत्वको सरकार र त्यसलाई हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टीले अस्थिरता निम्त्याउन चाहने शक्ति–पंक्तिहरूको बेलैमा पहिचान गरेर तिनीहरूका हल्ला, अफवाहलाई चिर्ने, तिनीहरूको योजनालाई असफल तुल्याउने कार्य गर्नुको विकल्प देखिँदैन । स्थिरता कायम रह्यो भने मात्र देशलाई आर्थिक समृद्धिको दिशामा अग्रसर तुल्याउने सरकारको योजनाले मूर्त रूप पाउनेछ । होइन भने सबै योजना भताभुंग हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

सुरज भए झनै निष्क्रिय

ShareTweet काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउन अचेल दिनरात खटिइरहेका छन् । भ्रमण वर्ष नजिकिँदै- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कसरी बिर्सिए यिनी ?

ShareTweet पञ्चायती कालरात्रिलाई भोगेका सर्जकहरूले त्यो निरंकुश व्यवस्थालाई लल्कार्ने आधार बनाए, सिर्जनालाई । सिर्जनाका अनेक माध्यममध्ये तत्कालीन समयमा सशक्त मानिन्थे,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

हिन्दु देवताको शल्यक्रिया

ShareTweet क्रिस्टोफर कडबेलले भनेका थिए, ‘धर्म एक मिथ्या सूर्य हो, जो दिग्भ्रमित मानिसहरूको वरिपरि परिक्रमा गर्दछ ।’ हुन पनि, मानव जातिको उत्पत्तिकालदेखि नै धर्मको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा