19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

परिवर्तनको प्रयासमा मन्त्री भट्टराई



परिवर्तनको प्रयासमा मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १४ भदौ २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठस्थित निवाश पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराएका थिए । प्रतिपक्षी दलका नेतालाई मन्त्रीले भेटेर आफ्नो मन्त्रालयको बारेमा जानकारी दिएको र सुझाव लिएको यो सम्भवतः पहिलो घटना थियो ।
यो कदमलाई धेरैले नयाँ र असल राजनीतिक संस्कारको रूपमा प्रशंसा गरे । तर, एकथरीका आलोचकहरूले भने बाहिर देखाउनका लागि ‘सस्तो लोकप्रियता’का लागि गरेको कदमको रूपमा पनि व्याख्या गरे । तर, मन्त्री भट्टराईले बाहिरी देखाउने मात्रै होइन व्यवाहारिक रूपमा नै सबैको स्वमित्व र अपनत्व कायम गरेर परिर्वतन गर्न देखिन्छ । तलका यी कामहरूले त्यो पुष्टी गर्छ ।
‘सबै दलको घोषणापत्र सरकारको सम्पत्ति’
मन्त्री भट्टराईले मन्त्री भएलगत्तै मन्त्रालयका कार्यक्रमबारे छलफलका लागि सम्बन्धित सबैलाई बोलाए । कर्मचारीहरूलाई ‘हाम्रा कार्यक्रमहरू केका आधारमा बन्छन् ?’ भनेर सोधियो । ‘बजेट तथा नीति कार्यक्रमका आधारमा,’ कर्मचारीहरूको उत्तर थियो, ‘अनि माग र आवश्यकताका आधारमा ।’
कर्मचारीहरूको उत्तरले मन्त्री भट्टराई सन्तुष्ट देखिएनन् । मन्त्री भट्टराईले निर्देशन दिए, ‘सरकारको नीति कार्यक्रमसँगै प्रमुख दलका घोषणापत्रमा पर्यटनको विषयमा उल्लेख विषय र प्रतिबद्धता पनि हेर्नुहोस् । सत्तारूढ दल नेकपाको मात्रै होइन, अन्य दलहरूको विषय र प्रतिबद्धता पनि हेर्नुहोस् ।’
कर्मचारीहरूका लागि यो नयाँ घटनाजस्तै थियो । यसअघि कुनै पनि मन्त्रीले अरू दलका घोषणापत्र पनि हेर्न सुझाएका थिएनन् । उनले थप सुझाव दिए, ‘सबै दलले अध्ययन गरेर नै योजना र प्रतिबद्धता तयार पारेका हुन्छन् । सबै दलका राम्रा योजना र सपना नै सरकारको योजना बन्नुपर्छ । सबै दलको सपना र प्रतिबद्धता सरकारको सम्पत्ति हो । हामी सबैको सरकार हौं ।’
सबै राजनीतिक दलका सकरात्मक योजनाहरूलाई कार्यान्वयनमा लैजान सकिए परिवर्तन ठोस हुने उनको बुझाइ छ । भन्छन्, ‘जोकोहीले देश र जनताको पक्षमा बनाइएका असल योजना र कार्यक्रम सरकारको सम्पत्ति हो ।’
एकले अर्कालाई निषेध र अवरोधले होइन, सबैप्रतिको सम्मान, साझा संकल्प र अभियानले देश बनाउनुपर्ने मन्त्री भट्टराईको भनाइ छ । भन्छन्, ‘राजनीतिक परिवर्तनका निम्ति जसरी एकजुट भएका थियौं । त्यसैगरी समृद्धिका लागि पनि एकजुट बन्नुपर्छ ।’
‘बीपीको नाममा खोई ?’
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को विषयमा छलफल थियो । मन्त्री भट्टराईले सोधे, ‘बिपीको नाममा चाहिँ पुरस्कार छैन ?’ यो प्रश्नले कर्मचारीहरू झनै छक्क परे । कांग्रेसका नेताहरू मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोधेका थिए ।
पुष्पलालको नाममा मात्रै पुरस्कार भएको सुनेपछि मन्त्री भट्टराईले भने, ‘हामीले हाम्रो इतिहासका सबै गौरवहरूलाई सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं ।’ मन्त्री भट्टराईको यो भनाइले सबै कर्मचारीहरू प्रभावित भए ।
सचिवालयमा भावनात्मक एकताको सन्देश
अहिले नेकपाको नेतृत्वमा सरकार छ । नेकपा अर्थात् तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी । तर सबै मन्त्रालय एकीकृत पार्टीको जस्तो छैन । पूर्वमाओवादी नेता मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्वमाओवादीका कार्यकर्ता मात्रै छन् । पूर्वएमाले मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्वएमालेका कार्यकर्ता मात्रै राखिएका छन् । तर मन्त्री भट्टराईले भावनात्मक एकता हुनेगरी सचिवालयमा पूर्वएमाले र माओवादीबाट राखेका छन् ।
मन्त्री भट्टराईले सचिवालयमा तत्कालीन एमालेनिकट काठमाडौं–ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र तत्कालीन माओवादीनिकट काठमाडौं–ताप्लेजुङ जनसम्पर्क समितिका अध्यक्ष डण्डु शेर्पा राखेका छन् । पार्टी एकताको भावनात्मक सन्देश दिनेगरी उनले सचिवालय बनाएका हुन् ।
‘सबैको इतिहासको सम्मान’
एमाले र माओवादीबीच एकता भए पनि भावनात्मक एकता अझै भइनसकेको देखिन्छ । नेता तथा कार्यकर्ताहरूले एक अर्काका विगतलाई कोट्याएर आरोप–प्रत्यारोप पनि हुने गरेको छ । तर, भट्टराई मन्त्री भएलगत्तै तत्कालीन एमालेको कार्यालय रहेको बल्खु र तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडा पुगे । पेरिसडाँडा पुगेर उनले जनयुद्धका सहिदहरूलाई सम्झिए ।
मन्त्री भट्टराईले आजको विशाल एकीकृत नेकपा दुवै धारको योगदान र बलिदानबाट बनेको भन्दै एकअर्काको विगतप्रति सबैले गौरव गर्नुपर्ने बताउँदै आएका छन् ।
‘सामन्ती’ संस्कृतिविरुद्ध आक्रामक
मन्त्री भट्टराईले शपथ पदभार ग्रहण गरेलगत्तै मन्त्रालयमा ‘सियो’ शब्द नबोल्न निर्देशन दिए । अहिले पनि विभिन्न मन्त्रालयमा ‘आइसियो, गइसियो’ भन्ने भाषा प्रयोग हुने गरेको छ । मूलतः यस्तो भाषा दरबारमा प्रयोग हुने गरेको थियो । यो भाषा अहिले मन्त्रालयमा बन्द भएको कर्मचारीहरू बताउँछन् ।
१६ भदौ २०७६ मा हिन्दु महिलाहरूको महान् चाडपर्वक रूपमा लिइने हरितालिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि पशुपतिनाथ पुगेकी थिइन् । विभागी मन्त्रीको हिसाबले मन्त्री भट्टराई पनि त्यहाँ पुगेका थिए । पशुपतिनाथमा विभागीय मन्त्रीको हिसाबले कार्यकक्ष बनाइएको हुन्छ ।
कार्यकक्षमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र स्वयं पर्यटनमन्त्री भट्टराईको फोटो राखिएको थियो । आफ्नो तस्बिर देखेपछि मन्त्री भट्टराईले तस्बिर तुरुन्त हटाउन निर्देशन पनि दिए । पछिल्लो समय विभिन्न उच्चपदस्थहरूले कार्यक्रममा आफ्नो ठूलो फोटो टाँस्ने, पिर्कामा सलामी लिनेजस्ता व्यवहार देखाइरहँदा मन्त्री भट्टराईले भने त्यसको विरोध गरेका छन् ।
कर्मचारीलाई सकारात्मक सोचको तालिम
नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरूको व्यवहार र शैलीलाई बारम्बार आलोचना हुने गरेको छ । कर्मचारीहरूको ‘सकारात्मक सोच’ विकासका लागि मन्त्री भट्टराईले प्रशिक्षण नै सुरु गराएका छन् ।
मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास उनको विश्वास छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सहभागी छन् ।
गल्ती गर्ने ‘न आफ्नो न बिरानो’
मन्त्री भट्टराईले गलत काम गर्ने जोकोहीलाई कारबाही गर्ने बताएका छन् । उनले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने सम्पर्क अधिकृत (लियोजन अफिसर) लाई कारबाही गर्ने बताएका थिए । यही क्रममा पयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृत (लियोजन अफिसर) सँग स्पष्टीकरण सोधेको छ ।
विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो । आरोहीसँग सगरमाथा आरोहणमा जाने सम्पर्क अधिकृतले आफू बेस क्याम्पमै नपुगी आरोहीलाई सगरमाथाको चुचुरामा पुगेको प्रमाणित गरेको समाचार आएको थियो ।
मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरूलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए । लगत्तै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।
खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए । एक्सरे मेसिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानबिनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए ।
पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
पहाडमा मैथिली साहित्यका महाकविका सालिक
मन्त्री भट्टराईले मैथिली साहित्यका महाकवि विद्यापतिको सालिक पहाडी जिल्ला बनाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् । आधुनिक मैथिली साहित्यको लेखन तथा विस्तारमा ठूलो योगदान विद्यापतिको सालिक पहाडमा पनि बनाउँदा मधेस र पहाडबीच भावनात्मक एकता देखिने उनको भनाइ छ । उनले निर्देशनमा भनेका छन्, ‘मधेसमा भानुभक्त, लक्ष्मीप्रसाद देवकोटालगायतको छ । पहाडमा विद्यापति पनि बनाऔं ।’
मैथिली नेपालको प्रदेश २ का ४१ प्रतिशत नागरिकको मातृभाषा हो । यो मुलुककै दोस्रो सबैभन्दा बढी बोलिने भाषा पनि हो । सन् १३५० ताका तत्कालीन मिथिलाको विषफीमा जन्मेका महाकवि विद्यापति मिथिलाका तत्कालीन राजा शिवसिंहका द्वार पण्डित तथा साहित्यकार थिए ।
मुसलमान शासकसँगको युद्धमा शिवसिंह बेपत्ता भएपछि उनी रानी लखिमा देवीसहित संरक्षणका लागि तत्कालीन नेपाल तराईका द्रोणवार वंशीय राजाको आश्रयमा नेपालको वनौलीमा १२ वर्षसम्म बसेको इतिहास छ । नेपाल प्रवासका क्रममा विद्यापतिले लिखनावली, शैवसर्वस्व सारलगायत एक दर्जन पुस्तक तथा अनेकौं पदावलीका रचना गरेका थिए । उनका अधिकांश पाण्डुलिपि अझै पनि काठमाडौंस्थित राष्ट्रिय अभिलेखालयमा सुरक्षित छन् । नेपाल सरकारले विद्यापतिको तस्बिर अंकित डाँक टिकटसमेत प्रकाशन गरेको छ । मन्त्रीको निर्देशनपछि विद्यापतिको सालिक तत्कालै पहाडी जिल्लामा बन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा