20th September 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

सदाबहार दीपक



सदाबहार दीपक

अचेल प्रविधिको तीव्रतम विकास र विस्तारले यस्तो सहजता÷सुविधा दिएको छ, कुनै प्रतिभाले आफ्नो प्रतिभा प्रस्फुटन गर्न निश्चित थलोमा धाइरहनुपर्दैन, न त कसैलाई गर्नु नै पर्छ, जीहजुरी । गायनमा रुचि भएकाहरूले ‘टिकटक’ रोजे भयो, साहित्यमा रुचि भएकाहरूले आफ्नो रचना वाचन गरेर ‘फेसबुक’मा राखे भयो । आफ्नो प्रतिभालाई सतहमा ल्याउन धेरै सहज छ अचेल । तर, ३० को दशकतिर यस्तो कुराको कल्पना गर्नु निरर्थक ठहरिन्थ्यो । अझ गायन क्षेत्रमा जम्न चाहने प्रतिभाहरूले त आफ्नो प्रतिभालाई सिँगार्ने थलो एउटै थियो– रेडियो नेपाल । रेडियो नेपालको ढोका पनि सबै प्रतिभाका निम्ति कहाँ खुला हुन्थ्यो र ? पहुँच हुनेहरूले मात्र रेडियो नेपालबाट आफ्नो प्रतिभा प्रवाहित तुल्याउन पाउँथे ।
तीसको दशकदेखि नै नेपाली गीत–संगीतको क्षितिजमा चम्किन थालेका दीपक खरेलले भने रेडियो नेपालमा सहजै प्रवेश पाए । विज्ञापन सेवामा कार्यरत दामोदर अधिकारीसामु एक दिन उनले भने, ‘दाइ, मलाई रेडियोमा गीत गाउन मन लागेको छ ।’ त्यो समय अधिकारी पुतलीसडकमा बस्थे र त्यहीँ नै खरेलको स्वरको स्तर जाँच्न चाहे उनले । माइकमा गीत गाइसकेपछि अधिकारीले भने, ‘तिम्रो स्वर त माइकमा फिट हुने खालको रहेछ, अब रेडियोमा आएर स्वर परीक्षणमा भाग लेऊ ।’
समयको गतिलाई कसले रोक्न सक्छ र ? बितिसकेको छ, चार दशक । चार दशकअघिको तिनै क्षण सम्झिँदै खरेल भन्छन्, ‘लहडैलहडमा म रेडियोमा स्वर परीक्षण गर्न गएको थिएँ । त्यो समय रेडियोमा गीत गाउन स्वर परीक्षण अनिवार्य थियो र सितिमिती तरिकाले स्वर परीक्षणमा उत्तीर्ण होइँदैनथ्यो ।’ संयोग, खरेलले स्वर परीक्षणमा आफूलाई उतारे र रेडियो नेपालमै कार्यरत द्वारिकालाल जोशीको शब्दमा उनले पहिलो स्वर भरे– ‘मैले रचेका गीतहरू तिमीलाई भनेर नसम्झ’ । यही शब्दमा २०३४ सालमा स्वर भरेका खरेलले त्यसपछिका दिनहरूमा भने फर्किएर हेर्नुपरेन । त्यही वर्ष गाएका ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा’ पछि त उनको प्रसिद्धिले शिखर छोइसकेको थियो ।
अझै पनि संगीत–समीक्षक प्रकाश साय्मिले भन्ने गरेजस्तै ‘अजर अमर संगीत’का पूरोधा खरेलको गायकीलाई मन पराउनेहरूको जमात धेरै छन् । तर, यात्राका सुरुवाती दिनहरूमा भने उनले झेलेका कथा–व्यथाहरूले भने वर्तमान पुस्तालाई खासै छुँदैन । रेडियो नेपालका हर्ताकर्ताहरूले वरिष्ठ र कनिष्ठबीचको भेदलाई त्यो समय राम्ररी नै छुट्ट्याएका थिए । उनी सम्झिन्छन्, ‘हामीजस्ता नयाँ प्रतिभालाई रेडियो नेपालले एक–डेढ महिनापछि मात्रै गीत गाउन समय दिन्थ्यो । तर, हामीभन्दा अग्रज प्रतिभाहरूलाई भने त्यस्तो भेद थिएन । उनीहरूले जतिबेला गीत गाउन चाहन्थे, रेडियोले भटाभट समय दिन्थ्यो । हामी भने डेट नपाएर छट्पटाउँथ्यौं ।’
उनको गायकीलाई चम्काउन शम्भुजित बाँस्कोटाको हात रहेकोमा कुनै सन्देह छैन । त्यही समयको कुरा हो, जतिबेला खरेल गायन क्षेत्रका प्रथम खुट्किलाहरू चढ्दै थिए । एकदिन राष्ट्रिय नाचघरमा जाँदा उनलाई देख्नेबित्तिकै शम्भुजितले सोधे, ‘तिमी दीपक होइनौ ?’ उनले स्वीकृतिमा टाउको हल्लाए । त्यसलगत्तै शम्भुजितले भने, ‘म पनि गीतहरूमा संगीत हाल्छु । मेरो एउटा गीत छ, गाउँछौ ?’ त्यो त्यही गीत थियो, जसले उनलाई एकैपटक आधार शिविरबाट सगरमाथाको चुचुरोमा पु¥याइदियो– ‘तिम्रो त्यो हँसिलो मुहारको…।’
उनी ती दिनहरू सम्झिँदै भन्छन्, ‘यो गीत यति धेरै चर्चित भयो कि रेडियो नेपालबाट दिनमा २–३ पटक नै बज्थ्यो । अहिलेको पुस्ताले पनि यो गीतलाई मन पराइरहेका छन् ।’ त्यसपछि त उनको ‘भाग्य’ चम्किहाल्यो । दीपक र शम्भुजितको ‘रसायन’ यति गज्जबले मिल्यो कि, एकपछि अर्का गीतहरू जन्मिए भटाभट र त्यसले नेपाली आधुनिक गीत–संगीतको क्षेत्रलाई माथि उठाउन र संगीतमा बेग्लै मीठास छर्न कुनै समय नै लागेन । पूर्णिमाको रात पनि…, यो कर्मभूमिको आँगनमा…, उपेक्षाको लहरमा…, तिम्रो हर प्रश्नको जवाफ…, प्रतीक्षा गर मेरी मायालु…जस्ता गीतहरूले दीपकको गायन कलालाई उपल्लो तहमा पु¥याउन यथेष्ट सहयोग गरे ।
गायनको पूर्वाद्र्धमा शम्भुजितको संगीतमा जमेका दीपक पछिल्लो समय भने अर्का प्रख्यात संगीतकर्मी दीपक जंगमको संगीतमा रमाए । २०५५ मा उनले गाएका ‘गरुँ कि मीठो भूल…’ त चर्चाको शिखरमा नै चढ्यो । त्यसयता बिहानीको सिरेटोमा…, मेरो संसार तिमी नै हौ…ले त दीपकको गायकीलाई उपल्लो तहमा पु¥याउन झनै यथेष्ट भूमिका खेले । अझ रमाइलो पक्ष त उनलाई उनका तीस–चालीसको दशकमा चलेका गीतहरूले नै अहिले पनि चिनाइरहेका छन् । थुप्रैपटक एकल सांगीतिक प्रस्तुति दिइसकेका उनलाई दर्शक–श्रोताहरूले तिनै पुराना गीतहरू गाउन अह्राउँछन् । आफ्नो पहिचान बनेका तिनै पुराना गीतहरू गाउन उनलाई रहर नलाग्ने त कुरै भएन । र, धक फुकाएर गाउँछन् पनि ।
जीवनका ६ दशकभन्दा बढी नै यात्रा छिचोलिसकेका दीपकले नेपाली आधुनिक संगीतमा आफूलाई जमाउन सक्नुको मूल कारण उनले जुन गीत गाउन चाहे, त्यसमा आफूलाई सम्पूर्ण रूपमा भिजाएर गाउने कलालाई पछ्याए । कुनै पनि शब्द र संगीतमा आफूलाई पूरै समर्पित तुल्याएर, भिजेर गाएका हुँदा नै उनका हरेकजसो गीतहरू अधिक श्रवणीय बन्न पुगे । तर, गीतको शब्द चयनमा भने उनी चुक्दैनन् । भन्छन्, ‘राम्रा शब्द भएनन् भने म त्यसमा गीत नै गाउँदिनँ । शब्द चयनमा म चुस्त छु ।’
–विवश वस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा