8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

तपस्या र धैर्य



तपस्या र धैर्य

मराठी भाषाका साहित्य–सर्जक भालचन्द्र नेवाडेले प्रथम उपन्यास प्रकाशनमा ल्याएपछि दोस्रो उपन्यास ल्याउन १५ वर्ष लगाए । र, तेस्रो उपन्यास ल्याउन उनलाई लाग्यो– ठ्याक्कै ४० वर्ष । सन् १९६३ मा प्रकाशित ‘कोसला’ प्रकाशनको १५ वर्षको अन्तरालपछि उनका बिढार, जरीलालगायत उपन्यास आए । त्यसको ४० वर्षपछि भने उनले लेखे– ‘हिन्दु’ । आमपाठकले रुचाएका ‘कोसला’ को त तेत्तीसौं संस्करण आइसकेको छ, अहिलेसम्म । हालै प्रकाशित ‘इन्डिया टुडे’को साहित्य वार्षिकी–२०१९ को विशेष–अंकमा नेवाडेले अन्तरमन खोल्दै भनेका छन्, ‘मेरा लागि यो गौरवको कुरा हो कि यति विशाल पाठक वर्गसम्म मेरो पहुँच भयो, जसमा भेंडा–बाख्रा चराउने व्यक्ति पनि सामेल छन् ।’
हिन्दीका अर्का सर्जक÷चिन्तक अरुन्धती रायले पनि २० वर्षको अन्तरालमा दोस्रो उपन्यास ल्याइन् । ‘द गड अफ स्मल थिङ्स’ प्रकाशित भएको थियो, सन् १९९७ मै । सन् २०१७ मा उनको दोस्रो उपन्यास ‘द मिनिस्टर अफ अटमोस्ट ह्याप्पिनेस’ प्रकाशित भयो । उनको पहिलो उपन्यासले त बुकर प्राइज प्राप्त गरेको थियो र त्यसको चर्चा÷परिचर्चा अद्यापि छ । उनको दोस्रो उपन्यासलाई पनि आमपाठकले स्वागत नै गरे, रुचाए । भारतीय संस्थापन पक्षको कोपभाजनमा पर्दै आएकी राय साहित्य सिर्जनाका साथै राजनीतिक, सामाजिक मुद्दाहरूमा होमिने पात्रका रूपमा पनि चर्चित छन् ।
कुनै सर्जकले पहिलो कृति ल्याएपछि दोस्रो कृति ल्याउन कति समय धैर्य गर्नुपर्छ ? संसारभरि नै यससम्बन्धी कुनै नियम बनेको छैन, अहिलेसम्म । त्यो सर्जकको इच्छाको विषय हो । तर, आफ्नो सिर्जनालाई विशिष्टता दिलाउन चाहना राख्ने सर्जकहरूले भने पहिलो कृति प्रकाशन गरेपछि त्यसलाई पाठकहरूले कत्तिको आत्मसात् गर्छन्, त्यसको कस्तो लोकप्रियता रहन्छ ? यिनै कसीहरूका आधारमा दोस्रो कृति लेखनमा कदम चाल्ने गरेका प्रशस्तै उदाहरण पाइन्छन् ।
कुनै सिर्जना रातारात मेसिनबाट कुनै सामान निस्किएझैं निस्किने विषय होइन । लामो र कठिन साधना, धैर्य, तपस्याबाट नै उत्कृष्ट सिर्जनाको जन्म हुने गर्छ÷हुँदै आएका छन् । स्रष्टाहरूले पनि आफूलाई तपस्वीकै रूपमा उभ्याउनुपर्छ । कति तपस्या गर्नुपर्छ भन्ने उदाहरण दिन नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी उपन्यासकार ग्राबियल गार्सिया मार्खेजको प्रसंगलाई उप्काउन सान्दर्भिक हुनेछ । कठोर साधना र लेखन प्रतिबद्धता÷प्रतिज्ञाको परिणामस्वरूप जन्मिएको थियो– ‘वन हन्ड्रड इयर्स अफ सोलिच्युड’ । मार्खेजको जुन उपन्यासलाई विश्व साहित्यको मानक मानिन्छ । तर, केही दिन वा हप्ताको साधनाबाट जन्मिएको थिएन, उक्त कालजयी उपन्यास ।
सन् १९६५ मा एक हप्ताका लागि घुम्नका निम्ति उनी मेक्सिकोको आकपुल्को गइरहेका थिए । पहाडी बाटो थियो र घुमाउरो पनि त्यत्तिकै । गाडी चलाउँदा–चलाउँदै उनको दिमागमा त्यो उपन्यासको पहिलो पंक्ति फु¥यो । उनले आफ्नो गाडी तत्काल मोडे र मेक्सिको सिटीतिर हान्निए । जुन उपन्यास लेख्नका लागि उनले २० वर्षदेखि सोच बनाइरहेका थिए, विषयवस्तुलाई समातिरहेका थिए । मेक्सिको सिटी फर्किएपछि उनी उपन्यास लेख्न बसे ।
त्यो उपन्यास लेख्नमा उनी यति तल्लीन रहे, डेढ वर्षसम्म कोठाभित्रै बसे । बाह्य संसारसँग पूरै सम्बन्ध विच्छेद गरे । तर, डेढ वर्षपछि उपन्यासको पाण्डुलिपि लिएर बाहिर निस्किँदा उनीसँग पाण्डुलिपि मात्र थिएन, त्यो अवधिमा उधारो लिएका सामानहरूको बिल पनि थियो । त्यो उपन्यास लेख्न बसेपछि मार्खेजकी पत्नीले दयनीय आर्थिक अवस्थालाई झेल्नुप¥यो । उपन्यास लेख्नुअघि मार्खेजको राम्रै आम्दानी थियो । उनी फिल्मको पटकथा तथा विज्ञापनहरू लेख्थे र त्यसले उनीहरूको जीवनको आर्थिक रथलाई अगाडि बढाउन मद्दत पु¥याइरहेको थियो । तर, उपन्यास लेख्न थालेपछि आर्थिक स्रोत ठप्पै रह्यो । घरखर्च चलाउन समस्या आएपछि उनले आफ्नो गाडी बेचे । त्यो गाडी उनले पहिलो उपन्यास लेख्दा प्राप्त पारिश्रमिकबाट किनेका थिए । पैसा नतिरेपछि टेलिफोन पनि काटियो । त्यसपछि क्रमशः बेचे– टेलिभिजन, फ्रिज । विद्यालयबाट बालबालिकाको शुल्क तिर्न ताकेता आउन थाल्यो । मार्खेजकी पत्नीले आफ्नो गहना बेचिन् र शुल्क तिरिन् । उधारो चुलिँदै गएपछि पसलेहरूले पनि उधारो दिन छाडे ।
तर, डेढ वर्षसम्म मार्खेज र उनको परिवारले जुन आर्थिक संकट झेले, त्यसको मीठो प्रतिफल ‘वन हन्ड्रड इयर्स अफ सोलिच्युड’ को व्यापक सफलताले दिलायो । भनिन्छ, त्यो उपन्यासले मार्खेजको जीवनस्थिति मात्र बदलिएन, विश्व साहित्यको मानचित्र नै बदलिन पुग्यो । विश्वका कैयांंै भाषामा प्रकाशित सो उपन्यासले पाएको सफलता र त्यही उपन्यासको जन्मसँगै मार्खेजले विश्व साहित्यमा लिएको उचाइले उनलाई साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
लेखनका निम्ति कति कठिन साधना गर्नुपर्छ, आर्थिक समस्यासँग कसरी जुध्नुपर्छ भन्ने दृष्टान्त मार्खेजको प्रसंगबाटै अवगत हुन्छ । हुन पनि हो, लामो तपस्या, धैर्यबाट नै गहन, उत्कृष्ट र सफल सिर्जनाहरू जन्मिने गर्दछन् । नेवाडे र रायको प्रसंग उप्काउनुको अर्थ के थियो भने उनीहरूले पनि लेखनलाई तपस्याकै रूपमा स्विकारे र उनका कृतिहरू सबै तप्काका पाठकद्वारा रुचाइन्छन् । यस्तो साधना कमै सर्जकहरूमा मात्र पाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा