20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

निभ्यो समृद्ध ज्ञान–पुञ्ज



निभ्यो समृद्ध ज्ञान–पुञ्ज

नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत हुन पुगेको छ । शतायुको छेउछाउ पुग्न लागेका बेला २०७६ साउन ३० गतेको बिहानीसँगै ९७ वर्षमा अस्ताउन पुगेका दीक्षित वैदिक दर्शन र ज्ञान क्षेत्रका सुपरिचित भाष्यकार त थिए नै, वैदिक पात्रहरूलाई साहित्यको धरातलमा उभ्याएर उनीहरूका सच्चरित्र र दुर्गुणहरूलाई केलाउने क्षमतामा पनि उत्तिकै दक्ष थिए । दीक्षितको बिदाइसँगै वैदिक दर्शन र चिन्तनका एक समृद्ध प्रकाश–पुञ्ज निभ्न पुगेको छ र नेपाली वाङ्मय क्षेत्रले दीक्षितकै तहका अर्का मनिषि पाउन सम्भवतः वर्षौं कुर्नुपर्नेछ । उनको अवशानको क्षतिपूर्ति तत्काललाई सम्भव देखिँदैन ।
पूर्वीय दर्शन र चिन्तनलाई साहित्यिक जलप लगाएर चम्काउने कार्यमा कमै स्रष्टाहरूले रुचि र तत्परता देखाएका छन् । तथापि रामायण, महाभारत, वेदजस्ता पूर्वीय दर्शनका महाख्यान र मिथकहरूलाई आधार बनाएर साहित्य सिर्जना गर्ने कार्यमा दीक्षितले ‘ठेक्काु नै लिएका थिए भन्दा हुन्छ । पौराणिक÷मिथकीय पात्रहरूलाई उभ्याएर लेखन र चिन्तनको क्षेत्रमा आफ्नो स्पष्ट दृष्टिकोणसमेत पस्किँदै आएका थिए, उनले । पौराणिक नारी पात्रहरूदेखि दमित पात्रहरूलाई समेत उनले आख्यानको क्यानभासमा रंगाउने काम गरे । हिन्दू धर्म र दर्शनसम्बन्धी अनेक कृति र फुटकर रचना सिर्जिए पनि उनलाई वाङ्मयको क्षितिजमा चम्काउने कार्य भने बहुचर्चित औपन्यासिक कृति ‘माधवी’ले नै ग¥यो । २०३९ सालमा ‘माधवी’ले मदन पुरस्कार पाउनुअघि नेपाली पत्रकारिता क्षेत्रका गिनेचुनेका हस्तीका रूपमा परिचित उनले त्यो कृतिको प्रसिद्धिसँगै बेग्लै उचाइ मात्र ग्रहण गरेनन्, वैदिक धर्म, दर्शन र संस्कृतिको गहन भाष्यमा आफूलाई झनै तल्लीन तुल्याए । आख्यानमा ‘भूमिसूक्त’ र गैरआख्यानमा हाम्रा प्राचीन नारी, त्यो युग, विदुषी गार्गी, द्रौपदी र सीता, हिन्दू संस्कृतिको परिशीलनजस्ता कालजयी कृतिहरू लेखे ।
वैदिक धर्म र दर्शनलाई आधार बनाएर आख्यान÷गैरआख्यान दुवै विधामा कलमको निब चोपेका दीक्षितले नेपाली पत्रकारिता क्षेत्रको उन्नयनमा अतुल्य भूमिका निर्वाह गरेका पाटोलाई कदापि बिर्सन सकिँदैन । उनको पत्रकारिताप्रतिको समर्पण–भाव पञ्चायतकालीन समयमा आलोचनात्मक विश्लेषण गर्ने सीमित अखबारहरूको लहरमा आबद्ध ‘समीक्षा’ साप्ताहिकमार्फत उजागर भएको देखिन्छ । २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँग २१ सय रुपैयाँ आर्थिक सहयोग लिएर भाइ महेशमणि दीक्षितको सहयोगमा प्रारम्भ गरेका ‘समीक्षा’ साप्ताहिक पञ्चायती व्यवस्थाका पालक–पोषकहरूका नजरमा सदैव वक्रदृष्टिमा प¥यो । २०१४ सालदेखि २०४४ सालसम्मको उनको अवधि सक्रिय पत्रकारितामै बित्यो । सुरुका अवधिमा भाइ महेशमणि र पछिल्ला समयमा छोरा विनोद दीक्षितको सहयोग पाएर ‘समीक्षा’लाई उनले अनेक प्रशासनिक अड्चनहरू पार गर्दै सञ्चालन गरे ।
पत्रकारिताप्रति उनी कतिसम्म निष्ठावान् थिए भन्ने दृष्टान्त २०३९ सालको एउटा घटनाले स्वतः पुष्टि गर्दछ । २०३९ सालमा बीपी कोइरालाको निधन हुँदा उनी बारा जिल्लाको आफ्नो मौजामा खेतीपातीमा व्यस्त थिए । बीपीको निधनको खबर सुनेपछि उनमा तीव्र बेचैनी भयो । बीपीको निधनमा सम्पादकीय लेख्न उनी आतुर थिए, तर त्यो समय सञ्चार सुविधा भने शून्य । उनी कलैया गए र टेलिफोनबाट नै काठमाडौंमा छोरा विनोदलाई सम्पादकीय लेखाए । बीपीको निधनको सम्पादकीय यति चर्चित भयो कि उनी पुनः पञ्चायती शासकको वक्रदृष्टिमा समेटिए ।
‘समीक्षा’को प्रकाशन प्रारम्भ गर्न बीपी कोइरालासँग आर्थिक सहयोग लिए पनि त्यो बेला उनी प्रतिबद्ध कम्युनिस्ट थिए । २००८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनले जीवनभरि त्यही वैचारिक÷सैद्धान्तिक धरातलमा आफूलाई अड्याउन सकेनन् । भाइ महेशमणि भने जीवनभरि कम्युनिस्ट रहे । २०४० सालसम्म उनी कम्युनिस्ट भइरहे र त्यसपछिका अवधिमा भने कम्युनिस्ट दर्शन र विचारसँग मोहभंग भए र पूर्वीय दर्शन र चिन्तनमा डुबुल्की मार्न, सिर्जनाको संसारमा रमाउन थाले, जसको जग उनले कम्युनिस्ट बन्नुअगावै वाराणसी हिन्दू विश्वविद्यालयमा ‘हिन्दू धर्म र दर्शनशास्त्र’को अध्ययन गर्दा नै खनिसकेका थिए ।
‘सफल सर्जक, असफल राजनीतिज्ञ’ यस्तो उपमा दीक्षितलाई दिँदा फरक पर्दैन । राजनीतिप्रति चस्का उनमा परेको थियो, तत्कालीन काठमाडौं नगरपञ्चायतको सदस्य भएपछि । तीसको दशकमा उनी ‘बिग्रिएका कम्युनिष्ट’ वासुदेव ढुंगानाको नेतृत्वमा नगरपञ्चायतको सदस्य भए । राजनीतिको स्वादले उनलाई २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनसम्मै भुलायो । पद्मरत्न तुलाधर, वीरेन्द्रभक्त श्रेष्ठलगायत पञ्चायती चुनावमा ‘जनपक्षीयु को नारा दिएर निःसर्त रूपमा उठे पनि दीक्षित भने ससर्त नै उठे । तर, राजनीतिमा उनी जम्न सकेनन् । पञ्चायतको ललिपपमा अरू निष्ठावान् प्रतिभा÷सर्जकहरू लोभिएजस्तै उनी पनि लोभिन पुगे ।
२०५१ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएपछि भने दीक्षित विवादको भुमरीमा पनि फसे । प्रशासनिक ज्ञान र अनुभवको न्यूनतामा आफ्नै सहकर्मीहरूसँग मनमुटाव मात्र भएन, विवादका बाछिटाहरूले त्यो समय प्राज्ञिक थलो विद्रुपसमेत बन्यो । तथापि, त्यो प्रकरण इतिहासको गर्तमा विलीन भइसकेको छ । प्रज्ञा–प्रतिष्ठानको उपल्लो जिम्मेवारीमा रहँदा विवादमा मुछिए पनि त्यसयताका वर्षहरूमा भने उनमा मौजुद विद्वताको खुबीले ती प्रकरणलाई ओझेलमा पारेको सहजै अनुमान लगाउन सकिन्छ ।
दीक्षितको निधन नेपाली वाङ्मयका लागि अपूरणीय घाटा हो । जीवनको आठ दशक नित्य रूपमा नेपाली वाङ्मयको सेवामा समर्पित र क्रियाशील उनको निधनप्रति समाजका हरेक क्षेत्रका मानिसहरू दुःखी भए, शोक मनाए । उनीप्रति हार्दिक श्रद्धा–सुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा