20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

पुष्पलालको वैचारिक प्रकाश पार्टी स्थापनादेखि संविधान कार्यान्वयनसम्म



पुष्पलालको वैचारिक प्रकाश पार्टी स्थापनादेखि संविधान कार्यान्वयनसम्म

आरम्भ
वर्तमानलाई गतिशील बनाउन र भविष्यलाई सुनिश्चित गर्न नै मानिसले इतिहासको स्मरण गर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लाग्नेहरूले आफ्नो समग्र चिन्तन, विश्लेषण र निष्कर्षलाई सामयिक बनाउन र माक्र्सवादीसम्मत गर्न पुष्पलालका रचनाहरूको गम्भीर अध्ययन गर्नु आवश्यक छ । पुष्पलालका सम्पूर्ण रचना माक्र्सवादी दर्शनको जगमा छन् । माक्र्सवादी दर्शन ‘मजदुर वर्गको संघर्षमा’ वा अर्को शब्दमा क्रान्तिकारी व्यवहारमा बाटो देखाउने ‘प्रकाश’ हो । त्यसकारण, माक्र्सवादी रचना र विचार अध्ययनलाई हामीले विशेष जोड दिनुपर्छ ।
१९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका कमरेड पुष्पलालको बाल्यकाल रामेछाप, ओलखढुंगा र खोटाङमा बित्यो । उहाँमा आफ्ना जेठा दाजु गंगालालको प्र्रेरणा रहेको पाइन्छ । गंगालाल र पुष्पलाल दुवै दाजुभाइले नेपाली राजनीतिमा चम्किला ताराका रूपमा आफ्नो नाम स्थापित गराउनुभएको छ । २०३५ साउन ७ गते भौतिक रूपमा निधन भए पनि उहाँले आफ्नो जीवनकालमा नेपालको कम्युनिस्ट आन्दोलनका खातिर गरेको योगदानका कारण उहाँ सदा सर्वदा हामीबीच रहिरहनुभएको प्रतीत हुन्छ ।
कमरेड पुष्पलालको सम्पूर्ण जीवन नेपाल राष्ट्र, नेपाली जनता र नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनप्रति समर्पित रह्यो । एसएलसीसम्मको शिक्षा हासिल गरिसकेपछि राजनीतिमा चासो राख्दै आउनुभएका उहाँ २००४ सालमा २३ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेसको सचिव हुनुभयो । त्यतिबेला नेपालमा राणा शासनविरुद्ध आन्दोलन सुरु भई आन्दोलन जुर्मुराउने तर्खर गर्दै थियो । १९८३ सालमा स्थापित टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजा परिषद् पनि राणा शासनविरुद्ध सक्रिय थियो । १९९७ सालमा क्रान्तिकारी योद्धाहरू धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराज शास्त्रीहरूलाई मृत्युदण्ड दिइसकिएको थियो । क्रान्तिकारी योद्धाहरूलाई दिइएको फाँसीले जनतामा आक्रोश बढाएको थियो । विशेषगरी नयाँ पुस्तामा आक्रोश तीव्र रूपमा बढिरहेको थियो । कुनै हालतमा राणा शासन ढाल्नुपर्छ भनेर युवापुस्ता अघि बढ्ने परिस्थितिको विकास भइरहेको थियो ।
सोही समयमा नै विराटनगरको जुटमिलमा त्यहाँका युवाहरू मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले अखिल नेपाल ट्रेड युनियनको स्थापना गर्नुभयो र त्यसको महासचिवका रूपमा मनमोहन अधिकारीले जिम्मेवारी प्राप्त गर्नुभयो । अखिल नेपाल ट्रेड युनियनको स्थापनापछि मजदुर आन्दोलन अगाडि बढ्यो । सो मजदुर आन्दोलनको सन्देश कमरेड पुष्पलालसम्म पुगेको थियो । नेपाली कांग्रेसभित्र डिल्लीरमण रेग्मी र बीपीको व्यक्तित्व टकरावले पुष्पलालमा कांग्रेसप्रति मोहभंग हुँदै गएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिहरूको गहन अध्ययन, कांग्रेसभित्रको आपसी कलह र उसले लिएको नीतिका कारण पुष्पलालले नेपाली जनताको मुक्तिका लागि कम्युनिस्ट पार्टी आवश्यक रहेको निष्कर्ष निकाल्नुभयो । माक्र्सवादबाट दीक्षित कम्युनिस्ट पार्टीले मात्रै मुलुक र जनताको हित गर्न सक्ने निष्कर्षमा पुग्नुभयो । त्यतिन्जेल औपचारिक कम्युनिस्ट पार्टी नभए पनि माक्र्सवादी अध्ययन मण्डलीको नाममा ससाना समूहहरू क्रियाशील थिए । उहाँले धेरै कम्युनिस्ट समूहसँग सम्पर्क गरेर कम्युनिस्ट पार्टीको स्थापना गर्नुपर्छ भनेर पहलकदमी लिनुभयो । परिणामस्वरूप सन् १९४९ अप्रिल २२ का दिनमा भारतको पश्चिम बंगालस्थित कलकत्ताकोे श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । त्यतिबेला चार नेता उपस्थित हुनुहुन्थ्यो । तर, उक्त बैठकमा सहभागी नभए पनि पछि पुग्नुभएकी मोतीदेवी श्रेष्ठलाई पनि कम्युनिस्ट पार्टीको संस्थापक सदस्य मान्ने निर्णय भयो र पाँचजना संस्थापक सदस्य भएको नेकपाको स्थापना भयो । यसैक्रममा केन्द्रीय संगठन कमिटीको गठन गरियो । त्यसपछि मात्र नेपालमा कम्युनिस्ट पार्टीको व्यवस्थित संगठन निर्माणको काम आरम्भ भएको हो ।
नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल
कमरेड पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान अतुलनीय छ । उहाँले नै नेपालमा कम्युनिस्ट पार्टीको आधारशिला खडा गर्नुभएको हो । उहाँ कम्युनिस्ट पार्टीको सिद्धान्तकार हुनहुन्थ्यो, विचारक हुनुहुन्थ्यो । सन् १८४८ मा कार्ल माक्र्स र एंगेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रको नेपालीमा अनुवाद गर्ने पहिलो व्यक्ति कमरेड पुष्पलाल नै हुनुहुन्छ । कम्युनिस्ट घोषणापत्र नेपालीमा प्रकाशित भएपछि युवापुस्तामा माक्र्सवादप्रतिको आकर्षण वृद्धि भएको इतिहास साक्षी छ र यहीबाट युवापुस्ताले दस्तावेजको अध्ययन गर्ने क्रम सुरु भयो । कम्युनिस्ट पार्टीको स्थापना हुनेबित्तिकै कम्युनिस्ट पार्टीको पहिलो पर्चा प्रकाशित गर्ने पनि पुष्पलाल नै हो । उहाँ कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स र भ्लादिमिर लेनिन र जोसेफ स्टालिनबाट मात्रै होइन, कमरेड माओत्से तुङबाट समेत प्रभावित हुनुहुन्थ्यो । महान् सर्वहारा रुसी समाजवादी क्रान्ति (अक्टोबर क्रान्ति) बाट मात्रै होइन, चिनियाँ अक्टोबर क्रान्तिबाट पनि प्रभावित हुनुहुन्थ्यो । उहाँले चिनियाँ क्रान्तिका दस्तावेजहरूको पनि गहिरो अध्ययन गर्नुभएको थियो । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन तथा माओत्से तुङका विचारहरूलाई शिक्षा ग्रहण गर्दै हाम्रो देशको परिवेशको समेत विश्लेषण गरी उहाँले नेपाली क्रान्तिको सिद्धान्त र क्रान्तिको बाटो प्रस्ट पार्नुभयो । कसरी शोषक वर्गको हातमा रहेको राज्यसत्तालाई उखेलेर फाल्ने ? कसरी शोषित र उत्पीडित जनतालाई संगठित गर्ने ? कसरी उनीहरूलाई परिचालित गर्ने ? यी सन्दर्भमा उहाँले नेपाली क्रान्तिको कार्यक्रम अघि सार्नुभयो, जसलाई हामीले महŒवपूर्ण मार्गदर्शनका रूपमा मान्दै आएका छौं ।
आज नेपाल जुन अवस्थामा पुगेको छ, नेपालको कम्युनिस्ट आन्दोलनले जुन उचाइ प्राप्त गरेको छ– त्यसको सबैभन्दा ठूलो श्रेय कसैलाई जान्छ भने त्यो कमरेड पुष्पलाललाई नै जान्छ । कम्युनिस्ट पार्टीको विचारधारात्मक जग र संगठनात्मक जग बसाल्न उहाँले नै महŒवपूर्ण भूमिका खेल्नुभयो । नेताका रूपमा अन्य समकक्षीहरूको योगदान पनि छ, तर पुष्पलालको भूमिका भने अरूको तुलनामा माथि देखिन्छ ।
कम्युनिस्ट पार्टीको पहिलो पर्चामा नै उहाँले नेपाली समाज र क्रान्तिको रूपरेखा प्रस्ट रूपमा प्रतिविम्बित गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र १५ सेप्टेम्बर १९४९ का दिन प्रकाशित भयो । त्यसले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्न सफल भयो । नेपाली क्रान्तिका लागि शत्रु को हुन् ? प्रहारको निसाना कोप्रति हो ? मित्रशक्ति को हुन् ? प्रधान अन्तरविरोध कोसँग छ ? क्रान्तिको रणनीति के हो ? क्रान्तिका उपलब्धि के हुनुपर्छ ? जनतालाई कसरी जागरुक र संगठित गर्ने ? कसरी जनतालाई आन्दोलित गराउने ? कसरी धेरै जनतालाई क्रान्तिमा सहभागी गराउन सकिन्छ ? कुन–कुन वर्गका मुद्दा के–के हुन् ? कुन वर्गलाई कसरी क्रान्तिमा सहभागी गराउने ? यी विषयमा उहाँले मसिनो ढंगले विषय वस्तु प्रस्तुत गर्नुभएको छ । सो दस्तावेज नै नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक दस्तावेजका रूपमा स्थापित छ । त्यो दस्तावेज नेपाली कम्युनिस्टहरूको साझा सम्पत्तिका रूपमा रहेको छ ।
पुष्पलालले त्यतिबेला नै विभिन्न वर्ग र तहका बीचमा आन्दोलनलाई जोड दिनुभयो । सोही क्रममा विभिन्न नेताका बीच विभिन्न कार्यविभाजन गरियो । नरबहादुर कर्मचार्यलाई विराटनगरको मजदुर आन्दोलनमा पठाइयो । बारा, पर्सा र रौतहटको किसान आन्दोलन, राजधानीका विद्वान् वर्ग, शिक्षक, विद्यार्थीजस्ता विविध कार्यक्षेत्र निर्धारण गरी विभिन्न नेतालाई खटाइयो । यसले कम्युनिस्ट पार्टी र आन्दोलनलाई विभिन्न वर्ग र क्षेत्रमा विस्तार गर्न सहयोग पु¥यायो ।
कमरेड पुष्पलालमा नेकपाको स्थापनादेखि पहिलो सम्मेलन, दोस्रो सम्मेलन तथा पहिलो, दोस्रो र तेस्रो महाधिवेशनसम्म नै वैचारिक पहल र संगठनात्मक सक्रियता प्रस्ट रूपमा देखा प¥यो । उहाँले पार्टीभित्र देखा परेको दक्षिणन्थी अवसरवादका विरुद्ध दृढताका साथ मुकाबिला गर्नुभयो । तर पनि कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी विसर्जनवाद हाबी भयो । जसले गर्दा कम्युनिस्ट पार्टी लामो समयसम्म वैचारिक संघर्षमै रुमलियो । परिणामस्वरूप किसान आन्दोलनले प्राप्त गरेको उचाइको समुचित सदुपयोग हुन सकेन । त्यस समयमा काठमाडौं नगरपालिकाको चुनावमा कम्युनिस्ट पार्टीले ५० प्रतिशतसम्म मत हासिल गरेको थियो । कम्युनिस्ट पार्टीले महिला र कर्मचारीको आन्दोलन सञ्चालन गरेर उनीहरूका बीचमा फैलिने काम गरेको थियो । मोहियानी हक तथा जमिनदारी प्रथाविरुद्ध आन्दोलन गरेर पनि कम्युनिस्ट पार्टी लोकप्रिय बन्दै गइरहेको थियो । त्यतिबेला नै कम्युनिस्ट पार्टी नेपाली कांग्रेसको हाराहारीको दोस्रो शक्तिका रूपमा स्थापित थियो । २०१५ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले अपेक्षाकृत नतिजा ल्याउन सकेन । यद्यपि, बलियो जग बनेको कम्युनिस्ट पार्टीलाई कसैले समाप्त पार्न भने सकेन ।
पार्टीमाथि प्रतिबन्ध लागेपछि पार्टीका कतिपय नेताहरूले आत्मसमर्पण गरे । विसर्जनवादी बन्दै क्रान्तिकारी चरित्रलाई समाप्त पारे । यद्यपि, पुष्पलाल नेतृत्वको क्रान्तिकारी पंक्तिले पार्टीको आधिकारिक धार समातेर क्रान्तिको झन्डालाई अघि बढाइरह्यो । त्यसपछि भएको दरभंगा प्लेनममा ठूलो वैचारिक संघर्ष चल्यो । २०१९ सालको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिव बनायो । तैपनि, पार्टी राम्रोसँग अघि बढ्न सकेन । पार्टी केन्द्र निष्क्रियजस्तै बन्यो र अन्तरद्वन्द्वहरू बढ्दै गए । २०२२ सालसम्म पुग्दा पार्टी केन्द्र गतिहीनजस्तै बनिसकेको थियो ।
केन्द्र गतिहीनजस्तै बनिसकेपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउने अभियान सुरु भयो । विभिन्न जिल्लाका कमिटीहरूले स्वतन्त्र ढंगले काम गरिरहेकै थिए । मनमोहन, मोहनविक्रम, निर्मल लामा, डीपी अधिकारी र शम्भुरामहरूको अगुवाइमा काम भइरहेका थिए । यसले के देखाउँछ भने नेपालको कम्युनिस्ट आन्दोलन कुनै नेता विशेषको मात्रै थिएन, त्यो आम जनताको आन्दोलनका रूपमा अघि बढेको थियो । जनताको पंक्तिमा पुगेको थियो, आमजनताको सरोकारको विषय बनेको थियो । त्यस्तो संकटको समयमा पनि कम्युनिस्ट पार्टी समाप्त भएन र निष्क्रिय पनि भएन ।
कमरेड पुष्पलालले २०२५ सालमा तेस्रो सम्मेलन गर्नुभयो र २०२९ सालमा चौथो सम्मेलनको आयोजना गर्नुभयो । त्यसबाट नेपाली जनवादी क्रान्तिको कार्यक्रम नामको दस्तावेज अघि सार्नुभयो । त्यति मात्रै होइन, ‘कम्युनिस्ट आन्दोलन किन अघि बढ्न सकेन ? कहाँ समस्या देखियो ? कारण के–के हुन् ?’ भनेर १८ वर्षको इतिहास समेटेर कम्युनिस्ट आन्दोलनको सिंहावलोकन नामको दस्तावेज लेख्नुभयो, जसमा उहाँले कार्यशैलीमा विशेष सुधार आवश्यक रहेको बारेमा पनि आफ्ना विचार अघि सार्नुभएको थियो । घटनाक्रम र विषयवस्तुलाई सैद्धान्तिक तथा व्यावहारिक रूपमा लिने र विश्लेषणसहित भ्रम चिरेर अघि बढ्ने काममा पुष्पलाल सफल नेता हुनुहुन्थ्यो ।
पुष्पलाल पार्टी कार्यकर्ताको चेतना बढाउने कुरालाई महŒव दिनुहुन्थ्यो । उहाँले इतिहासका निर्माता जनता हुन् र कम्युनिस्ट पार्टीको जनतासँगको सम्बन्ध घनिष्ठ हुनुपर्छ भन्नुभएको छ । त्यसका लागि पार्टी कार्यकर्ताहरू राजनीतिक रूपले प्रशिक्षित हुनैपर्छ भन्ने उहाँको मान्यता थियो । सुस्पष्ट विचारद्वारा सुसज्जित कार्यकर्ताले जनतालाई पार्टीमा संगठित गर्न सक्छन् भन्ने कुरामा उहाँले जोड दिनुभयो । भूमिगत काल, खुला राजनीति र शासनसत्तामा पुगेपछि पनि पार्टी नेता तथा कार्यकर्तामा क्रान्तिकारिता आवश्यक हुनुपर्छ भन्ने कमरेड पुष्पलालको दृष्टिकोण थियो । पार्टी नेता–कार्यकर्ताले आफूलाई निम्न पुँजीवादी प्रवृत्ति तथा विकृतिहरूबाट जोगाउन वैचारिक संघर्ष चलाउने, चरित्रलाई क्रान्तिकारी बनाउने र जनताका समस्यासँग एकाकार हुने कुरालाई कमरेड पुष्पलालले सधैं केन्द्रमा राख्नुभयो ।
पुष्पलाल एक देशभक्त र निष्ठावान् कम्युनिस्ट नेता हुनुहुन्थ्यो । उहाँ एक असल अध्येता पनि हुनुहुन्थ्यो । नेपाली समाजको राम्रो अध्ययन गर्ने क्रममा उहाँले नेपालको मातृसत्ताबारे पुस्तक पनि लेख्नुभएको छ । उहाँले कोलकाताको पुस्तकालयमा बसेर गहिरो अध्ययन गर्नुभएको थियो । नेपालको इतिहास समेटिएको पुस्तक लेख्ने उहाँको प्रयास सफल भएन । तर, उहाँले नेपालबारे लेखिएका संसारभरका पुस्तक अध्ययन गरेर नोट तयार पार्नुभएको थियो । त्यसलाई हिस्टोरिकल नोटका रूपमा छापिएको छ ।
पुष्पलालमा अध्ययनशीलताको गुण अनि ज्ञान प्राप्त गर्ने भोक थियो । पार्टी कार्यकर्ताले अध्ययनलाई जोड दिनुपर्छ भन्ने उहाँको मान्यता थियो । पुस्तक अध्ययन गर्ने, ज्ञान हासिल गर्नेहरूले नै पार्टीलाई गति दिन सक्छन् र समाज परिवर्तन गर्न सक्छन् भन्ने उहाँको विचार थियो । पुष्पलाल एक कुशल विचारक र अध्येता हुनुहुन्थ्यो ।)
नेकपा (माले) को गठन
सन् १९७० को दशकमा आएर चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवाडी आन्दोलनको प्रभाव नेपालमा पनि परिरहेको थियो । विद्यार्थी र युवाहरूमा त्यसले ऊर्जा थपिरहेको थियो । त्यहीक्रममा नेकपाको पूर्व कोसी प्रान्तीय कमटीको मातहतमा रहेको झापा जिल्ला कमिटीले विद्रोह ग¥यो । रामनाथ दाहाल, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारीजस्ता योद्धाहरूले झापा आन्दोलन अघि बढाउनुभयो । त्यसलाई विद्रोहका रूपमा अघि बढाउँदा प्रतिक्रियावादीहरूको ध्यान पनि झापामा केन्द्रित भयो । झापामा चर्काे दमन भयो । त्यसपछि त्यहाँको आन्दोलन अस्तव्यस्तजस्तै बनेको थियो ।
मोरङमा नेपाल क्रान्तिकारी संगठन (माक्र्सवादी–लेनिनवादी) क्रियाशील थियो । त्यसले सो क्षेत्रमा मजदुर र किसानका बीचमा राजनीतिक गतिविधि सञ्चालन गरिरहेको थियो । झापामा चर्काे दमन भएपछि झापा र मोरङका क्रान्तिकारी मिलेर २०३१ साल जेठमा क्रान्तिकारी अपिल जारी गरे । त्यसको प्रचारप्रसारका क्रममा क्रान्तिकारीहरूलाई गोलबन्द गर्ने प्रयास गरियो । क्रान्तिकारी अपिलकै प्रभावमा ०३२ सालको जेठ महिनामा विराटनगरमा मजदुर बस्तीमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके) स्थापना भयो । आठजनाबाट सुरु गरिएको कोकेले देशभर संगठन विस्तार ग¥यो । २०३४ सालमा पुष्पलालको समूहबाट विद्रोह गरेर मुक्ति मोर्चा समूह गठन गर्नुभएका जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, वामदेव गौतम, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरेहरू को–अर्डिनेसन केन्द्रमा एकताबद्ध हुनुभयो । सोही क्रममा २०३५ साल साउनमा धनुषामा भएको कोकेको तेस्रो सम्मेलनले नेकपा (माले) को स्थापना गर्ने निर्णय ग¥यो । सोही निर्णयका आधारमा २०३५ पुस ११ गते माओत्से तुङको जन्म दिन पारेर मोरङको इटहरामा मदन भण्डारीको व्यवस्थापनमा नेकपा (माले) को पहिलो सम्मेलन सम्पन्न भयो । त्यसले निर्माण गरेको नेतृत्व र संगठन देशभर फैलन थाल्यो । कोके र माले निर्माणमा महŒवपूर्ण भूमिका खेल्नुभएका सीपी मैनालीलगायतका योद्धाहरूले सबै क्षेत्रमा पार्टीको विस्तार गर्न थाल्नुभयो । किसानका बीचमा फैलिएको कोकेले मालेको रूप ग्रहण गरेपछि सहर, बजार, शिक्षक, कर्मचारी, मजदुर र विद्यार्थी तथा महिलाका बीचमा पनि विस्तारित हुँदै आयो ।
यसबीचमा नेकपा (माले) फैलिदै नेकपा (एमाले) मा रूपान्तरित भयो । यसले आफ्ना विगतका वैचारिक कमजोरीहरूलाई सुधार्दै संगठनात्मक क्रियाकलापलाई अघि बढाइएको छ र कम्युनिस्ट पार्टी लोकप्रिय बनाएको छ । विश्व कम्युनिस्ट आन्दोलन नै संकटमा परेको बेलामा नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने निष्कर्षसहित सहयोद्धाहरूसँगको सहकार्यमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त अघि सार्नुभयो । त्यसकै जगमा हामीले विश्व कम्युनिस्ट आन्दोलनसामु नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिएको र सफलता प्राप्त गरेका छौं ।
परिवर्तनमा कम्युनिस्ट पार्टी
२००७ सालको आन्दोलनताका कम्युनिस्ट पार्टीको भूमिका स्वीकार गरिएको थिएन । त्यसपछि कम्युनिस्ट पार्टीले विभिन्न उतारचढाव, फुट एवं एकताका अनेकौं चरण पार गर्दै देशव्यापी संगठन निर्माण ग¥यो र ०४६ सालको जनआन्दोलन गर्ने समयसम्म आइपुग्दा संयुक्त वाममोर्चाको निर्माण गरी आफ्नो उपस्थितिलाई सशक्त पार्दै नेपाली कांग्रेससँग झन्डै बराबरीको मात्रामा संयुक्त समझदारीसहित जनआन्दोलनमा सहभागी भयो । साँच्चै भन्ने हो भने त्यतिबेला उपत्यकालगायत कतिपय मुख्य सहरमा भएका आन्दोलनहरूको मुख्य नेतृत्व नै तत्कालीन वाममोर्चाले गरेको थियो, त्यसमा अग्रपंक्तिमा प्रमुख भूमिका खेल्ने नेकपा (माले) थियो । २०४७ सालमा कम्युनिस्ट पार्टी, कांग्रेस र संवैधानिक राजाले राष्ट्रिय राजनीतिलाई प्रभावमा पारेका थिए । २०६२÷६३ को जनआन्दोलनको समयमा कम्युनिस्ट पार्टीका दुई घटक नेकपा (एमाले) र नेकपा (माओवादी) तथा अर्काेतर्फ उदारवादी बुर्जुवा नेपाली कांग्रेस थियो । त्यसपछिका समयमा नेपालको राजनीतिमा झन्डैझन्डै दुई भाग कम्युनिस्ट र एक भाग कांग्रेस रहँदै आएको छ । अर्थात्, कांग्रेसहरू तीन भागको एक भागमा सीमित भएका छन् । कम्युनिस्ट पार्टी संसद्को पहिलो पार्टी बनिसकेको छ र चुनावमार्फत सरकार बनाएर परिवर्तनको नेतृत्व गर्न सक्छ भन्ने उदाहरण दिएको मात्र होइन, हालसम्म ६ जना प्रधानमन्त्री कम्युनिस्ट पार्टीको तर्फबाट बनिसकेका छन् ।
संयुक्त आन्दोलन र कमरेड पुष्पलाल
कमरेड पुष्पलालले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त जनआन्दोलनमा जोड दिनुभएको थियो । पुष्पलालले कांग्रेस र कम्युनिस्टको सहकार्यमा संयुक्त जनआन्दोलनको नीति अघि सार्नुभएको थियो । तर, कांग्रेसले २०४६ साल अघिसम्म उहाँसँग वा कम्युनिस्ट पार्टीहरूसँग सहकार्यका लागि कहिल्यै सकारात्मकता देखाएन ।
आज कम्युनिस्ट पार्टीले प्राप्त गरेको यो उचाइको पछाडि जनतासित एकाकार हुनु, जनतालाई सचेत र जागृत गर्नु, मित्रहरूको खोजी र शत्रुको पहिचान गरी तिनमाथि प्रहार गर्ने कारण महत्वपूर्ण रहेको छ । सहकार्य र सङ्घर्षका आधारहरू तयार गर्ने क्रममा आफ्नो पंक्तिको दायरा फराकिलो पार्ने कुराले नै कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याएको हो । सहकार्य र सङ्घर्षको प्रारूप पुष्पलालले अघि सारेका विचारको जगमा आधारित छ । पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको अवधारणाले नै २०४६ सालको आन्दोलन सफल भएको हो र २०६२÷६३ सालको आन्दोलनको वैचारिक जग पनि यसमै निर्भर रहेको छ । तर विडम्बना ! पुष्पलाल बाँचुन्जेल कांग्रेसले सहकार्य गर्ने वातावरण बनाएन । बीपी कोइरालाको कम्युनिस्ट विरोधी भावनाका कारण पुष्पलालको जीवनकालमै संयुक्त जनआन्दोलनको नीति सफल हुन सकेन । सहकार्यले कम्युनिस्टको शक्ति बढ्छ भनेर बीपीले सहकार्य कहिल्यै गर्न चाहेनन् । बीपीको निधनपछि कांग्रेसका गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कम्युनिस्ट पार्टीसँग सहकार्य गर्ने तत्परता देखाए । कम्युनिस्ट पार्टीले अघि सारेको सहकार्यको प्रस्तावका आधारमा कम्युनिस्ट र कांग्रेसको गोप्य संयन्त्र निर्माण गरियो । त्यसले आन्दोलनलाई सफल बनायो र अधिकार प्राप्तिको अन्तिम वार्ता राजासँग दरबारमा हुँदा समेत कम्युनिस्ट र कांग्रेसका नेताहरूले संयुक्त छलफल गरे । आन्दोलनको सफलतापछि कम्युनिस्ट, कांग्रेस र राजावादीका बीचमा त्रिपक्षीय छलफलबाट नै २०४७ सालको संविधान निर्माण भयो ।
२०६२÷६३ सालको जनआन्दोलनको वैचारिक आधार पनि प्रमुख शत्रुका विरुद्धमा अन्य शक्तिहरूको सहकार्य भएकाले यो पनि पुष्पलालको विचारमा आधारित छ भन्न सकिन्छ । आन्दोलनको सफलतापछि पनि संयुक्त जनआन्दोलन वा सहकार्यको नीति सान्दर्भिक छ । आन्दोलनका उपलब्धि जोखिममा पुगेकै बेला कम्युनिस्ट र कांग्रेसको सहकार्यले नै संविधान निर्माण भएको छ । त्यसको कार्यान्वयनका लागि पनि कम्युनिस्ट पार्टी र कांग्रेसको सहकार्य आवश्यक छ ।
नयाँ संविधानमा कतिपय गलत पक्ष पनि समेटिएका छन् । कम्युनिस्ट पार्टीको सिद्धान्तविपरीत जातीय र क्षेत्रीय विषयहरूलाई पनि संविधानमा लेख्ने प्रयास गरिएको छ । अझै पनि जातिवादी र विखण्डनवादी भड्काउ देखापर्ने गरेको छ । जसका विरुद्धमा तीव्र वैचारिक संघर्ष चलाउँदै राष्ट्रिय एकता, देशभक्ति र भौगोलिक अखण्डता र राष्ट्रिय अस्मिताको निम्ति कार्यकर्ता र जनतालाई जागरुक र सचेत बनाउनु जरुरी छ । त्यसैले, हामीले कमरेड पुष्पलालको ‘म नेवारबाट कम्युनिस्ट भइसकेको छु’ भन्ने भनाइको मूल मर्मलाई आत्मसात् गर्नु आज पनि उत्तिकै सान्दर्भिक छ ।
संविधान कार्यान्वयनमा पुष्पलालका विचारको सन्देश
संविधान निर्माणपछि हाम्रो देश अन्तिम संक्रमणकालमा प्रवेश गरेको छ । २०६२÷६३ देखि पहिलो संविधानसभाको अवसानसम्म पहिलो संक्रमणकाल, दोस्रो संविधानसभादेखि संविधान जारी हुँदासम्मको अवधि दोस्रो संक्रमणकाल र संविधान जारी भएपछिको समय तेस्रो संक्रमणकालका रूपमा हाम्रो सामु उपस्थित छ । संवैधानिक रूपमा यो संक्रमणकाल २०७४ साल माघ ७ गतेसम्म कायम रहन्छ । यस अवधिभित्र संविधान कार्यान्वयनको सवाल चुनौतीपूर्ण बनेको छ । संवैधानिक व्यवस्थाअनुरूप हामीले यही अवधिमा सम्पन्न गर्नुपर्ने तीनवटा निर्वाचन आफैंमा चुनौतीपूर्ण छन् । संविधानका प्रावधानअनुसार राजनीतिक संरचनाहरू बनाउने कुरा पनि कम चुनौतीपूर्ण छैनन् । नयाँ एवं प्रादेशिक व्यवस्थाअनुरूपका सयभन्दा बढी कानुनहरूको निर्माण तथा संशोधन अर्काे चुनौतीको विषयका रूपमा अघि आएको छ । एकातिर राजावादी शक्तिहरू राजतन्त्र पुनःस्थापनाको प्रयास गरिरहेका छन् भने अनेकन् शक्तिहरूको चलखेलले राष्ट्रियतामाथि पनि काला बादलहरू मडारिनै रहेका छन् ।
उल्लिखित विषम परिस्थितिमा नेपालका राजनीतिक शक्तिहरूले सहकार्य गर्नु मुलुकका लागि अपरिहार्य आवश्यकता बनेको छ । पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलन र सहकार्यको भावनालाई आज संविधान कार्यान्वयनका लागि समेत मार्गदर्शनका रूपमा ग्रहण गर्दै अहिलेका चुनौतीहरूको सामना गर्नु मुख्य राजनीतिक दलहरूको कर्तव्य हो । यसका लागि सहकार्य एवं संयुक्त पहलकदमी जरुरी छ ।
कमरेड पुष्पलालका विचारको प्रकाशमा संविधान कार्यान्वयनका चुनौतीहरू सामना गर्ने गरी बृहत् राष्ट्रिय सहमतिको निर्माण एवं सो सहमतिलाई कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकारको गठन गर्नु नै राष्ट्रको सर्वोपरि आवश्यकता हो । पदीय आकांक्षा वा निजी स्वार्थले मुलुकलाई ठूलो नोक्सानी त पु¥याउँछ नै यसले सिंगो राष्ट्रिय प्रक्रियालाई पनि धरापमा पार्नेछ । प्रत्येक दल र नेताले आफ्नो निजी एवं संकीर्ण स्वार्थबाट माथि उठेर राष्ट्रिय स्वार्थका पक्षमा उभिन सके मात्र हामीले अपेक्षित उपलब्धि हासिल गर्न सक्नेछौं । दूरदर्शी सोचका साथ देश र जनतालाई माया गर्नेहरू, परिवर्तनका पक्षधरहरू अघि बढ्नु आवश्यक छ ।
गत एक वर्षमा हाम्रो देशले विनाशकारी भूकम्पको क्षतिदेखि सामान्य आन्तरिक असन्तोषका जगमा उभिएर गरिएको नाकाबन्दीसम्मका कष्टपूर्ण घटनाक्रमहरू बेहोर्नुप¥यो । आर्थिक विकास र भूकम्पमा क्षति भएका भौतिक संरचनाहरूको पुनर्निर्माण एवं नाकाबन्दीबाट थलिएको अर्थतन्त्रलाई उकास्ने चुनौती जनजीविकाका सन्दर्भमा प्रमुख बनेर हाम्रा सामु उपस्थित छन् । यसका साथै जनतामा शान्ति, सुशासन, विकास र समृद्धिको चाहना चुलिएको छ । सीमित आन्तरिक स्रोतको व्यापक परिचालन गर्दै विविध क्षेत्रबाट प्राप्त हुन सक्ने सम्भाव्य सहयोगहरूको व्यापक परिचालनसहित आर्थिक विकास तथा समृद्धिको आधार निर्माण गर्न र न्यायोचित वितरणको व्यवस्थित प्रणाली निर्माणका लागि समेत तेस्रो चरणको संक्रमणकालमा प्रमुख राजनीतिक दलहरूका बीचमा सहकार्य अत्यावश्यक छ । अतः जनताको विकासप्रतिको चाहना, सुस्त गतिको आर्थिक विकास र स्रोतबीचको अन्तरविरोधलाई सम्बोधन गर्न पनि पुष्पलालले अघि सारेको मित्रशक्तिबीचको सहकार्य अपरिहार्य छ । यसका लागि उत्पादक शक्तिको विकास एवं नयाँ उत्पादन सम्बन्धमा समेत जोड दिनुपर्दछ ।
अन्त्यमा पुष्पलालका दृष्टिकोणको जगमा उभिएर हाम्रो पार्टीले देशभक्ति, लोकतन्त्र र सामाजिक न्यायसहितको आर्थिक समृद्धि र जनजीविकाको सवाललाई प्रधान मान्दै आएको छ । यी तीन कुराहरू क्रान्तिकारी पार्टीका तीन खम्बा हुन् । हाम्रो सन्दर्भमा देशलाई जोगाउन, लोकतन्त्रको रक्षा गर्न र परिवर्तनको नेतृत्व गर्न कम्युनिस्ट पार्टीले मात्रै सक्छ भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ । जनतामा कम्युनिस्ट पार्टीप्रति रहेको विश्वासलाई जोगाउँदै कम्युनिस्ट आन्दोलनलाई थप मजबुत बनाउन कम्युनिस्ट पार्टीले पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक परिवेशको माक्र्सवादी कोणबाट अध्ययन र विश्लेषणसहित दृष्टिकोण निर्माण गर्नुपर्दछ । यसरी दृष्टिकोण निर्माण गर्दा कमरेड पुष्पलालले अगाडि सार्नुभएका दृष्टिकोण एवं कार्यनीतिहरूले हामीलाई आन्तरिक बल प्रदान गर्ने गरेका छन् । संविधानको कार्यान्वयन एवं आर्थिक विकासको आधार निर्माण गर्नुपर्ने वर्तमान सन्दर्भमा समेत प्रमुख समस्याको समाधान गर्न गौण अन्तरविरोध भएका शक्तिहरूबीच सहकार्य गर्ने पुष्पलालको विचारले हामी सबै अभिप्रेरित हुन सके हाम्रा लक्ष्यहरू सहज रूपमा हासिल हुनेछन् र हाम्रो पार्टीले देश र जनताको सही नेतृत्व गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा