14th December 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नगुन्जिएको एउटा जिन्दगी



नगुन्जिएको एउटा जिन्दगी

‘वैरीहरू आफ्नै कुकृत्यहरूले उदांगियून्
आफ्नै मुर्खतापूर्ण प्रयासले
पराजित होऊन् हास्यास्पद तर्कहरू
न्यायले
शान्तिले
समानताका गुञ्जले
गुञ्जित होऊन् जिन्दगी ।’
कुनै समय, आशावादलाई यसरी प्रक्षेपण गर्थे, कवि नरेश शाक्य । समानताको गुञ्जनको कुरा गर्थे र जिन्दगी गुन्जिने चाहना राख्थे । आशा, स्वप्न, भरोसा र परिवर्तनको अपेक्षा राख्थे । उनको काव्य लेखनमा प्रखर र प्रबल रूपमा आशावादले स्थान ओगटेका हुन्थे । परिवर्तनको तिर्खा र स्वप्न सँगालेर उनले लामो काव्य–मार्ग पनि छिचोले ।
काव्य–यात्री नरेश शाक्यको सिर्जन यात्रा अचेल कुन कुइँनेटा हुँदै गुज्रिरहेको होला ? यो प्रश्न, यो सरोकारसँग नेपाली साहित्य वृत्तका संस्था÷समूहहरू अनभिज्ञ देखिँदै आएका छन्, आजपर्यन्त । उनीहरूले सोध्ने हिम्मत राख्दैनन्– एक दशक अघिसम्म कविता लेखनमा सक्रिय एउटा स्रष्टा अचेल पनि उत्तिकै सिर्जनरत छन् कि छैनन् ? ती स्रष्टाको बिग्रँदो स्वास्थ्य–स्थिति सुध्रिइसक्यो कि पूर्ववत् अवस्थामै छ ?
साहित्य लेखन, राजनीति र फेरि साहित्य लेखन– कवि शाक्यको जीवनयात्राका चक्र हुन् यी । पञ्चायतको मौलाउँदो कालखण्डमा धरानको साहित्यिक वृत्तमा जमेका उनले त्यही समय नै नेपाली काव्य आन्दोलनमा चिनारी बनाइसकेका थिए । साथीसँगी पनि राम्रै थिए– मञ्जुल, कृष्ण पाख्रिन, वेणु आचार्य । सबै सिर्जनशील । सिर्जनशील संगतले उनले लेखनलाई तिखार्दै लगे । धरानका दिनहरू सम्झिँदै मञ्जुलले लेखेका छन्, ‘धरानमा हामी काव्यात्मक र क्लिष्ट थियौं । म काठमाडौं आएँ र झन्झन् काव्यात्मक झन्झन् क्लिष्ट भएँ । तर, नरेश कलेजको पढाइ सकेपछि पहाडमा गयो, क्रान्तिदूत भएर ।’
त्यो वामपन्थी रुमानीको समय थियो । चे ग्वे भाराको प्रभावले युवाहरू लपेटिएका थिए । हतियार उठाएर चाँडै नै राज्यसत्ता कब्जा गर्ने हुट्हुटी र स्वप्न वामपन्थी राजनीति अँगाल्ने युवाहरूमा व्याप्त थियो । नरेश पनि त्यही हुटहुटीको सिकार हुन पुगे । मञ्जुलले भनेजस्तै उनी बने, क्रान्तिदूत । पहाड र मधेसका भूभाग टेक्दै जनतालाई चेतनशील बनाउन भूमिका खेले, जेलजीवन गुजारे । शाक्यले सहिद ऋषिराज देवकोटा ‘आजाद’सँग जोडिएको एउटा संस्मरणमा लेखेका छन्, ‘समय, करिब ०३०÷३१ सालतिरको ह“ुदो हो । म त्यतिबेला सिरहामा भूमिगत जीवन बिताइरहेको थिए“ । पञ्चायती शासकहरूको कोपभाजनको सिकार बनेको थिए“ म । सिरहाका साथीहरू पनि न्याना थिए, स्नेहयुक्त । नजिकि“दै गइरहेको चौथो महाधिवेशनमा पार्टीको निर्माण–प्रक्रिया चलिरहेको थियो । केन्द्रीय न्युक्लियसको गठनको सिलसिला अगाडि बढिरहेको थियो । त्यसै अवसरमा भेट भयो, पूर्व कोसीका भरतमोहन अधिकारी, कमल कोइराला र मोहनविक्रम सिंह र निर्मल लामा आदिसित । पछि पूर्व कोसीले केन्द्रीय न्युक्लियसको बहिष्कार गरेपछि पार्टी निर्माणको कार्यलाई मोहनविक्रम, निर्मल लामा र जयगोविन्द साह आदिले अगाडि बढाए । ऋषिजी पनि त्यस केन्द्रीय समितिको सदस्य हुनुहुन्थ्यो– सिन्धुली जिल्लाको प्रतिनिधित्व गर्दै ।’
२०३६ सालपछि भने शाक्यले भूमिगत जीवन त्यागे र फेरि फर्किए– काव्य लेखनमै । दैनिक जीवन चलाउन शिक्षण पेसा अपनाए । युवाकाल भूमिगत राजनीतिमै बितेका हँदा घरबार जोड्ने समय धर्किइसकेको थियो । एक्लो जीवन बिताउँदै आए, कवितालाई ‘साथी’ बनाउँदै आए । त्यही समयावधि उनले एउटा सशक्त कविता लेखे, जुन नेपाली प्रगतिशील काव्य–आन्दोलनका उम्दा सिर्जना बन्न पुग्यो–
‘पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेसियर बहन्छ
जमेर तिम्रो मुटु हिमशिला बन्छ
दुवै स्थितिमा तिम्रो उपस्थिति
हाम्रा निम्ति
कति निरंकुश र क्रुर
विषाक्त र वेदनायुक्त छ ।’
बीसको अन्तिम र तीसको आधा दशकसम्म नेपाली वाम आन्दोलनलाई मलजल र गोडमेल गर्न सक्रिय शाक्यका सहकर्मीहरू पटकपटक सत्ताको धुरीमा उक्लिइसकेका छन् । उनको आस्थाको केन्द्रमा विराजमान हुनेहरूले सत्ताको स्वाद चाखिसकेका छन् । तर, ज्येष्ठ नागरिकको बार नाघिसकेका कवि शाक्यको वर्तमान अवस्था कस्तो छ भनेर कतैबाट पनि सोधपुछ हुँदैन । न त साहित्यिक संघसंस्थाहरू नै उनको खोजीमा लाग्न चाहन्छन् । त्यही भएर नै, कवि श्यामलले ६÷७ वर्षअघि लेखेका थिए, ‘चिनिएका निजी क्षेत्रका साहित्यिक मठहरू पनि उनलाई खोज्न चाहँदैनन् । किनभने अब नरेशसँग दिनलाई जनतामाथि अत्यधिक भरोसा राखिएका कविताबाहेक केही बाँकी छैन ।’
एउटा अपेक्षा छ, नरेशका सहपाठी मञ्जुल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा जिम्मेवार तहमा छन्, अचेल । अधिकांश वामपन्थी विचारमा आस्थावान् र केहीचाहिँ वामपन्थीइतरका सर्जकहरूलाई समेटेर त्यो प्रज्ञा–प्रतिष्ठान गठन भएको छ । त्यसको कार्यक्षेत्रभित्र पर्छ वा पर्दैन ? तर, जिम्मेवार ठाउँमा पुगेका कवि–व्यक्तित्व मञ्जुलले अब नरेश शाक्य कसरी उपेक्षाको सिकार भइरहेका छन्, यसको खोजी भने गर्नैपर्छ । त्यसो भयो भने मात्र कवि शाक्यको जीवन गुन्जिन थाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

सुरज भए झनै निष्क्रिय

ShareTweet काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउन अचेल दिनरात खटिइरहेका छन् । भ्रमण वर्ष नजिकिँदै- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कसरी बिर्सिए यिनी ?

ShareTweet पञ्चायती कालरात्रिलाई भोगेका सर्जकहरूले त्यो निरंकुश व्यवस्थालाई लल्कार्ने आधार बनाए, सिर्जनालाई । सिर्जनाका अनेक माध्यममध्ये तत्कालीन समयमा सशक्त मानिन्थे,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

हिन्दु देवताको शल्यक्रिया

ShareTweet क्रिस्टोफर कडबेलले भनेका थिए, ‘धर्म एक मिथ्या सूर्य हो, जो दिग्भ्रमित मानिसहरूको वरिपरि परिक्रमा गर्दछ ।’ हुन पनि, मानव जातिको उत्पत्तिकालदेखि नै धर्मको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा