19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

मदन, एकता र असफलताले ल्याउने संकट



मदन, एकता र असफलताले ल्याउने संकट

पुष्पकमल दाहाल ‘प्रचण्ड’
मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको एक अविस्मरणीय धरोहर हुनुहुन्छ । सोच्ने, विचार निर्माण गर्ने, नीति कार्यक्रम विकास गर्ने र त्यसअनुसार आफूलाई ढाल्ने उहाँको चिन्तन प्रणालीप्रति सम्मान मात्र होइन, त्यसलाई आत्मसात् गर्ने ठाउँमा हामी आइपुगेकै हौं । राजनीतिक परिर्वतनसँगै राजनीतिक स्थायित्व कसरी दिने, विकास र समृद्धिको आकांक्षा कसरी सम्बोधन गर्ने भन्दा यो एकताबाहेक अरू ठाउँ छैन भन्ने पायौं । यसको सबैभन्दा ठूलो प्रमाण मदनको अवशान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्ष हो । हामी अब कुनै आग्रहका साथ पछि हटेर होइन, कुनै पूर्वाग्रह समातेर होइन, मदन भण्डारीले जस्तै सबैखाले संकीर्णता र पूर्वाग्रहमाथि विजय हासिल गर्दै देश, काल, परिस्थितिले के माग गरेको छ भन्ने गहिरो आत्मसात् गर्ने, मिल्न सक्ने जति सबैलाई मिलाएर अगाडि बढ्ने र जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्न अगाडि बढ्ने संकल्प नै उहाँबाट सिक्नुपर्ने प्रमुख कुरा हो भन्ने लाग्छ ।
मदन भण्डारीको अवसान रहस्यमय भयो । र, हामी प्रायः सबैलाई लाग्छ, उहाँको हत्या भएकै हो । त्यो कुनै दुर्घटना होइन, नियोजित हत्या हो भन्ने सबैलाई लागेको छ । तर, हामीले आजको मितिसम्म पनि त्यो हत्या नै हो र हत्यारा फलानो नै हो वा यो यो शक्ति हुन् भनेर किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं । अहिले पनि हामी आमनेपाली जनतालाई लाग्छ, त्यो दुर्घटना होइन, त्यो अवशान एउटा भयानक डिजाइनअन्तर्गत भएको हत्या हो । हामी सबै साँच्चै हत्यारा को हो भन्ने खोजीमा पनि लाग्छौं । यो विदेशी शक्ति हो कि ऊ विदेशी शक्ति हो कि भन्ने लाग्छ । देशभित्रको यो शक्ति र तŒव हो कि भन्ने लाग्छ । तर, नाम लिएर भन्न सक्ने स्थिति छैन । नेपालको इतिहासमा माथिल्लो स्तरका राजनीतिक हत्या, परिहत्याका लामो शृंखला छ । राणा शाहीको उदयदेखिको मात्र कुरा गर्ने हो भने पनि कोतपर्वदेखि थुप्रै हत्या प्रतिहत्याका घटना नेपाली समाजले देखेको छ । पछिल्लो चरणमा मदन भण्डारी र जीवराज आश्रितको जसरी अवशान भयो, त्यो रहस्यमय छ, नियोजित छ भनेर भनेका छौं । तर, मैले अघि नै भनें, किटेर भन्न सक्ने अवस्था छैन । उहाँको गाडी चलाउने ड्राइभरको जसरी हत्या हुन गयो, त्यो पनि प्रमाण नष्ट पो हुन गयो कि भन्ने लाग्छ । उसलाई मात्र बचाइराख्न सकेको भए कुनै न कुनै दिन त्यो यथार्थ बाहिर आउँथ्यो कि जस्तो लाग्छ । उसको पनि हत्या भयो । नेपालको इतिहासको हत्या, परिहत्याहरूमा हत्याराहरू पत्ता लागेका छैनन । र, हत्यारालाई जनसमक्ष ल्याएर, दोषी ठहर गरी कारबाही गरेर फेरि त्यस्ता घटना रोक्ने प्रयासमा हामी सफल छैनौं । अहिले पनि छैनौं ।
मदन भण्डारी–जीवराज आश्रिमको भयानक हत्याकाण्डपछि दरबार हत्याकाण्ड भयो । त्यो अर्को भयानक हत्याकाण्ड । त्यसको पनि यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौं । मैले पहिलोपटक प्रधानमन्त्री हुँदा नारायणहिटी अगाडि उभिएर भनें, हत्यारा पत्ता लगाई छोडिन्छ, तर । पत्ता लगाउन सकिएन । कहिलेकाहीँ अनौठो लाग्छ, केले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले त सरकारमा पनि छौं । सरकारको नेतृत्व गरेका छौं । तर भन्न सक्ने ठाउँमा कहीँ न कहीँ छैनौं । बरु यसलाई त्यसैत्यसै ढिलो हुन दिऊँ, आफैं ठीक हुन्छ भन्नेजस्तो अवस्था छ । मदन भण्डारीको त्यो रहस्यमय अवशान किन भयो र भोलि त्यस्तै हुँदैन भन्ने कुरा ग्यारेन्टी हामीले किन गर्न सकिरहेको छैनौं ? मदन भण्डारीप्रति प्रतिक्रियावादीहरू बढी नै सशंकित, आतंकित थिए । मदन भण्डारी बाँचिराख्यो भने त यसले नेपाल खाने भयो भन्ने भय थियो भन्ने सिद्धान्ततः बुझ्न गाह्रो छैन । मोटामोटी हिसाव त्यही हो । किनभने, खुलामञ्चमा उभिएर राजा र सामन्तवादका प्रतिनिधिहरूलाई चोरआंैला ठड्याएर ‘हिम्मत छ भने श्रीपेच फुकालेर मैदानमा आऊ’ भन्न सक्ने, लाखौं जनतालाई उद्वेलित तुल्याउन सक्ने नेताको हैसियत मदन भण्डारीमा थियो । वैदेशिक प्रतिक्रियावादीहरूलाई पनि ठा–ठाडै लल्कार्न सक्ने, उनीहरूले बोलाउँदा मलाई फुर्सद छैन भन्न सक्ने नेता पनि हो मदन । ठूला देशका नेताहरूले बोलाएर फकाईफुल्याई गर्दा मदनलाई मनाउन सकिन्छ कि भनेर सोच्दा फुर्सद भएपछि आउँला, अहिले मलाई फुर्सद छैन भन्ने हैसियत राख्ने नेता पनि हो । तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौं कि कमजोरी ? मलाई लाग्छ, हामी कसैले पनि यसलाई कमजोरी ठान्दैनौं । मदन भण्डारीको देशभक्ति, उद्देश्यप्रतिको निष्ठा र प्रक्रियाप्रतिको गर्व, दृष्टिकोण हो त्यो । त्यसअर्थमा उहाँ महान् हुनुहुन्थ्यो । त्यसो हो भने कहिलेकाँही चिन्ता लाग्ने के हो भने आजभोलि हामी आफ्नो छाला बचाउन लाग्ने चिन्तामा त छैनौं ? अलि भाषा नरम गरेर, नरिसाउन प्रतिक्रियावादी धेरै भन्नेतिर पो जान थालेका त छैनौं ? यो आरोप होइन, हामी त आजसम्म मारिएका त छैनौं । मदन कति वर्षमा ? ४०÷४२ । हामी त अहिले ६०÷६५÷६८ हुँदैछौं । जे होस् मारिएका छैनौं । मारिन पनि सक्छौं । यहाँ विचारणीय छ । एउटा, हामीले दोषी पत्ता लगाउन सकेका छैनौं, त्यसकारण फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौं । अर्काेतिर फेरि नदोहोरियोस् भनेर छाला जोगाउन लाग्ने खतरा पैदा भएको छ । किनभने, दोषी पत्ता लगाएर त्यसलाई जनताको बीचमा ल्याउन सक्दा हामीले छाला जोगाउनुपर्दैन । नभए प्रश्न उठ्छ । यसबारे हामी घोत्लिनु आवश्यक छ ।
उहाँको सच्चा उत्तराधिकारी बन्नुपर्छ भन्ने सच्चा उद्देश्यका साथ हामीले असोज १७ मा चुनाव पनि मिलेर लड्छौं र पार्टी एकता पनि गरिछाड्छौं भनेर घोषणा गरेका हौं । जनता र आमकार्यकर्ताबाट अनुमोदित पनि भयो र हामीले मदन–आश्रितकै स्मृति दिवसमा पार्टी एकता पनि ग¥यौं । यसको ऐतिहासिक अर्थ छ । मलाई लाग्छ, हामी हिजो दुई धारा अलग अलग हुँदाहुँदै एक ठाउँमा आयौं । १२ बुँदे, शान्ति सम्झौता, संविधान निर्माणमा सहकार्यमार्फत एक ठाउँमा आयौं, त्यसरी नै आयौं, जसरी मदन भण्डारी सांस्कृतिक मोर्चा, माले, एमाले हुँदै आउनुभयो । जसरी उहाँ विभिन्न नीति हुँदै जनताको बहुदलीय जनवादसम्म आउनुभयो । त्यसैले नै हामी पनि अब समाजवादको रणनीति अन्तरर्गत जनताको जनवाद हुँदै अगाडि बढ्छौं भनेर आयौं । यही यसको ऐतिहासिकता र मर्म हो ।
मलाई चिन्ता भएर पनि मैले अलि जोड गरेर भनिराखेको छु, । अब दुईटा नेताले मात्र बुझेर हुँदैन । हिजो त चुनावको बेला थियो, दुईटा नेताले एउटा घोषणा गरिदिएपछि ‘मिलेर चुनाव लड्ने, चुनाव जित्नुपर्छ’ भन्ने कुराले सहजरूपमा कुदायो । तर, अब पार्टी निर्माण, सरकारलाई सफल बनाउने, जनताका आकांक्षाहरूलाई सम्बोधन गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूलाई सन्तुलनमा राख्ने प्रक्रियामा सबैको समान बुझाइ, चिन्ता र सामूहिक चिन्ता भएन भने दुईटा नेता असफल हुने खतरातिर जान सक्दैन भन्न सकिँदैन । हामी अलिकति पनि यो पार्टीलाई सुदृढ गर्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षा सम्बोधन गर्न असफल भयो भयौं भने त्यो दुई नेताको मात्र, नेपाल कम्युनिस्ट पार्टीको मात्र असफलता हुनेवाला छैन । यो पटक हामीले साहस वा दुस्साहस जे ग¥यौं, हामीले पार्टी एकता ग¥यौं । यो असफल भयो भने कम्युनिस्ट आन्दोलन यही रूपमा अगाडि आउन सायदै सम्भव होला । बरु दुई पार्टी रहिरहेको भए एकले अर्कालाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो । अब त्यो पनि छैन । सिद्धियो भने दुबै एकचोटि ।
नेकपा सकिए पनि कांग्रेस छँदैछ नि, कांग्रेसले नेतृत्व गर्ला भन्ने स्थिति पनि नेपालमा अव छैन । कांग्रेसले कम्युनिस्ट पार्टीमा झगडा भएर फुटिदिए हाम्रो पालो आउँथ्यो भन्ने सोच्दै नसोचे हुन्छ । यो सिस्टम पनि जाने र देशको एकता खतरामा पर्नेवाला छ । तपाईहरू (कार्यकर्ता) सबै आएर खत्तम छ नि भनेर सुनाइदिने, तपाईंहरूले धेरै गर्नुभयो भने हामी पनि मान्छे नै हो भन्नुभयो भने दिमाग खराब हुन्छ । तपाईंहरू राम्रो गर्नुस्, हामी छौं भनेर प्रेरित गर्ने हो भने फेरि पहाडै बोकेर हिँड्न पनि हामी तयार छौं ।
(सम्बोधनमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा