19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

तिमी कहाँ सुरक्षित छौ ?



तिमी कहाँ सुरक्षित छौ ?

कुनै महिलाका निम्ति सुरक्षित ठाउँ कुन होला ? घर, विद्यालय वा सार्वजनिक स्थल ? केही दिनपूर्व वीरगन्जकी एउटी किशोरीको अनुहारमा दुई किशोरले एसिड छ्यापे । एकान्त गल्लीमा हिँडिरहेकी ती किशोरीको अनुहारमा हठात् एसिड प्रहार भएपछि एउटा प्रश्न अवश्य उठेको छ–महिलाहरू सुरक्षित हुने ठाउँ कुन होला ? निश्चय नै ती किशोरीले एकान्त गल्लीमा हिँड्दै गर्दा आफूमाथि हिंस्रक व्यवहार होला भन्ने कल्पना सायदै गरेकी हुनुपर्छ । तर, ती किशोरीको कल्पनाभन्दा विपरीत उनको अनुहारमा एसिड छ्यापियो ।
वीरगन्जका जस्तै घटना समय–समयमा अरू ठाउँहरूमा पनि हुँदै आएका छन् । हिन्दू वा मुस्लिम दुवै समाजमा यस्ता घटनाहरू भइरहेका छन् । तुलनात्मक रूपमा किशोरीहरूमाथि एसिड आक्रमण गर्ने परिघटनाहरू मधेसी समाजमा धेरै देखिएका छन् । मधेसी समाजभित्र पन्पिएका यस्ता घटना पहाडी समाजमा पनि यदाकदा देखिने गरेका छन् । तर, एसिड आक्रमणको दावानलमा पिल्सिएर मधेसी समाजले नै धेरै आक्रान्तता भोग्दै आएको छ । अन्धविश्वास र रुढीवादले ग्रस्त मधेसी समाजमा पछिल्लो समय बोक्सीको आरोपमा महिला हिंसा र हत्या गर्ने क्रममा केही कमी आए पनि सहरी र सहरोन्मुख ठाउँका किशोर–युवाहरू भने एसिड आक्रमणको सहारा लिएर आफ्नो कुत्सित मनशाय पूर्ण गर्ने गलत दिशामा डोरिइरहेका छन् ।
त्यसो त छोरी (बेटी) माथिको विभेद र अत्याचार मधेसी समाजमा वर्षौंदेखि कायम छ । त्यो एउटा भयावह रूपमै स्थापित छ । अर्थात्, छोरीको भ्रुण हत्या गर्ने सन्दर्भमा मधेसी समाज बदनाम रहँदै आएको छ । छोरी जन्माउँदा भोग्नुपर्ने पारिवारिक÷सामाजिक दायित्वको भार निकै उपल्लो खालका हुने भएको हुँदा भ्रुण हत्याका अमानवीय घटनाहरूले प्रश्रय पाएका थिए । पछिल्लो समय भ्रुण हत्याका घटनाहरूमा कमी आए पनि मधेसी समाजमा महिलाहरूमाथि हुने विभेद र अमानवीयताको तह भने अझै घटिसकेको छैन । वीरगन्जको एसिड आक्रमणले त्यसकै पुष्टि गर्दछ ।
एसिड आक्रमणको पछाडि किशोर–युवाहरूमा अन्तरनिहीत पुरुषवादी मानसिकता र वर्चस्वले शतप्रतिशत काम गर्ने गरेकोमा कुनै दुईमत देखिँदैन । त्यस्तो मानसिकतामा यौनकुण्ठा, भावना र प्रेमका उच्छवासहरू घोलिएका हुन्छन्, अवश्य नै । उनीहरूलाई त्यस्तो हिंस्रक, अमानवीय र क्रूर कार्य गर्न उत्प्रेरित गर्नेमा कथित प्रेम, यौनिक भावना र कुण्ठाले भरपुर सहयोग गरेका हुन्छन् । अधिकांशतः एसिड आक्रमणको पृष्ठभूमिमा प्रेम र यौन चाहनाले नै भूमिका खेलेको हुन्छ । कुनै युवतीको प्रेममा भावुक आलाकाँचा उमेरका किशोर–युवाहरूले नै यस्ता आपराधिक क्रियाकलापमा आफूलाई अग्रसर तुल्याएका उदाहरणहरू छन्, प्रशस्तै ।
उमेरजन्य आवेगको सिकार हरेक मानिस हुन्छन् । किशोरकालीन दिनहरूमा प्रवेश गरेसँगै विपरीत लिंगीहरूबीच यौन आकर्षणले विस्तार पाउनु स्वाभाविकै हो । यो प्राकृतिक पक्ष हो । तर, पुरुषहरूमा यौन चाहना प्रबल हुनुमा उनीहरूका हर्मोनको मात्र भूमिका हुँदैन, पुरुषवादी वर्चस्ववादले त्यसमा अहं भूमिका खेलेको हुन्छ । कुनै पुरुषले महिलामाथि बलात्कार गर्नु, हिंसा गर्नु, हत्या गर्नु वा एसिड प्रहार गर्नुको पृष्ठभूमिमा त्यहीँ पुरुषवादी वर्चस्ववादले नै स्थान जमाएको हुन्छ । यस्ता घटनाहरू हुनुमा वर्षौंदेखि पुरुषहरूमा व्याप्त वर्चस्ववाद नै हाबी हुने मौका पाउँछ र त्यसले कार्यान्वयनको बाटो पक्रिन्छ । अन्ततः हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता अमानवीय र क्रूर क्रियाको पर्दा उघ्रिन पुग्छ ।
कुनै युवाले कुनै किशोरी वा युवतीलाई प्रेमको प्रस्ताव राख्दा ती युवतीले अस्वीकृति जनाउँदा युवाहरूमा अहं र ईष्र्या पलाउन पुग्छ । आफूलाई मन नपराएको थाहा पाएपछि त्यस्ता युवाहरू आवेश, आवेग र उत्तेजनामा आउँछन् चाँडै नै । आफ्नो प्रेम (वा सेक्स) प्रस्तावलाई अस्वीकार गर्दा युवाहरूले एउटै निचोड निकाल्छन्, ‘त्यसलाई आफ्नो रूपप्रति असाध्यै घमन्ड रहेछ । म त्यसको रूपको घमन्ड चाँडै तोड्छु ।’ अधिकांश किशोर–युवाहरूले आफूले मन पराएका किशोरी–युवतीले अस्वीकृति जनाएपछि आवेशमा आएर हिंस्रक, अमानवीय र ज्यादतीपूर्ण कार्यमा आफूलाई सरिक तुल्याउँछन् र एसिड आक्रमणका प्रकरणहरू जन्मिन पुग्छन् ।
यस्ता घटना–प्रकरणहरू जन्मिनुमा महिलालाई हेर्ने गलत र संकीर्ण दृष्टिकोण नै दोषी छन् । समाजका हरेक क्षेत्रमा महिलाहरूले आफ्नो दक्षता र क्षमता प्रदर्शन नगरेका होइनन् । कतिपय क्षेत्रमा त उनीहरू पुरुषभन्दा अग्रस्थानमा छन् । तर, अझै पनि महिलालाई विलासिता र उपभोगको वस्तु सम्झिने पुरुषवादी मानसिकतामा कुनै परिवर्तन आइसकेको छैन । महिलालाई दासी सम्झिने समाजमा हामी बाँचिरहेका छौं ।
हुन त, पछिल्लो समयावधिमा नेपाली नारीहरू पारिवारिक दासता र पितृसत्तात्मक परिवेशबाट बाहिर निस्किँदै छन् । तर, पुँजीवादी समाजमा उत्पादनका साधनहरू जसरी विकसित हुँदै गएका छन्, त्यसले नारीहरूमाथि झन् चर्को दमन र विभेदलाई प्रश्रय दिँदै गएको छ । समाजमा बलात्कार, महिला हिंसा, हत्या, एसिड आक्रमणजस्ता अमानवीय र मर्मान्त घटनाहरू हुनुमा पुँजीवादी संस्कृतिका विसंगत पक्षहरूले भूमिका खेलेकोमा कुनै सन्देह देखिँदैन । सोध्न सकिन्छ– ए, नारी आखिर तिमी कहाँ सुरक्षित छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा