18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

रूपचन्द्र विष्ट ः व्यक्ति एक, व्यक्तित्व अनेक



रूपचन्द्र विष्ट ः व्यक्ति एक, व्यक्तित्व अनेक

उत्तरी मकवानपुरको घर्तीखोलामा सैनिक परिवारमा जन्मिनुभएका थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट सचेत विद्रोही मात्रै हुनुहुन्नथ्यो, सच्चा जनप्रतिनिधि पनि हुनुहुन्थ्यो । आजीवन मान्छे जगाउने यात्रामा होमिनुभएका उहाँ ठान्नुहुन्थ्यो, ‘प्रजातन्त्र छाप्रोमा सुतिरहेको छ ।’ उहाँले तिनै छाप्रेहरूका लागि राजनीति गर्नुभयो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन’, उहाँ भन्नुहुन्थ्यो, ‘आफ्नो राजनीति आफैंले गर्नुपर्छ । त्यसका लागि जाग्नुपर्छ, जाग्नका लागि थाहा चाहिन्छ ।’
कलिलो उमेरमै रूपचन्द्रले घरपरिवारको कडा वातावरणमा विद्रोह गरेर घर छोडी नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । तत्पश्चात् पार्टीका महासचिव पुष्पलालको अंगरक्षक एवं काठमाडांै जिल्ला समिति सदस्य भएर काम गर्नुभयो । यो कमरेड निर्मल लामा नेपाल कम्युनिस्ट पार्टीको काठमाडांै जिल्ला सेक्रेटरी हुँदाको कुरा हो । उहाँलाई काठमाडौंको पश्चिमी इलाका कीर्तिपुर, पाँगा, नैकाप, थानकोटलगायत क्षेत्रमा किसान जागरण अभियानको जिम्मेवारी दिइएको थियो । त्यहीबेलादेखि उहाँ विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरूभन्दा फरक देखिनुहुन्थ्यो । त्यति मात्र होइन, महासचिव पुष्पलालको प्रिय पात्रका रूपमा समेत उहाँ दरिनुभएको थियो ।
तर, आफ्ना केही स्वभावजन्य कारणबाट उहाँ २०११ सालमा कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल र निर्मल लामासँग दुई वर्षका लागि पार्टीबाट बिदा हुनुभयो । तर दुर्भाग्य ! त्यसरी बिदा बस्नुभएका रूपचन्द्र विष्ट अर्थात् रुदाने त्यसपछि जीवनपर्यन्त कहिल्यै कुनै पार्टीमा संलग्न हुनुभएन । तर पनि कम्युनिस्ट सिद्धान्तबाट भने उहाँ कहिल्यै विचलित हुनुभएन । २०१५ सालको आमनिर्वाचनमा रुदाने स्वतन्त्र कम्युनिस्टको परिचयमा उम्मेदवार हुनुभयो । त्यसबेलाका कम्युनिस्ट कार्यकर्ताले उहाँको पक्षमा खुलेर प्रचार गरेका थिए । राजनीतिमा लागे पनि उहाँले आफ्नो प्राज्ञिक स्वाध्ययनलाई छाड्नुभएन । उमेर ढल्केपछि पनि उच्च शिक्षा हासिल गर्न उहाँ स्नातकमा भर्ना हुनुभयो । उहाँले कानुनमा स्नातक परीक्षा दिइवरी दुवैमा उत्तीर्ण भए पनि सबैको रोहवरमा ती प्रमाणपत्रहरू जलाइए ।
उहाँको भनाइ थियो कि ती प्रमाणपत्रहरू समाजलाई धोका दिन मात्र काम लाग्छ । मान्छे हुन त अनुभव, अनुभूति र साक्षात्कार अर्थात् थाहा हुनुपर्छ । उहाँको एक दृढ अठोट के थियो भने बालिग मताधिकारका आधारमा हुने निर्वाचनमा आफ्ना विचार राखेर जनतामा जान छोड्नुहुँदैन । हारजितसँग सम्बन्ध राख्नु आवश्यक छैन । जनतालाई निर्वाचनका बेला विचारको गर्भाधान गर्न सहज हुन्छ भन्ने उहाँको अठोट थियो । यहीअनुसार रुदाने दामन गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भई निर्वाचन जित्नुभयो । यसअघि उहाँ वडाध्यक्षसमेत हुनुभएको थियो । त्यति मात्र होइन, रुदानेले २०१९ सालमा काठमाडौंको कालिमाटी ग्राममा पनि निर्वाचन जित्नुभएको थियो ।
हरपल उहाँ जनता जगाउने कार्यमा सक्रिय भइरहनुभयो । निर्दलीय चरम दबदबाका कारण आफंैले स्थापना गरेको हाइस्कुलको प्रधानाध्यापक पद छाडेर दामनमा उहाँ नौ वर्ष बाख्रा पालन गरेर बस्नुभयो । आफ्नै खाना पसल र लज खोलेर आफंैले सबै काम गरेर दामनको टावरमा पर्यटकलाई घुमाउने काममा समेत उहाँ संलग्न हुनुभयो । यसले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो । २०३७ सालको निर्दल कि बहुदल भनेर गरिएको जनमतसंग्रहमा नीलो लुगा लगाएर उहाँले बहुदलको पक्षमा जिल्ला भ्रमण गर्नुभयो । त्योबेलासम्ममा उहाँले वनस्पतिशास्त्र, जीवशास्त्र, ज्योतिष शास्त्र, अन्तरिक्ष शास्त्र, पूर्वीय दर्शनसमेतको यथेष्ट अध्ययन गरिसक्नुभएको थियो । उहाँ विभिन्न भाषाका ज्ञातासमेत हुनुहुन्थ्यो । जसका कारण अध्ययन गर्न पनि सजिलो भयो । खासगरी संस्कृत भाषा र अंग्रेजी भाषामा उहाँको अझ धेरै दखल थियो ।
खासमा २०२० देखि २०३७ सालसम्म नै उहाँको जनमुखी अभ्यास काल थियो । यही अवधिमा नै उहाँमा ज्ञानको भण्डार भएको र दर्शन क्षेत्रमा पनि ठूलो उपलब्धि भएको हो । यही ज्ञान र अनुभूतिलाई थाहा दर्शनका रूपमा २०३८ सालको दोसं्रो आमनिर्वाचनदेखि २०५६ सालसम्म सम्प्रेषण गर्नुभयो । यसैका आधारमा यो अवधिलाई उहाँको विचार सम्प्रेषण काल मान्न सकिन्छ । जुन कुरा उहाँले राष्ट्रिय पञ्चायत सदस्य (रापस) पदमा बसेर आफ्नो विचार दिइरहुनभयो । त्यसका लागि रापस पदसाधन मात्र भएको थियो ।
मकवानपुरबाट थालिएको यो थाहा आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठूलो बल मिलेको थियो । हालका कम्युनिस्ट पार्टी गठन र विस्तारमा पनि यही जग नै पर्याप्त बनेको थियो ।
उहाँको लवाइ, खुवाइ, हिँडाइ, बोलाइ, गराइलगायत सबै कुरा सरदर मानिसको भन्दा फरक देखिन्थ्यो । सामान्य मानिस उहाँलाई हेरेर रमाउँथे, नजिकै झुम्मिन्थे । तर टाठाबाठा, शोषक, सामन्त, हुनेखानेहरू नजिक आउन बडो सकस मान्दथे । यसका विभिन्न कारण छन् ।
उहाँको वलिष्ठ शरीर, गहिरो अध्ययन, अपार ज्ञान भण्डारका कारण अदम्य साहस पनि थियो । शासकहरू उहाँदेखि सधैं आतंकित हुन्थे । रापस (राष्ट्रिय पञ्चायत सदस्य) हुँदा जेल हालियो । राजाका दूत जेलमा गएर भने ‘जीवन जेलमा नै बिताउने कि महाराजले दिएको सबै मन्त्रालय हेर्नेगरी मन्त्री बन्ने वा प्रधानमन्त्री ? वा रोजेको मन्त्री ?’ रूपचन्द्रले ती दूतलाई लेखेर दिनुभयो, ‘तिम्रा यस्ता बेठीक व्यवस्थामा हामीजस्तालाई मन्त्री पदमा पाइँदैन । मेरो ज्यान बाहिरभन्दा यही जेलमा राख्न उपयुक्त छ । किनकि, यहाँ मारिँदा त दोष अरूलाई लगाउन मिल्दैन होला नि मरिच !’ त्यसबेला मरिचमान प्रधानमन्त्री थिए । ती दूत रुदानेको सोही व्यहोराको पत्र बोकेर राजा कहाँ गएका थिए । ती दूत थिए वीरेन्द्रकेशरी पोखरेल । अर्का दूत मरिचमान आफैं थिए । अब रूपचन्द्रले रापसको हैसियतमा गरेका साहसिक वैधानिक विद्रोहहरूबारे केही चर्चा गरौं ।
तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव मूल समारोह समितिमा राष्ट्रिय पञ्चायत सदस्यको हैसियतमा सदस्यमा उहाँ पनि मनोनयनमा पर्नुभएछ । उहाँलाई सोको जानकारीसहितको चिठी आयो । रुदानेले सो चिठी ल्याउने व्यक्तिलाई सोही चिठीको पछिल्लो भागमा ‘आयोजक ! जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ । रापसरु’ लेखेर चिठीको भर्पाई गरिदिनुभयो । अनि भन्नुभयो, ‘त्यसैले, मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन । जसले आफ्नो जन्मोत्सव मनाउँदैन, उसलाई अरूको जन्मोत्सव मनाउने हक हुँदैन । रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र)’ भनेर लेखी सो पत्र फिर्ता पठाइदिनुभयो ।
यस विषयलाई लिएर तत्कालीन पञ्चायतका केही व्यक्तिले रुदानेलाई कारबाही गरिनुपर्छ भनी पञ्चायत नीति तथा जाँचबुझ समिति (पनिजाबुस) मा उजुरी हाले । त्यति मात्र होइन, जन्मोत्सव समारोहमा कारबाहीको माग गरी भाषण पनि गरे । जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे तर रुदानेले सो पत्रको पृष्ठ भागमा लेखेको कुरा नै स्पष्टीकरण हो भनी जवाफ दिनुभयो ।
यसभित्र ठूलै सैद्धान्तिक, दार्शनिक र राजनीतिक कुरा छन् । के कुनै मान्छे जन्मेको कारण समाज र मानव जातिलाई कति सकारात्मक प्रभाव प¥यो ? त्यसअनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परे त शोक पो मनाउनुपर्ने हो नि । तर, दुष्ट मनुष्यले पनि उत्सव मनाउने अनि अरूले हो÷हो गर्ने काम किन प्रचलन भयो ? यो प्रश्नको उत्तर अहिलेका जन्मोत्सव मनाउन केक काटेर प्रचार गर्नेले दिन सक्छन् ? केक काटेर उत्सव मनाउने चलन कहाँबाट किन आयो ? वर्तमान बुज्रुगले बलपूर्वक व्याख्या गर्न खोज्लान्, तर औचित्य पुष्टि गर्न सक्दैनन् । निरंकुश राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई रुदानेले दिएको उत्तर तत्कालीन शासकलाई कडा चुनौती नै थियो । तर, आजको परिवर्तित समयमा पनि यो बेथिति घटाउन सकिएन ।
यसैगरी तत्कालीन बडामहारानी ऐश्वर्यको जन्मोत्सवमा रुदानेको नाममा एउटा चिठी आयो । स्मारिका प्रकाशन गर्न लागेकाले बडामहारानीबारे रापसहरूसँग एक–एकवटा लेख मागिएको थियो । यसमा रुदानेले एक कागज माग्नुभयो र लेखिदिनुभयो, ‘ऐराल एक ठूलीबडी आइमाई हुन्, किनकि उनले राजासँग विवाह गरिन् । रुदाने’
यो कागज लिएर सो हलकारा दरबार गयो । यसमा कम आँटको कुरा छैन । मै हुँ भन्ने हालका नेताले पनि यो साहस गर्न सक्दैनथे । यस प्रकरणमा पञ्चहरूले कराउन हिम्मत गरेनन्, किनकि यसमा कागज छुट्टै थियो । ऐरालको अर्थ (ऐश्वर्य राज्यलक्ष्मी) लगाउनुपर्दथ्यो । अनि राजासँग विवाह भनेको कुन राजा ? बडामाहाराजधिराज श्री ५ पो संवैधानिक राजा हुन् । अरू त सयौं राजा हुन्छन् नि भन्दै विभिन्न तर्कवितर्क उठ्यो ।
एकपटक दरबारका विरुद्धमा नै रुदानेले राष्ट्रिय पञ्चायतभित्रै भाषण गर्नुभयो । उहाँले ‘सरकार ! दरबारमा बसेकाहरूले अपराध–अन्याय गरे, जनता आपतमा परे’ भनेर भन्नुभयो । अनि पन्चे रापसले तत्काल नियमापत्ति गरे । कारबाहीको माग राखे । अध्यक्षले रापसरुलाई स्पष्टीकरण दिन आदेश दिए । रुदानेले ‘मैले भनेको कुरा सत्य छ । स्पष्टीकरण त सरकार दरबारमा बस्नेले दिनुपर्ने हो’ भनी जवाफ दिनुभयो । त्यसपछि सदनमा हंगामा नै भयो । केही मण्डले प्रवृत्ति भएकाले ‘रुदानेले यो राजदरबारलाई भनेको हो । यस्तो भन्नेलाई कडा कारबाही गर्नुप¥यो’ भन्ने माग राखे ।
फेरि अध्यक्षबाट आदेश भयो, ‘माननीय रूपचन्द्र विष्ट, प्रस्ट भन्नुप¥यो, यो के भन्न खोज्नुभएको हो ?’ रुदानेले फेरि जवाफ दिनुभयो, ‘दरबार त मुलुकमा धेरै छन् । सिंहदरबार, बागदरबार, सेतोदरबार, लालदरबार आदि तर श्री ५ महाराजधिराजको दरबार वा राजदरबारलाई त राजप्रासाद पो भनिन्छ त । यति कुरा नबुझ्नेहरू चाकरी गर्न व्यस्त छन् । केही कारबाही हुन्छ भने जसले राजदरबार भन्ने शब्द जोडे उतै होस्’ भनी जवाफ दिनुभयो ।
त्यसपछि सदनमा हाँसोको पर्रा छुट्यो । फेरि यसमा आपत्ति गर्ने आँट गरेनन् । वास्तवमा दरबार भनेको सामान्य रूपमा जनताले राजदरबार नै बुझ्ने हो । कर्मचारी पनि दरबार नै भन्थे । यसको मतलब राजदरबार नै हो । तर, संसदीय अभ्यासमा रुदानेले ती निरंकुश पन्चेलाई वैधानिक रूपमा पुष्टि गरिदिन्थे कि उनका भनाइ जनताले बुझ्ने तर कानुनले नसमात्ने । यो क्षमता पनि इतिहासमा स्मरणीय छ ।
अहिले आफैंले आफैंलाई माननीय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाहरूले त सम्माननीय किन नभनेको भनी संसद्मा आपत्ति गर्नेहरू पनि छन् । सम्माननीय शब्द राजतन्त्रसँग सम्बन्धित छ । सामन्त प्रथासँग सम्बन्धित छ । जसरी अधिराज्य भन्ने शब्द राजतन्त्रसँग सम्बन्धित छ । बेलायतले राइट अनरेबल भन्ने चलन चलायो । अपर हाउस, लर्ड हाउस भन्ने शब्द प्रयोग ग¥यो । यी सबै सामन्ती सोचका कुरा हुन् । रुदानेलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उहाँले सोध्नुहुन्थ्यो । जनता जाननीय भए ?
यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन्, तब उसको प्रतिनिधि माननीय हुन्छ । यो जनतन्त्रसँग सम्बन्धित छ । भारतमा प्रधानमन्त्रीलाई सम्माननीय भनिँदैन । राष्ट्रपतिलाई पनि सम्माननीय भनिँदैन । चीनमा पनि भनिँदैन । अमेरिकामा पनि भनिँदैन ।
तर बेलायतमा भनिन्छ किन ? सामान्य जवाफ छ । त्यहाँ राजतन्त्र छ । तर, नेपालमा किन यस्तो भनिन्छ ? नेपालमा राजतन्त्र थियो । बेलायतको जस्तै प्रिभी काउन्सिल सट्टामा राजपरिषद वा राजसभा थियो । तिनका सदस्यलाई सम्माननीय भन्ने प्रचलन राजाले बेलायतलाई हेरेर गरेका थिए । त्यसैले रुदानेले सदनमा कहिल्यै सम्माननीय शब्द प्रयोग गर्ने काम गर्नुभएन ।
एकपटक यस विषयमा पनि रुदानेले अध्यक्षलाई सम्माननीय भनी सम्बोधन नभएको कुरामा नियमापत्ति भयो । रुदानेले आफैंले अध्यक्षसँग तत्काल समय माग्नुभयो र भन्नुभयो ‘माननीय अध्यक्ष महोदय ! यो सदनभित्र कोही पनि सम्माननीय छैनन् । सबै माननीयको हैसियतमा उपस्थित छौं । यदि कसैलाई संम्माननीय चाहिएको हो भने राजसभातिर खोज्न जानुपर्छ कि ? यस कुरालाई लोकेन्द्रवहादुर चन्दसहितका माननीयहरूले टेबुल ठटाएर समर्थन गरेका थिए ।
२०३९ सालमा रुदानेले सार्वजनिक प्रश्न जनतासमक्ष गर्नुभयो । उहाँले भन्नुभयो, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्वको छ । यसैगरी ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।’
त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए । व्यवस्थाका अगुवा राजा थिए । तसर्थ, दोषी राजा नै हुन् भन्ने कुरा किटान गरिएको यो कुरा पर्चामा नै आएको थियो । अहिलेका दल र नेताले यो मनन गर्नुपर्ने बेला भएको छ । नत्र उही, ‘काम एकाथरीलाई, कमाइ अर्कोथरीलाई’ हुने सामाजवादको उल्टो व्यवस्था चलिरहन्छ ।
त्यसैले अहिलेका दल र नेताले तलको भनाइलाई आत्मसात् गर्नु आवश्यक छ । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘थाहासँग प्रेम गर, थाहा तिमीकहाँ आउँदै छ । थाहाप्रति इमान राख, कर्तव्य तिमीकहाँ आउँदछ, कर्तव्य हो जिन्दगीको सक्कल ।’
यही कुरामा ध्यान जाओस् र रुदानेलाई सम्झना राज्य तहबाटै गरियोस् । यो देश सप्रिए वा बिग्रिए दोष अहिलेको नेतृत्वलाई जान्छ । यो कुरा रुदानेले २०२९ सालमा अञ्चलाधीशसँग वयान दिँदा राजालाई लक्षित गरी भन्नुभएको थियो । ‘जो जति शक्तिमा छ, समाज सप्रे÷बिग्रे, त्यो त्यति जिम्मेवार छ ।’ यो कुरा अब नेपाल कम्युनिस्ट पार्टीमा लागू हुन्छ । जनताका असली सेवक रुदानेको २०औं स्मृति दिवस मनाइरहँदा हामी सबैले यो कुरा हृदयबाटै मनन गरौं ।
रूपचन्द्रले मानिसलाई जगाउन थाहा आन्दोलन चलाउनुभयो । हामी सबै जनममुखी सहकर्मी बनेर हिँड्यौं । भित्ताभित्तामा थाहा लेख्दै हिँड्दा मान्छेको चेतनामा विद्रोहको बत्ती बाल्ने कोसिस गरियो । राष्ट्रिय पञ्चायत सदस्यका रूपमा पञ्चायती व्यवस्थाको केन्द्रमा छिरेर कुव्यवस्था’माथि धावा बोल्न उहाँले नै हामीलाई सिकाउनुभयो । शासक र शोषकलाई आफ्ना तिखा शब्दहरूले घोच्न, थर्कमान बनाउन र बेथितिविरुद्ध अथक रूपमा जुध्न हामीलाई उहाँबाटै प्रेरणा भएको हो ।
(बिडारी संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा सदस्य एवं प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा