16th July 2019, Tuesday

सावित्रीको साढे पाँच दशक



सावित्रीको साढे पाँच दशक

शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत थिएन । सबै तह–तप्कामा पुरुष वर्चस्ववाद कायम थियो, झन् नाट्य क्षेत्रमा त नहुने प्रश्नै रहेन । तर, साढे पाँच दशकअघिको त्यो समाजमा उनले एउटा हिम्मत उठाइन् । ‘केटीहरूले नाटकमा खेल्नुहुँदैन’ भन्ने तत्कालीन समाजको बन्देजलाई तोड्दै उनी रंगमञ्चमा उत्रिइन् ।
त्यो २०१९ सालको कुरा थियो । सर्जक जगतमर्दन थापाले लेखेको नाटक ‘पलासको फूल’ बाट उनले ‘डेब्यु’ गरिन् । नेपाली नाट्य क्षेत्रमा ‘ठूलै क्रान्ति’ थियो त्यो । किनभने, त्यो नाटकमार्फत रंगमञ्चमा केटीहरू उत्रिँदै थिए । भर्खर ११ वर्षमा टेकेकी शर्मासँगै नाटकमा हिरोइन बनेर खेलेकी थिइन्– सुभद्रा अधिकारीले । उनी सम्झिन्छिन्, ‘त्यतिबेला महिलाहरूलाई नाटक खेल्ने अनुमति थिएन । समाजले पनि महिला कलाकारलाई स्वीकार गर्दैनथ्यो । पुरुषहरू नै महिलाको भेषभूषा पहिरेर नाटक खेल्थे । हामी रंगमञ्चमा उत्रिनुअघि दौलतविक्रम विष्ट, नीरविक्रम प्यासीजस्ता अग्रज कलाकारहरू महिला कलाकार बनेर खेल्थे ।’
‘पलासको फूल’मा छोटो भूमिका निर्वाह गरे पनि उनको अभिनय–क्षमतालाई धेरैजसोले ‘मार्क’ गरे । त्यसपछि अभिनयका लागि अनेक प्रस्ताव ओइरिन थाले । काठमाडौंकै समाजमा हुर्किएकी हुँदा उनमा नेवारी भाषामा पहुँच थियो । र, कतै नेवारी भाषाको नाटक हुँदा उनलाई निमन्त्रणा गर्न थालियो । भन्छिन्, ‘त्यो समय महिला कलाकारहरू निकै कम थिए । कतिपय नाटकमा महिला कलाकार चाहिने भएको हुँदा मलाई सबैले आमन्त्रण गर्थे ।’ हुन पनि त्यो समय सुभद्रा अधिकारी, भुवन चन्द, बसुन्धरा भुसाल र उनी मात्रै रंगमञ्चमा चिनिएका थिए ।
उनलाई परिचित तुल्याउने नाटक बन्यो– ‘कृषिवाला’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कृषिवालामा उनी मुख्य पात्र अर्थात् कृषिवाला बनेर खेलिन् । महाकवि देवकोटाका प्रिय शिष्य श्यामदास वैष्णवले निर्देशन गरेको ‘कृषिवाला’ राष्ट्रिय नाचघरमा आधा महिनासम्म नै प्रदर्शन भयो । त्यो नाटकमा उनले पूरै तन्मयतापूर्वक अभिनय गरे । करिब साढे पाँच दशकअघिको त्यो क्षण सम्झिँदै उनी भन्छिन्, ‘महाकवि देवकोटाले जुन कृषिवालाको परिकल्पना गर्नुभएको थियो, जुन पात्रलाई जन्माउनुभएको थियो, त्यो पात्र नै म हुँ भन्ने ठानेर अभिनय गरेकी थिएँ ।’
रंगमञ्चमा जमिरहेकै बेला उनको यात्रा मोडियो । रेडियो नाटकतिर उनको लगाव बढ्न पुग्यो । यो २०२२ सालको कुरा थियो । रेडियो नाटकका निम्ति उनको आवाज सुहाउँदिलो भयो र हरिप्रसाद रिमाल, श्यामदास वैष्णवले उनलाई रेडियो नाटकमा प्रवेश गराए । भन्छिन्, ‘त्यो समय नाटक रेकर्ड गर्ने चलन थिएन, प्रत्यक्ष प्रसारण हुन्थ्यो ।’ त्यो समय रेडियो नाटकमा यादव खरेल, मदनदास श्रेष्ठ, जितेन्द्र महत ‘अभिलाषी’, खगेन्द्र नेपाली, लोकमणि सापकोटा, हरिहर शर्मा आदि सक्रिय थिए । उनको स्वरलाई श्रोताहरूले यति मन पराए कि, कसैकसैले चिठी पठाएर विवाहको प्रस्तावसमेत राख्दथे । त्यसरी प्रस्ताव राख्नेले लेख्दथे, ‘मलाई तपाईंको स्वर मन प¥यो ।’
एक दशक अर्थात् २०२२–२०३२ सम्म उनी पूरै रेडियो नाटकमा भिजे । सुरुमा नाटकमा एक मिनेट बोल्दा ३ रूपैयाँ दिन्थ्यो, उनले छाड्ने बेला मिनेटको १० रूपैयाँसम्म पुगेको थियो । तर, रेडियो नाटकमा अभिनय गर्नुअगावै २०२६ सालतिर उनी नेपाल प्रज्ञा–प्रतिष्ठानमा जागिरे भइसकेकी थिइन् । त्यही समयताका अस्कल कलेजमा नाटक देखाइन्थ्यो, उनी नाटक हेर्न जान्थिन् । एकपटक नाटक खेल्ने एउटा ‘ठिटो’मा उनको नजर गाडियो । पछि त्यही ‘ठिटो’ आफूसँगै प्रज्ञा–प्रतिष्ठानमा जागिर खान आइपुगे । प्रज्ञा–प्रतिष्ठानमा आएका हरिहर शर्मा र उनले एउटा नाटकमा अभिनय गरे । प्रतिभा पलायनको विषयमा आधारित थियो, नाटक । हरिहर चिकित्सकको भूमिका थिए र उनीचाहिँ तिनै चिकित्सकको अन्धी बहिनीको भूमिकामा । अमेरिका पलायन हुन थालेका आफ्ना चिकित्सक दाजुलाई स्वदेशमै बस्ने आग्रह वरिपरि नाटकको विषयवस्तु घुमेको थियो ।
चिनजान भएको करिब ३ वर्षपछि त हरिहर र शकुन्तला लगनगाँठोमा बाँधिइहाले । ब्राह्मण केटा र जनजाति केटी । सामाजिक कट्टरता व्याप्त थियो नै । अन्तरजातीय विवाहलाई सहज रूपमा मान्यता दिन तत्कालीन समाज कहाँ अघि सथ्र्यो र ? तर, उनीहरू भने अन्तरजातीय कारणले खुम्चिनुपरेन । शर्मा भन्छिन्, ‘हाम्रो विवाहमा दुवै परिवार राजी भए । हामीले जग्गे राखेर नै विवाह ग¥यौं ।’ शर्मा दम्पतीको वैवाहिक समारोहका साक्षीहरू थिए– विजय मल्ल, प्रचण्ड मल्ल, लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, चूडानाथ भट्टराई, श्यामदास वैष्णव ।
नेपाली नाट्य क्षेत्रमा साढे पाँच दशकयता क्रियाशील शर्माले केही चर्चित नेपाली सिनेमामा पनि अभिनय कला पोखिन् । २०२४ सालमा निर्मित ‘हिजो, आज र भोलि’मा सानो भूमिका निर्वाह गरेकी उनले ‘वासुदेव’मा भने सावित्री अर्थात् एउटा इमानदार प्राध्यापकको पत्नीको भूमिकामा खेलिन् । उनी भन्छिन्, ‘सावित्रीले मलाई सिने क्षेत्रमा चिनायो, त्यो मलाई मन परेको भूमिका थियो ।’ यीबाहेक, बदलिँदो आकाश, चेलिबेटी, मायाप्रिती, चोखो माया, सन्तान थरीथीरका, जीवनरेखा, फस्ट लभजस्ता सिनेमा पनि उनको अभिनय क्षमता हेर्न सकिन्छ ।
उत्कृष्ट सिनेमाहरूमा खेले पनि उनलाई आनन्द भने रंगमञ्चमा उभिँदा नै आउँछ । जीवनको करिब सात दशक यात्रा पार गर्नै लागेका शर्माले पछिल्लो समय नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को जिम्मेवारी पनि पाएकी छन् र आफूलाई आफ्नो क्षेत्रमा क्रियाशील तुल्याइरहेकी छिन् । तर, नाटकप्रतिको मोह भने उनले छाड्न सकेकी छैनन् । भन्छिन्, ‘रंगमञ्चमा अभिनय गर्दा दर्शकहरूबाट तुरुन्तै प्रतिक्रिया पाइन्छ । नाटकमा हामी रुँदा दर्शकहरू रुन्छन्, हामी हाँस्दा दर्शकहरू हाँस्छन् । नाटकको खेल्नुको फाइदा नै त्यही हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सावित्रीको साढे पाँच दशक

ShareTweet शकुन्तला गुरुङ शर्माले नाट्य क्षेत्रमा पाइला टेक्दा नेपाली समाज पूरै परम्परागत मान्यताबाट निर्देशित थियो । स्त्रीहरूको कुनै स्वतन्त्र निजता र हैसियत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दरबारको इतिवृत्तान्त

ShareTweet विज्ञानले एकपछि अर्को चमत्कार थप्दै लगिरहेको छ । नयाँ–नयाँ प्रविधिको विकास र परिमार्जनले हरेक क्षेत्र÷माध्यम सहज बन्दै गइरहेको छ । प्रविधिको तीव्रतर विकास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा