18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

एकताको स्थायित्व



जिम्मेवारी बाँडफाँटलाई टुंगो लगाएपछि देशकै ठूलो र शक्तिशाली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले अन्ततः सार्थक दिशा पहिल्याएको छ । दुई कम्युनिस्ट घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको करिब डेढ वर्षपछि एकताले सार्थक र मूर्तरूप ग्रहण गर्न पुगेको हो । जिम्मेवारविहीन केन्द्रीय÷सीमान्त तहका नेताहरूले किस्ताबन्दी रुपमा जिम्मेवारी पाएका छन् र यो अवधिमा व्याप्त अन्योल, संशय, द्विविधा र असन्तोष पनि अब हट्ने अनुमान गरिएको छ र सत्तारूढ नेकपाले पार्टीगत राजनीतिमा पनि गति समात्ने अपेक्षा पलाउन पुगेको छ ।
दुई ठूला र सशक्त कम्युनिस्ट शक्तिबीच डेढ वर्षअघि अकल्पनीय रूपमा एकताको घोषणा हुँदा त्यसले आमजनपंक्तिमा बेग्लै उत्साह र तरंग पैदा गरेको थियो । पूर्वानुमानबिना नै राजनीतिक रूपमा प्रतिस्पर्धी मानिएका र एकअर्काबीच सदैव कटाक्षको बीजारोपण गरिरहने शक्तिबीच एकता हुँदा त्यसले ल्याउने तरंग पृथक नै हुन्छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा पनि सहजै त्यस्तो तरंगको प्रादुर्भाव हुन पुगेको थियो । तत्कालीन समयमा दुवै पार्टीको कार्यकर्ता पंक्तिमा अपार उत्साह भित्रिएको थियो र जनपंक्तिमा पनि आ–आफ्नो टापु खडा गरेर बसेका कम्युनिस्ट घटकहरू एकजुट हुँदा त्यस्तो एकता राष्ट्र र जनताका निम्ति लाभप्रद हुने ठम्याइ थियो । आखिर जनअपेक्षा पनि त्यहीं नै थियो– कम्युनिस्टहरू मिलेर देश विकास र निर्माणमा योगदान गरोस्, गणतन्त्रको संस्थागत विकासमा भूमिका निभाओस् र संघीयताको कार्यान्वयन र परिपक्वतामा कदम चालोस् । यस्तो जनअपेक्षा संघीय र प्रादेशिक चुनावका क्रममा प्रस्ट रूपमा सतहमै उद्घाटित हुन पुगेको थियो र नेकपालाई अत्यधिक मत दिएर जनताले देशको विकास र समृद्धिको दिशामा अघि बढ्न र नेतृत्व गर्न अवसर प्रदान गरेका थिए ।
दुई कम्युनिस्ट शक्तिबीचको एकतालाई जनपंक्तिले सहजै स्विकारे । जुन स्वीकार्यताको परिणति तत्कालका निर्वाचनहरूमा देखिएको थियो । तर देशका दुई शक्तिशाली कम्युनिस्ट घटकबीचको एकताले कतिपय शक्ति–समूहहरूमा भने तीव्र बेचैनी पैदा हुन पुगेको थियो । मूलतः यथास्थिति र प्रतिगमनका पृष्ठपोषकहरूका निम्ति दुई कम्युनिस्ट घटकको एकता अपाच्य मात्र भएन, एकता विरोधी अभिव्यक्ति र भ्रमहरू छर्दै हिँडे पनि, ती शक्तिहरू । उनीहरूले आफ्ना आसेपासे शक्तिहरूलाई परिचालित पनि तुल्याए । अचम्मको विषय, कम्युनिस्टहरू शक्तिशाली हुन पुगेको कुन चाहिँ पश्चगामी शक्तिहरूका निम्ति खुसी र उल्लासको कुरा हुन्थ्यो र ? भ्रम, अफवाह छरेरै भए पनि एकतालाई कमजोर र नकारात्मक तुल्याउने हर्कतमा ती शक्ति–समूहहरू लागि परे र उनीहरूको त्यस्तो अभियानले अझै विश्राम लिइसकेको छैन । एकतालाई कतिखेर बिथोल्न सकिएला भनेर अझै मौका ढुकेर बसिरहेका छन् ।
यद्यपि, नेकपाले अहिले जुन दायित्व र जिम्मेवारी प्राप्त गरेको छ, त्यो ऐतिहासिक जिम्मेवारी हो । इतिहासमा यस्ता अवसर कमै आउँछन् । आम जनमानसले कुनै पनि शक्तिलाई यति धेरै विश्वास र भरोसा विशेष कालखण्डमा मात्रै गर्ने गर्दछन् । विगतमा नेपाली जनमानसले अनेक राजनीतिक शक्तिहरूलाई विश्वास र भरोसा गरेका थिए र त्यहीअनुरूप आफ्नो मत अर्पणसमेत गरेका थिए । तर, जनमत र अपेक्षाअनुरूप राजनीतिक शक्तिहरू प्रभावकारी रूपले उभिन नसकेपछि अन्ततः जननजरमा गिर्न पुगे र त्यस्ता शक्तिहरूले पुनः टाउको उठाउने प्रयत्न गरे पनि सफलता हासिल गर्न सकेनन् । जनपरीक्षणमा दह्रो र खरो रुपमा उत्रिन नसक्दा विगतमा थुप्रै राजनीतिक शक्तिहरू धुलो चाट्न बाध्य भएका अनेक दृष्टान्तहरू छन् हामीसँग ।
अहिले नेकपाले सुवर्ण अवसर पाएको छ । दुई तिहाइको सरकार छ । चाहे भने सरकारले देशलाई आर्थिक समृद्धिको दिशामा तीव्र गतिमा अघि बढाउन सक्नेछ । तर त्यसका निम्ति सरकार सञ्चालनको बागडोर सम्हालेको नेकपाभित्रै एकता र इच्छाशक्तिको तालमेल हुनु अनिवार्य देखिन्छ । पछिल्लो समय, नेकपाले पार्टीभित्र उत्पन्न समस्याहरूलाई किनारा लगाउने सोचले जसरी एकता प्रक्रियालाई टुंगोमा पु¥याउन चाह्यो, त्यसले अब भने एकताको भावनालाई आत्मसात् गरी पार्टी अगाडि बढ्ने र सरकारले पनि गति लिने अपेक्षा सँगाल्न थालिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विकल्प समाप्त गरेर पार्टी एकताको दिशामा आफूहरू सक्रिय रहेको र अब दिगो र स्थायी प्रकृतिको नेकपाको विकासमा लाग्ने संकल्पबोध पछिल्ला दिनमा व्यक्त गरेका छन्, पक्कै पनि यसले आम कार्यकर्ता पंक्तिमा उत्साह छाउन पुगेको छ । प्रचण्डका यी भनाइ एकता प्रक्रियालाई सुदृढ तुल्याउने आधार बन्न सक्छन्, पूर्वएमाले र माओवादी केन्द्रका कार्यकर्ताहरूमा मौजुद संशयहरू मेटिन सक्छन् र एकताको स्थायित्वमा भूमिकासमेत निर्वाह हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा