25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

कलाको कदर



कलाको कदर

हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो मूल्य खोज्नु स्वाभाविकै हो । अरू सिर्जनाभन्दा कलाकृतिलाई मूल्यवान् नै ठानिन्छन् । समय, लगाव, शिल्प र सामग्रीजस्ता पक्षहरूमा चित्रकारहरू स्वयंले नै लगानी गर्नुपर्ने भएको कारण पनि चित्रकारिता अरू सिर्जनाभन्दा महँगो साबित हुँदै आएको छ । तर, हामीकहाँ रुचिवस वा व्यावसायिक रूपले चित्रकारिता अपनाउनेहरूले के आफ्नो सिर्जनाको उचित मूल्य पाइरहेका छन् त ? विश्व बजारमा एउटै सिर्जना करोडौंमा बिक्ने गरेको परिप्रेक्ष्यबीच नेपाली चित्रकारहरू कुन स्थितिमा छन्, अचेल ? निश्चय नै, यस्तो प्रश्न उठ्ने गर्दछ ।
यद्यपि, कुनै चित्र विशुद्ध बिक्रीका लागि बनाउने हो वा आफ्नो कृति÷सिर्जनाको रूपमा राख्नका निम्ति बनाउने हो ? सर्जकहरू नै अनभिज्ञ छन्, यो प्रश्नमा । हामीकहाँ नै यस्ता सर्जकहरू पनि छन्, उनीहरूका चित्रकला खोज्नुप¥यो भने सहरका अभिजात वर्गको बैठक–कोठासम्म पुग्नुपर्ने हुन्छ । दिवंगत अमर चित्रकारकै कलाकृतिलाई उदाहरणका रूपमा लिन सकिन्छ । अघिल्लो पुस्ताका चित्रशिल्पी चित्रकारका कुनै सिर्जना उनका घरमा छैनन् । आफूद्वारा सिर्जित सबैजसो चित्रलाई उनले बिक्रीयोग्य ठाने र अहिले उनका चित्र देश वा विदेशका कुनचाहिँ ग्यालरी वा कला पारखीहरूका बैठक–कोठामा सजिएका छन्, नेपाली चित्रकला क्षेत्रमा स्थापित सर्जकहरू नै अनभिज्ञ छन् ।
तर, चित्रकारितामा नै समग्र जीवन बिताउने सर्जकहरूले आफ्नो सिर्जनालाई नबेची धरै छैन । कतिपय सर्जकहरूले त जीवन निर्वाहको आधार नै बनाएका हुन्छन्÷छन् चित्रकारितालाई । धेरै होस् वा थोरै मूल्य तर आफ्ना सिर्जना बेचेरै उनीहरूले आर्थिक भार थेग्दै आएका हुन्छन् । आफूले वर्षौं लगाएर सिर्जना गरेका सन्तानजस्तै प्रिय कला बेच्नुपर्दा त्यस्ता सर्जकहरूको मन पक्कै पनि कुँडिएलान् । तर, चित्रकारितालाई जीवन धान्ने आधार बनाएका सर्जकहरूले त्यस्तो बाध्यतालाई नबुझेका भने हुँदैनन् ।
चित्रकला विशुद्ध सिर्जना हो वा व्यवसाय ? यसका दुवै पाटा छन् । तिब्बती समाजबाट हामीकहाँ भित्रिएको थांका कलालाई चित्रकारिताकै कोटीमा राख्नुपर्ने हुन्छ । यद्यपि, थांका सिर्जना गर्नेहरूलाई सर्जकको लहरमा राख्न कन्जुस्याइँ गरिँदै आएको छ । तर, त्यो पनि चित्रकलाकै एउटा हाँगा हो र त्यसमा सम्बद्ध सर्जकहरूले विशुद्ध व्यवसायका रूपमा त्यसलाई अँगालेका हुन्छन् । प्रायजसो थांका सिर्जना गर्नेहरू आफ्नो कार्यमा गुपचुप रूपमै सिर्जनारत हुन्छन् र उनीहरू अरू चित्रकलाका सर्जकले जस्तो आफ्नो सिर्जना बिक्री होला वा नहोला भन्ने तनावबाट दूर नै रहन्छन् । थांका सिर्जना गर्नेहरू आर्थिक रूपले जसरी सुरक्षित रहँदै आएका छन्, आधुनिक चित्रकला अँगाल्नेहरूले भने आफ्नो सिर्जनालाई बिक्री गर्न अनेक प्रयत्न गर्नुपर्ने बाध्यता अद्यावधि कायम नै छ ।
अधिकांश सर्जकहरूले पटकपटक प्रदर्शनी गर्नुको पछाडि मूलभूत रूपमा आर्थिक पक्ष नै जोडिएको हुन्छ । प्रदर्शनी, आफ्नो सिर्जना आममानिसबीच प्रस्तुत गर्ने मुख्य आधार त हो नै, त्योभन्दा पनि धेरै कलाकारको आफ्ना सिर्जनाको बिक्रीसँग गाँसिएको विषय पनि हो । विगतमा प्रायजसो चित्रशिल्पीहरूले आफ्ना चित्रहरूको प्रदर्शनी गर्दा राजपरिवारका सदस्य, कुनै देशका राजदूत, नामुद उद्योगपति, मन्त्रीगण वा सहरका सम्भ्रान्त वर्गका प्रतिनिधिद्वारा उद्घाटन गराउनु प्रचलनजस्तै थियो । कुनै अग्रज चित्रकार वा समाजका विशिष्ट अनुहारहरूबाट उद्घाटन गराउन चित्रकारहरू नै अनिच्छुक देखिन्थे । त्यसको जड कारण आर्थिक पक्षसँगै जोडिएको हुन्थ्यो । किनभने, कलाकृतिहरू महँगा हुने भएका हुँदा सामान्य मानिसहरूलाई प्रदर्शनीस्थलमा निम्त्याउनुको अर्थ हुँदैनथ्यो । कुनै धनाढ्य वर्ग÷संस्थाका प्रतिनिधिलाई निम्त्याउँदा कम्तीमा पनि एउटा कलाकृति उनीहरूले ‘बुक’ गर्थे र कलाकारको मिहिनेतको अर्थ झल्किन्थ्यो, थोरै भए पनि मिहिनेतको फल भेट्थे । अहिले पनि यो प्रचलनमा कमी आएको छैन । नयाँ र पुराना दुवै पुस्ताका सर्जकहरूले प्रदर्शनीका क्रममा आफ्नो चित्र खरिद गर्न सक्ने वर्गका मानिसलाई निम्त्याउनु सामान्य भइसकेको छ ।
यद्यपि, विश्व बजारको तुलनामा हाम्रा कलाकृतिहरू अझै पनि तल नै छन् । चाहे त्यो मूल्यको हिसाबले होस् वा स्तरीयताका हिसाबले । हामी छिमेकी मुलुक भारतका चित्रशिल्पीहरूको एक छेउमा पनि पुग्न सक्दैनौं । भारतीय चित्रकारहरू मकबुल फिदा हुसेन, मनजित बाबा, ए रामाचन्द्रन, अतुल डोडिया, राम कुमार, जोगेन चौधुरी, तैयव मेहता, सुबोध गुप्ताका एउटै कलाकृतिहरू करोडौंमा बिक्री हुन्छन् । उनीहरूका चित्रकला खरिद गर्न विश्व बजारका कलाका पारखीहरू नै तन्मयतापूर्वक लागिपरेका हुन्छन् । तर, हामीकहाँ भने त्यस्तो स्थिति छैन । कुनै नामुद शिल्पीले लाखौंमा कुनै चित्र बिक्री गरे भने त्यसलाई धन्य मान्नुपर्ने हुन्छ ।
हिन्दीमा एउटा उखान छ, ‘हिरे की कदर जौहरी जानता है ।’ नेपाली चित्रकलाले बिस्तारै आफ्नो उचाइ लिँदै गइरहेको छ । स्तरीय चित्रकलाहरू जन्मिँदै गएका छन् । तर, यसलाई कदर गर्ने ‘जौहरी’हरूको भने अझै अभाव भइरहेको हुँदा हाम्रा चित्रकलाले उचित मूल्य पाउन नसकेका हुन् कि ? यस्तो प्रश्न स्वाभाविक रूपमा जन्मिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा