20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

तन्नेरीहरूले पुष्पलालबाट सिक्नुपर्ने कुरा



तन्नेरीहरूले पुष्पलालबाट सिक्नुपर्ने कुरा

मैले कमरेड पुष्पलाललाई पहिलोपटक सात वर्षको उमेरमा भेट्ने मौका पाएको थिएँ । उहाँसँगको सान्निध्यमा तीन वर्षजति बस्ने मौका मिलेको थियो । कमरेड पुष्पलालसँग बसेका त्यो तीन वर्षको अवधिले मेरो जीवनमा धेरै गहिरो प्रभाव पारेको छ । त्यतिखेरका अधिकांश कुरा अहिले पनि मेरो मन–मस्तिष्कमा ताजा छन् । मेरो अहिलेको नाम पनि उहाँले नै जुराइदिनुभएको हो । (यसबारेमा मैले नेकपा (एमाले) को लुम्बिनी अञ्चल कमिटीद्वारा प्रकाशित संस्मरणहरूको सँगालोमा लेखिसकेको छु ।) उहाँको जीवन आउने धेरै पुस्ताका नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत रहिरहनेछ ।
मैले बनारसमा रहेको श्री जगदम्बा नेपाली विद्यालयमा कक्षा २ र श्री अग्रसेन महाजनी महाविद्यालयमा कक्षा ४ मा पढ्ने मौका पाएको थिएँ । जगदम्बा नेपाली प्राथमिक विद्यालय स्व. रानी जगदम्बा (स्व. मदन शमशेरकी श्रीमती)को नाममा स्थापना गरिएको थियो । त्यहाँ नेपाली र हिन्दी दुवै विषयको पढाइ हुन्थ्यो, संयुक्त माध्यम प्रयोग गरिन्थ्यो । त्यहाँ केही नेपाली र केही भारतीय शिक्षक–शिक्षिका हुनुहुन्थ्यो, हिन्दीमा नबुझेको कुरा नेपालीमा बोलेर सोध्न पाइन्थ्यो । यसैले, हिन्दी भाषा सिक्न नभ्याइसकेका सुरुवाती दिनहरूमा त्यस विद्यालयले मलाई सजिलो गरी हिन्दी सिक्ने र भारतीय समाजमा घुलमिल हुने वातावरण दिएको थियो । त्यस विद्यालयमा कक्षा ५ सम्मको पढाइ हुन्थ्यो, तर मैले कक्षा २ को परीक्षा उत्तीर्ण गरिसकेपछि मलाई श्री अग्रसेन महाजनी महाविद्यालयमा कक्षा ४ मा भर्ना गरिएको थियो, मलाई कक्षा ३ पढाइएन, फड्को मार्न लगाइएको थियो ।
मेरा बा त्यतिखेर कमरेड पुष्पलालले नेतृत्व गर्नुभएको कम्युनिस्ट पार्टीको बनारसमा रहेको कार्यालयमा काम गर्नुहुन्थ्यो । मैले त्यतिखेर कमरेड पुष्पलाल र मेरा बाका बीचमा मेरो पढाइबारे भएको वार्तालाप अहिले पनि सम्झिरहेको छु । ‘यसलाई अब कक्षा ४ मा भर्ना गरिदिए हुन्छ, कक्षा ३ पढाइरहनुपर्दैन । यसले सजिलै पार लगाउँछ,’ एउटा निष्कर्ष उहाँहरूको त्यही थियो । ‘नजिकमा रहेको राम्रो विद्यालय अग्रसेन महाजनी महाविद्यालय नै हो । यसलाई त्यहीँ भर्ना गर्नुपर्छ,’ उहाँहरूको अर्को निष्कर्ष थियो ।
अग्रसेन महाजनी महाविद्यालयमा कक्षा १ देखि स्नातकोत्तरसम्मको पढाइ हुन्थ्यो, एउटै विद्यालय हाताभित्र । कक्षा १० सम्मका विद्यार्थीका लागि छुट्टै विशाल भवन थियो । त्यहाँभन्दा माथि पढ्ने विद्यार्थीहरूका लागि अर्को भव्य भवन थियो । एउटै कक्षामा ६ वटासम्म वर्ग (सेक्सन) हरू थिए । कक्षा १ मा पढ्ने साना भुरादेखि लिएर उच्च शिक्षामा पढ्ने युवाहरूको ठूलो हुलको लर्को एउटै ठूलो गेटबाट भित्र जाने र बिदा भएपछि निस्कने गथ्र्यो । त्यतिखेर त्यस विद्यालयमा कति संख्यामा विद्यार्थीहरू थिए, मलाई थाहा भएन, त्यो हेक्का राख्ने चेत पनि थिएन तर दैनिक कम्तीमा पनि ४÷५ हजार विद्यार्थी भित्र–बाहिर गर्थे भन्ने अनुमान गर्न सक्छु । अनुशासन कति व्यवस्थित थियो भने (त्यसलाई कडा नभनौं) हजारौं साना भुराभुरी र वयस्क युवायुवतीले एउटै हाताभित्र पढ्दा पनि कुनै हुलहुज्जत भएको, ठूला विद्यार्थीले सानालाई हेपेको वा सानाहरू डराउनुपरेको सम्झना मलाई छैन । हिन्दी भाषामा महाजनी शब्दको अर्थ वाणिज्यिक (कमर्सियल) हुन्छ । त्यस विद्यालयमा कक्षा ४ देखि नै वाणिज्य शास्त्रको पढाइ हुन्थ्यो । कक्षा ४ देखि नै कारोबारको हिसाबकिताब राख्न वा खाताबही लेख्न सिकाइन्थ्यो । गणित विषयका प्रश्नहरू पनि व्यवसायसँग सम्बन्धित हुन्थे । त्यतिखेर अभ्यास गरेका गणितका प्रश्नहरू अहिले पनि मेरा सम्झनामा छन् । बनारसका ठूला व्यावसायिक घरानाहरूको सहयोगमा त्यो कलेज सञ्चालनमा थियो । अहिले पनि त्यो कलेज त्यसरी नै सञ्चालित छ ।
म २०२८ सालको दसैंपछि बनारस लगिएको थिएँ । म दसपुत्र गल्लीमा रहेको पार्टी कार्यालयमा पुग्दा बिहानको ८ बजेको थियो । ढोकाको ठीक सामुन्ने भित्तामा टाँगिएको ठूलो घडीमा मेरा आँखा पुगेका थिए । भित्तामा टाँगिएको ठूलो घडी पहिलोपटक देखेको थिएँ । नाताले मेरो मामा पर्नुहुने केशव गौतमले मलाई त्यहाँ पु¥याउनुभएको थियो । सानोतिनो सभाकक्ष भन्न सकिने ठूलो कोठामा रहेको ठूलो टेबुलको वरिपरि राखिएका कुर्सी र बेन्चहरूमा आठ÷दसजना मानिस थिए । मैले सबैलाई पालैपालो नमस्कार गरें । बैठक कोठाको दायाँ–बायाँ दुई–दुई कोठा थिए । बायाँतिरको कोठाबाट बा निस्कनुभयो । बाले मलाई पुष्पलालसँग यसरी परिचय गराउनुभएको थियो, ‘उहाँ हाम्रो देशको ठूलो मान्छे ! हामी उहाँलाई माइला दाइ भन्छौं । तिमी उहाँलाई के भनेर बोलाउँछौ, लौ भन ?’ त्यो कोठा अफिस हो भन्ने त थाहा पाइसकेको थिएँ । मैले उत्तर दिएको थिएँ, ‘अफिसवाला बुबा ।’ मेरो कुरा सुनेर सबैजना गलल्ल हाँसेका थिए । पुष्पलालले भन्नुभएको थियो, ‘प्रश्रितजी ! यो फुच्चे त हाजिरीजवाफ रहेछ । ल भन त बाबु, तिम्रा बुबा के काम गर्नुहुन्छ ?’ मैले भनेको थिएँ, ‘नेतागिरी ।’ त्यहाँ भएका सबैजना धेरै जोडले हाँसेका थिए । अघिल्लो रात गोरखपुरबाट बनारस जाने रेलमा कसैले मलाई सोधेको थियो ‘तिम्रो बुबाले के काम गर्नुहुन्छ ?’ भनेर । मैले उत्तर दिन सकेको थिइनँ, अलमलिएको थिएँ । त्यसपछि कसैले हाँस्दै सिकाएको थियो, ‘नेतागिरी गर्नुहुन्छ भनिदेऊ न बाबु !’ मैले त्यही शब्द सम्झेको थिएँ, त्यही भनिदिएँ । त्यसरी सुरु भएको थियो मेरो बाल्यकालको तीनवर्षे बनारस बसाइ । पछि सन् १९७९ देखि ८१ सम्म एसएलसी र आईए पढ्दासम्म बसियो । पछिल्लो बनारस बसाइ धेरै दुःखमा बितेको थियो । बा जेलमा हुनुहुन्थ्यो । बाल्यकालको बनारस बसाइ भने धेरै रमाइलो गरी बितेको थियो– बा, पुष्पलाल, शान्ता दिदी (शान्ता मानवी) र गोविन्द ज्ञवाली काकाको सान्निध्यमा । ती दिनहरू वास्तवमै मेरो जीवनका स्वर्णकाल थिए । मैले नजिकबाट बीपी कोइराला, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, नारायणमान बिजुक्छे इत्यादि नेताहरूलाई देख्ने र भेट्ने मौका पाएँ । ती भेटहरूबाट राजनीतिक ज्ञान लिने क्षमता त्यतिखेर मसँग थिएन नै, तर ती भेटहरूले मेरो मनमा गहिरो छाप छाडेका छन् ।
पुष्पलाल र बा प्रायः सँगै बिहान हिँड्नुहुन्थ्यो । गोविन्द ज्ञवाली काका भने अबेलासम्म सुत्न मन पराउनुहुन्थ्यो । उहाँको त्यो बानी प्रायः ठट्टाको विषय बन्ने गथ्र्यो । बा र पुष्पलालको बिहानको हिँडाइ धेरैजसो ‘कम्पनी बाग’ भन्ने बगैंचातिर हुन्थ्यो । म सधैंजसो सँगै जान्थें । फर्किंदा मिठाई पसलहरूमा कांग्रेसी नेताहरू पुडी–जलेबी खाइरहेका भेटिन्थे । हामी कोठामा पुगेर भिजाएका चना खान्थ्यौं ।
पुष्पलालसहितका नेताहरूको बनारस बसाइ धेरै अभावमा बितेको थियो, तर मलाई विशेष हेरचाह गरिन्थ्यो । म शान्ता दिदीसँग बसेको थिएँ । बा, पुष्पलाल, गोविन्द काका कतिकति बेला भोकै बसेको सम्झना छ मलाई । तर, मेरा लागि दिनको चारै प्रहर खाना उपलब्ध गराइएको थियो । नेपालबाट कार्यकर्ताहरू पुगेका बेला मासु खान पाइन्थ्यो । मासु किन्न मलाई नै पठाइन्थ्यो । मच्छोदरी पार्क भन्ने ठाउँमा मुसलमानहरूले सञ्चालन गरेका राँगाको मासु पाइने ठूलाठूला पसलहरू थिए । १ रुपैयाँ ५० पैसा किलोको भाउमा राँगोको मासु पाइन्थ्यो । एकपटकमा एक किलोभन्दा बढी मासु किनेको मलाई सम्झना छैन । १०÷१२ जना मानिसका लागि एक किलो किमामा तर्लङ्ग झोल हालेर पकाइन्थ्यो । खाइसकेपछि पुष्पलाल भन्नुहुन्थ्यो, ‘क्या मज्जाले भोज खाइयो । सधैं यस्तै खान पाए त क्या मज्जा हुन्थ्यो है !’
कमरेड पुष्पलालको बनारस बसाइ धेरै अभावमा बितेको थियो । एक मुठी चना डेक्चीभरिको पानीमा पकाएर त्यसैको झोलले छाक टारेको देखेको छु मैले । बेलाबेलामा नेपालबाट जाने कार्यकर्ताहरूले अफिसका लागि रासनको व्यवस्था गर्थे । अहिले मैले बुझ्दा नेपालबाट जाने कार्यकर्ताहरूले लेबी र सहयोग रकम पु¥याउँथे, जुन अत्यन्त न्यून मात्राको हुन्थ्यो । ती पञ्चायती व्यवस्थाका कठोर दिनहरू थिए ।
अभावका बीचमा पनि अफिस अत्यन्त व्यवस्थित थियो । टेबुलमा गमलाहरू राखिएका थिए । भित्ताका दराजहरूमा व्यवस्थित तरिकाले फाइलहरू सजाइएका हुन्थे । बाहिर हिँड्दा लगाउने कपडा सबैसँग एक जोर मात्रै हुन्थे, घर (डेरा) मा बस्दा सबैले प्रायः लुंगी र बन्डीले काम चलाउँथे । भुइँमा बिछ्याइएका दरीहरू थोत्रा–पुराना भए पनि ती सफा र व्यवस्थित हुन्थे । अफिसको तल्लो तल्लामा भान्साकोठा थियो । जसको फुर्सद हुन्थ्यो, उसैले पकाउँथ्यो, भाँडा माझ्थ्यो । पुष्पलाल, गोविन्द ज्ञवाली, बा, गोपीरमण उपाध्याय सबैले खाना पकाएको, एकअर्काका कपडा धोएको, भाँडा माझेको देखेको छु मैले । त्यस्तो दुःखमा पनि बाहिर हिँड्दा पुष्पलाल कोट, पाइन्ट, टाईमा ठाँटिएर हिँड्नुहुन्थ्यो । उहाँले झुत्रे–झाम्रे भएर हिँड्ने कार्यकर्ताहरूलाई सम्झाउँदै भन्नुहुन्थ्यो, ‘भएका कपडा सफा हुनुपर्छ, व्यवस्थित गरेर लगाउनुपर्छ । बुर्जुवाहरूका अगाडि झुत्रे, निन्याउरो भएर काम छैन, हेप्छन् । मजदुर–किसानको बस्तीमा जाँदा उनीहरूजस्तै सादा हुनुहोस् तर गाउँमा सामन्त र सहर–बजारमा बुर्जुवाहरूका अगाडि सकेसम्म चिटिक्क परेर जानुहोस् । राजनीतिक कार्यकर्ताले अनावश्यक फेसन गर्ने होइन, तर झुत्रे हुने पनि होइन । सकेसम्म औपचारिक पोसाकमा हिँड्नुपर्छ । घमन्डी हुने होइन, तर आफ्नो व्यक्तित्वलाई ध्यान दिनुपर्दछ ।’
म अफिस कोठा र छतमा ओहोरदोहोर गर्दै चिच्याई–चिच्याई पढ्थें, गणितका दुना र अंग्रेजीका माने घोक्थें । एक बिहान मेरा आँखा टेबुलमा राखिएको रातो गाता भएको पुस्तकमा परेछन् । पुस्तकको नाम लेख्ने ठाउँमा ‘गद्दार पुष्पलाल’ लेखिएको रहेछ । मलाई ‘गद्दार’ शब्दको अर्थ थाहा थिएन । मलाई लाग्यो, ‘अफिसवाला बुवाको प्रशंसा वा सम्मानमा लेखिएको होला ।’ अफिसमा कोही पनि थिएन । मैले एउटा खुट्टो उचालेर नाच्दै ‘गद्दार पुष्पलाल, गद्दार पुष्पलाल’ भनेर गीतजस्तै गाइरहेको थिएँ, त्यतिखेरै पुष्पलाल आइपुग्नुभयो । उहाँले हप्काएर केही भन्नुभयो, जुन शब्द अहिले सम्झेको छैन । उहाँले मलाई त्यसरी कहिल्यै हप्काउनुभएको थिएन, म रुन थालें । त्यसपछि उहाँले मलाई काखमा लिएर फकाउनुभयो । पछि तीनचार दिनसम्म उहाँले मलाई हप्काएको विषयमा पछुतो व्यक्त गरिरहनुभयो ।
एक दिन अफिसमा धेरै नेता जम्मा भएका थिए । बनारसमा नियमित बस्नेहरू खुला नामले चिनिन्थे, नेपालबाट जानेहरूले ‘निक’ नाम बताउँथे भन्ने अहिले बुझेको छु । मैले अनुहार सम्झेसम्म त्यस दिन अफिसमा पुष्पलाल, बा, गोविन्द ज्ञवाली, देवेन्द्र घिमिरे, जीवराज आश्रितलगायत थुप्रै नेता जुट्नुभएको थियो । अहिले सम्झिँदा त्यो जुटाइ मोहनविक्रम सिंहले लेखेको पुस्तकको जवाफ कसरी दिने भन्ने विषयमा केन्द्रित थियो जस्तो लाग्छ । त्यहाँ भएका अरू बहसहरू मेरो चेतनाले भेट्ने कुरा थिएनन् । अन्तिममा पुष्पलालले भनेका केही वाक्य सम्झेको छु । उहाँले भन्नुभएको थियो, ‘कमरेडहरू ! यस्ता कुरालाई बेवास्ता गर्न सिक्नुपर्दछ । यस्ता कुराको खण्डन गर्ने काममा समय खेर फाल्नुहुँदैन । अरूले अनर्गल लेखे वा बोले भन्दैमा उत्तेजित हुनुहुँदैन । मलाई विश्वास छ, एक दिन यो लेख्नेले पक्कै पनि गल्ती महसुस गर्नेछन् ।’
त्यतिखेर बनारसमा बस्ने नेपालीहरू मूलतः चार प्रकारका हुन्थे– काशीमा मर्न पाइयो भने स्वर्ग पुगिन्छ भन्ने विश्वास भएका वृद्धवृद्धा, निर्वासित राजनीतिक नेता–कार्यकर्ता, पढ्न गएका विद्यार्थी र सानातिना जागिर गर्ने मानिसहरू । त्यहाँ जागिर गर्ने भनेका अधिकांश कुल्ली र चौकीदार नै हुन्थे भने केही फौजीहरू हुन्थे । कैन्ट स्टेसनको पारिपट्टि रहेको ‘३९ गोर्खा ट्रेनिङ सेन्टर’ मा भारतीय फौजमा काम गर्ने नेपालीहरूको ठूलै संख्या बस्थ्यो ।
पढ्न गएका विद्यार्थीमा स्पष्ट वर्गभेद देखिन्थ्यो । अंग्रेजीलगायत आधुनिक विषयहरूलाई एकमुष्ट ‘अंग्रेजी पढाइ’ भनिन्थ्यो । अंग्रेजी पढ्नेहरू सबैजसो कांग्रेसी हुन्थे, केही मात्रै कम्युनिस्ट हुन्थे । गरिब परिवारबाट आएका विद्यार्थीहरू प्रायः सबैले संस्कृत पढ्थे । संस्कृत पढ्नेहरूलाई बिहानमा एक छाक निःशुल्क खाना खुवाउने ठाउँहरू थिए । ती ठाउँलाई ‘क्षेत्र’ भनिन्थ्यो । त्यो शब्द सम्भवतः ‘निःशुल्क भोजन क्षेत्र’को संक्षिप्त रूप थियो कि ? अधिकांश संस्कृत पढ्ने विद्यार्थी त्यही एक छाक खाएर गुजारा गर्थे । त्यहाँ जति पनि खान पाइने तर कोठामा लिएर आउन नपाइने नियम थियो । कतिले बन्डीभित्र रोटी लुकाएर ल्याउँथे साँझका लागि । (यी सबै कुरा सविस्तार पछि एसएलसी पढ्दा बुझेको हुँ ।) संस्कृत पढ्नेहरू अधिकांश कम्युनिस्ट पार्टीमा आबद्ध हुन्थे ।
पछि थाहा पाइयो, पुष्पलालको शिक्षा एसएलसीसम्म मात्रै रहेछ । उहाँका अगाडि अंग्रेजीमा लेखिएका ठूलाठूला पुस्तकका ठेलीहरू हुन्थे । उहाँको अंग्रेजी लेखाइ–बोलाइ सबै उत्कृष्ट स्तरको थियो । मिहिनेत गर्ने हो भने औपचारिक शिक्षा लिन नपाए पनि उच्चस्तरको ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने कुराको नमुना हुनुहुन्थ्यो पुष्पलाल ।
पुष्पलालले भेटेजतिका मानिसलाई फर्म भरेर परीक्षा दिन लगाउनुहुन्थ्यो । औपचारिक शिक्षाले खास बेलामा काम दिन्छ भन्ने मान्यता थियो उहाँको । आफूले आफ्नो पालामा पढ्न नपाए पनि युवाहरूलाई औपचारिक शिक्षाका लागि उहाँले निरन्तर प्रेरणा दिनुहुन्थ्यो ।
समयमा उचित उपचार नपाएर नै कमरेड पुष्पलालले असमयमै मृत्युवरण गर्नुप¥यो । निरन्तर सत्तामा ढलीमली गर्ने र गुटबन्दीका आधारमा सधैंभरि सत्ताको केन्द्रमा रहनेहरूले पुष्पलालको जीवनबाट सिक्न सक्दैनन् । उनीहरूको नजरमा पुष्पलाल असान्दर्भिक पनि हुन सक्छन् । तर, नयाँ पुस्ताले पुष्पलालबाट सिक्नुपर्ने धेरै कुरा छन् ।
रोम एक दिनमा बनेको होइन । सुन त्यसै सुन हँुदैन । हीरा बन्न कोइलाले धेरै ठूलो चाप बेहोर्नुपर्दछ । राजनीतिक काममा कहिलेकाहीँ अपमान पनि हाँसेर बेहोर्न तयार हुनुपर्दछ । सही वैचारिक लाइनले अवश्य जित्छ । नयाँ पुस्तालाई कमरेड पुष्पलालको जीवनले यही शिक्षा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा