14th December 2019, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

नेता अलग्याएर बैठक,एकतामा सकस



नेता अलग्याएर बैठक,एकतामा सकस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण र कार्यविभाजनको काम लगभग टुंगो लागे पनि कतिपय बाँकी कामले अझै गति लिन सकेको छैन । एकीकरणयता किस्ताबन्दीमा हुँदै आएको ती काममा पछिल्लोपटक फेरि ढिलाइ हुँदै जाने संकेत देखिएको हो । एकीकरण र कार्यविभाजनका सबै बाँकी काम छिटो टुंग्याएर पार्टीको सम्पूर्ण पंक्ति सरकारको काम प्रभावकारी बनाउनेतर्फ केन्द्रित गर्नुपर्नेमा करिब दुई तिहाइ बहुमत ल्याएको पार्टी अबको ‘मिसन’ अर्थात् कार्यदिशा के भन्नेमै अलमलिएजस्तो देखिएको छ । सरकारको मुख्य काम आर्थिक सामाजिक रूपान्तरणमार्फत समृद्ध नेपाल निर्माण भनिएकाले डेढ वर्षदेखि पार्टीको सबै पंक्ति, भ्रातृ संगठनहरू एक मात्र त्यही योजना साकार पार्ने योजना निर्माणका साथ सम्पूर्ण शक्ति परिचालन गर्दै दिनरात खटिनुपर्ने हो । तर, लाखौं कार्यकर्ता त्यस मिसनमा होइन, बेलैमा काम नपाएकाले पार्टी नेताहरूको कुरा काटेर दिन बिताइरहेका छन् । युवाहरूको श्रमशक्ति त्यतिकै खेर गइरहेको छ ।
अहिलेसम्म सम्पन्न भएको एकता र कार्यविभाजनमा पनि पूर्ण मापदण्ड नअपनाइएकाले केन्द्र, प्रदेश र स्थानीय तह सबैतिरका नेता–कार्यकर्ताहरू पूर्ण सन्तुष्ट छैनन् । ४ हजार पल्टनको केन्द्रीय कमिटी बनाएको साबिक माओवादीका थुप्रै केन्द्रीय सदस्यहरूले एकीकरणका क्रममा गाउँपालिकामा समेत ठाउँ नपाउने स्थिति बन्दा असन्तुष्टि चुलिएको छ । उनीहरूको असन्तुष्टि कसरी सम्बोधन गर्ने विषयमा अध्यक्षकै जिम्मेवारीमा रहेका प्रचण्ड पनि खासै गम्भीर देखिँदैनन् । प्रदेश २ मातहतको शपथग्रहण समारोहमा त पार्टी सदस्य नै नरहेकालाई प्रदेश र जिल्लामा राखिएको भन्दै कार्यकर्ताहरूले विद्रोह गरेका छन् । कार्यकर्ताहरूको व्यापक असन्तुष्टिका कारण आठै जिल्लाको शपथग्रहण कार्यक्रम नै रोकिएको छ । यी सबै असन्तुष्टिलाई नेतृत्वले गम्भीरतापूर्वक नसोच्ने हो भने नेकपा थप कमजोर र शिथिल बन्दै जाने आँकलन गर्न थालिएको छ ।
केन्द्रीय सचिवालयका चार नेताहरूले एकीकरणका बाँकी काम छिट्टै टुंगो लगाउने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नियमति बैठक गरिरहेका छन् । बिग फोर नेताका नाममा पछिल्लोपटक सोमबार र मंगलबार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अलग्याएर बेग्लै छलफल चलाइएको छ । सरकारी निवासमा अलग्गै गुटको बैठक बोलाएर अहिले १५ वर्ष पार्टी चलाएको र देशको समेत नेतृत्व गरिसकेका पूर्वप्रधानमन्त्री नेपाललाई एक्ल्याउन खोजिएको छ । यसरी दिनदिनै बैठक भइरहे पनि एकता र कार्यविभाजनका बाँकी काममा भने केही पनि प्रगति भएको छैन । अर्थात्, प्रगतिशून्यजस्तो देखिएको छ । केन्द्रीय आयोगहरू लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको एकीकरण बाँकी नै छ । अनुशासन आयोगको एकीकरण पन्छाएर पार्टीभित्र नेता–कार्यकर्ताहरूलाई अनुशासनको डन्डा देखाइएको छ । यसमार्फत आफ्नो कार्यशैलीप्रति असहमत हुनेहरूलाई निरंकुश शैलीमा कारबाही गर्ने रवैया नेतृत्वले प्रकट गरेको छ । पार्टी झन् पछि झन् भ्रष्टीकरणको दिशातर्फ गइरहेका बेला शीर्ष नेतृत्वहरू नै गुट समाप्त भएको सार्वजनिक घोषणा गरेर हिँड्न थालेका छन् ।
त्यस्तै, अहिले केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको पनि एकीकरण सम्पन्न भएको छैन । भारत प्रवासबाहेक प्रवासी मञ्चहरूको एकता र कार्यविभाजन पनि सम्पन्न भइसकेको छैन । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये अधिकांशले काम पाए पनि १९ जना केन्द्रीय सदस्यहरू भने अझै बेरोजगार नै रहेका छन् । उनीहरूलाई दिइने जिम्मेवारीबारे लगातार चलिरहेको अनौपचारिक छलफलले पनि टुंग्याउन सकेको छैन । त्यस्तै, प्रदेश २ सहित अन्य केही प्रदेशमा सदस्यहरूको मनोनयनबारे जारी विवाद अझै टुंगो लागेको छैन । एक दर्जनभन्दा बढी जिल्लाहरूमा जिल्ला कमिटी सदस्य चयनको विषयमा पनि विवाद कायमै छ । यी सबै विषय छिटो टुंगो लगाउन अस्वस्थताका बाबजुद प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली आफैं सक्रिय देखिए पनि अहिलेसम्म ठोस परिणाम देखिएको छैन । चिकित्सकहरूले उनलाई आरामको आवश्यकता औंल्याइरहेका छन्, त्यसका बाबजुद उनको खटाइ देखिए पनि कुनै सुःखद परिणाम नदिएपछि धेरै प्रश्न उठिरहेका छन् । पछिल्लो कार्यविभाजनमा विधि, प्रक्रिया र मापदण्ड नै मिचिएपछि वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै नोट अफ डिसेन्ट दर्ता गराएका थिए । तर, त्यसबारे छुट्टै छलफल गरेर असमझदारी अन्त्य गर्ने विषयमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँग संवाद गर्न चाहेका छैनन् । बरू पछिल्ला अनौपचारिक छलफलहरूमै वरिष्ठ नेता नेपाललाई नियोजित रूपमै बाइपास गर्न थालिएको छ । सोमबार र मंगलबारको छलफलमा नेपाललाई बोलाइएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

सुरज भए झनै निष्क्रिय

ShareTweet काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउन अचेल दिनरात खटिइरहेका छन् । भ्रमण वर्ष नजिकिँदै- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कसरी बिर्सिए यिनी ?

ShareTweet पञ्चायती कालरात्रिलाई भोगेका सर्जकहरूले त्यो निरंकुश व्यवस्थालाई लल्कार्ने आधार बनाए, सिर्जनालाई । सिर्जनाका अनेक माध्यममध्ये तत्कालीन समयमा सशक्त मानिन्थे,- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

हिन्दु देवताको शल्यक्रिया

ShareTweet क्रिस्टोफर कडबेलले भनेका थिए, ‘धर्म एक मिथ्या सूर्य हो, जो दिग्भ्रमित मानिसहरूको वरिपरि परिक्रमा गर्दछ ।’ हुन पनि, मानव जातिको उत्पत्तिकालदेखि नै धर्मको- ...
पूरा पढ्नुहोस्

छोटकरीमा