19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब



‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

पूर्वरंग
संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ–
संसार विषवृक्षस्य द्वेफले अमृतोपमे ।
काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७
अर्थात् यस संसाररूपी विषवृक्षका अरू अरू परिणामहरू जेजस्ता भए पनि दुईवटा फलहरू अत्यत्न सुन्दर हुन्छन् । पहिलो कविताको रसरूपी अमृतको पान गर्नु र अर्को सज्जन व्यक्तित्वहरूसँग सरसंगत एवं कुराकानी गर्नु । कवि मातृका पोखरेलको कविता संग्रह ‘मित्रताको आकाश’को अध्ययनपछि दुवै प्रकारका सुन्दर फलहरू प्राप्त भएको अनुभव हुन्छ । पहिलो कुरा कविता संग्रहमा रहेका कविताहरूको रसास्वादन भएको भने छ र दोस्रो स्वयं कवि मातृका पोखरेलजस्ता सज्जन व्यक्तित्वसँगको सरसंगत र कुराकानीहरू हुन् । तर कवि पोखरेललाई व्यक्तिका रूपमा भन्दा पनि कविताहरूबाट पहिले नै चिनेको थिएँ । जब २०५७ सालमा उनको पहिलो कविता संग्रह ‘सेतो दरबारको छेउ’ प्रकाशित भयो, त्यसलाई मैले बुटवलैबाट प्राप्त गरें र २०५९ मा प्रकाशित मेरो समालोचनात्मक कृति ‘प्रगतिशील साहित्य समालोचनामा’ प्रकाशित भयो । लामो समयसम्म पनि मैले व्यक्तिगत रूपमा पोखरेललाई चिनिनँ । प्रलेसको दसौं सम्मेलनमा रूपन्देहीबाट प्रतिनिधित्व गरेर सम्मलेनमा सहभागी भएपछि त्यसबाट छनोट भएर उनी केन्द्रीय अध्यक्षमा पदासीन भएपछि म त्यसको केन्द्रीय समितिमा रहें । त्यसपछि अद्यापि उनीसँग सरसंगत र हिमचिम बढ्यो र उनलाई मैले उपयुत्र्तm नीतिवचनले प्रस्तुत गरेजस्तै ‘संल्लाप सज्जनैः सह’ अर्थात् सज्जन व्यक्तित्वहरूसँगको सरसंगत र कुराकानीबाट प्राप्त हुने आनन्दानुभूतिजस्तै बन्नै पुगेका कुराको अनुभव गरेको छु ।
पोखरेलको कविता साधना
साहित्यका विविध विधाहरूमध्ये कविता विधा जति सुगम विधा हो, सबैका लागि साहित्यमा प्रवेश गर्ने अत्यन्त सुगम बाटो पनि हो तर यसमा सिद्धि प्राप्त गर्न पनि त्यति नै कठिन छ । धेरै मानिस सगरमाथा चढ्न आधार शिविरसम्म पुग्छन् तीमध्ये केही मात्र सगरमाथा चढ्ने जमर्को गर्छन्, त्यसभन्दा अगाडि बढ्छन् पनि । सगरमाथाको चुचुरोसम्म पुग्ने त कोही एक्कादुक्का मानिस मात्र हुन्छन् । ठीक त्यस्तै कुरो कविताको साधनामा पनि लागू हुन्छ । कविता क्षेत्रमा प्रवेश गर्नेहरूको संख्या निकै ठूलो हुन्छ । त्यसमा सफलता आर्जन गर्ने कविताको मर्मलाई बुझेर त्यसलाई सामाजिक प्रगतिको दिशामा लगेर जोड्ने काम पनि त्यति नै कठिन काम हो ।
पोखरेल उदाहरणीय कवि हुन्, जुन वैचारिक रूपले स्पष्ट र त्यति नै प्रतिबद्ध पनि छन् । उनका कवितामा वैचारिक निष्ठा प्रतिविम्बित रहेको देखिन्छ । कवितामा वैचारिक प्रतिबद्धताको कुरा त्यतिबेला परीक्षण हुन्छ जब तपाईका सामु दुईवटा विषयवस्तुको विकल्प देखा पर्छन् । एकपट्टि सत्ताको सुख र वैभव र त्यसको आभाले आकर्षित गरिरहेको हुन्छ, त्यतैपट्टि लाग्ने कि अर्कोतिर अवसरहरू गुमेको अवस्था र वरपरका आफन्तहरूले पनि यत्तिका समयसम्म लाग्दा पनि केही पाइनस् भन्दै गरिने अपहेलना र आफूजस्तै शोषण र उत्पीडनमा परेकाहरूको बोली बोल्ने बेलामा तपाईंको मन वचन कर्मले कतापट्टि लाग्ने भन्ने विषयको चयन नै वैचारिक प्रतिबद्धताको विषय हो ।
एकापट्टि दुराचार भ्रष्टाचार र अपचलनले ग्रस्त भएको जमात छ र अर्कोपट्टि हेपिएकाप्रतिको प्रतिबद्धता कायम हुन्छ । एकापट्टि अन्याय, अत्याचार तथा बेथितिको साम्राज्य छ र अर्कोपट्टि रोग शोक भोकले ग्रस्त भइरहेको जमात रोज्नुप¥यो भने तपाईं कता ? यसै कुराले वैचारिक निष्ठाको परिचय प्राप्त गर्न सकिन्छ । कवि मातृका पोखरेलको जीवनकर्मले र साहित्यको साधनाले पनि उनलाई शोषित–उत्पीडितहरूको पक्षमा उभ्याएको छ ।
कवितासंग्रहको अन्तर्वस्तु
पोखरेलका प्रत्येक कविता वैचारिक हिसाबले शोषित, पीडित, बेथिति, अन्याय अत्यचारका विरुद्धमा सशक्त रूपले उभिएका छन् । ‘मित्रताको आकाश’ संग्रहको प्रतिनिधिमूलक कविता हो र यसै कविताको वैचािरक उद्घोष भनेको विगतमा भएको राजनीतिक क्रान्तिले जनताका आशा आंकाक्षाहरूलाई बढाइदिएको त छ तर विभिन्न गतिविधि र क्रियाकलापहरूले त्यसको परिपूर्णता प्राप्त गर्न सकिरहेको देखिँदैन र त्यसको कुनै लक्षण पनि छैन । एक प्रकारले अविश्वास बढिरहेको भनिएको छ । अर्को कविता ‘प्रश्नहरूको बाढी’मा विगतमा प्रतिबद्ध भएर कायम गरिएका संकल्पहरू, आदर्शहरू र वाचाबन्धनहरू किन ध्वस्त हुँदै गइरहेका छन् ? भनेर कविले प्रश्न गरेका छन् । ‘जंगबहादुर’मा जनताले यत्रो ठूलो संघर्ष गरेर लोकतन्त्रको स्थापना त गरे, तर शासकहरू र नेतृत्व वर्ग जनमुखी नभएर जंगबहादुरका शैलीमा किन गइरहेका ? प्रजातान्त्रिक मूल्य–मान्यताहरू किन असफल छन् ? भनेर वर्तमान सत्ताप्रति औंलो ठड्याएका छन् । ‘चस्मा’मा पनि जनताले जुन प्रकारको आशा आकांक्षा बोकेर सबै कुरामा सहभागी बनेका थिए, अहिले आएर उनीहरूको धैर्यको बाँध भत्किन भत्किन थालेको भन्ने आशंका गरिएको छ । ‘ऐना’मा विगतमा क्रान्तिकारी नेतृत्वको व्यक्तित्व एकदमै आकर्षक एवं सन्दर्भयोग्य थियो भने अहिले आएर तिनै नेताहरूको जीवनशैली र वैचारिकताले गर्दा उनीहरूको व्यक्तित्वको क्षयीकरण भइरहेको कुरा उठाएका छन् ।
‘सहरमा माक्र्स’मा वर्तमान नेतृत्व पंक्ति माक्र्सवाददेखि पराङ्मुख हुन खोजिरहेको त छैन ? भन्ने प्रश्न उठाइएको छ । ‘सडकको सिकार’मा जसरी विगतको तानाशाही व्यवस्थाका परिस्थितिमा पनि सामन्तवादका अवशेषहरू र दलाल नोकरशाही पुँजीवादविरुद्ध पनि जनता नै सचेत र संगठित भएर तिनका विरुद्ध जाई लाग्नुपर्छ भन्ने विचार अगाडि सारिएको छ । ‘पहिरो’नामक कविता भने जनताका आशाहरूमा पहिरो जान थालेको छ र जिम्मेवार तह समयमै सचेत भएन भने ठूलो नोक्सान हुन सक्छ भनेर सचेत पार्न खोजिएको छ । ‘नयाँ प्रभातको खोजीमा’ मा कविले आफ्नो इमानको वकपत्र प्रस्ततु गरेका छन् र आफू पनि नयाँ प्रकारको समाजवादप्रति आशावादी रहेको भावना व्यक्त गरेका छन् । ‘दिल्लीका मच्छरहरू’ नामक कवितामा साम्राज्यवाद विस्तारवादको जगजगी र खतरा अहिले पनि कायमै छ । ‘युद्धको नाट्यशाला’ नामक कवितामा मूलतः प्रगतिशील वैचारिक चेतनाको उद्घोष गरिएको छ । नेपालमा ठूलो क्रान्तिकारी परिवर्तन भएर वर्तमान अवस्थाको सिर्जना भए पनि अझै सामन्तवादको अवशेष र दलाल नोकारशाही पुँजीवादको बिगबिगी त्यति नै कायम छ भन्ने विषयलाई ‘नागार्जुनको सर्प’बाट अभिव्यक्त भएको छ । क्रान्ति सकिएको छैन, त्यो त निरन्तर जारी छ । त्यसैकारण जनताको क्रान्तिकारी भावनालाई देश निर्माणको आशावादितालाई मर्न दिनुहुँदैन भन्ने भावधारामा आधारित कविता ‘सपना र टर्चलाइट’ हो । नेपाली जनताको राष्ट्रिय एकतामाथि अनेकौं प्रकारले तुषारापात गर्न खोज्नेहरूप्रति लक्षित गर्ने जनताको एकताको भावनामाथि कसैले पनि खेलवाड गर्नुहुँदैन भन्दै सचेतनता जागृत गरिएको कविता हो– ‘माटोको गन्ध’ ।
‘सम्भवत मैले उतिबेलै भनेको थिएँ’ नामक कवितामा विगतको आन्दोलनको एउटा धार जहिले पनि अधैर्य बनेर हिँडेको थियो र अहिले पनि त्यस प्रकारको अधैर्य कायमै छ भन्ने विषय सोझासोझी शब्दबाट व्यक्त भएका छन् भन्ने व्यक्तिवादले अहिले पनि हाम्रो नेतृत्वकारी पंक्तिलाई गाँजेको छ । यसबाट सतर्क रहनुपर्छ भनेर खबरदारी गरिएको छ । जनताको क्रान्तिकारी भावना र आशावादितालाई कहिल्यै पनि मर्न दिनुहुँदैन भन्ने कुरा ‘नरेश शाक्यका आँखा’बाट अभिव्यक्त भएको छ । ‘उपाध्याय बाजेको मम पसल’मा परिस्थितिले मानिसको जीवनव्यहारलाई कसरी परिवर्तन गरिदिन्छ र श्रम र पसिना जहाँसुकै पनि बगाउनुपर्दछ भन्ने कोमल भावनामा आधारित कविता हो ।
‘बूढो घोडा’ नामक कवितामा भ्रष्ट कर्मचारीतन्त्रलाई अहिलेको परिवर्तन कत्ति पनि मन परेको छैन र उसले वर्तमान सत्तालाई त्यत्ति सहयोग गरिरहेको छैन भन्ने भावमा आधारित छ । त्यस्तै गरी वर्तमान अवस्थामा भ्रष्टाचारको जालो यति फैलाएको यसले जोकसैलाई पनि गाँजेकै छ भन्ने विषयलाई प्रस्तुत गरिएको कविता हो ‘ऋषिकुटीतिर फर्केर हेर्दा’ । यस्तै गरी ‘लेख्नै बाँकी छ’ भन्ने कवितामा क्रान्ति निरन्तर जारी भइरहेको हुन्छ । जसरी अधिकार प्राप्तिका लागि संघर्ष भयो त्यस अनुसारका उपलब्धिहरू हुन बाँकी नै छ । क्रान्तिकारी परिवर्तन निरन्तर भइरहने कुरा हो । अझै धेरै काम गर्नु छ, अझै धेरै लेख्न बाँकी छ भन्ने विषयलाई आधार बनाइएको छ ‘नयाँ आँधीको स्वागत’मा । ‘अनेकोटले हेर्ने आँखा’ नामक कवितामा विगतको जनयुद्धकालमा सांस्कृतिक कर्मीहरूको जुन प्रकारले एकै ठाउँमा सामूहिक हत्या भयो तिनै सांस्कृतिक कर्मीहरूको ‘स्मृतिका लागि समर्पित’ कविता हो । त्यस घटनामा मारिएका सांस्कृतिक कर्मीहरूले देखेका सपनाहरू ज्यादै महŒवपूर्ण थिए ती सपनाहरू अहिलेका लागि त्यति नै सान्दर्भिक रहेका छन भन्ने भाव व्यक्त भएको छ । ‘आफ्नो बाटो छाडेपछि’ नामक कवितामा मानिसले आफ्नो गति र आस्था परित्याग गरिदिन्छ त्यस अवस्थामा मानिस मानिस नभएर एक प्रकार बुख्याँचा अर्थात् पुतला बन्न पुग्छ भन्नेमा जोड दिइएको छ । ‘नक्कली हावा’ नामक कवितामा जन क्रान्तिले जुन प्रकारको आशा जगाएको थियो अहिले आएर त्यसमा केही निराशाका बादलहरू मडारिन थालेको देखिँदै छ, यो कुरा कदापि सह्य हुनेछैन भन्ने कुरा दर्साउन खोजिएको छ । ‘मान्छेहरूको भ¥याङ’ पनि त्यति नै सशक्त कविता बन्न पुगको देखिन्छ, जसमा विगतको राजनीतिक आन्दोलनमा आफ्नो जीवन सर्वस्व अर्पेर आन्दोलनमा सहभागीहरूका सपना पूरा हुन सकिरहेका छैनन् भन्ने कुरामा जोड दिइएको छ ।
यसरी ‘मित्रताको आकाश’ कवितासंग्रहको अन्तर्वस्तुले विचारधारात्मक व्यवस्थालाई हेर्दै नेपाली जनक्रान्तिको आरम्भिक चरणदेखि वर्तमान चरणसम्मका उकाली, ओराली घुम्ती र मोडहरूदेखि लिएर जनताका तमाम खालका मनोभाव र विचारहरू लाई एउटै सूत्रमा उनिएको देखिन्छ । जसले गर्दा कवितासंग्रह एक प्रकारले आफैंमा इन्द्रधनुषी बन्न पुगेको छ र कवितासंग्रहको अन्र्तवस्तुलाई कतिपय अवस्थामा त्यसको बाह्य आवरण चित्रले समेत संकेत गरेको छ कि यसभित्र अनेकौं प्रकारका भावहरू र विचारहरूको संगम छ, जसलाई कविले आफ्ना जीवनका अनुभूतिहरूलाई कवितामा प्रस्तुत गरेका छन् । अन्त्यमा यस कविता संग्रहबारे एउटा नीतिवचनको उद्धरण प्रस्तुत गर्दै विराम लिन चाहन्छु ।
स्वभाव सुन्दरं वस्तु न संस्कारमपेक्षते ।
मुक्तारन्तस्य शाणाश्म घर्षणं नोपयुज्यते ।। ‘नीतिवचन संग्रह ४।२२’
अर्थात्, कुनै पनि स्वाभाविक सुन्दर वस्तुलाई फेरि त्यसलाई छेडखानी गरेर फेरि राम्रो पार्छु भन्ने कुनै आवश्यकता पर्दैैन । किनभने ‘मोती’ नामको रत्नलाई फेरि घोटेर चम्काउँछु भन्नु उपयुक्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा