18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

सामाजिक मुद्दाहरूतिर उन्मुख



सामाजिक मुद्दाहरूतिर उन्मुख

हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका अनेक विषय÷मुद्दाहरूलाई पहिचान गरेर टिप्न सक्ने प्रतिभाहरूले अन्ततः तिनै समाजलाई राम्रा, उत्कृष्ट र सम्प्रेषणीय खुराकहरू दिन्छन् । आफ्नै वरिपरिका विषय, घटना एवं मुद्दाहरू टिपिएका कुनै सिनेमा बन्यो भने वा कुनै साहित्य सिर्जना भयो भने त्यसप्रति त्यो समाजले सहज रूपमै अपनत्वपन महसुस गर्दछ । र, त्यस्ता सिर्जनाहरू नै जीवन्त र कालजयी बन्न पुग्दछन् ।
समाजका कच्चा पदार्थहरूलाई सिर्जनाको भट्टीमा खारेर उत्कृष्ट वस्तु निकाल्ने क्षमता कमै प्रतिभाहरूले मात्रै राख्दछन् । समाजबाटै लिएर समाजलाई नै दिने कार्य–कुशलतामा स्रष्टा एवं सर्जकहरू सदैव एक कदम अगाडि नै हुन्छन् । त्यस्ता स्रष्टा एवं सर्जकहरूले समाजका गम्भीर मुद्दाहरूलाई मिहीन रूप एवं इमानदारीपूर्वक उठाउने र बहसको वातावरण पैदा गर्ने क्षमतासमेत राख्दछन् । साहित्य क्षेत्रमा त सामाजिक मुद्दाहरूले वर्षौंवर्षदेखि स्थान पाउँदै आएका छन् । सिर्जना सम्प्रेषणको अर्को सशक्त र प्रभावशाली माध्यम सिनेमामा पनि सामाजिक विषय र मुद्दाहरूलाई पन्छाएर विशुद्ध मनोरञ्जन मात्र वितरण गर्ने प्रवृत्तिको बिस्तारै अन्त्य हुँदै गइरहेको छ ।
नेपाली सिनेकर्मीहरू गम्भीर सामाजिक मुद्दाहरूबाट विमुख हुनुको मुख्य कारण के रहँदै आयो भने सामाजिक विषय वा मुद्दाहरूलाई पक्रिएर सिनेमा बनाउँदा त्यस्ता सिनेमाहरूले व्यावसायिक सफलता हात पार्दैन कि ? भन्ने त्रासले उनीहरूलाई पछ्याइरह्यो । सामाजिक मुद्दाहरूमा आधारित सिनेमा बनाउँदा त्यसलाई आमदर्शकले नस्वीकार्लान् कि लगानी उठाउन नसकिएला कि भन्ने डरमा रुमल्लिए, अधिकांश सिनेकर्मीहरू । नेपाली सिनेमामा सामाजिक मुद्दाहरू उपेक्षाको सिकार हुनुको पछाडि त्यस्ता मुद्दाहरूमा आधारित सिनेमा दर्शकको रुचिभित्र पर्दैनन् कि भन्ने त्रासबोधले सदैव काम गर्दै आयो र अझै पनि त्यो त्रासको चौधेराबाट कतिपय सिनेकर्मीहरू निस्किन सकिरहेका छैनन् ।
केही सिनेकर्मीहरू छन्, जसले पछिल्लो चरणमा निर्मित सिनेमाहरूमा सामाजिक मुद्दाहरूलाई उठाउने घृष्टता गरे । जसमा रामबावु गुरुङ, दीपेन्द्र के खनाल, दीपेन्द्र लामाजस्ता पछिल्लो पुस्ताका प्रतिभाशाली निर्देशकहरूलाई समेट्न सकिन्छ । कथित व्यावसायिकताको चेपमा परेर थलिँदै गएको नेपाली सिनेवृत्तबाट त्यो घेराबाट बाहिर निकाली, समाजभित्रका गम्भीर मुद्दाहरूलाई टिपेर मनोरञ्जनसँगै सन्देश पनि बाँड्न यी निर्देशकहरू सफल हुँदै आएका छन् । त्यस्ता निर्देशकहरूले व्यावसायिक भनिने सिनेमा निर्देशनमा पनि हात नहालेका होइनन् तर उनीहरूका झुकाव र लगाव भने सामाजिक मुद्दाहरूलाई नै उठाउनेमा धेरैजसो रूपमा केन्द्रित रहँदै आएको छ ।
निर्देशक रामबावु गुरुङले ‘कबड्डी’को तेस्रो शृंखला निर्देशन गर्दै छन् । चुनाव त हरेक ठाउँमा हुन्छ तर हिमालपारिको जिल्ला मुस्ताङमा चुनावको बेला प्रदर्शन हुने चमकधमक र खिचातानीलाई उनले ‘कबड्डी कबड्डी’मा जुन विशिष्टतापूर्वक उतारे, त्यसबाट दुर्गम भेगको राजनीतिक विसंगतिसँग आम दर्शकले परिचित हुने अवसर पाए । त्यो सिनेमाले एउटा राजनीतिक÷सामाजिक मुद्दालाई गम्भीरतापूर्वक उठाएको थियो । दीपेन्द्र के. खनालको ‘पशुपतिप्रसाद’ले पनि हाम्रै समाज र परिवेशको कथालाई उठाएको थियो । पशुपतिनाथ मन्दिर परिसर वरिपरिका संगत÷विसंगत पक्षहरूलाई उनले मिहीन रूपले पर्दामा पेस गरेका थिए । हाम्रा वरिपरि यस्ता कथाहरू छन्, जसलाई टिप्ने क्षमता चाहिन्छ । ‘पशुपतिप्रसाद’मा सहरभित्रकै मौलिक कथालाई समेटिएको थियो । दीपेन्द्र लामाको ‘घामपानी’ले नेपाली समाजभित्र व्याप्त जातीय विभेदको पर्खाललाई चिनाउन भूमिका खेल्यो । ब्राह्मण र जनजातिबीचको वैवाहिक सम्बन्धको कथा बुनिएको उक्त सिनेमाले दबिएर रहेको एउटा सामाजिक मुद्दालाई दृश्यांकन गर्ने प्रयत्न गरेको थियो । निर्देशक लामाले नै ‘गोपी’मा एकजना गाईपालक किसानलाई नायक बनाए । अधिकांश नेपाली सिनेमामा सहरी जीवन बाँचिरहेका, अभिजात वा मध्यम वर्ग चरित्रका पात्रहरूलाई नायकका रूपमा उभ्याउने प्रवृत्ति हावी हुँदै आएकोमा एकजना सामान्य गाईपालक किसानलाई नायक बनाउनु पनि एक किसिमको घृष्टता नै मान्नुपर्दछ ।
सामाजिक मुद्दाहरूले बिस्तारै नेपाली सिनेवृत्तमा पाइला जमाउन थाल्दै छन् । एकाधलाई छाड्ने हो भने सामाजिक मुद्दाहरूमा आधारित सिनेमाले अपेक्षाकृत रूपमा व्यापार पनि गरेका छन् । सामाजिक मुद्दाहरू समेटिएका सिनेमाहरूले ‘व्यावसायिक सफलता’ पाउन सक्दैनन् भन्ने भ्रम बिस्तारै नेपाली सिनेवृत्तबाट हट्न थाल्दै छ र नयाँ र मौलिक सामाजिक मुद्दाहरूलाई पछ्याएर सिनेमा निर्माण गर्ने कार्यमा सिनेकर्मीहरू केन्द्रित हुँदै छन् । राजनीति, शिक्षा, वैदेशिक रोजगारजस्ता विषयहरूका मौलिक कथा खोज्ने र त्यसलाई पर्दामा उतार्ने दिशामा सिनेकर्मीहरू लोभिन थालेका छन् । दमदार कथावस्तुहरूको खोजी हुन थालेका छन् । यो नेपाली सिने क्षेत्रको उन्नति र सफलताका लागि शुभ र सुखद् संकेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा