8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

कूटनीतिका केही रमाइला प्रसंग



कूटनीतिका केही रमाइला प्रसंग

इजिप्टका लागि शाही नेपाली राजदूत झेन्द्रनारायण सिंहले आफूले मात्र नभई मलाई समेत हरेक महिना÷दुई महिनामा एकपल्ट रिसेप्सन आयोजना गरी अन्य दूतावास तथा मन्त्रालयका सहकर्मीलाई बोलाउन निर्देशन दिनुहुन्थ्यो । त्यसबाट यस्ता व्यक्तिसँग निकट सम्बन्ध रहने र आवश्यक पर्दा उनीहरूबाट कतिपय कुराको जानकारी पाउन पनि सजिलो हुने गथ्र्यो ।
हामी कायरोमा रहेकै बेला पूर्वी पाकिस्तानमा संकट सुरु भइसकेको थियो र असन्तुष्टिका स्वरहरू बाहिर आउन थालिसकेका थिए । पूर्वी पाकिस्तानमा मात्रै होइन, देशबाहिर रहेका पाकिस्तानीहरूका बीचमा पनि क्रमशः विभाजन देखा पर्न लागेको थियो । यसबाट विदेशस्थित पाकिस्तानी कूटनीतिक नियोगहरू पनि टाढा थिएनन् । शेख मुजिबुर रहमान लन्डन गई बसेका बेला पाकिस्तानी दूतावासका तीन जना अधिकृत बेलायत पलायन हुँदा पाकिस्तानी दूतावासलाई निकै अप्ठ्यारोको सामना गर्नुपरेको थियो । बेलायत पलायन हुने अधिकृतमध्ये दुईजनासँग मेरो घनिष्ठता थियो । उनीहरूले आफ्नो योजनाबारे मलाई पहिल्यै जानकारी दिएका थिए । भाग्नुअघि उनीहरूले आफूलाई कायरो विमानस्थलसम्म छोडिदिन अनुरोध गरे, जो मैले इन्कार गर्न सकिनँ । संयोगवश उनीहरूलाई विमानस्थल छोडेर आउँदा पाकिस्तानी दूतावासका एक कर्मचारीले देख्न पुगे र उनले गएर आफ्नो राजदूतलाई सुनाएछन् । त्यही साँझ पाकिस्तानी राजदूतलाई राजदूत सिंहले रात्रिभोजमा बोलाउनुभएको थियो र म पनि त्यहीँ थिएँ । मलाई देख्नासाथ पाकिस्तानी राजदूतले सोधिहाले, ‘मिस्टर सिंह, ह्वेयर आर योर फ्रेन्ड्स ? ह्वेयर डिड यु लिभ देम ? (सिंहजी, तपाईंका साथी कहाँ छन् ? उनीहरूलाई कहाँ छोड्नुभयो ?) मैले नबुझेजस्तो गरेर आलटाल गरें । आफ्ना राजदूतले ‘के हो ?’ भनेर सोधेपछि के भनूँ, के नभनूँ ? ‘उनीहरू ठीकै छन्’ सम्म भनें । पाकिस्तानी राजदूतले ‘हमको सब मालुम है’ भने । हाम्रा राजदूतले ‘ए बदमास, यस्तो गर्ने हो ?’ भन्नुभयो । मैले ‘केही गरेको होइन, कहाँ जान लागेका हुन्, थाहा भएन । मैले त खाली विमानस्थलसम्म छोडिदिएको हुँ’ भनें । उहाँले थप केही भन्नुभएन ।
यी पाकिस्तानी साथीहरूसँग यति राम्रो मित्रता थियो कि जाने बेलामा एक जनाले आफ्नी श्रीमतीका सबै गरगहना मेरी श्रीमती ईश्वरी सिंहलाई जिम्मा छाडेर जानुभएको थियो । सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएपछि त्यहाँका विदेशमन्त्री अब्दुस समाद आजाद समर्थन जुटाउन कायरो आएका बेला तीमध्येका एक साथी अकस्मात् राति मन्त्रीलाई लिएर मेरो अपार्टमेन्टमा आउनुभयो । बंगलादेशका विदेशमन्त्री कायरो आएको थाहा थियो तर उहाँका साथमा मेरा मित्र पनि आएको थाहा थिएन । मन्त्रीलाई मेरो परिचय दिएपछि सहयोगका लागि धन्यवाद दिनुभयो । मेरी श्रीमतीले आफूले जिम्मा लिइराखेका गरगहना बुझाएर आरामको सास लिइन् । यी दुई मित्रहरू पछि इटाली र साउदी अरेबियाका लागि राजदूत हुनुभयो ।
०००
पाकिस्तानमा राजदूत निरञ्जन भट्टराईसँग दुई वर्षजति काम गरेपछि अर्जुननरसिंह राणा (पूर्वप्रधानसेनापति) राजदूत भएर आउनुभयो । बिस्तारै पाकिस्तानबाट अत्याधुनिक सैनिक हातहतियार खरिद गर्ने सम्बन्धमा कुरा अघि बढ्न थाल्यो । हरेक सार्वभौम राष्ट्रलाई आफ्नो सुरक्षा र अनुकूलताका लागि सैन्य सामग्री खरिद गर्ने अधिकार छ । तर, हामी पाकिस्तानसँग सीधै जोडिएका थिएनौँ र भारतले हामीलाई बाटो दिने थिएन । फेरि भारतले सन् १९५० र १९६५ को सन्धिको हवाला दिएर अर्को देशबाट सैन्य सामग्री ल्याउँदा बखेडा झिक्ने निश्चित नै थियो । त्यसमा पनि ‘दुस्मन देश’बाट ल्याउने कुरामा त ऊ कति सशंकित हुन्थ्यो होला, सहजै अनुमान गर्न सकिन्छ । चीनबाट साधारण खालको एन्टी–एयरक्राफ्ट ल्याउँदा नै उसले त्यत्रो हंगामा मच्चाएको परिप्रेक्ष्यमा पाकिस्तानबाट दुई÷तीन सय किलोमिटर मार गर्न सक्ने मिसाइल नेपाल भित्रिएको भए भारतको प्रतिक्रिया कस्तो हुुँदो हो, बुझ्न गाह्रो छैन । सायद राजदूत राणासँग नियुक्तिका बेला र पछि दरबारको कुराकानी भइरहेको थियो र त्यही आधारमा उहाँले काम अघि बढाइरहनुभएको थियो । पाकिस्तानबाट चीनको बाटो हुँदै उनीहरूले तिब्बतसम्म ल्याउने र ल्हासाबाट काठमाडौं चाहिँ पहिला एन्टी–एयरक्राफ्ट गन ल्याएकै तरिकाले ल्याउने प्रायः निश्चित भइसकेको थियो । तर, काठमाडौंमा जनआन्दोलनले उग्र रूप लिइसकेको कुरालाई मध्यनजर गरी दरबारले आफ्नो नीतिमा परिवर्तन गरेछ । एक बिहान राजाका सैनिक सचिव शान्तकुमार मल्लले राजदूत राणालाई फोन गरी अहिले त्यो डिल रद्द गर्ने सूचना दिनुभयो । नेपालमा जनआन्दोलन नचर्किएको भए पाकिस्तानबाट यी सैनिक सामग्री नेपाल भित्रिसक्ने थिए ।
त्यसैबेला मलाई त हामीले यस्तो कार्य गर्दैछौँ भन्ने सूचना कतैबाट चुहिएला भन्ने त्रासले सताइरहन्थ्यो । मलाई न्युयोर्क नदिएर किन इस्लामावाद पठाइएको होला भनी सोच्दा सायद मेरो बुबा र दाइ सेनामा भएकाले सो पृष्ठभूमिमा मेरोतर्फबाट कुनै सूचना चुहिँदैन होला भन्ने विचारले मलाई दण्ड दिइएको हुनुपर्छ भन्ने लाग्थ्यो । मलाई आज पछि फर्केर हेर्दा यदि यो डिलले अन्तिम रूप लिएको भए नेपालप्रति भारतको प्रतिक्रिया र व्यवहार कस्तो हुँदो हो भनी मनमा एक प्रकारको त्रास आउँछ ।
०००
बढ्दो तनावको सामना गरिरहेका नेपाल र भारतबीच २९–३१ डिसेम्बर १९८८ मा पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित सार्कको चौथो शिखर सम्मेलनमा तनाव बढाउने अर्को घटना भइदियो । भारत र पाकिस्तानबीच त्यतिबेला कटुता कम थियो, दुवै देशमा युवा नेतृत्व सत्तामा आएको थियो– भारतमा राजीव गान्धी र पाकिस्तानमा बेनेजिर भुट्टो । इस्लामाबादमा हुने शिखर सम्मेलनको मौका पारेर भारतीय प्रधानमन्त्री गान्धीले ३० डिसेम्बर बिहान छवटै राष्ट्रका राष्ट्र÷सरकार प्रमुखलाई ब्रेकफास्ट बैठकका लागि एक महिना पहिला नै निम्ता गर्नुभएको रहेछ । यस सम्बन्धमा हाम्रो दूतावासलाई कुनै जानकरी थिएन । एक दिन पाकिस्तानस्थित भारतीय उच्चायुक्त एसके सिंह (पछि विदेश सचिव)ले मलाई फोन गरी यस विषयमा जानकारी दिनुका साथै नेपालका राजा उक्त ब्रेकफास्टमा सम्मिलित हुनेबारे काठमाडौँबाट कुनै जानकारी नआएको र आफू छिट्टै विदेश सचिवको पद बहाल गर्न दिल्ली जानुपर्ने भएकाले यसबारे चाँडो खबर पाउन अनुरोध गर्नुभयो । मैले राजदूत राणालाई जानकारी गराएपछि उहाँले परराष्ट्र सचिव नरेन्द्रविक्रम शाहलाई जानकारी गराउँदा निमन्त्रणाका बारेमा पुष्टि गर्दै यस विषयमा पछि जानकारी गराउने भन्नुभयो । भारतीय उच्चायुक्त सिंहले दिल्ली प्रस्थान गर्नुअघि सोध्दा पनि हाम्रो जवाफ पछि खबर गर्ने नै थियो । लगत्तै आउनुभएका भारतीय उच्चायुक्त जेएन दीक्षित (पछि विदेश सचिव÷राष्ट्रिय सुरक्षा सल्लाहकार) ले ताकेता गर्दा पनि दिने जवाफ भएन । पछि हाम्रा सचिवले दरबारका सचिव नारायणप्रसाद श्रेष्ठलाई सोध्दा ‘इस्लामाबाद पुगेपछि थाहा हुने’ जानकारी प्राप्त भयो । निर्धारित समयमा राजाको इस्लामाबाद आगमन भयो र सोही दिन सचिव श्रेष्ठले भन्नुभयो, ‘सरकारको कार्यक्रम बिहान ११ बजेबाट मात्र सुरु हुने हुँदा ब्रेकफास्टमा सम्मिलित हुन नमिल्ने जानकारी भारतीय राजदूतावासलाई अवगत गराउनूस् ।’ मैले सोही जानकारी गराएँ । भारतीय पक्षले सायद त्यतिबेलासम्म थाहा पाइसकेको रहेछ ।
उक्त दिन इस्लामाबादनजिकैको मार्गला हिलमा रिट्रिट कार्यक्रम राखिएको थियो । सार्क शिखर सम्मेलनमा रिट्रिटका बेला सबै महत्वपूर्ण निर्णय अनौपचारिक रूपमा छलफल भई औपचारिक निर्णय हुन मात्र बाँकी रहन्छन् । रिट्रिट साँझ ५ बजेसम्म रहने र ७ बजे सार्कका राष्ट्र÷सरकार प्रमुखका लागि पाकिस्तानका राष्ट्रपति गुलाम इसाक खानले आयोजना गरेको रात्रिभोजमा सहभागी हुने कार्यक्रम थियो । नेपाल र भारतबीच पहिल्यै तय भए अनुसार साँझ छ बजे हाम्रा राजालाई भारतीय प्रधानमन्त्रीले भेट्ने कार्यक्रम निर्धारित थियो र त्यसमा कुनै हेरफेर भएको थिएन । तर, नेपालका तर्फबाट राजा वीरेन्द्रले ‘सार्क स्पेसल फोर्स निर्माण गर्ने’ प्रस्ताव बैठकमा राखेपछि सब अचम्मित भए– यस्तो प्रस्ताव कसको योजनामा र किन ल्याइयो ? पछि नेपालले उक्त प्रस्ताव फिर्ता लिएर बैठक सकिने बेलासम्म त्यहीँ ६ बज्यो र रात्रिभोजमा जान तयारी गर्न सबै आ–आफ्नो निवासमा फर्के । राजासँग भारतीय प्रधानमन्त्री गान्धी भेट्न आउनेबारे भारतीय पक्षबाट कुनै जानकारी नदिइँदा यता छटपटी बढ्ने नै भयो । भोलिपल्ट बिहान दरबारका सचिव श्रेष्ठले भारतका लागि राजदूत बिन्देश्वरी शाह र पाकिस्तानका लागि राजदूत अर्जुननरसिंह राणालाई बोलाएर भन्नुभयो, ‘राजाको एउटा दर्शनभेट पनि मिलाउन नसक्ने ? के गरेर बस्नुहुन्छ तपाईंहरू ?’
मैले भारतीय दूतावासमार्फत विदेश सचिव एसके सिंहसँग भेट्नका लागि समय मागें र दुई राजदूतसहित भेट्नका लागि भारतीय प्रधानमन्त्री गान्धीका लागि भारतीय ब्ल्याक क्याट कमान्डोसहित अलग्गै व्यवस्था गरिएको घरमा पुग्यौं । आधा घन्टासम्म उहाँ तल ओर्लिनुभएन । माथिबाट तल आउनासाथ सन्देश दिनका लागि होला, हाम्रा राजदूतहरूतिर नहेरेर ‘कैसे हे सिंहजी ?’ भन्दै मलाई अँगालो हाल्नुभयो अनि मात्र उहाँहरूसँग हात मिलाउनुभयो । राजदूत बिन्देश्वरी शाहले राजा र भारतीय प्रधानमन्त्रीबीचको भेटघाटका बारेमा कुरा निकाल्नासाथ उहाँले भन्नुभयो, ‘योर किङ मिस्ड द अपर्चुनिटी टु मिट आवर प्राइम मिनिस्टर, ही इज नाव टु बिजी, सरी ।’ बाहिर निस्किनुभयो, हामी अक्क न बक्क भएर फर्कियौं ।
०००
स्पेनको राजकीय भ्रमणपश्चात् राजा वीरेन्द्रले सन् १९८३ मा माल्दिभ्सको औपचारिक भ्रमण गर्ने तय भएअनुसार हामी भारतको मुम्बईमा तेल भरेर माले जानुपर्ने थियो । राष्ट्राध्यक्षको भ्रमण हुँदा अन्य देशको भूभाग भई आफ्नो जहाजले उडान गर्नुपर्दा त्यस देशका राष्ट्राध्यक्षलाई शिष्टाचार सन्देश पठाउने अन्तर्राष्ट्रिय चलन रहिआएको छ र हाम्रा राजाको विदेश भ्रमण हुँदा पनि त्यो चलन सदैव कायमै थियो । तर, त्यसपटक भारतका राष्ट्रपतिलाई राजाबाट पठाउने सन्देश परराष्ट्र मन्त्रालयले तयार गरेर राजाका सचिवलाई दिए पनि के कारणले हो, पठाइएन । त्यसको परिणाम तुरुन्तै देखा परिहाल्यो– मुम्बईमा उत्रिने बेलामा । हाम्रो अति विशिष्ट (भीभीआईपी) जहाजलाई आधा घन्टाभन्दा बढी समय आकाशमै ‘होल्ड’ गराइराखियो । साथै, विमानस्थलमा राजालाई स्वागत गर्न सहसचिव तहका कर्मचारी आए । पहिले यस्तो कहिल्यै भएको थिएन ।
०००
सन् १९८३ मा राजा वीरेन्द्र अमेरिकाको राजकीय भ्रमणमा जाँदा त्यसअघि हाम्रो बोइङ ७५७ ले उडान भर्न मुस्किल भएको अनुभवलाई ध्यानमा राखी बाहिरबाट एक महिनाका लागि विमान भाडामा ल्याउने निर्णय भएको थियो । त्यसमा भारतले आफ्नो जहाज पठाउन सक्ने भए पनि दरबार त्यसमा राजी नहुने भएकाले पहिला पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज ल्याइयो भने पछि फिलिपिन्स एयरलाइन्ससँग आबद्ध निजी विमान कम्पनीको जहाज भाडामा लिने निर्णय भयो । तर, फिलिपिन्सको सो जहाज उडान गर्न सक्षम छ÷छैन (एअर वर्दिनेस) भनेर बोइङले उड्नुभन्दा चार घन्टा पहिलासम्म प्रमाणपत्र नपठाउँदा कुन जहाजमा यात्रा गर्ने भनेर हल्लाखल्ला भएको थियो । त्यसबेला दरवारको नीति भारतलाई चिढ्याउने र त्यसबाट अरू मुलुकको सहानुभूति प्राप्त गर्नेजस्तो देखिन्थ्यो ।
(विष्णु रिजालद्वारा सम्पादित तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा हालै प्रकाशित पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’ पुस्तकमा समाहित परराष्ट्र मन्त्रालयका पूर्वसहसचिव तथा फ्रान्सका लागि शाही नेपाली राजदूत सिंहको ‘प्रधानमन्त्रीको पहिलो फ्रान्स भ्रमण’ शीर्षकबाट सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा