19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

पद नगएको मान्छे दुनियाँमा को छ ?



पद नगएको मान्छे दुनियाँमा को छ ?

केपी शर्मा ओली
कतिले बुझेरै हो कि, कतिले नबुझेर हो, हामीले अहिले बनाएको संविधान र गराएको चुनावबाट लोकतान्त्रिक अभ्यासबाट जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ । यो सरकार अचानक एउटा ‘ह्विम’मा जनताको असन्तुष्टिमाथि टेकेर बनेको होइन । एउटा तात्कालिक संवेदना, भल छोपेर बनेको सरकार होइन । यसको संघर्ष र बलिदानको इतिहास छ । संघर्ष र बलिदानको इतिहासबाट अगाडि बढाएको नीति, विगतको भूमिकाका कारण जनताले विश्वास गरेर अभिमत दिएर बनेको हो । म फेरि दोहो¥याउँछु, बलिदानपूर्ण इतिहास र सही नीति हेरेर यो सरकार गठन गर्ने जनादेश प्राप्त भएको हो । मैले कुनै भावावेशमा होइन, जनताको असन्तुष्टिको अभिव्यक्ति होइन भनेर किन भनिरहेको छु भने कहिले–कहिले यो सरकारको लोकतन्त्र र लोकतान्त्रिक प्रणालीप्रतिको निष्ठामा भ्रम फैलाउने काम हुने गरेको छ । म सबैलाई आग्रह गर्छु, यो विरोधीले चलाउने हल्ला हो । यो संसद्भित्र लोकतन्त्रको पक्षमा लडेर आएका शक्तिको विरोधमा फैलाइएको हल्ला हो । जनताको विश्वास भत्काउने प्रयासअन्तर्गत लोकतन्त्रका निम्ति यति लामो संघर्ष, यति ठूलो बलिदानबाट अगाडि बनेको सरकार, जो अरूले ल्याएर दिएको लोकतन्त्रमा होइन, आफैंले लडेर ल्याएको, कोहीभन्दा कम बलिदान, त्याग गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन । यस पार्टीले कुनै नीति गत त्रुटीबाट जनताको आलोचना सहनुपर्ने अवस्था बनेको छैन । त्यस्तो अवस्थामा वर्तमान सरकार अधिनायकवादतिर गयो भन्दा जनताले पत्याउँदैनन् ।
अहिलेको सरकार लोकतन्त्रका लागि लडेको सरकार हो । त्यसबाट उब्जिएको सरकार हो । यो सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ । यो सरकारको उद्देश्य नै लोकतन्त्रलाई सुदृढ गर्नु हो, सुरक्षा गर्नु हो । यो सरकारका उदारता, संयमलाई हेरेर केही तŒवहरू बढ्दै हौसिएको देखिन्छ । म भन्न चाहन्छु संविधानसम्मत ढंगले चल्ने कुरामा, संविधानको दायरामा चल्ने कुरामा यो सरकार अत्यन्त प्रशंसाका साथ विरोध र आलोचनको स्वागत गर्छ । तर सरकारको आलोचनका नाममा प्रणाली उल्टाउँछु, संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य हुन सक्दैन । म खुलस्त भन्न चाहन्छु, संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता जनताको शासनविरोधी क्रियाकलापहरू सरकारको उदारता र सहिष्णुताबाट त्यस्ता क्रियाकलाप सञ्चालन गर्नेहरू नहौसिए हुन्छ । त्यस्ता तŒवहरूले टाउको उठाउने प्रयास नगर्दा हुन्छ ।
एकजनाले भनेको सुनें, प्रधानमन्त्री लगलग कामिरहेका छन्, पद जाने भो । पद नगएको मान्छे मैले दुनियाँमा कोही देखेको छैन । राजा, महाराजा, जननिर्वाचित प्रतिनिधि कसैको पनि पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसैले निर्वाचनसम्म साथीहरूलाई धैर्य गर्न आग्रह गर्न चाहन्छु । केही प्रतिगामी शक्ति सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने दिवास्वप्न नदेखे हुन्छ । यो सरकार चनौतीहरूको सामना गरेर आएको पृष्ठभूमि छ । ठूलाठूला चनौती, अहिले जुन संस्था र निकायका कुरा गर्ने गर्छन् मान्छेहरू ती जिउँदै हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर ठेगान लगाउँछु भन्ने गरेको पनि सुन्ने गरेको छु । यो बेमौसमको बाजा नबजाए हुन्थ्यो । सरकारले यो उदारता देखाएको यो कुरा नपत्याएकाले हो । पत्याएको दिन, संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।
अहिले सरकारको सम्पूर्ण प्रयास विकास निर्माणका कुरामा छ । केही पनि भएन भनेको सुनिन्छ । केही नहुँदा पनि ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर छ । जुन नेपालको इतिहासमा यसअघि कहिल्यै भएको थिएन । अर्को वर्ष ८.५ हुनेछ । त्यसपछि पनि केही भएन भन्नुस् । त्यसपछिको वर्ष ९ प्रतिशत पुग्छ । फेरि पनि भएन भन्नुस्, ११ प्रतिशत पुग्छ । केही भएन भन्नेले हामीलाई सजग गराएकोमा धन्यवाद । हामी निरन्तर अगाडि बढिरहन्छौं । इतिहासमा पहिलोपटक गत वर्ष १४ सय किलोमिटर बाटो पिच भयो । केही पनि भएन भन्नुस् । यस वर्ष दुई हजार पु¥याउँछौं । तीन सय पुल बनाउँदा पनि कम भयो भन्नुस्, अर्को वर्ष पाँच सय पुल बनाउँला । बाटाहरू चौडा बन्दै छन् । हामी रोकिनेवाला छैनौं । एउटा मेलम्चीको ठेकेदार भाग्यो । यस्तो कुरा कहिलेकहीँ हुन्छ । सरकार भागेको त होइन नि । मेलम्चीको काम अब हामी आफैं गर्दै छौं । केही ढिला हुने भयो तर आउँछ । हामी विकास आयोजनाका कार्यान्वयनमा देखिएका समस्या कसरी छिटोछरितो रूपमा समाधान गर्ने भन्नेमा लागेका छौं । राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनाका कार्यान्वयन क्षमता बढाउन अनुगमनको प्रभावकारी व्यवस्था मिलाइएको छ । समस्या आइपरे चाँडो समाधानका लागि उपकरणसहितको ‘तत्काल समाधान कक्ष’ विकास गरिएको छ । यी नयाँ शैली अगाडि बढाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजनाको तत्क्षण अनुगमन गर्ने कक्ष बनाइएको छ । जतिबेला चाहियो, त्यतिबेला अनुगमन गर्न सकिन्छ । यस सम्मानित सदनबाट पारित भएका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्न उत्तरदायित्व, आवधिक योजनाको नयाँ प्रणाली सुरु गरिएको छ । प्रधानमन्त्री र मन्त्रीका बीचमा, मन्त्री र सचिवका बीचमा सम्झौता गरिएको छ । यति अवधिमा यति काम गर्ने भनेर जिम्मेवार निकाय र पदाधिकारीबीच सम्झौता भएकाले अब काम तीव्रतामा अगाडि बढ्छ । यसबाट पुँजीगत खर्चको आवश्यक वृद्धि, सेवाप्रवाहको स्तरमा अनिवार्य सुधार आउनेछ भनेर भर पर्न सक्दछौं । किन पनि भने हामी प्रभावकारी अनुगमनबाट अगाडि बढेका छौं । आफ्ना कामका लागि पदाधिकारी जिम्मेवार बन्ने प्रणाली स्थापित गरिएको छ ।
हामीले गत आर्थिक वर्षलाई आधार वर्ष भन्यौं । त्यो अनेक हिसाबले आधार वर्ष अत्यन्तै सटीक ढंगले तयार गरेका छौं । त्यसबीचमै हामीले संविधान कार्यान्वयनका निम्ति कानुन निर्माणको, शक्तिविन्यासको, सामर्थ विन्यासको पक्षलाई पनि आधारभूत रूपमा टुंग्याएका छौं र आधार वर्षका रूपमा आधार तयार गर्नुपर्ने काम पूरा गरेका छौं । यी काम गर्दागर्दै पनि ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गरेका छौं । यसबीचमा ऊर्जा, सडक, पुल, सूचना, सञ्चार, पर्यटन आदि क्षेत्रमा उत्साहपूर्ण उपलब्धि हासिल भएका छन् । शिक्षा र स्वास्थ्यको गुणस्तरमा जोड दिइएको छ । भर्ना अभियान सञ्चालन गरिएको वितिदै छ । अब तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने आधार तयार भएको छ । आधार वर्षमै हामीले ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएकाले आगामी दिनमा अझ अगाडि जान सकिन्छ भन्ने स्पष्ट भएको छ ।
आगामी दिनमा हामी सुशासनमा केन्द्रित हुनेछौं । शान्ति–सुव्यवस्था कायम गर्न सरकारले प्रभावकारी कदम चालेको छ । राजस्व चुहावट, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरणका अपराधमा लागेका जोकोहीलाई सरकारले दण्डित गर्ने कसर राखेको छैन । सुशासन प्रवद्र्धन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, कठोर रूपमा लागेको छ । परिणाममुखी र सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न राष्ट्रसेवकलाई उत्प्रेरित गरिएको छ । निष्पक्ष ढंगले निर्भीकताका साथ काम गर्न सक्ने वातावरण बनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध सक्रियताका साथ काम गरिरहेको छ । भ्रष्टाचारीहरू धमाधम कानुनको दायरामा आउने अवस्था उत्पन्न भएको छ । आयोगको ४९ वर्षे इतिहासमा यसै वर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको छ । कोही कोहीले भ्रष्टाचार बढ्यो, बढ्यो भनेको सुन्छु । बढेको होइन, घटेको हो । भ्रष्टाचारीमाथि मुद्दा दर्ताको प्रक्रिया र कारबाही बढेकाले संख्या बढी देखिएको मात्रै हो । देशका विभिन्न भागका सार्वजनिक जग्गा, गुठीका जग्गा, विभिन्न ढंगले अनधिकृत ढंगले हडपेका जग्गा सरकारको स्वामित्वमा फर्काउन दृढतापूर्वक कदम चालिएको छ । जग्गा हडप्नेहरूमाथि कारबाही गर्न उच्चस्तरीय समिति गठन गरेर कारबाही प्रक्रियाअगाडि बढिसकेको छ ।
हामीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्न प्रमुख आयुक्त र आयुक्तहरूको नाम सिफारिस गर्न सिफारिस समिति निर्माण गरिसकेका छौं । समिति क्रियाशील छ । मैले विश्वास लिएको छु, यसै हप्ताभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन हुनेछन् । सिफारिस आउनेबित्तिकै सरकारले बिनाविलम्ब आयोग गठन गर्नेछ । हामी हाम्रा प्रतिबद्धताअनुसार नै यस विषयको निरूपण गर्नेछौं । हामीले द्वन्द्व व्यवस्थापन गरेको यति समय भइसक्दा पनि द्वन्द्वका घाउ–खाटा बाँकी रहनु र तिनलाई सम्झेर बेलाबेला चह¥याउने स्थिति हुनु वाञ्छनीय होइन ।
मुलुकमा संघ, प्रदेश र स्थानीय तहमा तीन तहका सरकार क्रियाशील छन् । सबै सरकार आआफ्ना जिम्मेवारीअनुसार क्रियाशील छन् । यसले संघीयता कार्यान्वनलाई थप मजबुत बनाउँदै गएको छ । स्वभाविक रूपमा यो नयाँ प्रणाली हो । त्यसैले तीन तहका सरकारबीच तालमेल मिलाएर संविधानले तोकेका अधिकार, आवश्यकता र औचित्य तथा विद्यमान अवस्थासमेतलाई ध्यानमा राखेर बहुतै उपयुक्त ढंगले यसको व्यवस्थापन गर्न केन्द्रीय सरकार कटिबद्ध छ । अन्तरप्रदेश परिषद् र अन्तरसरकारी वित्त परिषद्का बैठक भइरहेका छन् । वित्त परिषद्को बैठक केही दिनभित्रै हुँदै छ । परिषद्को बैठक पनि निकट भविष्यमा हुन्छ । ती बैठकले हामीले व्यवस्थित गरेका कुरालाई अझ परिवर्तित, सन्तुलित ढंगले अगाडि बढाउन योगदान गर्नेछ । नयाँ प्रणाली भए पनि पहिलो वर्ष नै सम्मति र सन्तुलित ढंगले अगाडि बढ्नु अत्यन्तै सुखद कुरा हो । अत्यन्त सफल कुरा हो ।
हाम्रा सार्वजनिक खरिदको क्षेत्रमा रहेका कुरा समाधान गर्न आवश्यक कानुन तर्जुमा गरिरहेका छौं । विधि प्रक्रियाहरू सरल र छोटो बनाएर लगानी र खरिद प्रक्रियालाई सहज बनाउने र आकर्षित गर्ने विषयमा सरकारको ध्यान गएको छ । यसतर्फ यस गरिमामय संसद्को ध्यान गएकोमा खुसी व्यक्त गर्न चाहन्छु । संसद्को भूमिका अत्यन्त प्रभावकारी र सकारात्मक भएकै कारण पहिलो वर्षमै हामीले यति धेरै कानुन बनाउन सक्यौं । दुनियाँमै यो उदाहरणीय छ । अब बाँकी काम हामीले त्यसैगरी गर्नुपर्नेछ ।
यस वर्ष बाढीपहिरो, डुबान आदिले देशलाई धेरै नै क्षति पु¥यायो । पहाडमा पहिरो र तराइमा बाढी र डुबानले धेरै क्षति पु¥यायो । यस क्षेत्रमा नेपाल सरकारको अत्यन्तै तदारुकताका साथ समस्या समाधान गर्ने कुरामा, उद्धार तथा राहतका काममा ध्यान गएको छ । सेना, प्रहरी, कर्मचारी, जनप्रतिनिधि, पार्टी कार्यकर्ताहरू र सिंगै समाज आ–आफ्ना ढंगले परिचालित भएको छ । म सबैलाई धन्यवाद भन्न चाहन्छु । अब पुनःस्थापनाका कार्यलाई कसरी अगाडि बढाउने भन्नेमा सरकार गम्भीर छ । गत चैत १७ गते बेलुका बारा–पर्सामा आएको चक्रवातको क्षतिको पुनःस्थापनाको कार्य नेपाली सेनामार्फत अत्यन्तै तीव्रताका साथ भइरहेको छ । यसै महिनाको दोस्रो साताभित्र ८ सय ६९ घरको निर्माण सम्पन्न गरेर जनतालाई आवास उपलब्ध गराउन सरकार अगाडि बढेको छ ।
(गत आइतबार प्रतिनिधिसभा बैठकलाई गरेको सम्बोधनको अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा